माओ, हेनरी किसिन्जर, चाउ एन लाई, Mao, Henry Kissinger, Chau En Lai
 

थोमस जेफरसन १७९० देखि १७९३ सम्म अमेरिकाको पहिलो विदेशमन्त्री थिए । एन्टोनी ब्लिनकेन २०२१ देखि अमेरिकामा ७१ औँ विदेशमन्त्रीको रूपमा कार्यरत छन् । अमेरिकी ७१ विदेशमन्त्रीमा ५६ औँ विदेशमन्त्री १९७३-७७ हेनरी अल्फ्रेड किसिन्जर जति चर्चित कोही भएका छैनन् । गएको मे २७, २०२३ मा १०० वर्ष पुगेका डा. हेनरी किसिन्जरको हिजो निधन भएको छ ।

जर्मन मूलका किसिन्जर १९३८ मा अमेरिका नगएसम्म जर्मनीमा हेन्ज किसिन्जर थिए । किसिन्गेन जर्मनीमा उनको पुर्ख्यौली थलो हो । उनका पुर्खा मेयर किसिन्गेनले १८१७ मा थर फेर्न पाउने नियम बनेपछि किसिन्गेनलाई किसिन्जर थर बनाए । किसिंजर आमाबुवा पाउला र लुइस जर्मनीको फर्थमा बस्थे त्यहीं हेन्ज किसिन्जरको मे २७, १९२३ मा जन्म भएको थियो ।

१९३३ मा नाजी सत्तामा आएपछि जर्मनीमा यहुदीहरू त्रासमा थिए त्यही भएर किसिन्जर १५ वर्षको हुँदा १९३८ मा किसिन्जर परिवार अमेरिका प्रवासन गर्‍यो । अमेरिका पुगेपछि हेन्जले आफ्नो नाम जर्मन हेन्जबाट अमेरिकी हेनरी बनाए र हेनरी किसिंजर भए । १९३८ सेप्टेम्बरमा किसिन्जर जर्ज वाशिङ्टन हाइस्कुलमा भर्ना भए । पछि परिवारलाई सहयोग गर्न उनी रात्री स्कुलमा पढ्न थाले र दिउँसो एउटा ब्रस कारखानामा एकान्टेन्टको रूपमा काम गर्न थाले । त्यही बेला किसिन्जरले अमेरिकी सेनामा भर्नाहुने अवसर पाए र १९४३ मा अमेरिकी नागरिकता प्राप्त गरे । किसिंजरले १९४७ मा पढाइका लागि हारवर्ड प्रवेश गरे । त्यहींबाट किसिन्जरले १९५४ मा पीएचडी सके । १९५५ मा हारवर्डमा उनी प्रशिक्षक नियुक्त भए, १९५९ मा सहप्राध्यापक र १९६२ मा प्राध्यापक भए ।

भरत पोखरेल, bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

हारवर्ड पढ्दा किसिन्जर एन फ्लेस्चरसँग प्रेममा परे । फेब्रुअरी १९४९ मा किसिन्जर र फ्लेस्चरको विवाह भयो । विवाहमा जम्मा १२ जना जम्मा भएका थिए । विवाहपछि एउटा रेस्टुरेन्टमा खानाको व्यवस्था गरिएको थियो । १९६२ मा यो जोडी छुट्टियो र १९६४ मा पारपाचुके भयो । १९७४ मा किसिन्जरले ५० वर्षको उमेरमा ३९ वर्षिया नान्सी म्यागिन्ससँग दोस्रो विवाह गरे, उनीहरूको लामो समयदेखि डेटिङ चलिरहेको थियो र मधुमासका लागि १२ गुप्तचर, २० मेक्सिकन पुलिस र ४० रिर्पोटरहरू लिएर मेक्सिको गएका थिए । १९६० राष्ट्रपतिको निर्वाचनमा किसिन्जरले रिपब्लिकन रिचार्ड निक्सनको साटो डेमोक्रेट जोन एफ केनेडीलाई मतदान गरेका थिए ।

निक्सन राष्ट्रपति भएपछि किसिन्जरलाई सुरक्षा सल्लाहकारका लागि आग्रह गरे र किसिन्जरले यो निम्तो स्वीकार पनि गरे । १९७३ मा किसिन्जर अमेरिकाको विदेशमन्त्रीमा नियुक्त भए । निक्सन र किसिन्जरको जोडीको महिमा हाम्रो पिढीले रेडियोमा कति सुने र पत्रिकामा कति पढे हामी साक्षी छौँ ।

निक्सन-किसिन्जर कूटनीतिका चारवटा कुराहरू चर्चामा आउँछन्ः भियतनाम युद्ध, कम्युनिस्ट चीनसँग अमेरिकी सम्बन्ध, अमेरिका र सोभियत सँघको हतियार होड र मध्यपूर्वको द्वन्द्व । किसिन्जर केही प्रसंग निकै आलोचित पनि बनेका छन् । १९७३ मा चिलीमा एलेन्डे सरकार गिराउने र त्यही साल भियतनाम युद्ध रोक्न पेरिसमा भएको गोप्य शान्तिवार्ताका लागि किसिन्जर र भियतनामका ले डुक थो लाई दिइएको संयुक्त नोबेल शान्ति पुरस्कार । यो पुरस्कारलाई नोबेल शान्ति होइन युद्ध पुरस्कार भनेर अमेरिकी पत्रिकाहरूले समेत लेखे । ले डुक थोले भियतनाममा शान्ति कायम भएको छैन भनेर पुरस्कार बहिष्कार गरे । हारवर्ड र एमआइटीका ६० प्राज्ञहरूले किसिन्जरलाई पुरस्कार बहिष्कार गर्न विरोध वक्तव्य निकाले । विरोध यति बढ्यो कि किसिन्जर पुरस्कार लिन नर्वे जानै सकेनन् र नर्वेमा अमेरिकी राजदूत थोमस ब्राइनलाई पुरस्कार थापिदिन अनुरोध गरे । यो विषयले किसिन्जरलाई यति आहत पार्‍यो कि अप्रिल ३०, १९७५ मा किसिन्जरले नोबेल समितिकी सदस्य श्रीमती आसे लायनेसलाई एउटा पत्र लेखे जसमा नोबेल पुरस्कार फिर्ता गरेको र रकम भियतनाम युद्धमा मारिएका अमेरिकीका छोराछोरीलाई दिएको भनिएको थियो ।

१९७४ को वाटरगेट कान्डले राष्ट्रपति रिचार्ड निक्सनले राजिनामा दिनु पर्‍यो । यो राजीनामा पत्रको त्योबेला खुब चर्चा चलेको थियो । निक्सनको राजीनामा विदेशमन्त्री किसिन्जरका नाममा यति सानो थियो कि संसारको सर्वशक्तिमान अमेरिकी राष्ट्रपतिको राजीनामाभन्दा सानो राजीनामा देख्न बिरलै पाइन्छ । निक्सनपछि जेराल्ड फोर्डले पनि किसिन्जरलाई विदेशमन्त्रीमा निरन्तरता दिए । १९७७ मा डेमोक्रेट जिमी कार्टरले निर्वाचन जितेपछि किसिन्जर कार्यभार मुक्त भए । १९८२ मा किसिन्जरले किसिन्जर एसोसिएटको स्थापना गरे र त्यसैमार्फत कार्य गरिरहे ।

किसिन्जरले संसार घुमे तर चीनसँगको उनको सम्बन्ध गोप्य र खुला दुवै रह्यो । किसिन्जरको पहलमा नै १९७२ मा निक्सन चीन गएका थिए । त्यो बेला महाशक्ति अमेरिकाका विदेशमन्त्री किसिन्जरसँग माओले औँला ठडाएर वार्ता गरेका थिए । १०० वर्ष पुगेपछि किसिन्जर फेरि चीन गए । सी जिनपिङको वार्तामा प्रायश्चित गरेर फर्किए । यसको प्रमाण उनी १०० वर्ष पुगेको अवसरमा बेलायती पत्रिका द इकोनोमिस्टलाई ८ घन्टा दिएको अन्तर्वार्ता छ ।

जीवनका अन्तिम वर्षमा पनि किसिन्जर लेखपढमा सक्रिय रहेको उनको ९९ वर्षको उमेर २०२२ मा लेखिएको उनका दुई दर्जन जति पुस्तकमा अन्तिम ठुलै पुस्तक लिडरसीप अहिले निकै चर्चामा छ । तर यो पुस्तकप्रति मेरा केही रिजर्भेसन छन् । किसिन्जरले आफूले ब्यहोरेका ६ राजनीतिज्ञको रणनीतिक चर्चा गरेका छन् । पहिलो त्यति हामीले नसुनेको जर्मनीका कोनराड एडेनोर, दोस्रो फ्रान्सका चार्ल्स डे गाल, तेस्रो अमेरिकी रिचार्ड निक्सन, चौथो इजिप्टका अनवर सादात, पाँचौँ सिंगापुरका लि क्वान यी र छैठौँ बेलायती मार्ग्रेट थ्याचर । यो पुस्तकमा माओलाई नराख्नु किसिन्जरको कपटीपन अझै नगएको बुझिन्छ । पुस्तक पढ्दा धेरै प्रायश्चित गरे पनि किसिन्जरको अमेरिकी अहम् उस्तै देखिएको छ ।

हिजो नोभेम्बर २९ मा उनको देहावसान भयो । हेनरी किसिन्जर ३० लाख जनता मार्न जिम्मेवार छन् । सन १९६९ मा अमेरिका सरकारको सुरक्षा सल्लाहकारदेखि १९७७ सम्म विदेशमन्त्री रहँदा उनी कम्बोडिया, भियतनाम, लाओस, चिली, अर्जेन्टिना, बंगलादेश, इन्डोनेसिया, अंगोला, उरुग्वे, साइप्रस, इस्ट टिमोर नरसंहारमा सहभागी भएका थिए त्यसैले उनलाई युद्ध अपराधी भनिन्छ । किसिन्जर अब रहेनन्, उनको नाम बदनामको चर्चा त चलि नै रहने छ ।

(लेखक वाम बुद्धिजीवी हुनुहुन्छ ।)