हामीले चलाइरहेको सङ्घर्षको एउटा अभिन्न पक्ष हो – शिक्षा । हामी पूर्ण र इमानदार सत्यको मद्दतले मात्र पाखण्ड र झुठको सामना गर्न सक्छौँ । बुर्जुवाहरूले बारम्बार दोहोऱ्याउने ‘बहुमतको चाहना’को असलियत के हो भन्ने कुरा युद्ध (प्रथम विश्वयुद्ध ) ले देखाइसकेको छ । मुट्ठिभर धनाढ्यहरूले आफ्नो स्वार्थका लागि समग्र राष्ट्रलाई वधशाला बनाउन खोजिरहेका छन् । यी कुराले बुर्जुवा लोकतन्त्रले बहुसङ्ख्यक जनताको सेवा गर्छ भन्ने कुरा झुठ साबित गरेको छ । हाम्रो संविधान हामी सोभियत युरोपेलीहरूका लागि नयाँ कुरा थियो तर सन् १९०५ को रुसी बुर्जुवा क्रान्तिले हामीलाई बुर्जुवा लोकतन्त्रको झुठ र पाखण्डसँग राम्ररी परिचित गरायो । हामीले खुल्लमखुला रूपमा मजदुर तथा उत्पीडित जनताको शासनको वकालत गरेका छौँ, त्यही कुरा नै हाम्रो शक्ति र अपराजयताको स्रोत हो ।
शिक्षाको हकमा पनि यही कुरा सत्य हो। बुर्जुवा राज्य जति बढी सुसंस्कृत हुन्छ, त्यसले विद्यालयहरू सबै प्रकारका राजनीतिभन्दा माथि रहनुपर्छ र समाजको सेवा गर्नुपर्दछ भन्ने कुराको खुलेआम ढङ्गले निकृष्ट प्रचारबाजी गर्दछ ।
बुर्जुवाहरूले त्यसो भने तापनि यथार्थमा भने शिक्षालाई बुर्जुवावर्गको शासनसत्ता टिकाउने साधन मात्रै बनाइँदै विद्यालयहरूलाई पूरै बुर्जुवावर्गीय सोचद्वारा उपयोग गरिँदै आएको छ । उनीहरूको मुख्य ध्येय नै विद्यालयहरूमार्फत् पुँजीपतिहरूका लागि आज्ञाकारी तथा सक्षम कारिन्दा उत्पादन गर्नु हो। यही युद्ध (प्रथम विश्वयुद्ध) ले देखाइदियो कि पुँजीपतिहरूले अत्याधुनिक प्रविधिको प्रयोग लाखौँ मान्छेहरूलाई कामबाट निकाल्न र ठुलो मात्रामा मुनाफा कमाउन गरे। युद्धको झुठको भण्डाफोर गरेर हामीले त्यसलाई महत्त्वहीन बनाएका छौँ । हामी घोषणै गछौँ – शिक्षा क्षेत्रमा हाम्रो सङ्घर्ष भनेकै एक अर्थमा बुर्जुवावर्गलाई सत्ताबाट फ्याँक्नका लागि हो । हामी हाकाहाकी भन्छौँ – जीवन र राजनीतिबाट कटिएको शिक्षा ढोँग र पाखण्डबाहेक अरू केही होइन । बुर्जुवाहरूले शिक्षालाई समाजवादी निर्माणलाई कुण्ठित पार्न प्रयोग गरे र खुलेरै श्रमिकहरूको विरुद्धमा उभिए ।
रुसी किसान तथा मजदुरहरूका लागि क्रान्तिकारी सङ्घर्ष नै उत्कृष्ट पाठशाला बनेको छ । उनीहरूलाई राम्रोसँग थाहा छ कि हाम्रो व्यवस्थाले मात्र उनीहरूको शासनसत्ता सुनिश्चित गर्छ । त्यसै गरेर उनीहरू के कुरामा पनि विश्वस्त हुन पुगेका छन् भने यही राज्यसत्ताले मात्र कुलीन, जमिनदार तथा पुँजीपतिहरूको अवरोधलाई सम्पूर्ण रूपमा पन्छाएर मजदुर तथा विपन्नको पक्षमा काम गर्न सक्छ ।
मजदुरहरूमा ज्ञानको अत्याधिक भोक जागेको छ किनभने उनीहरू लडाइँ जित्न चाहन्छन् । दशमध्ये नौजना मजदुरहरूले आफ्नो मुक्तिसङ्घर्षमा ‘ज्ञान एउटा हतियार हो’ भन्ने कुरा राम्ररी बुझेका छन् । शिक्षाको अभावमा उनीहरूको मुक्तिसङ्घर्ष विफल हुने भएकाले शिक्षालाई सबैको पहुँचमा पुऱ्याउनुपर्छ । नयाँ समाजवादी रुस निर्माण गर्नका लागि मजदुरहरू स्वयं लागिपरेको हुँदा हाम्रो लक्ष्य अझ स्पष्ट भएर आएको छ । उनीहरूले आफ्नै अनुभव, विफलता र कमजोरीबाट पाठ सिकेका छन् । उनीहरूले सङ्घर्षमा जितबाजी हात पार्न शिक्षा कति अपरिहार्य छ भन्ने कुरा पनि राम्ररी ठम्याएका छन् । थुप्रै मजदुर संस्थाहरूको विघटन र बौद्धिकहरूको प्रहारका बाबजुद पनि सङ्घर्षमा प्राप्त अनुवभहरूले मजदुरहरू आफ्नो भविष्य आफ्नै हातमा लिन सफल भएका छन् । मजदुरहरूप्रति सहानुभूति राख्ने सबै शिक्षकहरू हाम्रो पक्षमा उभिनेछन् र समाजवाद निर्माणको हाम्रो लक्ष्यले अवश्य जीत हासिल गर्नेछ ।
(अगस्ट २८, १९१८)