यही वर्ष २०२३ मा बेलायती राजकुमार ह्यारीको पुस्तक ‘स्पेयर’ प्रकाशित भएपछि विश्व मिडियामा निकै चर्चित भयो । पुस्तक ह्यारीका हजुरबुवा फिलिपको मृत्यु अप्रिल २०२१ बाट सुरु भएर हजुरआमा एलिजाबेथ द्वितीयको मृत्यु सेप्टेम्बर २०२२ मा सकिएको छ । पुस्तक ह्यारीकी प्यारी मेग, छोरा आर्ची, छोरी लिली र आमा डायनालाई समर्पित गरिएको छ । पुस्तक लेख्न सयभन्दा बढीलाई एकनलेज गरिएकोले निकै मिहिनेत र हिम्मत पनि गरिएको देखिन्छ । बेलायती राजपरिवारको एउटा सदस्यले राजतन्त्रको धेरै पाटाहरू उजागर गरेका छन् । औपचारिक नाम हेनरी चार्ल्स अलबर्ट डेभिड भएपनि उनी ह्यारीको नामले नै परिचित छन् र पुस्तकको लेखक प्रिन्स ह्यारी लेखिएको छ।
प्लेब्योय पात्रका रूपमा परिचित ह्यारीले मेगन मर्कलभन्दा पहिला चेल्सी, फ्लोरेन्स, र क्रेसिडासँको डेटिङ गरेको उल्लेख गरेका छन् । मेगनसँग उनको सम्पर्क इन्स्टाग्रामको माध्यमबाट भयो । पहिलो भेट लन्डनको सोहो हाउसमा भएको थियो र पहिलो विदेश भ्रमण उनीहरूले बोत्सवाना गरेका थिए । पुस्तकमा ह्यारीले मेगन अमेरिकी आफू बेलायती, उनी निकै पढेकी, आफू कम पढेका, यद्यपि ह्यारीले बेलायतका नामुद स्कुलहरू लुडग्रोभ, इटन र बृटिश आर्मी एकेडेमीमा अध्ययन गरेका थिए । ह्यारीले मेगन स्वतन्त्र चरी र आफू पिँजडाको पन्छी जस्तो लेखेका छन् ।
मेगन डिभोर्सी थिइन् । बेलायती राजघरानाले बिहे गर्न पाउँदैन भनियो तर ह्यारीले आफ्ना पा (पिता चार्ल्स) डिभोर्सी अर्की डिभोर्सी क्यामिलासँग बिहे गर्न पाउने, फुपू एन्नी पनि डिभोर्सी बिहे गर्न पाउने मैले किन नपाउने भनेर जिद्दी गरे । बेलायती राजकीय विवाह कानुन १७७२ वा राजगद्दी उत्तराधिकारी कानुन २०१३ ले नरोकेको नजिर पेश गरे । तीन वर्ष डेटिङ गरेर ह्यारीले २०१८ मा मेगनसँग विवाह गरे, जुन विवाह दुई अर्ब मानिसले टिभिमा हेरेका थिए । विवाहपछि ह्यारी-मेगनको विलियम-केटसँग खटपट सुरू भयो । ह्यारी-मेगनले बेलायत छाडे । केही वर्ष क्यानाडा बसेपछि अमेरिकाको क्यालिफोर्नियामा चारजनाको परिवार बसेको छ । बेलायतको राजघरानाले ह्यारीलाई वार्षिक ६० लाख (६ मिलियन) पाउन्ड बेहोर्छ, लूटको धन फुपूको श्राद्ध ।
विल्ली (विलियम) ले ह्यारीलाई बेलायती परम्परा अनुसार दारी पालेर विवाह गर्न नपाइने भनेपछि मुद्दा ग्रान्नी (ग्रान्डमदर – रानी एलिजाबेथ) कहाँ पुग्यो । ह्यारीले हजुरआमालाई राजा एडवर्ड सातौँ, राजा जर्ज पाँचौँ, राजकुमार अल्बर्ट र माइकलले दारी पालेको उदाहरण दिएपछि रानीबाट स्वीकृति पाए तर बेलायती मिडियामा एउटा हुइयाँ चल्यो । ह्यारीको दारी डायनाको पूर्वप्रेमी मेजर जेम्स हेविट जस्तो रहेको आक्षेप लाग्यो । ह्यारी जन्मेको बेला अनुहारको बारे पनि डायनाले विवाहपछि हेविटसँग भेटै नभएको स्पष्टीकरण दिनुपरेको थियो । पुस्तकको प्रमुख आलोचनाको विषय चाहिँ ह्यारीले अफगानिस्तानमा सैनिक हेलिकप्टरबाट अन्धाधुन्ध मानिस मारेको आरोपमा उनलाई अपराधीसम्म भनिएको उल्लेख छ । यो कामका लागि सहयोग गर्ने गोर्खाली (gurkhas) देखिन्छन् । खसी काटेर झोल मासु खाने, खुकुरी (kukuri) को प्रसङ्ग छ ।
पुस्तकको चुरो कुरो ह्यारीले विलियम बेलायती राजसत्ताको उत्तराधिकारी (heir) र आफू चाहिँ अतिरिक्त (spare) रहेको मर्म पुस्तकको शीर्षकले नै बताउँछ । ह्यारीले आफू जन्मँदा चार्ल्स, विलियमपछि तेस्रो उत्तराधिकारी थिए भने विलियमका तीन सन्तानपछि छैटौँमा पुगेर स्पेयरको पनि स्पेयर भएको स्वीकारेका छन् । सत्ता संघर्ष ।
(लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)