प्रबुद्ध अतिथि, महिला तथा सज्जनबृन्द,
यो सुन्दर सहर नानजिङमा सन् २०१८ को अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा सहभागी हुन पाउँदा मैले आफूलाई सम्मानित र गौरवान्वित ठानेको छु । ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ भन्ने विषयमा कार्यक्रम आयोजना गरिनु विश्व शान्तिका लागि एकदमै सान्दर्भिक छ । यस्तो महत्त्वपूर्ण कार्यक्रममा मलाई आफ्ना विचार अभिव्यक्त गर्ने अवसर उपलब्ध गराइदिनु भएकोमा आयोजकप्रति आभारी छु ।
महिला तथा सज्जनबृन्द,
आजको विश्व अन्तरसम्बन्धित छ र एक अर्कामा जोडिएको छ । विश्वव्यापीकरण र तीव्र विकास अनि सूचना तथा सञ्चार प्रविधिले विश्वलाई एउटा एउटै गाउँमा रूपान्तरण गरिदिएको छ । यसले मानवीय अन्तरनिर्भरता बढाएको छ । त्यसैले भौतिक वातावरण र प्रविधि, हाम्रा संस्कृति र मान्यताका साथ साथै हाम्रा आशा र चाहनामा हामी एक अर्कामा निर्भर छौँ । विश्वव्यापीकरणले ल्याएका चुनौतिको पनि सँगै सामना गरिरहेका छौँ ।
हामीसँग आशावादी हुने कारण छन् । एउटा देशमा भएको प्रविधिको विकास र अन्वेषणले विश्वभरिका मानिसको जीवनलाई सहज बनाइदिएको छ । विश्वको एउटा भागमा भएको तीव्र र दिगो आर्थिक विकासले बाँकी विश्वका लागि समृद्धिको आशा जगाएको छ । विश्वको एउटा भागको शान्ति र स्थिरताले विश्वको अर्को भागलाई त्यही दिशामा धकेल्न प्रोत्साहित गरेको छ ।
कथा यतिमा मात्रै सीमित छैन । न्युयोर्क वा सांघाईको शेयरबजारमा हुने उतारचढाव विश्व अर्थतन्त्रलाई तरंगित बनाउँछ । न्युयोर्क, पेरिस वा काबुलमा हुने आतंकवादी आक्रमणले जहाँसुकैका जनतालाई पनि शान्त र सुरक्षित महसुस गराउँदैन । इबोला भाइरसलाई एउटा देशबाट अर्को देशमा प्रवेश गर्न राजनीतिक सीमा र बलियो अध्यागमन नीतिले रोक्न सक्दैन । विकसित मुलुकका उद्योगहरूद्वारा उत्सर्जित विषालु ग्याँसले त्यस्तो ग्याँस उत्सर्जन नगर्ने मुलुकको जलवायूमा खराब असर पारेको हुन्छ ।
महिला तथा सज्जनबृन्द,
विश्व शान्ति र सुरक्षाका लागि मिलेर विकास गर्ने र समृद्ध हुने महत्त्वलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा आत्मसात गर्नु एउटा खुसीको कुरा हो । यसलाई व्यापक रूपमा स्वीकारिएको छ कि शान्तिबिना विकास हुँदैन र विकास विना शान्ति हुँदैन । हामी भन्न सक्छौ कि तुलनात्मक रूपमा हामी विश्वको शान्तिपूर्ण अवधिमा छौँ ।
दिगो शान्ति र सुरक्षा सुव्यवस्था प्राप्तिका लागि मुलुकहरू मनैदेखि मिलेर लागिरहेका छन् । अझै पनि केही मुद्दाहरु सामूहिक प्रयासबाट पनि समाधान हुन बाँकी छन् । शान्ति र सुरक्षाको मुद्दाले बृहद र समग्र पहुँचको माग गर्दछ ।
शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभूति एउटा पूर्व शर्त हो । त्यसको आधार समावेशी, समानता र दिगो विकास हो । तर देशहरू र जनताको बिचको तीव्र विभाजन र असमानता पनि आजको वास्तविकता हो ।
हाम्रो समयको गरिबी एउटा अत्यन्तै डरलाग्दो चुनौती हो । लाखौ मानिसहरू अहिले पनि गरिबीको रेखामुनि छन्, यद्यपि, लाखौँ मानिसहरू विगत केही दशकयता गरिबीको रेखाबाट बाहिर पनि आएका छन् । धनी र गरिब बिचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको चिन्ता बढेको छ । ठुलो संख्याका जनतालाई गरिबीमा राखेर केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न सकिँदैन ।
मानव सुरक्षालाई जलवायु परिवर्तनले वास्तवमै चुनौती खडा गरिदिएको छ । ग्लोबल वार्मिङ, मरुभूमीकरण र पानीको अभाव र अन्य रूपमा देखिएका जलवायू परिवर्तनको असरका कारणले विभिन्न क्षेत्रमा द्वन्द्वहरू देखिन थालेका छन् । जलवायू परिवर्तन र गरिबीका चुनौतीलाई सम्बोधन नगरेसम्म दिगो शान्ति र वास्तविक सुरक्षा सपनामै सीमित रहनेछ ।
आतंकवाद, क्रुर हिंसा र अन्तरदेशीय अपराधको संयन्त्र तीब्र रुपमा फैलिइरहेको छ । एक्लिएका शक्तिहरूले आफ्नो धरातल बनाइरहेका हुन्छन् । जनता र देशहरूलाई जोडन चीनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको म प्रशंसा गर्न चाहन्छु । सबैलाई हित हुने गरी बजारलाई एकीकृत गर्ने र क्षेत्रीय आर्थिक सहयोग अभिबृद्धि गर्ने वेल्ट एण्ड रोड इनिसियटिभको कार्ययोजनाले अन्तराष्ट्रिय समुदायबाट व्यापक सहयोग प्राप्त गरेको छ । नेपाल विश्वस्त छ कि बिआइले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउनेछ र यस क्षेत्रमा सेवा, वस्तु र जनताको आवत जावतको अप्ठयारा अवरोधलाई हटाउनेछ ।
यातायातमा सुधार र कनेक्टीभिटीले हामीलाई एकीकृत बजारका लागि सहयोग गर्नेछ र व्यापार तथा बाणिज्य विस्तार गर्न लाभ प्राप्त हुनेछ । बेल्ट एण्ड रोड इनिसियटिभको मातहतमा यातायातको पूर्वाधारको सहयोगले पूर्वी, मध्य र पश्चिमी नेपाललाई यातायात, ऊर्जा संयन्त्र, सेवा र बाणिज्यको अप्ठयारो हटाएर चीनसँग जोड्न मद्दत पुग्नेछ ।
हामी विश्वास गर्छौँ कि यस्तो कनेक्टीभिटीले उत्पादकत्वमा बृद्धि ल्याउनेछ र प्रविधिको स्तरोन्नति अनि साझा समृद्धिका हासिल गर्न दुवै देशका जनताका लागि रोजगारी सिर्जना गर्नेछ । साथसाथै मानव जातिका लागि साझा भविष्य निर्माण गर्न चीनले गर्दै आएको शान्तिका पक्षमा निरन्तर वकालत, समावेशी विकास र ‘वीन वीन’ सहयोग साझा समृद्धिको अवधारणा हो । असुरक्षा र अस्थिरतालाई जन्म दिने उग्रवादी शक्तिलाई यसले निश्चय नै निरुत्साहित गर्न सघाउनेछ ।
‘विकासको रेल यात्रामा दौडिरहेको छ’ भन्ने जनवादी गणतन्त्र चीनका महामहिम राष्टपति सी जिनपिंङले प्राय अन्तराष्ट्रिय समुदायलाई भन्ने गरेको सुन्दा मलाई खुसी लाग्छ । शान्ति, सुरक्षा र समृद्धिको बाटोमा सँगै हिडन चीन तयार रहेको अभिव्यक्ति हो त्यो । सदभावको मुख्य तत्त्व शान्तिपूर्ण र स्थिर समाजका लागि साझा समृद्धि र समावेशी विकासमा अन्तरनिहित रहेको म विश्वास गर्छु ।
यस सन्दर्भमा हामीले सामूहिक प्रतिबद्धता जनाएका छौ । जलवायू परिवर्तनका सन्दर्भमा दीगो विकास लक्ष्यहरु र पेरिस सम्झौता उदाहरणका रुपमा रहेका छन् । हामीसँग संयुक्त राष्टसंघजस्ता संस्था स्थापित भएका छन र वास्तविक शान्ति र सुरक्षाका लागि अन्य अन्तराष्ट्रिय र क्षेत्रीय संगठनहरुले हाम्रा साझा एजेण्डालाई सहजीकरण गरिरहेका छन् ।
महिला तथा सज्जनबृन्द,
विश्व शान्ति र सुरक्षामा नेपालको निरन्तर प्रतिबद्धता खुसीसाथ व्यक्त गर्दछु । हाम्रा कार्य र नीतिहरुमार्फत हाम्रा प्रतिबद्धताहरु प्रमाणित हुँदै आएका छन् । हामी संयुक्त राष्ट्रसंघ घोषणापत्रका सिद्धान्तहरूको वकालत गर्छौँ । हाम्रो संविधानमा विश्व शान्तिका लागि हाम्रा प्रतिबद्धता प्रतिबिम्बित भएका छन् । वास्तविक भातृत्व हाम्रा पुराना मूल्य मान्यता हुन् ।
शान्तिपूर्ण तरिकाबाट सशस्त्र द्धन्दको समाधान गर्ने बिरलै उदाहरण हामीले हाम्रो नमूनायोग्य र घरेलु शान्ति प्रक्रिया मार्फत प्रस्तुत गरेका छौ । नेपाल पूर्ण रूपमा बुझ्दछ कि हाम्रो सामूहिक र केन्द्रीकृत प्रयासहरु हाम्रो दिगो भविष्य सुरक्षा र बचाउका लागि हुनुपर्छ । हामी सबैका लागि एउटै भविष्य बनाउन हामी सँगै मेहनत गर्छौ । यसलाई राम्रो बनाउने वा खराब बनाउने हाम्रै हातमा छ ।
म पूर्ण विश्वस्त छु कि विश्वको दीगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गर्न यो सहभागिताबाट एउटा ठोस निष्कर्ष आउनेछ । अन्तर्राष्ट्रिय शान्ति दिवसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।
१ असोज, २०७५
पुष्पकमल दाहाल ‘प्रचण्ड’
पूर्वप्रधानमन्त्री एवं
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी