क. माओत्सेतुङ, माओ त्सेतुङ, Mao Zedong
 

कमरेड माओले भन्नुभएको थियो – “चार मई आन्दोलनको बेलामा आधुनिक विचारका मानिसहरूले उत्कृष्ट भाषाको विरोध गरेर प्रचलित चीनी भाषाको पक्ष लिए । परम्परागत आडम्बरको विरोध गरेर विज्ञान र जनतन्त्रको पक्ष लिए । यो विल्कुलै सही थियो । त्यो आन्दोलन एक शक्तिशाली र सजीव थियो, प्रगतिशील र क्रान्तिकारी थियो । … चार मई आन्दोलनको एक महान उपलब्धि यो थियो कि त्यसले पुरानो रुढीगत लेखाइ र पुरानो मतवादको कुरूपतालाई जनता अगाडि छर्लङ्ग पारिदियो । त्यसलाई विरोध गर्नका निम्ति जनतालाई आह्वान गर्‍यो । पुरानो रुढीगत लेखाइ र पुरानो मतवादको विरुद्ध गरिएको संघर्ष नै चार मई आन्दोलनका महान उपलब्धिहरूमा एक हो । यसो भएतापनि विदेशी रुढीगत पार्टी लेखाइ र विदेशी मतवादको जन्म भयो ।” [माओत्सेतुङ, रुढीगत पार्टी लेखाइलाई विरोध गर पृ. २/३, फेब्रुअरी १९४२, नेपाली प्रकाशन-प्रगतिशील लेख भण्डार, वागमती अञ्चल, भक्तपुर, नेपाल] ।

क. माओका उक्त भनाइलाई हामीले नेपालको परिस्थिति र सन्दर्भ अनुसार बुभनु पर्दछ। यसको अर्थ, हामीले नेपालमा भएका राजनैतिक उथल-पुथल, घटनाक्रम, त्यसका परिणामहरू, विचारधारात्मक फाँट, साहित्य कला र भाषा-शैलीको जगतमा अध्ययन गर्ने र त्यसलाई फेर्ने प्रयास गर्नुपर्छ। यसरी अध्ययन र छलफल गर्दा हामीले हाम्रो देशको प्रानो मतवाद र रुढीगत नियमवादको बारेमा खोतलखातल गर्न आवश्यक छ। हाम्रो देश अति नै पिछडिएको हुनाले ‘शिक्षा’को प्रचार भएको केही समय भयो र त्यो पनि मुष्ठिभर माथिल्लो वर्गका निमित्त । ०७ सालको “क्रान्ति” भन्दा पहिले देश आज भन्दा पनि अन्धकारमा थियो । पृथ्वीनारायणको शासनकालदेखि नेपाललाई ‘आधुनिक’ नेपाल भनिएको छ तर शिक्षा र साहित्यको क्षेत्रमा हेर्ने हो भने यो भनाइ गलत छ । नेपालको पढाइ संस्कृत भाषामा र लेखा श्लोक गीत आदिबाट सुरु भयो । यो वेद-पुराणको नियम र शैलीअनुसार थियो । यो नियम र शैली नै पुरानो मतवाद र रुढीगत शैली हो तर यो पनि हाम्रो देशमा विदेशबाटै भित्र्याइएको हो। यो केही मुठ्ठीभर सामन्तीहरूको पेवा भयो र यसले पुरोहितवादको रूप लियो । संस्कृत भाषा नेपालीमा रूपान्तर भएपछि यो पुरानो रुढीवाद नेपाली जनजीवनमा सारै नराम्रो प्रभावका साथ फैलियो । यो चौतारो, बनपखेरा र खेतबारीमा चर्चित हुनथाल्यो, यसैमा आधारित गीत गाइन थाले र श्लोक आदिक रूपमा ‘गुन्जन’ थाल्यो । यो पुरानो मतवाद र पुरानो रुढीवाद नेपालीमा रूपान्तर हुँदा गाउँले बोलीचालीको भाषामा भएकोले यसले जनतालाई खास प्रभाव पार्न सकेको थियो । यसले आज पनि हाम्रो समाजलाई नराम्रो प्रभाव पारिरहेको छ । पुरानो मतवाद र रुढीवादी साहित्य गाउँले बोलीचालीको भाषा हुनाले नै नेपाली जनजीवन “कुइराको काग” जस्तै र जालले जेलिँदै आयो । यस विषयमा आजका “विद्वान “हरूले विशेष ध्यान दिनु पर्दछ ।

rup lal bishwakarma, roop lal bk, रूपलाल विश्वकर्मा
लेखक

सामन्ती शोषण-अत्याचार र साम्राज्यवादी लुटले गर्दा नेपाली जनता छटपटी र उकुसमुकुस भइरहेका थिए र छन् । यस्तो अवस्थामा विश्वव्यापी रूपमा चलेको मुक्तिसंघर्षको लहरले नेपाली जनजीवनलाई पनि घच्घचायो । ०७ सालमा ‘क्रान्ति’ भयो । यो ‘क्रान्ति’ सामन्तवाद र साम्राज्यवाद विरोधी थियो। यो ‘क्रान्ति’ सम्झौतामा टुङ्गियो तापनि यसको केही विशेष पक्ष रहेको छ । यसले रुढीवादको विरोध गर्‍यो र जनतन्त्रको पक्ष लिएको थियो । फलस्वरूप देशमा स्कुल-कलेजहरू स्थापना र विकास हुन थाले। विभिन्न राजनैतिक पार्टीका झण्डाहरू फहराउन थाले । साथै, प्रजातन्त्रको नारा लाग्न थाल्यो । आधुनिक साहित्य र कला-संस्कृतिको प्रचार हुन थाल्यो । तर यो पनि विदेशी लेखन शैली र मतवादकै नयाँ रूप थियो ।

देशमा मार्क्सवादी दर्शन साहित्यको चर्चा, छलफल र प्रचार पनि हुन थाल्यो । लेखकहरूले विदेशी भाषामा पुस्तकहरू पढ्ने र कोठामा बसेर कलम चलाउने गर्न थाले तर उनीहरूले जनताको स्तर हेर्न सकेनन् वा चाहेनन् । उनीहरूले जनताको आवश्यकता पूर्ति गर्ने नभएर आफ्नो ठुलोपन देखाउने वा नाम चलाउने उद्देश्यले लेखहरू तयार पार्न थाले । उनीहरूले पुरानो मतवाद र पुरानो रुढीगत लेखन शैलीको विरोध अवश्य गरे तर उनीहरूले विदेशी नक्कल गरेर नयाँ तरिकाले रुढीगत लेखन शैली र बोल्ने कलाको सुरु गरे । ०७ सालको ‘क्रान्ति’ पछि नेपालमा तथाकथित पश्चिमी सभ्यता र संस्कृति पस्न थाल्यो । यसले नेपालको बौद्धिक जगतमा चर्को प्रभाव पार्न थाल्यो । ०१७ सालपछि त्यसले झनै नांगो रूप लिन थाल्यो ।

जसरी ०१७ सालपछि नेपालमा आवरणकै रूपमा भए पनि पुँजीवादी साहित्य- संस्कृतिले पनि नाङ्गो रूप लिन पुग्यो । यसको विरोध गर्ने रूपमा “प्रगतिशील” साहित्यको पनि त्यतिकै विकास भयो । खास गरी २०२२ सालदेखि यता “प्रगतिशील” साहित्यको बाढी नै आउन थाल्यो । यसले परम्परावाद, यौनवाद आदिको ‘चर्को’ विरोध गर्‍यो र जनतन्त्रको पक्षमा बोल्यो तर यसले “बाघलाई बाख्राले चर्को रूपमा थर्काएर” रिस फेरेजस्तै थर्काउन थाल्यो । त्यसो भएर देशमा “कौवा कराउँदै रहन्छ, पिना सुक्तै रहन्छ” भने जस्तै देखिनु बाहेक अरु केही भएन । विभिन्न समूहहरूका मुखपत्र र कार्यक्रमहरू छ्यापछ्याप्ति आउन थाले । यी पनि ठुलठुला ठेली र ग्रन्थहरू पढेको आधारमा लेखिन थाले। लामा लामा लेख क्लिष्ट (नबुझिने) शब्दमा र लगभग पूरै प्याराग्राफ जति लामा वाक्य भएका ‘दस्तावेज’हरू आउन थाले । ०२८ सालदेखि त कम्युनिस्टा फाँटमा ‘जोशिला’ शब्दाडम्बर, नियमवाद र गालीका पर्रा छुट्न थाले । अरुका दार्शनिक जग र राजनैतिक शुत्राधारहरू चोरिन थाले र आफ्ना बेइमानीहरू लुकाउने एक नम्बर छट्टुपनाको चर्को विकास हुन थाल्यो । यो ठिक पुरोहितवादको अर्को रूपमा (आधुनिक छट्टुवादको रूपमा) व्यापक फैलिन थाल्यो । यसरी नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ रुढीगत लेखन शैली र नयाँ नियमवादको विकास हुँदै आयो । यो ०२८ सालको उत्ताउलो आँटिबाद र फुटपरस्त कुर्चिवादको कारण थियो । यसले पूरै विदेशी नक्कल गर्न थाल्यो । यसरी यसले पुरानो मतवाद र पुरानो रुढीगत लेखन शैलीको विरोध गर्दै नयाँ मतवाद र रुढीगत लेखन शैलीको बाटो अंगाल्यो । के यस्तो नेपालमा मात्र भएको हो र ? हैन । यस्तो चीनमा पनि भएको थियो । चीनको यस्तो पक्ष र रूपको विश्लेषण गर्दै क. माओले भन्नु भएको थियो – “नयाँ रुढीगत लेखन शैली र मतवाद सजीव र तीव्र छैनन्, निर्जीव र अचल छन्, क्रान्तिकारी छैनन्, परन्तु क्रान्तिको मार्गमा बाधक छन्, प्रगतिशील छैनन्, परन्तु प्रतिगामी छन् ! भनाइको तात्पर्य यो हो कि विदेशी रुढीगत लेखाइ अथवा रुढीगत पार्टी-लेखाइ चार मई आन्दोलनको मौलिक स्वरूपकै एक प्रतिक्रिया हो । चार मई आन्दोलनका आफ्नै कमजोरीहरू पनि थिए । एक आन्दोलनका धेरैजसो नेताहरूमा मार्क्सवादको गुह्य अध्ययनको अभाव थियो र उनीहरूले जुन तरिकाको प्रयोग गर्दथे, त्यो साधारण तवरमा पुँजीपति वर्गको तरिका तथा नियमवादी तरिका थियो । पुरानो रुढीगत लेखाइ र मतवादको विरोध गरेर तथा विज्ञान र जनतन्त्रलाई समर्थन गरेर उनीहरूले एकदमै सही कार्य गरेका थिए । परन्तु तत्कालीन परिस्थिति, इतिहास र विदेशी वस्तुप्रति उनीहरूको दृष्टिमा भौतिक आलोचनात्मक भावनाको अभाव थियो । अनि उनीहरूले खराब वस्तुलाई निरपेक्ष र सम्पूर्णरूपले खराब मान्दथे र असल वस्तुलाई निरपेक्ष र सम्पूर्ण रूपले असल मान्दथे ।” [उही पृ. ४]

०७ सालको क्रान्तिपछि अझ खासगरी ०२८ साल यता नेपालको मार्क्सवादी फाँटमा उक्त रोगले ग्रस्त पारेको छ । विदेशी ‘प्रेरणा’को भरमा नक्कल गर्ने नेपालका केही ‘क्रान्तिकारी’ हरूले राम्रोलाई निरपेक्ष र सम्पूर्णरूपमा राम्रो र नराम्रोलाई ‘निरपेक्ष र सम्पूर्णरूपमा’ नराम्रो देखे । खासगरी यो रोगले नक्कलवादी र कुर्चीको ताक गरेका फुटवादीहरू चर्को रूपले ग्रस्त भए । यिनीहरूले क. माओले माथि औँल्याउनु भएका गल्तीहरू गर्दै आएका छन् । रुढीगत पार्टी लेखन शैलीले कति नोक्सान पुऱ्याउँछ ? यसबारे क. माओले भन्नुभएको “यदि कसैले आफैले पढ्न रुढीगत पार्टी लेखाइ तयार पार्छ भने यसबाट कुनै खास हानी पुग्दैन तर उसले ती लेखहरू कसैलाई दिन्छ भने पाठकहरूको संख्या दोब्बर हुँदै जान्छ र हानी पनि कम पुऱ्याउँदैन । अनि यदि उनीहरूले त्यसलाई पर्खालहरूमा टाँसेका छन्, मेमोग्राफ गराएका छन्, समाचार पत्रहरूमा छपाएका छन् अथवा पुस्तिकाहरू बनाएर प्रकाश गरेका छन् भने त समस्याले साँच्चिनै ठुलो रूप धारणा गर्छ । किनकि यसो गर्दा धेरै मानिसमाथि यसले प्रभाव पार्नसक्ने हुन्छ । रुढीगत पार्टी-लेखाइ लेखकहरू हमेशा ठुलो संख्यामा पाठकहरूको खोजी गर्छन् । यस कारण रुढीगत पार्टी-लेखाइलाई उदाङ्ग पारिदिनु हाम्रो निम्ति आवश्यक परेको छ ।” [उही पृष्ठ २]

क. माओका उक्त शिक्षालाई हामीले परिपक्को रूपले अंगाल्नै पर्दछ । साहित्यको बलियो जग नभएको नेपालमा आज रुढीगत पार्टी-लेखन शैलीले साह्रै नराम्रो प्रभाव पारेको छ । साँचो अर्थमा भन्ने हो भने ‘जोशिला’ शब्दाडम्बरले भरिएका लामा-लामा लेख र पुस्तकहरू औँलामा गन्न सकिने केही बौद्धिक जगतको मानसिक खुराक मात्र भएको छ । उनीहरूका पुस्तक पत्रिकाहरू यति धेरै फैलिन्छन् कि कति त प्रतिक्रियावादीहरूकहाँ समेत खात लागेका हु्छन् । उनीहरूलाई त्यस्ता पुस्तक पत्रिकाहरू प्रशस्त मात्रामा प्रकाशन गर्ने ठुलो रहर छ तर उनीहरू केही पढ्नसक्ने व्यक्तिहरूको मस्तिष्क अवस्तुवादी बनाउन भने सफल भएका छन् । यी अवस्तुवादीहरूले जनताको भाषामा लेखिएका लेखहरू, थोरै विषयवस्तु भएका पुस्तक-पत्रिकाहरू या साना लेखहरू देखेर ‘ओठ लेप्राउँछन्’, ‘पटक्कै स्तर नभएको वकालत गर्छन्’, या ‘समग्रता’ नभएको देख्न पुग्छन् । उनीहरूले पढदा दिक्क लाग्ने र नबुझिने शब्दहरूले सजिएका पुस्तक पत्रिकाहरूलाई मात्र ‘स्तरीय’ मान्छन् ।

यस्ता उडन्तेहरूको निम्ति क. माओका शिक्षा यस्तो छ- ‘हाम्रा केही साथीहरू लामो, तर सारहीन लेख्ने इच्छा राख्छन् । … जुन एक फोहोरी आइमाईको पाइतलाको पट्टी जस्तै लामो र दुर्गन्धले भरिएको हुन्छ । अनि उनीहरूलाई यस्ता लामा-लामा सारहीन लेख लेख्न के खाँचो पर्‍यो ? यो प्रश्नको उत्तर एउटै मात्र हुनसक्छ कि ती लेखहरूलाई जनताले नपढून् भन्ने उनीहरू पक्का गरेका हुन सक्छन् ।” [उही पृ. ७]

यो एक गम्भीर पाठ हो । यसलाई नेपाली लेखक तथा पाठकहरूले विशेष ध्यानपूर्वक बुझ्नुपरेको छ । क. माओले फेरि भन्नुभएको थियो “यदि लामा-लामा सारहीन लेखहरू केही महत्त्वका छैनन् भने छोटा र सारहीन लेखहरू ती भन्दा असल हुन्छन् त ? ती लेखहरू पनि केही महत्त्वका हुँदैनन् । त्यसो त हामीले सबै प्रकारका सारहीन कुराहरू गर्न बन्द गर्नु पर्दछ । … महत्त्वपूर्ण कुरा यो हो कि हामीलाई यस्ता लेखहरूको आवश्यकता छ, जुन लेखहरू सारगर्भित होउन् ।” [उही पृ. ८-९]

पेट रित्तो भएपछि नै हामीले खाना खानुपर्छ । यो एक आवश्यकीय नियम हो । क्रान्ति गर्ने भनेको पनि यस्तै हो । वास्तवमा क्रान्ति गर्ने भनेको आम जनताको आवश्यकता हो । आम जनतालाई क्रान्तिकारी काममा अघि नबढाई क्रान्ति हुन सक्तैन । यो क्रान्तिकारीहरूले पन्छाउनै नसक्ने सत्यता हो । अनि, जुन लेखहरू जनताको भाषामा, गाउँले भाषामा हुँदैनन्, तिनले जनतालाई छुन पनि सक्तैनन् । अनि कसरी जनता क्रान्तिमा अग्रसर होलान ? लामा होउन्‌ वा छोटा, हामीले सबै प्रकारका सारहीन लेखाइ र बोलाइको विरोध गर्नेपर्छ भन्ने कुरा क. माओका भनाइबाट प्रष्ट हुन्छ । बोल्ने सवालमा पनि क. माओका भनाइ यस्तो छ, “खोक्रा र लामा लामा भाषण दिने काम बन्द गर्नैपर्छ ।” [उही पृ. ९]

नेपालमा ढिपीवादको परम्परा बसेर आएको छ । त्यसले अरु सबैलाई ‘मुर्ख’ देख्छ र खालि आफू मात्र जान्ने टोपलिन्छ । यसको निकै लामो इतिहास छ । यसले अरुको प्रगति देखिसहन्न। त्यसकारण यसले अरुका राम्रा वास्तविक काम र कुराहरूलाई बंग्याउने, खिसीटिउरी गर्ने र हाँसोमा उडाउने या धम्काएर अरुको मुखमा बुझो लाउने र हात पनि छेकिदिने गर्छ । यो पुरोहितवादको नयाँ रूप हो र यो कुखुराको फुल कुहेजस्तै गन्हाउने फोहोरी छ । यसलाई हाम्रो पंक्तिबाट निकालेर फालिदिनु पर्छ । यस्तालाई माओले भन्नु भएको थियो – “कुनै कुनै रुढीगत पार्टी लेखाइ लामा-लामा र सारहीन हुने मात्र हैनन्, परन्तु जानिबुझीकन जनतालाई डरधम्की दिने इच्छाले त्यसम एक कपटपूर्ण चाल रचेका हुन्छन् ।… लामो र सारहीन लेख लेख्नु अपरिपक्वताको चिन्ह हुनसक्छ, तर जनतालाई भयभित पार्न त्यस्ता लेखहरू तयार पार्छन् भने यो खालि अपरिपक्वता मात्र नभएर पूरै बेइमानीको चिन्ह हो ।” [उही पृ. ९]

हाम्रो पंक्तिभित्र पसेका पुरोहितवादी फोहोरहरू पूरै बेइमान छन् । त्यसकारण नै उनीहरूने सही मूल्याङ्कन नगरेर आफू मात्र जान्ने लिँढेढिपी गर्छन् । अरुले गरेको प्रगति देखेर उनीहरूको पेट कोपर्छ र कन्चट तात्दछ । त्यसकारण उनीहरू एकातिर सत्य पक्षको खुला विरोध गर्न थाल्दछन् भने अर्कोतिर भित्रभित्रै कानफुक्ने (साउती मार्ने) गर्छन् र पार्टीमा फुट पार्छन् । नेपालको ३०औँ वर्षको पार्टी इतिहासमा त्यसले (पुरोहितवादले) पार्टीमा प्रभुत्व जमाउँदै आएको छ । त्यसकारण यसलाई नाङ्गो नपारी, यसको बेइज्जत नगरी र यसलाई मार्क्सवादी पंक्तिबाट निकालेर नफाली सर्वहारा वर्गले टाउको उठाउन सक्तैन ।

क. माओ भन्नुहुन्थ्यो – “जब उनीहरू रुढीगत पार्टी-लेखाइ लेख्छन् अथवा भाषण दिन्छन्‌, अनि ती विचरा जनताले उनीहरूको कुरा कसरी बुझ्ने ? “भैँसीलाई मुरली सुनाउनु” भन्ने उखानझैँ उनीहरूले श्रोताहरूमा तिरस्कारको भावना जगाएका हुन्छन। … अझ यो भन्दा गएगुज्रेको कुरा के भने कागले ‘का का’ भनेझैँ कराउँदै रुढीगत पार्टी लेखाइको रचना गर्दछन् र आफ्नो ‘का का’ लाई जनताले सुनिदिऊन् भन्ने जिद्दीसमेत गर्छन् ।” [उही पृ. १२-१३]

नेपालका शब्दाडम्बरी, पुरोहितवादी (कथित मार्क्सवादी) लेखकहरू र तथाकथित स्तरीय लेखको माग गर्नेहरू वास्तवमा ‘भैँसीलाई मुरली सुनाउने’ हुन् । उनीहरू भोका-नांगा जनतामाझ गएका छैनन् । उनीहरू जनताको बोलीचालीसँग परिचित छैनन् । उनीहरू त खालि केही कथित क्रान्तिकारीहरूमाझ अल्झेका छन् । उनीहरू केही मध्यम वर्गीय बुर्जुवाहरूको संगतमा नै सीमित छन् । त्यसकारण ती कौवाझैँ ‘का का’ गरेर नथाक्नेहरू आफै भैँसीका अगाडि उभिएर मुरली सुनाउँछन् र उनीहरू त्यस्तै समूहमा बस्न औधि मन पराउँछन् । के यस्ताले स्तरीय लेखाइ कुन हो भन्ने मूल्याङ्कन गर्न सक्छन् ? यदि तिनीहरूले यस्तो मूल्याङ्कन गर्ने इच्छा गर्छन् भने उनीहरूले दशौँ वर्ष जनताको माझ बसेर उनीहरूको सेवा गरेर जनताबाट सिक्नु पर्नेछ ।

यस्ता महाशयहरूलाई क. माओले यस्तो शिक्षा दिनु हुन्छ- “हामीहरू आम जनताका लागि काम गर्ने क्रान्तिकारी हौँ र हामीले आम जनताको भाषा सिकेनौँ भने हामीले आफ्नो कार्य सही तरिकाले गर्न सक्तैनौँ । … पहिलो कुरा, हामीले आम जनतासँग भाषा सिकौँ । जनताका शब्द भण्डारहरू भरपूर, ओजपूर्ण, सजीव र वास्तविक जीवनको अभिव्यक्ति गर्ने हुन्छन् ।” [उही पृ. १३-१४]

कुरो प्रष्ट छ, हामी जनताको माझमा जानुपर्छ, उनीहरूको सेवा गर्नुपर्छ । यसलाई हामीले आफ्नो जीवन पद्धति बनाउनु पर्छ । अनि मात्र हामीले स्तरीय लेखहरूको विश्लेषण र मूल्याङ्कन गर्ने ज्ञान जनताबाट सिक्न सक्ने छौँ तर जनतामाझ जाने भनेको केही मध्यम वर्गीय सम्पर्क र घुमन्ते ‘क्रान्तिकारी’ भई डुल्नु भने पटक्कै हैन । यस्तो व्यक्ति वा समूह जीवनभरी “भैँसीलाई मुरली सुनाउने” काममा मात्र ठिक हुनेछ ।

क. माओले फेरि भन्नुभएको थियो – “यदि कुनै लेख अथवा भाषण महत्त्वपूर्ण छ र त्यसको विषय मार्गदर्शक छ भने त्योभन्दा पहिले कुनै विशेष समस्यालाई पेस गर्नु पर्दछ । अनि त्यसलाई विश्लेषण गर्नु पर्दछ र त्यसलाई हल गर्ने तरिका पेस गर्नु पर्दछ । यी काम गर्न नियमवादी तरिकाहरू सबै बेकार छन् ।” [उही पृ १७]

यसको अर्थ के हो भने कुनै समस्या देखिएपछि मात्र त्यसको समाधान गर्न उपाय खोज्नुपर्छ । कुनै समस्या देखा परेपछि त्यसको समाधान गर्न भाषण वा लेख तयार पारिन्छ भने र त्यो मार्गदर्शक छ भने, पहिले समस्यालाई प्रष्ट अघि ल्याउनु पर्छ र त्यसको स्पष्ट ब्याख्या हुनुपर्छ । अनि मात्र समाधान गर्ने विषयलाई प्रष्ट पारिएको हुनुपर्छ तर हाम्रा केही साथीहरूले बिना अर्थका भ‌ड्किला शव्दाडम्बरले भरिएका लेखहरू अति मन पराउँछन् । उनीहरू बोल्न थाले भने त झन् घण्टौँसम्म यसरी बोल्छन् मानौँ कुनै मिलले ट्याउँयाउँ कराएर धुवाँ फालेजस्तै । उनीहरूको भाषणमा कुनैले चाख लिओस् या नलियोस्‌, उनीहरूलाई कुनै वास्ता हुँदैन । उनीहरू केवल बोल्न पाए हुन्छ ।

क. माओ फेरि भन्नुहुन्थ्यो – “धेरैजसो मानिसहरू पूर्वअध्ययन र तयारी नपारीकन नै लेख्छन् वा भाषण दिन्छन् । अनि उनीहरूले जसरी मुख धोएर ऐना हेर्न मनपराउँछन्‌, त्यसैगरी लेख लेखेपछि त्यसलाई कैयौँ पटक दोहोराएर हेर्ने कष्ट कहिल्यै गर्दैनन् । परन्तु लापरबाहीसँग त्यसलाई प्रकाशन गर्न पठाई दिन्छन् । यस्ता लेखकहरू खुबीदारै किन नहोऊन्, वास्तवमा तिनले जनतालाई हानी नै पुऱ्याउँछन् ।” [उही पृ. १९]

हाम्रा केही साथीहरूको लेख्ने र बोल्ने बानीले यस्तै हानी पुर्‍याएका छन् । किनभने उनीहरूले जनताको इच्छानुसार लेख्दैनन् र श्रोताहरूको स्तरअनुसार ध्यान दिएर बोल्दैनन् । उनीहरू आफ्नो ‘ठुलो’पन देखाउन लेख्छन् र बोल्छन् । ती साथीहरूले एकचोटी ‘भड्किला’ शब्दाडम्बर भनेर सर्र पानाका पाना लेख्छन् वा ‘क्या बोल्नसक्ने रहेछ’ भन्ने पार्न श्रोताहरूलाई दिक्क लाग्ने गरी बोल्छन् तर उनीहरूले न त आफ्ना लेखहरूलाई ‘कैयौँ पटक दोहोराएर हेर्ने’ कष्ट गर्छन् । छुट्टै नबोल्ने वक्ताले नै श्रोताहरूप्रति ध्यान दिन्छन् । यस्ता साथीहरूले जे काम छोए पनि नोक्सान नै हुनेछ भन्ने कुरा क. माओको भनाइबाट प्रष्ट छ । तथाकथित स्तरीय र समग्रवादी लेख खोज्नेहरूले क. माओका यी भनाइतिर खास ध्यानदिनु पर्नेछ – “रुढीगत पार्टी लेखाइको विरुद्ध हाम्रो सातौँ आरोप यो छ कि त्यसले पार्टीभित्र सर्वत्र विष फैलाउँछ र क्रान्तिलाई खतरामा पार्दछ । त्यसको विरुद्ध हाम्रो आठौँ आरोप यो छ कि त्यसको प्रसारले देश बर्बाद हुन्छ र जनताको सत्यानास हुन्छ ।” [उही पृ. २०]

हाम्रो देशका जनताको भाषा-गाउँले भाषा मन नपराउनेहरू र अनावश्यक ‘का का’ गरिरहनेहरू आज पनि विष छरिरहेका छन्। उनीहरूलाई जनताको कुनै वास्ता छैन । उनीहरूले देश र जनताको नाम अवश्य लिन्छन् तर उनीहरू आफ्नो ‘ठुलो’पना प्रदर्शन गर्न नै व्यस्त हुन्छन्। खासगरी यस्ता व्यक्तिहरूले देश र जनताको नाम ‘जपेर’ केही प्रतिष्ठित भएपछि नाजायज फाइदा उठाउँदै आएका छन् र उठाउनेछन् ।

क. माओ अगाडि भन्नुहुन्थ्यो “पार्टीको रुढीगत कार्यशैली लेखाइ र भाषणसम्म मात्र सीमित छैन । यो बैठक गर्ने हाम्रो कार्यविधिमा पनि पाइन्छ । जब हाम्रो बैठकहरूमा रिपोर्टहरू पेस हुन्छन्, ती अक्सर गरेर यस्ता क्रमहरूमा आउँछन्ः १. अन्तर्राष्ट्रिय परिस्थिति, २. घरेलु परिस्थिति, ३. सीमावर्ती क्षेत्र, हाम्रो आफ्नै विभाग। यो बैठक अक्सर गरेर बिहानदेखि रातिसम्म चलिरहन्छ । यहाँसम्म कि जो मानिसहरूको भन्नुपर्ने केही हुँदैन उनीहरू पनि बोल्न चुक्दैनन्, मानौँ केही कुरा नबोल्नु उनीहरूको निम्ति दुःखको कुरा हो ।” [उही]

रुढीगत शैली भनेको खालि लेख्ने र बोल्ने सवालमा मात्र हैन कि कार्य सञ्चालन गर्दा, बैठक राख्दा र रिपोर्ट दिँदासमेत लागु हुन्छ । यसको अर्थ हो आवश्यकभन्दा बढ्ता बोल्नु, परिस्थितिभन्दा बाहिर सोचविचार गर्नु, नमिल्दो आदेश दिनु, योजना तयार नपारी बैठक बोलाउनु, लामा-लामा बैठक चलाउनु, बैठकमा विषयभन्दा बाहिरका गफ चलाउनु र क्रान्तिको कामभन्दा बाहिर चिन्तन गर्नु आदि रुढीगत शैलीहरू हुन् । विषय-वस्तुभन्दा बाहिर वा ठोस परिस्थितिभन्दा बाहिर कुनै पनि काम गर्नु रुढीगत हुन्छ । यस्तो शैलीमा हुर्केका वा यस्तो प्रचारमा लागेका मानिसहरूले आफूलाई फेर्नु पर्दछ ।

पुरोहितवादका ठेकेदार, जस्तो आफ्नो रुढीगत लेख्ने र बोल्ने शैली फेर्न सक्दैनन्, तिनलाई क. माओले यस्तो शिक्षा दिनुहुन्छ- “हिजोआज धेरै मानिसहरूद्वारा एक राष्ट्रिय, वैज्ञानिक र लोकप्रिय शैलीमा रूपान्तर गर्ने आह्वान गरिरहेका छन् । यो अति राम्रो कुरा हो तर रूपान्तरको अर्थ माथिदेखि तलसम्म र भित्रदेखि बाहिरसम्म सम्पूर्णरूपले परिवर्तन गर्नु हो । केहीले अझै अलिकति पनि परिवर्तन गरेका छैनन्, तर त्यस्ताहरूले पनि रूपान्तर गर्ने कुरा गरिरहेका छन् । तसर्थ ती साथीहरूलाई म के सल्लाह दिन्छु भने उनीहरूले रूपान्तर गर्नुभन्दा अगाडि अलिकति मात्र परिवर्तन गर्ने प्रयत्न गरून् । नत्र उनीहरू मतवाद र रुढीगत पार्टी-लेखन शैलीको पासोमा फँसेर बस्नेछन् । यसलाई उत्तम लक्ष्य, तर निम्न योग्यता, भारी महत्त्वकांक्षा, तर अल्प गुण हो भन्न सकिन्छ र यसबाट केही पनि हासिल हुँदैन । यसले यदि कुनै व्यक्ति ‘लोकप्रिय शैलीतिर रूपान्तर’ हुने विषयमा चानचुने कुरा गर्दछ र ऊ वास्तवमा एक सानो घेरामा अल्मलिएर रहन्छ भने ऊ सावधान रहनु नै राम्रो हुन सक्छ । नत्र भने जनता कुनै व्यक्तिले झम्टेर सोध्नेछः यी सबै कस्ता रूपान्तर हुन् महाशयजी ? त्यसलाई म पनि एक झल्को हेर्न सक्छु कि ? यस्तोबेला त्यो व्यक्ति जिल्ल परेर बस्नेछ । यसकारण यदि कुनै व्यक्तिले बकवास मात्र नगरी, वास्तवमा इमान्दारी साथ लोकप्रिय शैलीतिर रूपान्तर हुन चाहन्छ भने ऊ जनसाधारणमाझ जानै पर्छ र उनीहरूसँग सिक्नैपर्छ । नत्र उसको ‘रूपान्तर’ एक बकवास मात्र हुनेछ । केही मानिसहरू लोकप्रिय शैलीतिर रूपान्तर गर्ने ढिपी त गरिरहन्छन्, तर जनसाधारणको भाषामा तीन वाक्य पनि बोल्न सक्तैनन् । उनीहरूको जनताबाट सिक्ने राय नै छैन ।[उही पृ. २३]

नेपालको  सन्दर्भमा पनि हामीलाई यही नियम लागु हुन सक्छ र लागु गर्नैपर्छ भन्छौँ । यदि मतवाद र रुढीगत पार्टी लेखन शैलीबाट मुक्त हुनुछ भने हामी जनतामाझ जानुपर्छ, उनीहरूबाट सिक्नुपर्छ र उनीहरूका (गाउँलेहरूको बोलीचालीको) भाषामा हामीले लेख्ने र बोल्ने शैली सिक्नु पर्दछ । यसरी चर्को प्रयास गर्दा हामी बोल्ने र लेख्ने शैलीमा रूपान्तर हुने बाटोमा एक एक पाइला अघि लम्किन सक्नेछौँ। अनि मात्र हामीले गरेका काम, हाम्रो भाषण वा लेखहरू जनताको निम्ति केही काम लाग्न सक्नेछन् । यदि कुनै यसो गर्न तयार छैन र अरुले गरेको रूपान्तरलाई ‘गाउँले भाषा’ भन्ने ‘स्तर नभएको’ भन्ने र ओठ लेप्राएर खिसीटिउरी मात्र गर्छ भने त्यसले शोषक वर्गको चाकडी गरिरहेको हुनेछ ।

यही कुरो बोल्ने सम्बन्धमा पनि लागु हुन्छ । जसले परिस्थितिलाई ध्यान नदिने, आवश्यकताभन्दा बढता ‘का का’ गरिरहने, व्यवस्थित रूपले कार्य सञ्चालन नगर्ने र केवल डुलिरहन चाहने आदि गर्छ भने त्यो व्यक्ति वा समूहले पनि शोषक वर्गको सेवा गरिरहेको हुन्छ। यिनीहरूलाई पनि क. माओले भन्नुभए अनुसार जनताले- ‘यी सबै कस्ता रूपान्तर हुन्‌ महाशयजी ? त्यसलाई म पनि एक झल्को हेर्न सक्छ कि ?’ भनेर झपार्ने छन्। त्यो दिन अवश्य पनि आउने छ ।

क. माओ फेरि भन्नुहुन्थ्यो – “यदि तपाईँहरू कसैलाई पर्चा लेख्नुछ भने तपाईंहरूले ती मानिसहरूसँग सरसल्लाह लिनुपर्छ, जुन साथीलाई अवस्थाको राम्रो ज्ञान हुन्छ । लेनिनले यस प्रकारका जाँच र अध्ययनकै आधारमा मात्र लेख लेख्ने र कार्य गर्ने गर्नुभएको थियो । के हामीहरू लेनिनसँग सहमत छौँ त ? यदि छौँ भने हामीले लेनिनकै भावनालाई अपनाएर कार्य गर्नुपर्दछ । अर्थात् हामीले त्यही तरिकाले पानाका पाना भर्ने काम गर्नै हुँदैन वा आफ्ना पाठक अथवा श्रोताहरूको विचारै नगरीकन बतासमा तीर हान्न हुँदैन वा घमण्डी र लाछी हुन हुँदैन ।” [उही पृ. २३-२४]

आम जनतालाई नजगाएसम्म क्रान्ति सफल हुन सक्तैन भन्ने कुरा हामीले बुभनुपर्छ । दुई-चार जना ‘योग्यता’ वादीहरूले पढ्नसक्ने (वास्तविक उनीहरूले पनि बुझ्न सक्दैनन्) लेखाइ र बोलाइले जनता जाग्ने हैनन् । अर्को कुरा, रुस र चीनजस्तो साहित्यको जग र भण्डार भएको र सांस्कृतिकरूपले अगाडि बढेको हाम्रो देश हैन । त्यसकारण हामीले विदेशी नक्कल गरेर साहित्य रचना गर्नु र पार्टी-लेखाइ थाल्नु मुर्खता हुन्छ ।

सबैलाई थाहा हुनैपर्ने कुरा के हो भने चीनको क्रान्तिकालमा येनानमा राजनैतिक र सैनिक कलेज थियो । (येनान चीनको क्रान्तिकालभरी क्रान्ति सञ्चालन गर्ने केन्द्र थियो ।) अरु विभिन्न आधार इलाकाहरूमा पनि तालिम केन्द्रहरू स्थापना गरिएका थिए । यसरी त्यहाँका क्रान्तिकारी आम जनता र कार्यकर्ताहरूलाई मार्क्सवाद-लेनिनवाद र माओ विचारधाराको अध्ययन, क्रान्ति सँगसँगै गराउँदै त्याइएको थियो । यसरी मात्र जनता क्रान्तिको निम्ति मानसिकरूपले तयार हुन सक्छन् । चीनका स्कुल नपढेका हजारौँ कार्यकर्ताहरूले मार्क्सवादी दर्शन, राजनीतिक शास्त्र, अर्थशास्त्र आदिको व्याख्या गर्न सक्छन्, लेखहरू तयार पार्न सक्छन् भन्ने कुरा हाम्रा साथीहरूलाई थाहा छैन र ? जनताका भाषामा लेख्ने र बोल्ने पद्धतिले मात्र उनीहरू त्यसरी तयार भएका थिए तर हाम्रो अवस्था भिन्दै छ ।

खासगरी हाम्रो आफ्नै साहित्यको जग र भण्डार छैन । हामी विदेशी साहित्यको विषालु प्रभावमा हुर्केका छौँ र हाम्रो संस्कृति पनि त्यस्तै छ । अर्को कुरा आज हामी आफ्नै स्कुल वा तालिम कक्षाहरू चलाउनसक्ने अवस्थामा छैनौँ । यस्तो अवस्थामा हाम्रो पार्टीको मुखपत्र नै तालिम चलाउने एकमात्र साधन हुन्छ । यसलाई केही ‘बुझेका’ कार्यकर्ताहरूले अध्ययन गराउँदै हिँडेर नै समस्या समाधान हुन सक्तैन वा यस्तो अनुकूल र पहुँच पनि आज हाम्रो छैन । यस अर्थमा हाम्रो लेख्ने र बोल्ने शैली जनताको बोलीचालीको भाषामा हुनै पर्छ ।

अर्को कुरा हाम्रो प्रकाशनका सामग्रीहरू एकैचोटी धेरै तयार पार्नु हुँदैन । त्यसो गर्दा पुस्तक-पत्रिका ठुलो वा लामो हुन्छ । यस्ता पुस्तकहरू या पत्रिका जनताले देख्नेबित्तिकै आत्तिन्छन् र उनीहरूले पुलुक्क हेरेर मात्र त्यसलाई पन्छाइदिन्छन् । हामीले आफ्ना प्रकाशनका सामग्रीहरू थोरै र साना-साना आकारमा पुस्तक पत्रिकाहरू तयार पार्नु पर्छ । यसोगर्दा जनताले पनि पढ्ने रुची लिन्छन् । यस्ता पुस्तक पत्रिका र जनताको बोलीचालीको भाषालाई कसैले ‘स्तरीय भएन’ भन्दै मा हामी डराउन पर्ने वा निराश हुनुपर्ने कुनै कारण छैन । किनभने हामी मुट्ठीभर शोषक वर्गको चित्त बुझाउनका निम्ति काम गर्ने हैनौँ । हामीले जे गछौँ, त्यो जनताका र जनताको सेवा गर्नका निमित्त नै हो । त्यसो हुँदा हाम्रो लेखाइ, बोलाइ र कामलाई जनताले रुचाउनु पर्छ । हाम्रो प्रत्येक काम व्यवहारलाई जनताले मन पराएका छन् वा छैनन् भनेर हामीले अवश्य पनि जाँचबुझ गर्नुपर्छ । यदि जनताले मन पराएका छैनन्‌ भने हामीले गल्ती गरेको ठहर हुन्छ र हाम्रो काम व्यवहार गर्ने तरिका हामीले फेर्नैपर्छ तर जनता भन्नाले तल्लो मध्यम वर्ग, गरिब किसान तथा मजदुर वर्ग नै हो । हामीले जे गरेपनि उनीहरूकै निम्ति हुनुपर्छ । लेख्ने र बोल्ने सम्बन्धमा क. माओको शिक्षा यही नै हो । जो यसको उल्टो चल्छ वा जसले यसको विरोध गर्छ त्यो माओ विचारधाराको झण्डा बोकेर त्यो झण्डाकै विरोधमा उभिएको ठहर्नेछ । लौ त आउनुहोस् साथीहरू, हामी क. माओका शिक्षाबमोजिम काम थालौँ । हामी जनतामाझ जाऔँ, उनीहरूबाट सिकौँ र उनीहरूको सेवामा आफूलाई समर्पण गरौँ ।

२३ कार्तिक २०३७

[उही ‘मजदूर-किसान’, अंक-७, पौष २०३७]

(लेखक क. रूपलाल विश्वकर्मा नेपाली कम्युनिस्ट आन्दोलनका एक महत्त्वपूर्ण नेता हुनुहुन्थ्यो । प्रस्तुत लेख हामीले उहाँका लेखहरूको संकलित रचना ‘अध्ययनमूलक केही ऐतिहासिक तथ्यहरू’बाट साभार गरिएको हो – सं. ।)

यो पनि पढ्नुहोस्ः

नेपालको राजनीतिमा रूपलाल विश्वकर्माः पुस्तक चर्चा