अहिले देश चुनावको महोलमा छ । चुनावमा युवाहरूको सहभागिता उत्साहजनक छ । यद्यपि चुनाव जित्न एकले अर्कोलाई आरोपित गर्ने चर्को स्वर भने स्वाभाविक बनेको छैन । अहिले चितवनकै कुरा गर्ने हो भने एक संघर्षशील नारी युवा रेनु दाहालले निरन्तरता खोजिरहेको देखिन्छ । यो उनले भन्दा पनि उनको विगत कार्यकालमा भएका काम र चितवनको विकासको निरन्तरताको जनचाहना हो । यो कुरा गठबन्धनले स्वीकारेको छ । यद्यपि जगन्ननथ पौडेल जस्ता विद्रोही बनेर आफूलाई होच्याउने काम गर्नुले अनौठो परिदृश्य देखा परिरहेको छ । यस्तो उत्तेजनात्मक सोचको परिणाम राम्रो हुँदैन । जनता उत्तेजनालाई होइन, कर्मलाई नै हेर्ने गर्छन् । जसको परिणाम जनताले जनयुद्धमा साथ दिएर त सामन्ती शासन समाप्त भयो । जनता स्वाधीन भए । यसैले चितवनमा रेनु दाहाललाई परास्त गर्छु भन्नु इर्ष्यागत मनोवेगको परिणाम हो । यसो नभएर चितवनमा रेनु दाहाललाई जिताएर संसारकै नमूना चितवन बनाउन चितवनका जनता लालायित देखिएको पाउँदा त्यहाँ त्यस्तो कुनै पनि षड्यन्त्र भुत्ते हुने कुरा पक्का छ ।
मान्छेमा संकुचित र इर्ष्यालु सोचाइले नराम्रोसँग गाँजेको छ । यसैले चितवनमा रेनु दाहाललाई संघर्षशील महिलाको रूपमा हेर्नुभन्दा पनि प्रचण्डको छोरी भनेर हेर्ने गरिएको पाउँदा अचम्म लाग्छ । प्रचण्डको छोरी चितवनले नेतृत्वमा पाउनु त्यहाँका जनताले गर्वको अनुभूति गर्नुपर्ने कुरा हो । उनी मेयर बनेर कामगर्दा चितवनले पाएको परिवर्तन अन्तर्राष्ट्रियस्तरको छ । प्रचण्डको छोरी भनेर प्रचण्डलाई समेत दोष थोपर्ने गरिन्छ । के प्रचण्डले ज्यानको बाजी लगाएर युद्धघोष गरेको होइन ? सामन्ती सत्ताको विरुद्ध यसरी राज्यशक्तिलाई चुनौती दिएर युद्धमा होमिने साहस कसैमा थियो?
तत्कालीन राज्यसत्ताले प्रचण्ड-बाबुरामले राखेको माग माथि छलफल चलाएर समाधान निकालेको भए देशमा यत्रो ठुलो क्षति हुने नै थिएन । अहिले १७ हजार मानिसको हत्याको प्रचण्डलाई आरोप लगाउनेहरूले सरकारले समयमै नसोचेर अझ प्रचण्डको टाउकाको मोल तोकेर उत्तेजित बनाएको होइन देउवा-ओली जस्ता माहरथीले? यो सोच्नु पर्दैनथ्यो ?
युद्धको वेला गणतन्त्रको माग राखेर स्वाधीन अर्थतन्त्रको आधारसिलामा सम्पन्न देश बनाउने खरो र जनपक्षीय मागका लागि लडेको युद्धरत शक्ति माओवादीको नै जीत होइन यो गणतन्त्र ? अहिले त्यही उपलब्धिको सेरोफेरोमा राजेन्द्र लिङ्देन लगायतका नेता बनेका होइन ? यो घामजत्तिकै छर्लङ्ग परिवेशलाई विर्सेर वा बुझ पचाएर प्रचण्डलाई अपराधी र रेणु दाहाललाई प्रचण्डको छोरी हो भनेर आरोपित गर्ने काम कतिको सुहाउने कुरा होला ? यसो नगरेर योगदानको कदर गर्नु सम्मान गर्नुको सट्टा तथानाम गालीगलौज गरेर फेरि जनतालाई सामन्ती शासकको पञ्जामा राख्न खोज्ने हो र ?
राजेन्द्र लिङ्देन जनजातिबाट उठेका नेता नै भए तर उनी अहिले जनताको लागि नभएर राजाका लागि लडिरहेका छन् । पुरानो राजाको र भारतीय अति हिन्दुवादीको जुठो-पुरो खाएर मान्छे जम्मा गर्दै हिँड्नुले पनि लिङ्देनको हैसियत समाप्त पारिरहेको कुरा उनले बुझेका छैनन जस्तो लाग्यो । यतिखेर काँग्रेससहितको गठबन्धन त छ, यद्यपि काँग्रेसी नेताहरूले पनि देशको परिवेश नबुझेर ओली र उनका पिछलग्गुहरूले जस्तै दम्भ र अहंकार गरिरहेको देखिन्छ ।
अहिले राजनीतिक परिवेश बदलिएको छ । केही मान्छे पछि लागे भनेर कोही मातिनुपर्ने अवस्था छैन । ओलीजस्ता अहंकारीको शासन बेहोरिसकेको समाज सचेत भइसकेको छ । कसको योगदान कति हो भन्ने कुरा पर्गेल्नसक्ने समाजले अहिलेको चुनावलाई सही तरिकाले प्रयोग गर्नेछ । ओलीका ऊखान टुक्का र ठट्यौली सुन्न जम्मा भएका मान्छे सबै ओलीका हुन् भन्ने सोचलाई ओलीबुद्धि भनिन्छ । झुठो खेती गरेर ओलीले आफूलाई महान ठान्नु र राजा ल्याउँछु भनेर राजेन्द्र लिङ्देनले हिन्दु राष्ट्रको सपना देख्नु उस्तै उस्तै हो ।
राजेन्द्र लिङ्देन कतिको सफा राजनीति गर्छन् भन्ने कुरा उनले एकजना गरिब परिवारको जग्गा हडपेर सुकुम्बासी बनाएको समाचारले पनि स्पष्ट पारिरहेको छ । जाबो डेढ विगाहा जग्गामा र्याल चुहाउनेले सिंगो राज्यसत्ता पाएपछि के गर्ला ? यो लेखकप्रति उनले दुःख मान्नु पर्दैन । सामाजिक परिवेशमा आएको कुरा भनिदिएको मात्र हो । यो कुरा औँल्याउनु लेखकको कर्तव्य पनि हो ।
राजेन्द्र लिङ्देनले आरक्षणको बारेमा बोलेका विश्लेषणात्मक कुरा सम्मानयोग्य छन् । समाजको उत्थानका लागि वर्गीय हिसाबले विश्लेषण गर्न जरूरी छ । यद्यपि उनले राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्रको सपना देख्नुले उनीभित्र के छ भनेर खोज्नुपर्ने हुन्छ किनभने अब त्यही पुरानो राजसंस्थाको स्थापनाले यो समाज चल्दैन । फेरि यो राष्ट्रलाई हिन्दु राष्ट्र भनिरहनु पर्दैन । हामी हिन्दु हौँ, हामी हिन्दु धर्म मान्छौँ तर पनि यो नारा भारतीयको हो । हामी त शैव सम्प्रदायका हौँ र हिन्दुभन्दा पनि सनातन हाम्रो धर्म हो । यसैले हिन्दु राष्ट्रको वकालत भनेको भारतीयको भाषा हो । यसबाट राजेन्द्र लिङ्देन अलग हुनुपर्छ । यो सुझाव हो, गाली नसम्झे हुन्छ ।
के झुठ बोल्नु जनतालाई झुक्याउनु राजनीति हो ? ख्वै त प्रचण्डले त त्यस्तो झुठ बोलेको पाइएन । जनयुद्ध गर्छु भने, गरेरै देखाई दिए । तत्कालीन राज्यसत्ताको बेइमानीले यहाँ जनधनको क्षति भएको हो । यो कुरामा म प्रचण्डलाई दोष दिने पक्षमा छैन । राज्यशक्ति समालेको राजालगायत नेपाली काँग्रेस र एमालेको ओलीजस्ताले वार्तामा बोलाएर समस्या समाधान गर्नुपर्ने थियो । यो बाटोबाट समस्या समाधान गरेको भए देशमा जनधनको क्षति हुने नै थिएन । यसैले यो सम्पूर्ण क्षतिको जिम्मेवार तत्कालीन राजसंस्था, नेपाली काँग्रेस र एमालेलेको साथै राप्रपा पनि हुन् । फेरि दरबारले वार्ताको पहल गर्दा दरबारै जोगाउन नसकेर राजालगायतका परिवार हत्या गर्ने गम्भिर गल्ति गर्ने को हो ? यसको पनि छानबिन हुनुपर्छ । यो हत्या लगायत मदन भण्डारी र जीवनराज आश्रितको हत्याको समेत छानबिन गरेर अपराधीलाई कारवाही गर्नुपर्छ भन्ने कुरा बिर्सनु पनि यिनीहरूको पाखण्ड हो ।
अबको चुनावमा धेरैजसो युवाहरूको सक्रियता देखिएको छ । यसबाट सायद देश निर्माणका लागि राम्रो ताकत बन्ला । यसैलाई निरन्तरता दिन अहिलेको कार्यक्रम तथा बजेटलाई सबैखाले विकासको दायरा समेट्न अर्थमन्त्री जनार्दन शर्मा लागेका छन् । उनी नयाँ जैविक प्रविधिबाट नदी कटानबाट खेर गएको जमिन उकासेर युवालाई स्वदेशमै रोजगारी दिने कार्यक्रम तयार गर्न तल्लीन छन् । यसरी नदी कटानबाट तराई क्षेत्रमा झण्डै पाँच लाख हेक्टर जमिन उकास हुने र यस्तो जमिनमा नयाँ प्रविधिबाट युवा कृयाशील राख्न सके पच्चिस लाख युवाले रोजगारी पाउने अनुमानसहितको उन्नत र जैविक प्रविधियुक्त कृषि प्रणाली सम्बन्धी नीति ल्याउन अर्थमन्त्री रातोदिन मेहनत गरिरहेका छन् ।
यस्तै जडिबुटी, खनिजजन्य स्रोत, सिएनजि प्रविधिबाट यातायात सञ्चालन गर्ने, विद्युतीय केवलकार डाँडाडाँडामा सञ्चालन गर्ने, घरघरमा विद्युतीय चुलोको व्यवस्था गरेर ग्याँस र खाडीमुलुकदेखि आउने तेल आयात विस्थापित गर्ने, धार्मिक पर्यटन, सांस्कृतिक, साहित्यिक, कृषि पर्यटनजस्ता कार्यक्रमबाट देशलाई समृद्ध राख्ने कुरामा अर्थमन्त्रीको अहोरात्रको चिन्तन र परिश्रमलाई सबैले साथ दिनुबाट यो देशमा केही गर्छु भन्ने शक्तिको संरक्षण हुन्छ ।
अर्थमन्त्रीले पुरानो सरकारले बेचबिखन गरी हिनामिना गरेर बन्द भएका उद्योगको सम्पत्ति कसले कति हिनामिना गरेको थियो ? खोजी गर्ने र यस्तो गम्भिर अपराध गर्नेलाई कारबाही गर्नुका साथै गोरखकाली रबर उद्योग, हेटौँडा कपडा, विरगञ्ज कृषि औजार, चिनी कारखाना, छालाजुत्ता, भृकुटी कागज लगायतका कारखानासमेत सञ्चालन गर्ने प्रयत्नमा सफलता मिलोस् । निर्वाचनबाट आएको नयाँ ताकतिलो स्थानीय शक्तिले सिंगो देश नै नमूना गाउँसहित समृद्ध देशको रूपमा विश्वसामु परिचय स्थापित गर्नेछ ।
(लेखक विकास अर्थशास्त्री तथा कृषि विकास बैंकका पूर्व उपमहानिर्देशक हुनुहुन्छ ।)