प्याट्रिस लुमुम्बा, Patrice Lumumba
 

निग्रो ! तिमीले हजारौँ वर्षदेखि अपराध सहेका छौ पशुले जस्तै
र मरुभूमिको हावामा तिम्रो खरानी उडेको छ
तिम्रो आत्मालाई बचाइराख्ने नाममा
तिम्रो दुःख खेपाइ जारी राख्नका लागि
घुस्सा हान्ने बर्बर अधिकार तथा
कोरा हान्ने गोराको अधिकार
ज्युँदो राख्नका लागि तिम्रो मर्ने अधिकार
र, तिमी रुने अधिकार सधैँ सधैँ कायम राख्नका लागि
जाली दुश्मनहरूले बनाएका छन् अति सुन्दर सङ्ग्रहालय
तिम्रा टोटेमका छातीमा उकेरा लाएका छन् ।

अन्तहीन भोक र अन्तहीन बन्धन
जङ्गलको आडमा सर्पलेझैँ एउटा विभत्स मृत्युले
ताकिरहेको छ तिमीलाई
वनस्पतिको आँख्ला र टुप्पाबाट फैलिएका हाँगाहरूले जस्तै
च्याप्दै गाँजेका छन् तिम्रो शरीर र तिम्रो पीडित आत्मालाई
अनि त्यसपछि तिम्रो छातीमा छाडियो खतरनाक विषालु साँप
काँधमा नारियो उम्लँदो पानीको जुवा
सक्कली नक्कली मोतीको झलकले लोभ्याएर
छातीबाट खोसिएकी छन् तिम्री प्रेयसी
र, खोसिएको छ तिम्रो असीम सम्पत्ति
आधी रातमा तिम्रो झुप्रोबाट निस्केको छ टमटमको आवाज
लहरिँदै आएको छ चिथोरिएकी नारीको आर्त चित्कार
तिम्रा विशाल निला नदी, खोलाहरूको छाती चिरेर
आँसु र रगतको समुद्रबाट बग्दै
लादिएका जहाज गइरहेछन् त्यो पापभूमितर्फ
जसलाई उनीहरू गोराहरूको मातृभूमि भन्छन्
जहाँ मान्छे घृणित छ र डलर जहाँ बादशाह बन्छ
जहाँ दिनदिनै तिम्रा छोराहरू
तिम्री प्रेयसी निर्मम तथा भीषण शोषणको पाङ्ग्रामुनि
असह्य यन्त्रणाले कहराइरहेका छन् ।

उनले तिमीलाई सम्झाए – ‘अरू सबैझैँ तिमी पनि मान्छे हौ
गोरा देउताले एकदिन सबै मानिसलाई मिलाउनेछ।’
आँसुका गीत गाउँदै भौतारिएका छौ तिमी
गोराहरूको ढोका ढोकामा घरबारबिना भिखारी जस्तै
जब तन मनमा जलनको ज्वार उठ्छ
रातभरि नै तिमी नाच्छौ र गाएका छौ तुफानको आर्तनादझैँ गीत
हजारौँ सालदेखिको दुःखको गर्भबाट
विस्फोटित भएको छ एउटा प्रचण्ड शक्ति
पौरुषेय लयको आगो सल्केकोछ कथा र कहानीमा
‘जजसङ्गीत’ का तीव्र झन्कारहरूमा
ती उन्मादिनी गायिकाको मुक्तधाराको प्रचण्डतामा थर्थराई उठेको छ
महादेश वारिदेखि पारिसम्म झस्किएर ब्युँझी उठेकोछ सारा दुनियाँ
आतङ्कले कालो निलो गोराको दस्ताले ध्यानले सुनेकोछ
अँधेरी रातमा जलिरहेको मशालझैँ
एउटा नयाँ गीत।

बिहान भइसक्यो साथी
आँखा खोलेर हेर हाम्रो अनुहारतिर
चम्किरहेको छ एउटा नयाँ सङ्कल्प
आँखा उठाएर हेर पुरानो अफ्रिकाको छातीमा
ओर्लिएको छ एउटा नयाँ बिहान
हजारौँ हजार वर्षदेखि हराएको देश
हराएको जमिन हराएको जल हराएका विशाल नदी नालाहरू
यति दिनपछि बल्ल फिर्ता हुनेछन् सर्वहारा निग्रोलाई
सूर्य उम्रिएर आयो उसका फैलिएका निर्मम अग्निकणमा
सुक्नेछ तिम्रो आँखाको पानी
सुक्नेछ तिम्रो मुखमा सर्सिएको थुक
सिक्री तोड साथी ! सिकी तोड ! सिक्री तोडिनुका साथसाथै
सधैँका लागि समाप्त हुनेछन् तिम्रा
असह्य दुःखका भयावह विभत्स दिन
कालो धर्तीको छाती चिरेर शिर ठाडो पार्नेछ
एउटा स्वतन्त्र निर्भिक कङ्गो
कालो माटोको अँध्यारोमा कालो बीजको भित्रबाट
कालो अङ्कुरणले भरिएर
रश्मिका आकाशमा शिर उठाएर उभिनेछ
कङ्गो, मेरो कङ्गो ।

(अफ्रिकी मुक्ति योद्धा प्याट्रिस लुमुम्बाद्वारा लिखित यस कवितालाई हामीले नयाँ यथार्थ साहित्यिक त्रैमासिकको वर्ष २, अंक २, पूर्णाङ्क ३, असोज-मङ्सिर २०६८ बाट साभार गरेका हौँ । कवितामा अनुवादकको नाम उल्लेख छै, उहाँ जो भए पनि यो सुन्दर कविताको सुन्दर अनुवादका लागि आभार व्यक्त गर्दछौँ – सं.।)

यी पनि पढ्नुहोस्ः

प्याट्रिस लुमुम्बाको अन्तिम पत्र – टंक कार्की

प्याट्रिस लुमुम्बाः साम्राज्यवादी अफ्रिकी क्रान्तिकारी – प्रमेश पोखरेल

दक्षिण अफ्रिकी क्रान्तिकारी कम्युनिस्ट नेताः क्रिस हनी

क्वामे एन्क्रुमाहः घानाका महान् अफ्रिकी मुक्तियोद्धा