mahakali devi, mahakalee debi, महाकाली, देवी, दुर्गा
 

१. देवी पूजा

दुर्गा, भगवती, महाकाली, चण्डीमाई, शितला, मनकामना, गुह्येश्वरी आदि विभिन्न नामका देवीलाई नेपालमा परम्परादेखि सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता मानी पूजाआजा गर्ने चलन छ । आर्य मूलका जातिहरूमा मात्र होइन, जनजातिहरूमा पनि यो चलन छ । राईहरू सिकता, खौ बुढी, बाङ्गे बुढी र कुलुङ् बुढीलाई पूजा गर्दछन्, लिम्बूहरू हिमादाङ्मा र युमालाई पुज्दछन् । थकालीहरू ङरिझ्योवा अथवा नरीझ्योवालाई पुज्दछन् । मगरहरू चण्डीलाई पुज्दछन् । नेवारहरू अजिमालाई पुज्दछन् । थारूहरू मैया र गौरयालाई पुज्दछन् र खसहरू उमा, नन्दा, गौरी, गिरजा, हेमवती, ज्वालामुखी, काँगडादेवी, नैनादेवी, शितला देवी, चामुण्डा र चण्डीलाई पुज्दछन् आदि । दक्षिण भारतबाट वैदिक आर्यहरूको प्रवेश हुनुभन्दा पहिले नै प्राचीनकालदेखि नै विभिन्न जाति र जनजातिहरूले खाने अन्न, सागसब्जी र फलफूल धरतीले उत्पादन गर्ने हुनाले उनलाई ‘धरतीमाई’ अथवा ‘संसारी माई’ का रूपमा मान्दथे र तिनको पूजाआजा गर्दथे । खानेकुरा उत्पादनका साथै भूतप्रेतले हमला गर्दा, बाढीपहिरो आदि प्राकृतिक विपत्ति र अकाल, अनिकाल, रोग महामारी जस्ता विपत्तिहरू आइलाग्दा आमाले आफ्ना केटाकेटीलाई संरक्षण गरेझैँ माईले पनि सबै प्राणीको रक्षा गर्दछिन् भनी विश्वास गर्दथे । प्रत्येक सङ्कटको समाधान गर्ने अनेकौँ माईको कल्पना तिनले गरेका थिए र सोहीअनुसार तिनलाई विभिन्न नाम दिइएको थियो । जस्तैः अकाल (अनिकाल र भोकमरी) मा रक्षा गर्ने अकला माई, मनको चाहना पूरा गरिदिने मनकामना माई, बिफर ठेउला निको बनाउने शितला माई, हिंस्रक जङ्ली जनावरहरू सिंह, बाघ आदिको आक्रमणबाट पशुजगत् र मानवको समेत रक्षागर्ने चण्डी माई, दुर्गतिबाट बचाउने दुर्गा माई, गढी किल्लाको रक्षा गर्ने गढी माई आदि । आजभोलि पनि पुरानो प्रचलनको अवशेषका रूपमा विभिन्न ठाउँमा माई स्थानहरू देख्न सकिन्छ । यी माईहरू पछि आर्य संस्कृतिसँगको अन्तर्घुलनमा जनजाति र आर्य दुवैका साझा देवीमा परिणत भए ।

नेपालका प्राचीन कविला जातिहरू स्त्रीशक्तिका अनुयायी थिए भन्ने कुरा धेरै तथ्यबाट जानकारी पाइएको छ । किरात मुन्धुममा सुम्निमाको भूमिका प्रबल देखिन्छ, पारुहाङ त आकाशबाट आउँछन् र सुम्निमासँगको केही समयको सहवासपछि लामो समयसम्म अलप हुन्छन् । प्राचीन समयमा पश्चिमी नेपालमा शासन गर्ने खस जातिहरूमा कहीँकहीँ स्त्री राज्यहरू थिए । चिनियाँ यात्री हुयेन शाङको बृतान्तमा ब्रह्मपुरको उत्तरमा ‘स्त्री राज्य’ भएको उल्लेख छ । यिनै तथ्यहरूका आधारमा ‘त्यो युग’ नामक कृतिमा मदनमणि दिक्षितले शाक्त चिन्तनको उत्पत्ति आर्येत्तर जनजाति समाजमा भएको हो भनी किटानीसाथ उल्लेख गरेका छन् (प्रभात, २०७५ :१७) ।

प्राचीन समयमा माईहरूको पूजाआजा गर्दा समाजको प्रचलित विश्वासअनुसार तिनको पूजाआजा शामनवादी र तान्त्रिक विधिअनुसार गरिन्थ्यो । मानिसहरू माईलाई अन्नदाता र संरक्षकका साथै आफूले गल्ती गर्दा तिनले रोगव्याधी, महामारी, बाढीपहिरो आदि प्राकृतिक विपत्तिहरूको सिर्जना गरी सजाय दिन्छन् भनी ठान्दथे । त्यसैले मानिसको माईसँगको सम्बन्ध मायाप्रेम र डरत्रास दुवैको थियो । मानिसहरू उनलाई खुसी पार्न उत्पादन भएको पहिलो अनाज चढाउने र बली दिने गर्दथे, जुन चलन आजसम्म पनि कायमै छ । माईको पूजाआजामा गल्ती र कमीकमजोरी गर्न हुँदैन भनी मानिसहरू ठान्दथे । त्यही प्राचीन प्रचलनको परिणामस्वरूप प्राचीन समयमा तन्त्रसाधकहरूले महिलाको रजलाई साधनामा उपयोग गर्ने गर्दथे । आजभोलि मानिसमा बढेको सञ्चेतनाले गर्दा त्यस्ता कार्यलाई असभ्य र अस्वस्थ्य ठान्दै प्रतीकका रूपमा रातो रङ्ग प्रयोग गर्ने गरिन्छ । हाम्रो संस्कारमा रातो दही अक्षता र अबिरले मुछेको टीका निधारमा लगाउने जुन प्रचलन छ, त्यो पनि मासिक धर्म हुँदा महिलाको रज उर्वर प्रकृतिको तत्त्व हो र त्यसलाई धारणा गरेमा प्रजनन क्षमता बढ्दछ भन्ने तान्त्रिक दर्शनबाट आएको प्रचलन हो (Amazzone, 2016 : 7) ।

Ram Raj Regmi, Pokhara, रामराज रेग्मी
लेखक

वैदिक संस्कृति र जनजाति संस्कृति बिच अन्तरघुलन भएपछि हिन्दुधर्ममा द्वैतवादी अवधारणाभित्र विभिन्न शक्तिहरूलाई शिव, विष्णु, राम, कृष्ण आदिका सहायकका रूपमा प्रस्तुत गर्न थालियो र शक्तिलाई परमेश्वरहरूकी पत्नी अथवा सहयोगीका रूपमा प्रस्तुत गरियो । आज हामी शिव–पार्वती, विष्णु–लक्ष्मी, कृष्ण–राधा, राम–सीता, ब्रह्मायणी, इन्द्रायणी आदि भनी हरेक पुरुष परमेश्वरका साथमा शक्तिलाई राखेको पाउँछौँ । प्राचीन समयमा पुराण र उपनिषद्हरूमा गरिएका देवीसम्बन्धी प्रायजसो व्याख्या विश्लेषणहरू त्यही मिश्रित संस्कृतिका परिणाम हुन् । देवी महात्म्यमा प्रकृतिलाई स्वतन्त्र भौतिक तत्त्वका रूपमा होइन, परम ईश्वरकी सहयोगी ईश्वरीय शक्तिका रूपमा प्रस्तुत गरिएको छ । देवीहरूका महिमामा अनेकौँ मिथक र कथाहरू जोडिँदै ग्रन्थहरू रचना गरिएका छन् । वैदिक कालको धेरै समयपछि रचना गरिएको ऋग्वेदमा उल्लेखित ‘देवी सूक्त’ त्यही धार्मिक चिन्तनको परिणाम हो । केन उपनिषद्, शाक्त उपनिषद् र देवी उपनिषद् जस्ता ग्रन्थहरू शक्तिकी देवीका सम्बन्धमा प्रत्ययवादी दृष्टिबाट प्रकाश पार्ने उपनिषद् हुन् । महाभारत र रामायण लेखनको काव्यकालको रचना दुर्गास्तोत्र हो र कालिका पुराण, देवी भागवत पुराण, मार्कण्डेय पुराण र ब्रह्माण्ड पुराण इ.सं. ३०० देखि ६०० सम्मको गुप्त कालमा लेखिएका यस्तै खालका रचना हुन् ।

२. शाक्त दर्शन

महिला शक्तिलाई ईश्वरीय रूप ठानी शक्तिकी प्रतिक देवीलाई विभिन्न नाममा पूजा गर्ने धर्मको प्रादुर्भाव हुनुभन्दा पहिले हाम्रो पौरस्त्य समाजमा शक्तिलाई एउटा जीवन र जगत्‌को सञ्चालन गर्ने तत्त्वका रूपमा लिने ‘शाक्त दर्शन’ (The Philosophy of Energy) अस्तित्वमा आएको दर्शनशास्त्रीहरू बताउँछन् । शाक्त दर्शनले यस सम्पूर्ण जगत्‌मा विद्यमान पदार्थ एवं जीव जन्तुमा उत्पन्न हुने गति तिनीहरूमा अन्तर्निहित शक्ति (Energy) का कारण संभव भएको भन्ने मान्यता राख्दछ । दर्शनको अवधारणाअनुसार शक्तिले नै सम्पूर्ण जीवित प्राणी र अजीवित पदार्थलाई गतिशील बनाउँछ । शक्ति भएन भने यस सांसारिक जगत्‌का सम्पूर्ण गतिविधि ठप्प हुन्छन् । केही पनि गर्न नसक्ने अवस्थामा पुग्दा हामी आफूलाई शक्तिहीन ठान्दछौँ । संस्कृतमा ‘शक्’ को अर्थ हुन्छ – सक्नु अथवा क्षमता हुनु ।

शक्तिको स्रोत के हो ? यो के कति कारणले उत्पन्न हुन्छ । यसबारे विभिन्न विचार र दृष्टिकोण छन् । त्यसमध्येको एउटा दृष्टिकोण ‘स्त्री शक्ति नै शक्तिको स्रोत हो’ भन्ने हामीहरूमाझ विद्यमान शाक्त दर्शनको दृष्टिकोण हो । यस दृष्टिकोणअनुसार प्रकृतिमा अन्तर्निहित पदार्थको अन्तर्क्रियाबाट जुन शक्ति उत्पन्न हुन्छ, त्यो नै सृष्टिको आद्य रूप हो । शक्ति विश्व प्रह्माण्डमा विस्तारित हुन्छ र त्यसले नै विविधताको सिर्जना गर्दछ । विविध वस्तुहरूमा शक्ति अन्तनिर्हित हुन्छ जसको क्रिया–प्रतिक्रियाबाट गति उत्पन्न हुन्छ । संसारमा जति पनि जीवित प्राणीहरू छन्, ती प्राय गतिशील छन्, एकै ठाउँमा रहँदैनन्, खाना खोज्नका लागि, साथी अथवा जोडीसँग मिल्नका लागि, आराम गर्नका लागि, कहीँ कतैबाट आक्रमण भयो भने जोगिनका लागि यस्तै यस्तै विभिन्न कारणले एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गरिरहन्छन् । हेर्दा रूखबिरुवा सधैँ एकै ठाउँमा निश्चल रूपमा रहेका जस्ता देखिन्छन्, तर तिनीहरूमा गति हुन्छ । बिरुवा उम्रन्छन्, बढ्छन् र झ्याङ्गिदै जान्छन्, तिनीहरूका लहरा चारैतिर फैलँदै जान्छन् । यो नै गति हो । त्यस्तै ढुङ्गा माटो धातु जस्ता निर्जीव वस्तुमा पनि गति हुन्छ । यदि त्यसो नहुँदो हो त तिनीहरू पनि खिइने, खस्ने, गुड्ने र जोडिएर ठुलो पिण्डमा बदलिने र कहिले साना साना अणु परमाणुहरूमा टुक्रिने थिएनन् । कहिलेकाहीँ आकाशका चम्किला ताराहरूबाट बडेमानका झिल्काहरू उछिट्टिएर पृथ्वीमा गिर्दछन् । पानी तात्दा वाफ बनेर हावामा उड्छ र सेलाउँदा बरफ बनेर जम्दछ । त्यस्तै धातुहरू पनि तताइयो भने पग्लन्छन् । अन्तरिक्षमा रहेका ठुलठुला पिण्डहरू सूर्य, ग्रह र तारा हेर्दा निश्चल देखिन्छन्, तापनि सबै नियमितरूपमा आफ्नो कक्ष वरिपरि घुमिरहेका हुन्छन् र एकले अर्कालाई परिक्रमा गरिरहेका हुन्छन् । हामी घरभित्र ओछ्यानमा सुतेको अवस्थामा आफूलाई निश्चल ठान्दछौँ, त्यस्तै घरलाई पनि जहाँको त्यहीँ रहेको देख्दछौँ, तर पृथ्वी घुम्दा त्यसमा रहेका हामी हाम्रा घर, बारी बगैँचा आदिसहित पृथ्वीसँगै घुमिरहेका हुन्छौँ । हाम्रो शरीरमा रहेका कोषिकाहरू (Cells) निरन्तर चलायमान हुन्छन् र तिनको कोषमा वृद्धि, ठहराव, क्षय आदि भइरहेका हुन्छन् । हाम्रो पेटमा पाचन–परिपाचन निरन्तर चलिरहेको हुन्छ । कोषिकाहरूका क्रियालाई हामी आँखाले देख्दैनौँ, तापनि शुक्ष्मदर्शक यन्त्रको सहायताबाट हेर्ने हो भने ती यताउति चलेका देखिन्छन् । मानव समाज पनि गतिमा हुन्छ । सामाजिक गतिमा उत्पादन पद्धतिको परिवर्तन पर्दछ र यही परिवर्तनका कारण विभिन्न सभ्यताको उदय र विनाश हुन्छ । यसरी जीवित–अजीवित, दृश्य–अदृश्य सबैमा गति हुन्छ ।

३. शाक्त दर्शनको विषयवस्तु

पौरस्त्य समाजको शाक्त दर्शनले शक्तिलाई उर्जाका रूपमा लिनुका साथै त्यसलाई स्त्री शक्तिका स्थानमा राख्दछ । त्यसले शक्ति तत्त्वलाई महिला स्वरूपमा प्रस्तुत गर्दछ । तर त्यसले महिला शक्तिलाई शैव र वैष्णव धर्मलेलेभन्दा फरक ढङ्गबाट पुरुषको सहयोगी तत्त्व नमानी सम्पूर्ण सृष्टि र सृजनाको एकल तत्त्व मान्दछ । त्यसले शक्तिलाई स्वतन्त्र अस्तित्वका रूपमा लिन्छ र स्त्रीशक्तिलाई नै सर्वशक्तिमान, पुजनीय र परोपकारी ठान्दछ ।

शाक्त दर्शन मातृसत्तात्मक समाजको प्रभावबाट जन्मेको दर्शन हो । अन्न, रुख, बिरुवा, जीवजन्तु भूमि, प्राकृतिक शक्ति, नारी, र योनीको पूजा यसका वैचारिक मान्यता हुन् । यो प्रकृतिवादी दर्शन हो (किरण, २०६५ : ४३) । शाक्त दर्शनका अनुयायीहरूलाई पनि ‘शाक्त’ नै भनिन्छ । आज विश्वका सबै देशहरूमा स्त्रीशक्तिलाई प्राथमिकता दिने संस्कृति विद्यमान छ । पौरस्त्य समाजमा त देवीलाई हिमालय पर्वतदेखि भारतको सबैभन्दा दक्षिणी भूभाग केप कोमरिनसम्म नै मानिने कुरा हिमालय क्षेत्रमा गरिने उमाको पूजा र कन्याकुमारीमा गरिने कुमारीको पूजाआजाले प्रष्ट पार्दछ ।

शाक्त दर्शनले पुरुषतत्त्वको अस्तित्त्वलाई नमान्ने होइन, मान्छ । तर त्यसलाई शक्ति अन्तर्गतकै एक तत्त्वका रूपमा लिन्छ । त्यसले दुई फरक सत्ताको सवाल स्वीकार्दैन । कपिलको साङ्ख्य दर्शनले प्रकृतिलाई श्रृष्टिको एकल तत्त्व मानेझैँ शाक्त दर्शनले पनि शक्तिले एक्लै कसैको पनि सहयोग नलिएर जगत्‌को विस्तार र विनास गर्दछिन् भनी विश्वास गर्दछ । । शाक्तहरू भन्दछन् कि जसरी माकुरोले विस्तारितरूपमा जाल बुन्दछ, त्यसरी नै मातृशक्ति एक्लैले विश्व ब्रहमाण्डको रचना गर्दछिन् । शक्ति ब्रह्माण्डमा विस्तारित हुन्छिन् भने ब्रह्माण्ड पनि शक्तिमा रूपान्तरित हुन्छ । शाक्त दर्शन यसरी शक्तिलाई ब्रह्माण्डमा देख्ने र ब्रह्माण्डलाई शक्तिमा देख्ने ‘एकतत्त्ववादी अद्वैत’ (Monist Non-dualistic) दर्शन हो । यो पौरस्त्य समाजका अति नै पौराणिक दर्शनहरूमध्येको एउटा महत्त्वपूर्ण दर्शन हो । कौलाचारका अनुयायीहरूले अपनाउने शाक्त तान्त्रिक मतको ग्रन्थ ‘कुब्जिकामातातन्त्र’ मा देवी कुब्जिकालाई पुरुष र स्त्री दुवैको भूमिका निभाउन सक्ने र आफैले आफैमा गर्भाधान गराएर सृष्टि गर्न सक्ने उभयलिङ्गी देवीका रूपमा प्रस्तुत गरिएको छ (Mahavidya, 2019 : 2) । त्यो ग्रन्थ अहिले नेपालमा मात्र उपलब्ध छ । त्यस ग्रन्थमा शक्तिले कसैको सहयोग नलिएर एकलरूपमा सृष्टि कार्यलाई अघि बढाउन सक्छिन् भन्ने देखाउनका लागि देवीलाई उभयलिङ्गीका रूपमा प्रस्तुत गरिएको छ ।

शाक्त दर्शनअनुसार शक्तिकी प्रतीक देवीलाई दुई रूपमा हेरिन्छ सृष्टिकर्ता र पालनकर्ता । सृष्टि गर्ने स्रोत भग भएकै कारण देवीलाई ‘भगवती’ भनिएको हो । लिच्छवी राजा मानदेवकी इष्टदेवी भनिएकी ‘भोगवती’ अन्य कुनै देवी नभएर ‘भगवती’ नै हुनुपर्दछ भनी इतिहासकारहरूले अनुमान लगाएका छन् । के भनिन्छ भने देवीले केवल सृष्टि र पालनपोषण मात्र गर्दिनन्‌, नाश पनि गर्दछिन् । देवीलाई जन्मदाता र पालनकर्ताका साथै संहारकर्ता पनि मानिन्छ । देवीउपनिषद्को एक कथाअनुसार देवताले परिचय माग्दा देवी भन्दछिन्, “ब्रह्मा मेरै रूप हो, मबाटै प्रकृति र पुरुषका रूपमा विश्वको उत्पत्ति हुन्छ ।” शाक्त दर्शनअनुसार जसले सृष्टि गर्दछ, त्यसले नै जीर्ण र शक्तिहीन अवस्थामा पुगेकालाई नष्ट गरी फेरि नयाँलाई जन्म दिन्छ र संसारको जीवनचक्रलाई निरन्तर गतिशील बनाइराख्छ । सृष्टि गर्नेले पालनपोषण पनि गर्दछ भन्ने दृष्टिकोणका आधारमा जन्मदाता र पालनकर्ता सम्बन्धी यी दुई गुणलाई एकै वर्गीकरणअन्तर्गत राखिएको छ । अन्नदा, अन्नपूर्णा, भुवनेश्वरी, जगदम्बा, तारा यी देवीका सृष्टिकर्ताका रूप हुन् । उमा, षोडषी, मनसा, भैरवी, शितला, छिन्नमस्ता आदि पालनकर्ताका रूप हुन् र शितला, काली, चण्डी, धुमावती, बगला, दुर्गा, चामुण्डा, कुश्माण्डा, कालरात्री, महाकाली, भैरवी आदि संहारकर्ताका रूप हुन् । महाकालीको तस्वीर र मूर्तिलाई हातमा खड्ग, त्रिशुल, भाला आदि लिएको र सिंहको घोडा चढेको लडाकू स्वरूपमा प्रस्तुत गरिन्छ । शिवजीको छातीमा टेक्ने कालकी देवी महाकाली त देवीकी संहारकर्ताकी प्रतिविम्ब नै हुन् । देवीका दुई रूपलाई मूर्तिमा पनि उज्यालो र अँध्यारो रङ्गमा देखाइन्छ । संहारकर्ताकी प्रतिमूर्ति शक्तिलाई कालो अथवा निलो शरीर भएको, रातो आँखा भएको, जिउरो निकालेको, हातमा काटिएको तपतप रगत चुहिएको टाउको समातेको, चारैतिर हड्डीहरू र वरपर स्यालले मासु चाटिरहेको पृष्ठभूमिमा रौद्र रूपमा प्रस्तुत गरिएको छ । देवीसम्बन्धी शाक्तहरूका यी दुई दृष्टिकोण आदिम समाजको प्रकृतिसँगको माया र त्रासको द्वैध सम्बन्धका परिणाम हुन् ।

शाक्त मतमा शक्तिलाई सृष्टिकर्ता एवं पालनकर्ता र संहारकर्ताका दुई रूपमा लिइने अवधारणाका आधारमा भारतमा शक्ति पूजाका धार्मिक अनुयायीहरू दुई भागमा बाँडिएका छन् – श्रीकुला र काली कुला । उत्तरी भारतमा विशेष गरी पश्चिम बङ्गाल, आसाम, बिहार र उडिसामा श्रीकुलाका अनुयायीहरू धेरै छन् भने दक्षिणी भारतमा कालीकुला संस्कृति व्यापक छ । कालीका उपासकहरूले कहीँकहीँ शिव–शक्तिलाई सँगै पुज्ने गरेपनि शिवलाई भन्दा बढी महत्त्व शक्तिलाई नै दिन्छन् । तिनीहरू शिवलाई निस्क्रिय तत्त्वका रूपमा लिन्छन् । कालीकुला सम्प्रदायमा बली प्रथा हुन्छ । नेपालमा भने भारतमा झैँ शाक्तमतका अनुयायीहरू सम्प्रदायमा विभाजित नभए पनि शामनवादी परम्पराका कारण प्रायजसो शक्तिपीठमा बली दिएर शक्तिको पूजा गर्दछन् । नेपालीहरूको ठुलो चाड दशैँका अवसरमा बढी मारकाट हुन्छ ।

शक्तिकी प्रतीक देवीलाई यसरी दुई विपरीत रूपमा प्रस्तुत गर्ने शाक्त दर्शनको दृष्टिकोण द्वन्द्ववादी छ । यसले प्रत्येक वस्तुमा दिन–रात, तातो–चिसो, उज्यालो–अँध्यारो, जीवन–मृत्यु, हर्ष–विस्मात, निर्माण–विनास, ऋणात्मक–धनात्मक जस्ता दुई परस्पर विरोधी पक्ष हुन्छन् र ती बिचको अन्तर्विरोधबाट शक्ति उत्पन्न हुन्छ भन्ने दृष्टिकोण अँगाल्छ । शाक्त मतले के बताउँछ भने मानव समाजमा जन्म र मृत्यु, सुख र दुःख, निर्धनता र सम्पन्नता, निर्माण र ध्वंश, युद्ध र शान्ति आदि विपरीत विषयहरू एउटै पद्धति अन्तर्गत घटिरहने दुई आयाम हुन् । ती अन्तर्सम्बन्धित हुनाका साथै भिन्न चरित्र एवं स्वभावका छन् । प्रकृतिमा एकातिर नयाँ वस्तुहरूको सृष्टि भइरहेको हुन्छ भने अर्कोतिर निश्चित समयपछि तिनको नाश पनि भइरहेको हुन्छ ।

४. शाक्त दर्शनको अन्य दर्शनसँगको अन्तर्सम्बन्ध

कपिलको साङ्ख्य दर्शनले शाक्त दर्शनसँग सामिप्यता राख्दछ । कपिलले पनि प्रकृतिलाई स्त्री शक्ति मान्दछन् र प्रकृतिबाट नै सृष्टिको क्रम अघि बढेको विचार व्यक्त गर्दछन् । उनको भनाइअनुसार प्रकृति नै पदार्थको पहिलो रूप हो । उनी भन्दछन् कि प्रकृति भनेको हामीले बाहिरफेर सधैँ देख्ने भोग्ने वातावरण होइन, पदार्थको आद्य रूप मात्र हो । कपिल अव्यक्त प्रकृतिलाई बीज शक्तिका रूपमा लिन्छन् । उनी भन्दछन् कि जसरी बिउमा भएको बीजशक्ति अङ्कुरण भएपछि बिरुवा र रूखमा बदलिन्छ, उसैगरी अव्यक्त प्रकृति पदार्थ हुँदै विविधतामा प्रस्फुटित हुन्छ । कपिलको दर्शन सम्बन्धमा व्याख्या गर्ने उनीपछिका दार्शनिकहरूले सृष्टिक्रममा पुरुष र प्रकृति दुवैको भूमिका देखाउन खोजेका छन् । तर कपिलले पुरुषको भूमिकाबारे कहीँ कतै उल्लेख गरेको पाइन्न । उनी शाक्त दर्शनले झैँ सृष्टिलाई प्रकृतिको एकल कार्य ठान्दछन् ।

शङ्करको अद्वैत वेदान्त दर्शनले पनि स्त्री शक्तिलाई भौतिक र जड पदार्थ मान्दछ । तर त्यसले भौतिक जगत्‌लाई मायाका अर्थमा लिन्छ । शङ्कर माया भनेको ब्रह्म (चेतन तत्त्व) को अभिन्न शक्ति हो भनेर त भन्दछन् तर त्यसलाई सत्‌ असत्‌ केही नमानी स्वप्न समान अथवा डोरीका रूपमा देखिएको सर्पजस्तो भ्रम मान्दछन् । उनी भन्दछन् कि माया ब्रह्मको शक्ति हो जसको आधारमा विश्वको निर्मार्ण हुन्छ । जसरी एक चटककारले आफ्नो चटकसम्बन्धी खुबीको सहारामा विभिन्न प्रकारका खेलहरू देखाउँछ, त्यसरी नै ब्रह्मले मायाको शक्तिको सहयोगमा विश्वलाई नाना रूपमा प्रदर्शन गर्दछ (सिन्हा, १९८६ : ३००) । शाक्त दर्शन अद्वैत वेदान्तभन्दा यस अर्थमा भिन्न छ कि त्यसले शक्तिलाई एकल स्वतन्त्र तत्त्व र यथार्थ जगत्‌को रूप मान्दछ ।

शाक्त दर्शन र अभिनाभ गुप्तको त्रैक शैवदर्शनमा केही पनि समानता र केही भिन्नता छन् । यी दुवै दर्शनले विश्वलाई अद्वैत बेदान्तले झै भ्रमपूर्ण र असत्य नठानी यथार्थ ठान्दछन् । विश्वको संरचना सम्बन्धमा अद्वैत वेदान्तले नकारात्मक धारणा प्रस्तुत गर्दछ भने शाक्त र शैव दर्शन दुवैले सकारात्मक धारणा प्रस्तुत गर्दछन् । अद्वैत वेदान्तले ब्रह्मलाई स्थीर सत्ताका रूपमा लिन्छ भने शाक्त र शैव दर्शनले शक्तिलाई गतिशील सत्ताका रूपमा लिन्छन् । तर त्रैक शैव दर्शनभन्दा शाक्त दर्शन यस अर्थमा भिन्न छ कि यसले पुरुषको सत्तालाई स्वीकार गर्दैन ।

सन्दर्भ स्रोत

(१) किरण, २०६५, नेपाली समाज र संस्कृतिः एक संक्षिप्त अध्ययन, विवेक सिर्जनशील प्रकाशन प्रा.लि.

(२) प्रभात, विष्णु, २०७५, नेपाली दर्शनको ऐतिहासिक श्रृङ्खला, ज्ञानबिन्दु, दण्डपाणि अर्याल स्मतिकेन्द्र, काठमाडौँ

(३) सिन्हा, प्रो. हरेन्द्र प्रसाद, १९८६, भारतीय दर्शनका रूपरेखा, मोतीलाल वनारसी दास, दिल्ली

(४) Amazzone, Laura, 2016, The Asta Matrikas of Bhaktapur, Nepal, https://sutrasjournal.com

(५) Mahavidya, 2019, The Goddess Kbjika, https://www.mahavidya.ca

(लेखक रामराज रेग्मी मार्क्सवादी चिन्तक तथा लेखक हुनुहुन्छ । )