प्रस्तुत विषयलाई अन्तर्राष्ट्रिय सन्दर्भतिर वा शास्त्रीय मार्क्सवादतिर लग्ने हो भने लेख निकै लामो हुने सम्भावना छ । यसर्थ यसलाई नेपालको वर्तमान परिस्थितिमा नेपालभित्रै चलिरहेका राजनैतिक बहस छलफल वा अन्तक्रियाको सीमाभित्र रहेर विश्लेषण गर्नु सान्दर्भिक हुनेछ।
यो सर्वविदित कुरा हो कि नेपालको वर्तमान राजनीतिक स्थिति नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन र सत्तारूढ नेपाली काङ्ग्रेसको महासमितिको बैठकमा चल्ने राजनीतिक मुद्दाहरूका वरिपरि चक्कर काटिरहेको छ । सतहमा देखिने अहिलेको यो संसदीय नेपाली राजनीतिमा सत्तारुढ दल र सत्ताविपक्षी दलहरू दुवैले आज आफूलाई समाजवादी बताउँदै आएको तपाईँ हामी सबैलाई थाहै छ । अझै पनि उक्त दुवै शक्तिले आफूलाई यो वा त्यो रूपले समाजवादको पक्षधर रहेको बताउन छोडेको पाइन्न । तसर्थ, काङ्ग्रेसको समाजवाद, एमालेको समाजवाद र खासै समाजवादको ओज, अर्थ र मर्मसहितको समाजवाद के हो ? यसबारे फेरि एक पटक नयाँ शिराबाट जबरजस्त बहस छेडेर समाजवादको आवरणभित्र लुकेर व्यक्तिवाद र “समाजवाद” को पृष्ठपोषण गर्ने तमाम हर्कतहरूलाई नाङ्गेझार पार्ने कामको महत्त्व अत्यन्त बढेर गएको छ । यहाँ हामीले होशियारीपूर्वक यो नाङ्गेझार पार्ने कामलाई अगाडि बढाउन किन आवश्यक छ ? यसैले कि नेपाली काङ्ग्रेस उसको समग्र राजनैतिक अवधारणामा उसको स्थापनाकालदेखि अहिलेसम्म नै व्यक्तिवादभन्दा एक इञ्च माथि नहुँदा नहुँदै पनि ‘प्रजातान्त्रिक समाजवादी’ भएर ढाँट्यो, अब निकट भविष्यमै यदि महासमितिमा सिद्धान्ततः उपसमितिको दस्तावेज पारित भएमा ‘सन्तुलित समाजवादी’ बनेर ढाँट्ने दाउ गर्दैछ भने एमाले उसको समग्र राजनीतिक मापदण्ड र लक्ष्यहरूका हिसाबले विशुद्ध सामाजिक पुँजीवादी जनवादी हुँदाहुँदै सिर्जनात्मक मार्क्सवादी-लेनिनवादीको आवरणभित्र लुकेर चोर बिरालो भइबसेको छ। तसर्थ यी दुईवटा चोर बिराला जो यथार्थमा व्यक्तिवादी र “समाजवादी” हुन् । यिनबाट समाजवादको रक्षा आज सर्वाधिक महत्त्वको विषय बन्न गएको छ ।
समाज विज्ञानमा मार्क्सवादी शिक्षाको सार के हो ? मार्क्सका शब्दमा ‘सामाजिक संरचनाभित्र सृष्टि हुने सामाजिक विकृतिहरूको स्रोत पत्ता लगाउनु र त्यो स्रोतलाई नै समग्र रूपले रूपान्तर गरेर विकृतिरहित स्रोतहरूको स्थापना र त्यसको रक्षा गर्नु’ हो । अथवा प्रश्न यसरी गर्दा विषयलाई बुझ्न सजिलो हुनेछ । मानव समाजभित्र खराबीहरू जन्मन्छन् । आखिर कहाँबाट ? निजी स्वामित्वको अर्थतन्त्रबाट । अझ स्पष्ट शब्दमा मानव समाजभित्र आर्थिक सामाजिक सांस्कृतिक विषमताको मूल जड निजी स्वामित्वको अर्थतन्त्र हो, शोषण उत्पीडन र युद्ध-विनाश-ध्वंश सबैको खास सत्य निजी स्वामित्वको अर्थतन्त्र नै हो । त्यसो भए मानव समाजभित्र समानता, मुक्ति, शान्ति र प्रगति गरी बहाली हुन्छन् ? उत्तर सरल छ, निजी स्वामित्वलाई समग्ररूपले रूपान्तरण गर सामूहिक वा राजकीय स्वामित्वमा रूपान्तरण गरेर । त्यसैले विश्वकपमा समाजवाद शब्दको शाब्दिक अर्थ निर्धारण गरियो – ‘राज्यद्वारा नियन्त्रित अर्थतन्त्र भएको सामाजिक व्यवस्थालाई समाजवाद भनिन्छ । त्यसैले हामीले समयमै सच्चा समाजवादी हुँ’ भन्ने कित्तामा आफूलाई उभ्याउँछौँ र अगाडि विशेषणको फुली लगाइदिएर समाजवादलाई पुँजीवादी वर्गको माल तान्ने टाङ्गा-घोडा वा गाडा-गोरु बनाउने निजी स्वामित्वको जगमाथि खडा भएको समग्र सडेगलेको सामाजिक संरचनालाई उखेलेर त्यसको ठाउँमा राज्य नियन्त्रित अर्थव्यवस्थाको स्थापना र रक्षा गर्ने सिपाहीको कित्तामा आफूलाई उभ्याउन सक्नु पर्यो । अनि मात्र विशेषणरहित समाजवाद-खासै समाजवाद, त्यसको ओज, अर्थ र मर्मसहितको समाजवाद हामीलाई प्राप्त हुनेछ। छोटकरीमा यो सच्चा समाजवादको कुनै विकल्प छैन, खण्डन नै छैन, व्यक्तिवाद र समाजवाद वा “समाजवाद” र समाजवाद बिच चलेको ऐतिहासिक लडाइँमा अहिले यो समाजवाद हारेको छ वा रक्षात्मक स्थितिमा छ । कुरा यत्ति हो ।
तसर्थ, जब पुँजीवादी (व्यक्तिवादी) वर्गले वा पुँजीवादी पथगामी (“समाजवादी”) वर्गले क्रान्तिकारी मार्क्सवादी अर्थात मार्क्सवादी-लेनिनवादी-माओवादीहरूले समाजवादको उपर्युक्त ‘ओज, अर्थ र मर्म’ लाई रुस, चीनलगायतका मुलुकहरूमा व्यावहारिक रूपले सिद्ध गरेर देखाए, खण्डन हुन सक्तैन भनेर प्रमाणित गरिदिए, त्यसपछि पुँजीवादीहरूले आफ्नो अर्थतन्त्रमा मिश्रित अर्थतन्त्रको संजीवनी मिसाए भने “समाजवादी” हरूले आफ्नो पुर्ख्यौली धान्दै “निजी स्वामित्वमा अलि-अलि सम्पत्ति राख्न हुन्छ” भन्दै आए । क्या गजबको संयोग ! यहाँ दुवै चौर बिरालोहरूको आ-आफ्ना एक-एक चीज यता र उता मिसाउँछन् । पुँजीवादीले आफ्नो वर्गीय हितमाथि कुनै असर नपर्ने गरी केही “राष्ट्रियकरण” मिसाउँछ भने “समाजवादी”ले राजकीय पुँजीवादको भलाइका लागि निजी स्वामित्वमा अलि-अलि सम्पत्ति “छाड्दै” जान्छ । यो संयोग आज संसारैभरि विद्यमान छ । स्वतन्त्र मौद्रिक नीति भनियोस् अथवा खुल्ला बजार अर्थव्यवस्था, नाम जे भए पनि काम उही । तसर्थ अर्थतन्त्र निजी होस् वा मिश्रित, त्यो चोर बिरालाको नङ्ग्रासहितको पञ्जा नै हो, जसले दुधको तर स्वाट्ट सोहोरेर पेट भर्छ- मजदुर वर्गको गला रेट्छ, उत्पादक शक्तिको सत्यानास गर्छ किनकि दुवै अर्थतन्त्रका बिचमा एउटा चीजमा निर्विवाद रूपले समानता छ । त्यो हो – मुनाफा । सर्वहारा सांस्कृतिक क्रान्तिकालमा चीनमा उत्पादन-प्रणालीबारे माओ र ल्यू-तेङ बिच मुख्य बहसको मुद्दा – यही समाजवादी आर्थिक उत्पादन प्रक्रियाभित्र “मुनाफा प्रधान कि मालको आपूर्ति प्रधान” भन्ने विषय भएको थियो । माओ भन्नुहुन्थ्यो मालको आपूर्ति प्रधान हो, मुनाफा होइन, ल्यू-तेङ भन्थे मुनाफा बढी बटुल । अर्कातिर पुँजीवादी प्रणालीमा जहाँ मिश्रित स्वामित्वको व्यवस्था गरिएको छ, त्यो चुहिँदै-चुहिँदै अन्ततः निजी पकेटहरूमा गएर जम्मा भएको यथार्थ हाम्रा सामु जताततै छरपष्ट छ ।
आज हामी एमालेको राष्ट्रिय महाधिवेशन र काङ्ग्रेसको महासमितिको बैठकको संघारमा छौँ । यतिखेर “सिर्जनशील समाजवाद” र झण्डै ‘सन्तुलित समाजवाद’ हाम्रा लागि पाठ्यसामग्रीको रूपमा प्रस्तुत भएका छन् । समाजवादको अगाडि यी विशेषणका तगाराहरू हाल्न किन आवश्यक भयो होला ? तपाईंको समाजवादप्रति खासै लिनुदिनु छैन भने तपाईं आरामसँग सुत्नुहोस् तर तपाईँ असली अर्थमा समाजवादी हुनुहुन्छ भने सतर्क हुनुहोस् – तपाई होली तगारो फड्कन सक्नु हुन्न । तसर्थ एमालेका प्रस्तावित दस्तावेज फेरि पल्टाउनुहोस् त, त्यहाँ बकाइदा लेखेको छ, खुल्ला बजार अर्थतन्त्र, स्वतन्त्र प्रतिस्पर्धा, वैदेशिक लगानीकर्तालाई उपयुक्त मुनाफा, देशको अर्थतन्त्रको जग मिश्रित स्वामित्व आदि । त्यस्तै काङ्ग्रेसका सिद्धान्त उपसमितिका प्रस्तोता ढुण्डिराज शास्त्री भन्छन्- “मानिस स्वभावले व्यक्तिवादी हुन्छ, त्यही मानवीय प्रवृत्ति (?) लाई काङ्ग्रेसले आफ्नो चिन्तनको आधार बनाएको छ” आदि आदि। आहा ! यी कति सुन्दर – छन्, चोर बिरालाहरूका हजार-हजार तर्क, तल खसिसक्दा पनि हामी माथि उठिरहेका छौँ भनिरहेका । अद्य पतनको पनि त सीमा हुन्थ्यो, अब त्यो पनि समाप्त भयो क्यार ।
खैर ! यहाँ दुण्डीराज शास्त्रीको इमान्दारीपूर्वक आफ्नो सक्कली अनुहारको प्रदर्शन भयो – मानवजातिले अज्ञानतावश मानेको ‘व्यक्तिवाद’ लाई उहाँले आमरूपमा स्वीकारी सक्नुभयो । चिन्तनको स्रोत मेरुदण्ड बताउनुभयो । स्याबास शास्त्रीजी, सगौरव तपाईंजस्ता संसार हाँक्ने व्यक्तिवादी, अहंवादी, मपाईँवादी- बिरालाहरू धेरै नबनाऔँ – सारमा पुँजीवादी र अझ साम्राज्यवादी सत्ता स्वीकार गर्नुभयो र राजनीतिमा कुरा यसरी सोझै आयो । बहस अत्यन्त योग्यतापूर्वक हुन सक्छ । तपाईँले अर्कातिर समाजवादभन्दा बढी व्यक्तिवादलाई श्रेष्ठ सिद्ध गर्ने जमर्को पनि गर्नुभएकोछ, त्यो भने व्यर्थ छ । तपाईँको व्यक्तिवादी समाजलाई होइन, “समाजवाद” लाई पक्कै तह लगाउन सक्छ, तपाईलाई थाहा छैन ? गोर्वाचेभको “समाजवाद “लाई उनले तह लाए तर तपाईँलाई यो पनि थाहा होला कि गोञ्जालोको समाजवादलाई बुशले लगाउन सकेनन् । अब भर्खरै तपाईँहरूले हार्दिकतापूर्वक बधाई पठाएका क्लिन्टनले सक्तैनन्, गोञ्जालोको समाजवाद युद्धपराजित हुने समाजवाद होइन, गोञ्जालोलाई बाघको खोरभित्र थुन्दैमा त्यो समाजवाद खत्तम हुँदैन । त्यो त एउटा प्रवृत्तिको रूप हो, जो हुँदैन र मर्दैन, तसर्थ गोञ्जालो हार्दैनन् वा क्लिण्टन जित्दैनन् । यो वैज्ञानिक यथार्थ हो ।
तसर्थ आजको समकालीन राजनीतिमा विवाद – व्यक्तिवाद, “समाजवाद” र समाजवादका बिचमा विद्यमान छ । वर्तमान नेपाल व्यक्तिवाद-राजा, काङ्ग्रेस र भूपू पञ्चहरूको मूल राजनैतिक प्रवाह हो भने “समाजवाद” एमालेलगायत समाजवादको गुदी तत्त्व वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व र निरन्तर क्रान्तिजस्ता चीजहरू फ्याँकेर समाजवाद अवलम्बन गर्नेहरूको धारा हो । अन्त्यमा र यथार्थमा समाजवादी धारा समाजवादका गुदी तत्त्व वर्ग, वर्गसंघर्ष र अधिनायकत्व हो ।
(बेपत्ता योद्धा क. दण्डपाणि न्यौपाने ‘दीपेन्द्र शर्मा’को जनादेश साप्ताहिक, २०४९ माघ २० मा प्रकाशित लेखलाई साभार गरी पुनः प्रकाशन गरिएको छ ।)