चिनी, sugar
 

म अचेल नुनको चिया खाँदैछु । नुनको चिया खाँदा लाग्छ म सहिद हुँदैछु । चिनीको साटो नुनले सन्तुष्ट हुनु लाग्छ गंगालाल, शुक्रराजको बलिदानभन्दा पनि ठुलो हो । नुनको चिया मैले रहरले खाने गरेको होइन । सबैलाई थाहै भएको कुरा हो अचेल चिनी पाइँदैन । एघार रुपियाँ किलो चिनीको साटो पच्चीस रुपियाँ किलो मिश्रीको चिया खाँदा बाबुको क्रियामा बसेजस्तो लाग्छ । अझ अर्काको घरमा मिश्रीको चिया खाँदा त मृत्युसँग भोज खाएजस्तो लाग्छ ।

नुनको चिया खानु परेकोमा मलाई गुनासो छैन । देशको ऋण चुक्ता गर्दैछु । सात सालमा म जन्मेको थिइन र जेल पनि जान पाइन । जो सात सालमा जेल गएका थिए, चिनीको चिया खाँदैछन् । बाँकी नुनको । गल्ती मेरै हो । म सात सालभन्दा आठसाल कान्छो भएँ । नुनको चिया खाने अब सोच्न थालेका छन् के यो हाम्रै देश त हो ? सायद होइन । देश अर्काको पो रहेछ, त्यसैले त हामी चाहेको वस्तु किन्न पाउँदैनौ । खान पाउँदैनौँ । हामी त यहाँ बहालमा बस्छौँ । जब हामीसँग देशभक्तिको माग गरिनेछ, अनि हामीले सोच्नुपर्ने हुन्छ । बहालमा बसेकाले देशका लागि केही गर्ने कि नगर्ने ? अथवा पहिला देश आफ्नो पारेर केही गर्ने ।

भरत पोखरेल, bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

यिनै बहालवालाहरू अचेल नुनको चिया खाँदैछन् । उनीहरू भन्छन् के गर्ने, चिनी नै पाइँदैन । यसपालाको दशैँमा चिनीको मृत्युजस्तै भयो । देखेको त होइन सुनेको मात्र हो, पहिले दाना दानामा खाने मान्छेको नाम लेखिएको हुन्थ्यो रे । कसले लेख्थ्यो आस्तिकहरूलाई थाहा होला तर अब दाना दानामा कालाबजारीको नाम लेखिएको हुन्छ ।

कसलाई भन्ने ? सरकारलाई ? उसले त चिया किन खान्छौँ, अम्मल खानु राम्रो होइन भन्छ । उसको यो सहानुभूति जनताको स्वास्थ्यभन्दा पनि चिनीको अभावले गर्दा भनिएको हो । सरकारले जनताको स्वास्थ्यको त्यत्रो ख्याल राख्ने भए जनता जण्डिसले सोत्तर किन पर्थे ? दुध काण्ड, पानी काण्ड किन हुन्थ्यो ?

एक किलो चिनी किन्न असनमा क्यूमा उभिनुपर्छ । के असन साँच्च्किै मानिहरू उभ्याउने ठाउँ हो त ? जनतालाई असनमा उभिन कति गाह्रो हुन्छ, सरकारले एकपल्ट आफै असनमा उभिए चाल पाउने छ । जनताले चाडपर्वमा चिनी किन्ने गर्छन् । यहाँ चिनी प्रायः चाडपर्वमा भूमिगत हुने गर्छ । म अर्थशास्त्रको विद्यार्थीको नाताले केही वर्षदेखि चिनीको ट्रेण्डको अध्ययन गर्दैछु । अब ठोकुवा गरेर भन्नसक्ने स्थितिमा पुगेकोछु कि चिनी यो देशमा धर्मनिरपेक्ष छैन । यो दशैँमा गायब हुन्छ, तिहारमा हराउँछ, लगनको बेला पाइँदैन ।

यो देशमा रक्सीको अभाव कहिल्यै पर्दैन किनभने चिनी कारखानाले रक्सी उत्पादन गर्छ । चिनी, चामल, तेलको यहाँ बेला बेलामा संकट पर्छ । हामीले बुझिसकेका छौँ, यो कृत्रिम अभाव हो । जबसम्म अर्थतन्त्र जनताको हातमा आउँदैन, वस्तुहरू यसपाला दशैँमा चिनी लुकामारी गरेझैँ गरिनै रहने छन् ।

(अर्थशास्त्रका प्राध्यापक भरत पोखरेलको २०४४।७।२५ मा जनजागृति साप्ताहिकमा प्रकाशित र उहाँको २०६६ सालमा प्रकाशित पुस्तक ‘इतिश्री‘ मा संकलित यो लेखलाई वर्तमान परिस्थितिमा सान्दर्भिक महसुस गरी पुनः प्रकाशन गरेका छौँ – सं.।)