मेरो छोरा आजदेखि विद्यालय जान सुरु गरेको छ । केही समयका लागि यो कुरा उसका लागि अनौठो र नवीन हुनेछ र यहाँले ऊसँग कोमल व्यवहार गर्नुहुनेछ भन्ने मेरो कामना छ । यो एउटा साहसिक कार्य हो, जसले उसलाई महादेशहरूको विचरण गराउन सक्नेछ । सबै साहसिक कार्यहरू – जसमा संभवतः युद्धहरू, वियोग र पीडा समेत पर्दछन् । यो जीवन जिउनका लागि विश्वास, प्रेम र साहस आवश्यक पर्छ ।
त्यसैले, प्रिय शिक्षक, के तपाईँले उसको हात थाम्नुहुनेछ र तपाईँलाई संभव भएमा कोमलातापूर्वक ती कुराहरू पढाइदिनुहुनेछ, जुन उसले सिक्नु पर्नेछ । उसलाई पढाइदिनोस् कि हरेक सत्रुसँगै त्यहाँ एउटा मित्र पनि हुन्छ । उसलाई पढाइदिनोस् कि सबै मानिसहरू न्यायपूर्ण हुँदैनन्, सबै मानिसहरू सज्जन हुँदैनन् । तर उसलाई यो पनि पढाइदिनोस् कि प्रत्येक बदमाशका लागि त्यहाँ एउटा नायक (हिरो) हुन्छ, प्रत्येक स्वार्थी राजनीतिज्ञको ठाउँमा एउटा निष्ठावान् नेता हुन्छ ।
सक्नुहुन्छ भने उसलाई पढाइदिनोस् कि भेटाएको १ डलरभन्दा आफैले कमाएको १० सेन्ट धेरै मूल्यवान हुन्छ । शिक्षक, विद्यालयमा चोरी गर्नु (चिट चोर्नु) भन्दा फेल हुनु कता हो कता धेरै सम्मानयोग्य हुन्छ । उसलाई पढाइदिनोस् कि उसले कसरी मर्यादित तरिकाले हार्ने र आफूले जित्दा विजयको आनन्द लिने भन्ने जानोस् ।
उसलाई जनतासँग कोमल हुन र कठोर मानिसहरूसँग कठोर हुन सिकाइदिनोस् । यदि सक्नुहुन्छ भने उसलाई इर्ष्यादेखि टाढै राखिदिनोस् र मौन हाँसोको रहस्य पढाइदिनोस् । सक्नुहुन्छ भने उसलाई पढाइदिनोस् कि ऊ दुःखी हुँदा कसरी हाँस्ने, उसलाई पढाइदिनोस् कि आँशुमा कुनै लज्जा छैन । उसलाई पढाइदिनोस् कि असफलताभित्र पनि गौरव हुन सक्छ र सफलताभित्र निराशा । उसलाई निन्दा गर्नेहरूको उपहास गर्न सिकाइदिनोस् ।
सक्नुहुन्छ भने उसलाई पुस्तकहरूको आश्चर्य पढाइदिनोस्, तर उसलाई आकाशका चराहरू, घामका माहुरीहरू र हरिया पर्वतहरूका फूलहरूको भयंकर रहस्यमा डुबुल्की मार्न पनि समय दिनुहोस् । उसलाई यदि हरेकले गलत भने पनि उसका आफ्ना विचारहरूमाथि भरोसा गर्न सिकाइदिनोस् ।
मेरो छोरालाई अरु सबै लागे पनि भिडको पछाडि नलाग्न सबल बनाउने कोशिस गरिदिनोस् । उसलाई पढाइदिनोस् कि उसले हरेकको कुरा सुनोस्, परन्तु उसलाई यो पनि पढाइदिनोस् कि उसले सुनेको सबै कुरालाई सत्यको कसीमा राखोस् र त्यसबाट आउने असल कुरालाई मात्र अपनाओस् ।
उसलाई पढाइदिनोस् कि उसले आफ्नो प्रतिभा र दिमागलाई सबैभन्दा धेरै मूल्य तिर्न तयार हुनेहरूलाई बेच्न सकोस् तर उसको हृदय र आत्माको मूल्य लगाउन कहिल्यै तयार नहोस् । उसलाई अधैर्य हुने साहस राख्न दिनुहोस्, उसलाई साहसी हुने धैर्य प्राप्त गर्न दिनुहोस् । उसलाई आफैप्रति उदात्त विश्वास राख्न सिकाइदिनुहोस् किनभने त्यसपछि मात्रै उसले मानवजातिमाथि, र ईश्वरमाथि, सँधै उदात्त विश्वास राख्न सक्नेछ ।
यो एउटा निर्देशन हो, शिक्षक, तर हेर्नुहोस् तपाईँले कतिसम्म गर्न सक्नुहुन्छ । ऊ साँच्चै एउटा सुन्दर फुच्चे केटो हो र ऊ मेरो छोरो हो ।
(अनुवादः नहेन्द्र खड्का)