राष्ट्रिय प्राजातन्त्र पार्टी, राप्रपा, RPP
 

तिसौँ वर्षसम्म सारा न्यायपालिका, व्यवस्थापिका, र कार्यपालिकाको शक्ति एकलौटी चलाएर, एकै व्यक्तिमा सीमित सार्वभौमिकता राजतन्त्रको नाममा चलाएर, एउटा धर्मलाई पेवा बनाएर अर्थात् हिन्दु धर्मको नाममा राज्य चलाएर, एउटा खास वर्ग र क्षेत्रका जनतामा हालीमुहली गरेर पञ्चेहरूले देश र राष्ट्रियता बेचेर खाएकै हुन् । अन्य वर्गलाई पेलेर एकलौटी नारा एक देश, एक भेष ,एक धर्मलाई राष्ट्रवादको परिभाषा बनाएर सामन्तवादी र वंशवादी तानाशाही व्यवस्था नै राष्ट्रवाद हो भनेर परिभाषित गरि लाखौँ विभिन्न जातजातिहरूको पहिचान नै मेटाई पञ्चहरूले आफ्नो स्वार्थमा देशलाई चलाएकै हुन् । यिनैले संसार प्रगतिको बाटोमा अघि बढिरहँदा नेपाललाई भने गरिा र तन्नम राष्ट्रको रूपमा राखिरहन मात्र होइन, देशलाई कहिल्यै उठ्न नसक्ने गरी आर्थिक धरातल नै ध्वस्त बनएकै हुन् । लामो समयसम्म यिनीहरूले नेपाली जनताको रगत चुसिरहे र पनि आफ्ना कुकृत्यलाई राष्ट्रवाद भनी भ्रमपूर्ण विचार समाजमा छरिरहेका थिए भने अहिले पनि यिनीहरूले जनतालाई मूर्ख बनाएर सत्तामा हालीमुहाली गर्न ताउरमाउर गरिरहेका छन ।

पुष्कर अधिकारी, अर्थशास्त्री, puskar adhikari, economist
लेखक

यी रक्तपिपासु पञ्चेहरूले देशलाई आर्थिक रूपमा शोाषण गरेको मात्र होइन, यिनीहरूले राष्ट्रवादको खोक्रो नारा छर्दै देशको भौगालिक अखण्डता मात्र होइन, आर्थिक, सामाजिक, शैक्षिक, सम्प्रभुता पनि विदेशी मालिकहरूलाई बेचिरहेको कुराको स्वाद अहिले पनि लिन खोजिरहेका छन् । नेपालमा प्रजातन्त्रको पुनःस्थापनापछि स्थानीय शिक्षा पद्धति, वैचारिक स्वतन्त्रता झल्काउने व्यावहारिकता तथा वैश्विक शैक्षिक परिवेशमा खरो उत्रन सक्ने गरी चलिरहेको शिक्षा पद्धतिलाई यी पञ्चहरूले २०२८ सालमा षडयन्त्रमूलक ढंगले पश्चिमा साम्राज्यवादीहरूको संस्कृतिलाई फैलाउने उद्देश्यले डिजाइन गरिएको नायँ शिक्षा नीति ल्याई नेपालको धर्म, संस्कृति, भूगोल, नैतिकता, राष्ट्रप्रेम बिर्साउने राष्ट्रघाती नयाँ शिक्षा प्रणाली लागु गरे । वास्तवमा यो प्रणालीमा लगेर नेपालको जनशक्तिलाई बेकम्मा बनाउन यिनीहरूले ठुलो रकम घुसको रूपमा खाएकै हुन्‌, जसले गर्दा आज देश खाडी र पश्चिमा मुलुकहरूका लाागि कामदार मात्र जन्माउने थलोको रूपमा विकसित भएको छ ।

पञ्चहरूले उत्तरी सीमामा रहेका १७ ठाउँको भारतीय चौकीहरू नेपालबाट हटायौँ भनेर जतिसुकै फलाके पनि भारतसँग ठुलो रकम लेनदेन गरेर कालापानीमा एउटा भारतीय सैनिक चौकी राख्न दिई कालापानी, लिपुलेक र लिम्पियाधुराको करिब ३३८ वर्ग किलोमिटर भूभाग भारतलाई सुम्पेको मात्र होइन, २०३२ सालमा नेपालको चुच्चे नक्सालाई बुच्चो पारी सदा‍सदाका लागि लपुलेक, लिम्पियाधुरा र कालापानी भारतलाई बुझाएकै हुन्‌ । आज आएर यिनै राष्ट्रघाती पञ्चहरूको पार्टी राप्रपा हामी सबैभन्दा राष्ट्रवादी पार्टी हौँ भनी लज्जा बिहीन भएर कुर्लिरहेका छन्‌ । तर, वास्तविकता के हो भने यीभन्दा राष्ट्रघाती अरु कोही हुनै सक्दैनन् किनभने यी बाहेक अरु कुनै नेता वा दलहरूले देशको भूभाग गुमाउने र खुम्च्याउने काम गरेका छैनन् ।

अरु कुरा त के गर्नु २०४६ सालपछि भएको भारतसँगको महाकाली सन्धि गर्ने समयमा यही पार्टीका मुर्धन्य नेताहरू जलस्रोत मन्त्री र परराष्ट्र मन्त्री थिए । यही दुईजना राप्रपाका राष्ट्रघाती नेताहरूको पहलमा नै महाकाली सन्धि भएको थियो । यो सन्धिमा घोर राष्ट्रघात भएको छ । तर आज राप्रपा निर्लज्जरूपमा आफू राष्ट्रवादी पार्टी भएको उद्घोष गरिरहनुलाई के भन्ने ? के हामी देशभक्तहरूले सहन सक्ने कुरा हो र ?

विगत पञ्चकालको राप्रपा र यसका नेताहरूको विगत साह्रै नै राष्ट्रघातपूर्ण थियो । यिनीहरूले नेपालका परम्परागत व्यापारी जाति नेवारहरूलाई बिस्तारै बिस्तारै व्यापारबाट विस्थापित गर्न लाइसेन्स राज खडा गरेर भारतीय मूलका व्यापारीहरूलाई व्यापार सुम्पेका हुन् । यसरी भारतीयलाई ठुलो सुविधा दिई नेपालको राष्ट्रिय व्यापार सञ्जालबाट नेवारी समुदायलाई हटाएर देशको अर्थतन्त्र धराशायी बनाएकै हुन्‌ । त्यतिमात्र कहाँ हो र ? भारतीयको सुविधाका लागि एन.आई.डी.सी. भन्ने संस्था खडा गरी भारतीय मूलका व्यापारीहरूलाई मात्र सहुलियत कर्जा दिने अरु नेवार व्यापारीहरूलाई कर्जा नै नदिने नीति ल्याई नेपालको सम्पूर्ण व्याार भारतीय मूलका व्यापारीहरूको हातमा पुर्‍याएका हुन् । यी भारतीय मूलका व्यापारीहरू आफूले नेपालमा आर्जन गरेको सम्पत्ति नेपालमा नराखी भारतमै लैजाने गर्दछन् । जसले गर्दा नेपाल आज तन्नम र गरिा राष्ट्रको रूपमा परिवर्तित भएको छ । यो ठुलो र अक्षम्य आर्थिक राष्ट्रद्रोह यिनै पञ्चेहरूले आफ्नो कुत्सित आर्थिक स्वार्थका लागि गरेका हुन् । तर विधिको बिडम्बना अझै राप्रपा र यसका नेताहरू आफूलाई राष्ट्रवादी हौँ भन्दै भ्रम छरिरहेका छन् । वास्तवमा यिनीहरू सबभन्दा ठुला राष्ट्रघाती हुन्‌ किनकि यिनीहरूले नेपालको अर्थतन्त्रलाई स्वदेशी नेवार व्यापारीको हातबाट भारतीय मूलका व्याापारीहरूको हातमा सुम्पेर नेपाललाई परनिर्भर बनाए तर पञ्चमण्डली भने मालामाल हुन पुगेका हुन् ।

यिनीहरूले गरेको अपराधको फेहरिस्त लामो छ । नेपालको पौराणिक र पुरातात्विक भक्तपुरजस्ता सहरहरू र चाँगुनारायणजस्ता मन्दिरहरूको जिर्णोद्धार र मर्मत गर्ने भनेर विदेशी दाता र दलालहरूलाई बोलाई देशका धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेका मूर्ति, थान्का, पौवा चित्र, झ्याल, टुँडालहरू तथा लिखित ग्रन्थहरू ठुलो रकम लिई विदेशीहरूलाई बेची नेपालको अस्मिता विरुद्ध ठुलो राष्ट्रघात गरेका छन् । तैपनि यी पञ्चे र यिनीहरूको पार्टी आफूलाई राष्ट्रवादी पार्टी हो भनी जनतालाई भ्रम छरिरहेको छ । यतिमात्र नभएर नदी र खोलानालाको बगिरहेको र अपार जलशक्तिको भण्डार रहेको देशमा बगिरहेको नदीबाट बिजुली उत्पादन गर्दा कम खर्चिलो हुने अवस्था हुँदा हुँदै अत्यन्त महंगो लगानीमा नदी नै नभएको ठाउँ छानेर आफ्नो आर्थिक स्वार्थका लागि खोल्सा खोल्सीको पानी जम्मा गरेर कुलेखानी जस्तो विद्युत उत्पादन केन्द्र बनाएर विद्युत गृह निर्माणको नाममा यिनीहरूले अकुत सम्पत्ति आर्जन गरेको कुरा छिपेको छैन । यसैले यो परियोजनाले नै पञ्चेहरूले गरेको भ्रष्टाचारको घिनलाग्दो उदाहरण प्रस्तुत गरिरहेको छ । यो भन्दा ठुलो बिडम्बना के हुन सक्छ र ?

नेपाली जनता यिनीहरूसँग अब सचेत बन्नु र यी राष्ट्रघातीहरूलाई बहिस्कार गर्नु जरुरी छ । आज छेपारोझैँ रङ बदलेर राप्रपा भएका पञ्चेहरूको डि.एन.ए. मा नै भ्रष्टाचार र राष्ट्रघात छ । कार्पेट काण्ड, छाला काण्ड, सर्पको छाला काण्ड, चरेश काण्ड, मूर्तिको चोरी तस्करी काण्ड यिनीहरूले के मात्रै गरेनन ? यति मात्र कहाँ हो र ? यिनीहरूले नेपालको कमसल सामान तस्करी गरेर अन्तर्राष्ट्रियरूपमा बेइज्जत समेत गरेका छन् । यस्तो व्यवहारवाट नेपालका इमान्दार व्यापारी र उद्यमीहरूले आफ्नो गुणस्तरीय उत्पादन पस्मिना, कार्पेट, तयारी पोशाक लगायतका सामान विदेशमा विक्रि नै नहुने गरी उद्योग व्यवसाय ध्वस्त बनाएर लाखौँ युवाहरू बेरोजगार बन्ने अवस्थामा पुर्‍याएका हुन् । अरु कुरा त के गर्नु ? यो देशमा नमिता, सुनिता जस्ता होनाहार युवतीहरूलाई बलात्कार तथा हत्याजस्तो घृणित काम गर्ने बलात्कारी पनि यिनै पञ्चहरू हुन् र आजको राप्रपाले त्यही बलाात्कारीहरूको लिगेसी बोकेर राष्ट्रवादीको बिल्ला लाउन खोजिरहेको छ । यस्ता पञ्चमण्डलीको आज भ्रष्टाचार तथा महंगी, हिंसा विरुद्धको उद्घोष सुन्दा नेपाली जनतालाई लाज लाग्ने गर्दछ । यसैले यी पूर्वपञ्च सम्मिलित राप्रपालाई आगामी निर्वाचानमा पराजित गरी धुलिसात पार्न जरुरी छ ।

स्वतन्त्रता र समानताका लागि आन्दोलन गर्ने हजारौँ वीर नेपालीहरूको हत्याले यी रक्तपिपासु पञ्चेहरूको हात रक्तरञ्जित छ । यी सामन्तीहरू राष्ट्रघाती मात्र होइनन्, मानवताविरोधी हत्याराहरू हुन् । पूर्णरूपमा यिनीहरू र यिनको पार्टी राप्रपालाई आगामी निर्वाचनमा दण्ड दिनु नै नेपाली मतदाताहरुको धर्म हो ।

इतिहासका धेरै कुरा गरियो । अब वर्तमानका कुरा गरौँ । भर्खरै सरकारले नागरिकता विधेयक संसदबाट पास गर्‍यो । सारा नेपालीहरूले ठुलो विरोध जनाए । तर राप्रपाजस्तो आफूलाई राष्ट्रवादी पार्टी भन्नेले यो विधेयकको विरोधमा एउटा र्‍याली मात्र होइन, सामान्य कोणसभासम्म पनि नगरेर आफू भारतीय विस्तारवादको दलाल भएको प्रमाणित गरेको होइन । यसरी भारतीय सत्ताधारी दल बिजेपीलाई खुशी बनाई आफ्नो आर्थिक भण्डार भर्न तल्लीन राप्रपा सोझो अर्थमा राष्ट्रघाती भएको प्रमाणित भएको छ । तैपनि यो दल र यसका नेताहरू आफू र आफ्नो पार्टी राष्ट्रवादी पार्टी हो भनी जनताको संवेदनशीलता र राष्ट्रवादीहरूको मन मस्तिस्कमा खेली सत्तामा गएर तर मार्ने र नेपाललाई वैदिक सनातन राष्ट्र होइन कि, भारतीय जनता पार्टीको एजेण्डामा हिन्दु राष्ट्र कायम गरी नेपाललाई सजिलै भारतसँग मिलाउने षडयन्त्रको गोटी बनिरहेका छन् ।

संक्षेपमा भन्नुपर्दा राप्रपा र यसका नेताहरूले भौगोलिक, संस्कृतिक, शैक्षिक, र आर्थिक राष्ट्रघात गरेका छन् । यिनीहरूले नेपालमाथि गरेको राष्ट्रघात अक्षम्य छ । यसर्थ यिनीहरू राप्रपा गठन गरी फेरि पुरानै व्यवस्था फर्काई सत्तामा पुगेर आफूले हालीमुहाली गरी देश लुट्न आएका हुन् । यिनीहरूसँग कुनै आर्थिक, राजनीतिक र सामाजिक नीति छैन । यो एउटा अयोग्य, राष्ट्रघात, बलात्कारी, सामन्ती र हत्याराहरूको झुण्ड मात्र हो । त्यसैले अब आउँदो आम चुनावमा यस पार्टी र यसका नेताहरूलाई पूर्णरूपमा पराजित गरी नेपाली राजनीतिको दृश्यपटलबाट सदाका लागि यिनीहरूलाई पन्छाएर यिनीहरूले गरेको राष्ट्रघात, बलात्कार र भ्रष्टाचार जस्ता अपराधको दण्ड दिनु पर्दछ । सबैलाई चेतना भया ।

(लेखक अर्थशास्त्री तथा राप्रपाका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।)