१. अतिरिक्त मूल्य पुँजीवादी उत्पादन पद्धति अन्तर्गत पुँजीपतिले मजदुरको श्रमबाट नाफा आर्जन गर्ने एक तरिका हो। मार्क्सले आफ्नो विश्वप्रसिद्ध ‘पुँजी’ मार्फत् पहिलोपटक अतिरिक्त मूल्यको रहस्योद्घाटन गरेका थिए।
२. प्रत्येक उत्पादन पद्धतिमा (Mode of Production) ‘उत्पादक शक्ति’ र ‘उत्पादन सम्बन्ध’ यी दुई विपरित पक्ष हुन्छन्। यिनै पक्षहरूको आपसी सङ्घर्ष र अन्तरक्रियाका कारण एउटा निश्चित सामाजिक व्यवस्था बिघटन हुने, अर्को नयाँले जन्म लिने त्यसको आर्थिक आधार खडा हुने र आर्थिक आधारको जगमा राजनीति, धर्म, संस्कृति जस्ता उपरी संरचनाको निर्माण हुने गर्दछ।
३. पुँजीवादी उत्पादन पद्धतिका दुई विपरित पक्षको सवालमा ‘उत्पादक शक्ति’ (Productive Force) भनेको उत्पादन कार्यमा उत्पादनका साधन (कामका लागि प्रयोगमा आउने साधनहरू जस्तो कि मेशिन, औजार, प्रविधि आदि) चलाउने सर्वहारा वर्ग हो। उत्पादक शक्तिमा निर्जीव साधनको भन्दा पनि तिनलाई सञ्चालन गर्ने सिपयुक्त मजदुरको भूमिका प्रमुख हुन्छ। उत्पादन कार्यका सिलसिलामा मजदुर उत्पादनका साधनमा स्वामित्व कायम गर्ने पुँजीपति वर्गसँग उत्पादन सम्बन्धमा जोडिन पुग्छ। वर्गीय समाजमा ‘उत्पादन सम्बन्ध’ (Relation of Production) भनेको हुने र नहुने बिचको सम्पत्ति सम्बन्ध (Property Relation) हो।
४. पुँजीवादी उत्पादन प्रक्रियामा सबैभन्दा पहिले हुने दुई पक्ष बिचको सम्झौताबमोजिमको ज्याला (Wages) निर्धारण हो। ज्याला भनेको पुँजीपतिले मजदुरको श्रमशक्तिको खरिद गरेबापत मजदुरलाई नगदमा दिने भुक्तानी हो।
५. मजदुरले ज्यालाबापत बेच्ने ‘श्रम’ (Labour) होइन, ‘श्रमशक्ति’ (Labour Power) हो। श्रम र श्रमशक्ति बिच भिन्नता छ। श्रम भनेको व्यक्तिले आफ्नो आवश्यकताको पूर्तिका लागि गर्ने काम हो । श्रमबापत मानिसले कुनै मूल्य पाउँदैन। पुँजीपतिलाई बेच्ने श्रम जसबापत मजदुरले मूल्य (ज्याला) प्राप्त गर्दछ, त्यो नै श्रमशक्ति हो।
५. जुन वस्तु पुँजी बजारमा बेचिन्छ, त्यो ‘माल’ (Commodity) हो। मजदुरको श्रमशक्ति पुँजी बजारमा बेचिने हुनाले त्यो माल बन्न जान्छ। तर श्रमशक्ति अन्य मालभन्दा भिन्न एक अमूर्त माल हो। त्यो मजदुरको शारीरिक श्रम र मानसिक श्रमको कुल जोड हो।
६. श्रमशक्ति दुई अवस्थामा मात्र माल बन्दछ :
क) श्रमशक्ति बेच्नका लागि मजदुर स्वतन्त्र हुनुपर्दछ। पुँजीवादी व्यवस्थामा नै उसले यो स्वतन्त्रताको हक पाएको हुन्छ। दासकालीन र सामन्तवादी उत्पादन पद्धतिमा श्रमिकहरू श्रमशक्ति बेच्न स्वतन्त्र थिएनन्। तिनको श्रमशक्तिमाथि दास मालिक र सामन्तको स्वामित्व थियो।
ख) मजदुर सर्वहारा वर्गमा परिणत भएको हुनुपर्छ। ऊ सम्पूर्ण साधनस्रोतबाट बञ्चित हुनुपर्दछ र श्रमबाहेक बेच्नका लागि ऊसँग केही बाँकी हुनु हुँदैन।
७. ज्याला निर्धारण अथवा श्रमशक्तिको खरिदबिक्री प्रक्रियामा एकआपसमा मोलतोल गरेको अवस्थामा श्रम शक्तिका मालिक मजदुर र नगद सम्पत्तिका मालिक पुँजीपति दुवैको हैसियत समान हुन्छ। समान हैसियत भएका बिच नै लेनदेन हुने हो।
८. श्रमशक्तिको खरिदको प्रक्रिया टुङ्गिएपछि दुई बिचको समान सम्बन्ध असमानतामा बदलिन्छ। श्रमशक्ति मजदुरको शरीरसँगै जोडिने माल हुँदा एउटा पक्ष आदेश दिने र कजाउने र अर्को पक्ष कजिने हुन जान्छ। बजारमा अन्य माल किने जस्तो क्रेता र विक्रेता बिचको तेर्सो (Horizontal) सम्बन्ध नभएर श्रमशक्तिको खरिदपछि ठाडो (Vertical) सम्बन्ध हुन जान्छ।
९. धेरैले के सोच्दछन् भने मजदुरलाई दिएको ज्याला नै श्रमशक्तिको मूल्य हो। पुँजीपतिले यही दावी गर्दछ र मजदुरले पनि यही सोचेको हुन्छ। मजदुरले आफ्नो परिश्रमको मूल्य ज्यालामा भुक्तानी पाएको ठान्दछ। तर व्यवहारमा मजदुरले पुँजीपतिलाई श्रमशक्तिको मूल्यभन्दा बढी मूल्य उत्पादन गरिदिएर आफू ठगिएको हुन्छ। उसले श्रमशक्तिको पूरा मूल्य पाएको हुँदैन।
१०. यही कुरालाई मार्क्सले अतिरिक्त मूल्यको सिद्धान्तद्वारा छर्लङ्ग पारिदिएका छन्। मार्क्सका अनुसार जसरी अरू मालको मूल्य त्यसमा खर्चिने श्रमकालका आधारमा निर्धारित हुन्छ, श्रमशक्ति पनि माल भएकाले यो काम गर्दा लागेको समय (श्रमकाल) का आधारमा निर्धारित हुनुपर्ने हो। तर श्रमशक्ति छुट्टै नदेखिने र मजदुरसँग जोडिने भएकाले यसलाई अरू मालझैँ जोख्न या गन्न मिल्दैन। कति श्रमकालको ज्याला कति श्रमशक्ति बराबर हुन्छ, त्यो थाहा पाउन सकिँदैन। त्यस परिस्थितिको फाइदा पुँजीपतिले उठाउँछ। पुँजीपतिले ज्याला तोक्दा कम श्रमशक्तिको तोक्दछ तर दिनभरि काम गराएर अतिरिक्त श्रमशक्तिको मूल्य हडप्छ।
११. यस सवाललाई उदाहरणद्वारा पुष्टि गर्न सकिन्छ। मानिलिऊँ, मजदुर र पुँजीपतिले १० घण्टाको समय तोकी त्यसका लागि रु १००० ज्याला निर्धारण गर्दछन्। तर मजदुरले यो १० घण्टामा रु.२००० बराबरको माल उत्पादन गर्दछ। यसअनुसार मजदुरको ज्याला बराबरको श्रमकाल केवल ५ घण्टा हुन्छ। उक्त श्रमकाल आवश्यक श्रमकाल हो। ज्याला बापत उसले यो गर्नैपर्ने हुन्छ। बाँकी ५ घण्टाको श्रमकालमा भने मजदुरले सित्तैमा काम गर्नुपर्ने हुन्छ। यस अतिरिक्त श्रमकालमा आर्जित गरेको मालको मूल्य ‘अतिरिक्त मूल्य’ (Surplus Value) हो जुन पुँजीपतिको गोजीमा जान्छ। यो नै पुँजीपतिको नाफा हो। यसरी पुँजीपतिले मजदुरको श्रमबाटै नाफा आर्जन गर्दछ।
१२. मजदुरको अतिरिक्त श्रमको मूल्य नै पुँजीपतिले प्राप्त गर्ने नाफा हो भन्ने कुरा कताबाट थाहा पाइन्छ त ? यो उत्पादित मालको बजार मूल्यबाट थाहा लाग्छ। पुँजी दुई प्रकारको हुन्छ – स्थिर र चल्ति। कारखाना मेशिन आदि स्थीर पुँजीमा पर्दछन्। स्थीर पुँजीले अतिरिक्त मूल्य उत्पादन गर्दैन, यो गर्ने चल्ति पुँजी (श्रमको भुक्तानी) ले नै हो। उत्पादनमा जति खर्च गर्यो, त्यति नै मूल्य बराबरको माल उत्पादन हुने भए, कुनै पनि पुँजीपति उत्पादन कार्यमा सरिक हुने थिएन।
(लेखक मार्क्सवादी लेखक तथा चिन्तक हुनुहुन्छ ।)