१. समाज विकासको चरणमा समाजवादी अर्थव्यवस्था पुँजीवादपछि आएको विश्व इतिहासमा सबैभन्दा पछिल्लो अर्थव्यवस्था हो।
२. हिजो मार्क्स–एङ्गेल्सले पुँजीवाद चरम उत्थानमा पुगेर त्यसले सर्वहारा वर्गमाथि अधिक उत्पीडन गर्नुका साथै समाजमा अधिक दरिद्रीकरण सिर्जना गरेका बखत मजदुर वर्गको मुक्तिका खाँतिर पुँजीवादको विकल्पका रूपमा समाजवादको परिकल्पना गरेका थिए। त्यतिखेरका लागि यो एक सपना थियो। तर लेनिन–स्टालिनले त्यसलाई व्यावहारिक रूप दिए। त्यसपछि धेरै देशमा समाजवादी अर्थव्यवस्थाको उदय भयो र कतिपय देशहरू यसको प्राप्तिका लागि अझै सङ्घर्षरत छन्।
३. अहिलेसम्मको अनुभवबाट समाजवादी अर्थव्यवस्था सर्वहारा वर्गको नेतृत्वमा मजदुर, किसान र अन्य उत्पीडित जनसमुदायको सहयोगमा सञ्चालित हिंसात्मक क्रान्तिबाट पुरानो वर्गीय शासन व्यवस्थालाई पल्टाएर जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्व स्थापित गरेर मात्र प्राप्त भएको छ।
४. सुधारवादी र संसदवादीहरुले शान्तिपूर्ण सङ्क्रमणबाट समाजवाद हासिल गर्न सकिने कुरा गरेका छन्। तर यो अहिलेसम्म व्यवहारसिद्ध भएको छैन।
५. समाजवादी अर्थ व्यवस्थामा राज्यको स्वरूप ‘सर्वहारा अधिनायकत्व’ हुन्छ। विभिन्न वर्ग मिलेर बनेको राजसत्ताले समाजवादको रक्षा र विकास गरी साम्यवादको मन्जिलमा पुर्याउन सक्दैन।
६. समाजवाद बहुमत सङ्ख्यामा हुने उत्पीडित जनताको राजसत्ता हो। अधिनायकत्व जनतामाथि हुँदैन, पुँजीवादी व्यवस्थाको पुनरुत्थान गर्न चाहने, समाजवादी अर्थव्यवस्थालाई भाँड्ने, भ्रष्टाचार र समाजविरोधी गतिविधि गर्ने आदि मुठ्ठिभर व्यक्तिका लागि मात्र हुन्छ।
७. समाजवादी अर्थव्यवस्थामा सामन्त र ठुला पुँजीपतिका सम्पत्तिको राष्ट्रियकरण र उत्पादनका साधनको सामूहिकीकरण हुन्छ। समाजवादी अर्थव्यवस्था उत्पादक शक्ति नै उत्पादन साधनको मालिक हुने अर्थव्यवस्था हो।
८. समाजवाद भनेको पुँजीवाद र साम्यवाद बिचको सङ्क्रमण काल हो। सङ्क्रमणकाल भनिए पनि यो लामो समयसम्म रहन सक्छ। सुरुको अवधिमा समाजमा पुँजीवादका केही विशेषताहरू रहिरहन्छन् जस्तो कि माल उत्पादन, मूल्यको नियम, ज्याला, नाफा आदि। चरणबद्ध रूपमा निजी सम्पत्तिलाई न्यूनीकरण गर्दै सामूहिकताको मात्रा बढाउँदै लगिन्छ।। काम अनुसारको वितरण प्रणाली लागु गर्दै गइन्छ।
९. समाजवादमा योजनाबद्ध अर्थतन्त्र हुन्छ र लगानी उत्पादक क्षेत्रमा गरिन्छ।
१०. त्यहाँ अनिवार्य श्रम र कामअनुसार ज्याला दिने पद्धति हुन्छ। समाजमा श्रमप्रति सम्मान हुन्छ।
११. समाजवादी अर्थतन्त्रमा विज्ञान प्रविधिलाई काम खोस्ने हतियारका रूपमा होइन, श्रमिकलाई सघाउने, आराम दिने र अधिक उत्पादन लिने साधनका रूपमा उपयोग गरिन्छ।
१२. समाजवादी अर्थतन्त्रमा लैङ्गिक, जातीय, धार्मिक, क्षेत्रीय आदि सबै प्रकारका विभेदको अन्त्य हुन्छ। किसान र मजदुर, सहर र गाउँ, बौद्धिक र शारिरिक श्रम बिचको भिन्नता आदि मेटाउँदै लगिन्छ।
(लेखक मार्क्सवादी लेखक तथा चिन्तक हुनुहुन्छ ।)