chunu gurung, चुनु गुरुङ,
 

सास फेर्न नपाउँदै दिन ढल्के
थकाइ बिसाउन नभ्याउँदै काँशुघाटको ओरालोमा
गाईवस्तु झर्दैछन् कि ग्वालाहरू हुन् ?
दिनरात गाउँ चाहार्छन्‌ हत्याराका हुल
ठनास्दै होश राख्दै
डोकोको पिँधमा चिजबिज राखी खोस्मेराले
खोस्मेरामाथि दाउराका चाङ
बोक्दै थाप्लोमा नाम्लोको पाता मिलाउँदै
घुर्मैलो पछ्यौरी ओढेकी बेलिसरा
सधैँझैँ ऊ आपनो बाटो हिँड्छे
थुप्रै फेरा जीवनका मूल्य माग्ने
साँइदुवाहरूको सामुन्ने, रत्तिभर नडराई हिँड्छे ।

बेलिसराको मनै फेरिएको छ
साहस बढेर आउँछ रे
उसलाई हिम्मत बढेर आउँछ रे
कहिले डालोको पिँधमा सामग्री, सामग्रीमाथि गोलभेडा
तोरीको साग बोकेर बजार पुग्छे बेलिसरा
सुरक्षित पुर्‍याउँछे सामाग्री गोप्य ठाउँमा
बेलिसरा श्रमजीवी नारी हो
ऊ गरिबकी जहान हो
सधैँ आपनो काम बोकेर गल्ली गल्ली चर्हाछे
घर घर गोलभेडा पुर्‍याउँछे, तरकारी पुर्‍याउँछे
चित्तै नबुझ्ने तरकारीको भाउ समाउँछे
श्रमको होइन, श्रम शक्तिको मूल्य कमाउँछे
सधैँभरि घाटाको जीवन बेहोरेकी बेलिसरा
श्रमिकहरूको भन्दा श्रमचोरहरूको सुखी जीवन किन ?
मनमा चासो पसेको छ,
बेलिसरालाई यी सब जान्न खाँचो परेकोछ ।

साँच्चै हिजो आज बेलिसरा
ज्यानको खतरा मोलेर हिँड्छे
त्यही खतरामा जीवनको मूल्य पाएको छु भन्छे
त्यस्ता खजाना बारम्बार ओसारपसार गर्छे
खबर पुर्‍याउँछे, खबर ल्याउँछे
तरकारी बेच्दै ऊ हरेक ठाउँ पुग्छे
दुश्मनको मुख्यालयमा जनताका विरुद्ध के हुँदैछ ?
तुरुन्तै रिपोर्ट ल्याउँछे
बर्खे झरीमा हिलो खाएको खुट्टा कन्याउँदै
जुकाले चुसेको जिउबाट रगत बगाउँदै
पसिनाले नुहाउँछे अमिलो गन्हाउँदै
मेलापात धाउँछे बेलिसरा
धेरैजसो मेलापातमा नौलो भाका सुनाउँछे
तर्साउने गीत गाउँछे
अत्याउने गीत गाउँछे
खेतालाहरूलाई अखपै मन खुल्ने गीत गाउँछे
दिनभर कजिएर, सञ्जेमा घर आउँछे बेलिसरा
थाकेको बेला
एक घान मकैले पुग्दैन बच्चाहरूलाई
सिङ्गानको लोप्रा चाटेर
माटोका डल्ला निलेर
पेट भर्ने कर्णधारहरूलाई जन्माउने बेलिसरा
काखमा च्यापेर ती मुटुका टुक्राहरूलाई
हिजो आज रातभरि के गर्छे के ऊ ?

ऊ नयाँ योजना बनाउँछे
टुकी बालेर सिरानीमा राखेको कागजात
सुन्दर संसारको दस्तावेज
मयलले कलेटी परेको पटुकीमा बेरेर
भाले नबास्दै
एक ठाउँबाट अर्को ठाउँ पुर्‍याउँछे
हरेक फाँटमा सरिक हुन्छे बेलिसरा
तिमीले पत्ता लगाउन सके के गर्छौ बेलिसरालाई ?
थुप्रै अमानवीय यातना चखाउला
सर्वाङ्ग नाङ्गो पारेर चिथोरौला, परान हालौला
चोक्टा चोक्टा पारेर मासु चपाउला बेलिसराको
तिम्रो सर्च अभियानले के सजाय दिन सक्छ बेलिसरालाई ?

मुत्युसँग खेलिसकेकी छे बेलिसरा उ डराउँदिन
तिमी डराउँछौ आफ्नै अभियानको हारसँग
घाँसभित्र बम बोकेर हिँड्छे बेलिसरा
घाँटीमा गोलीको माला पहिरिएर
कैयौँ पटक समरमा भिडेकीछे बेलिसरा
तिमीजस्ता थुप्रैलाई ढालिसकेकी छे बेलिसराले
नमिठै भए पनि खोई हामीलाई एक पेट खान ?
नराम्रै भए पनि खोई हामीलाई एक आङ लाउन ?
चुहिएकै भए पनि हाम्रो झुप्रो घर ?
गरेका थियौ र हाम्रो निम्ति हित ?
तिम्रा विरुद्ध हामी नबोलौँ ?
दिएकाछौ र कुनै अधिकार ?
तिम्रा विरुद्ध जाई नलागौँ ?

साभारः सहिद हस्ताक्षर