देश र जनताका लागि लगातार लडिरहने योद्धाहरू संसारमा बिरलै भेटिन्छन् । नेपाल पनि यसबाट अपवाद बनेको छैन । कम्युनिष्ट आन्दोलनकै इतिहासलाई हेर्ने हो भने पनि नेपालमा कम्युनिष्ट आन्दोलनलाई धोका दिएर केशरजङ्ग रायमाझी र उनीजस्ता थुप्रै मान्छेहरूले प्रतिक्रियावादीहरूसँग प्रत्यक्ष वा परोक्ष ढङ्गबाट आत्मसमर्पण गरेका छन् । ०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रलाई अपहरण गरी निरङ्कुश शासन चलाएपछि २००७ सालमा अग्रणी भूमिका खेल्ने नेपालका तथाकथित केही राजनेताहरू समेत आँखा चिम्लँदै व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्दै महेन्द्रको तानाशाही कदमको समर्थन गर्नपुगे भने कैयौँ प्रजातन्त्र र कम्युनिष्ट आन्दोलनप्रति समर्पित भई राष्ट्रियता र प्रजातन्त्रको आन्दोलनमा सतिसालझैँ ठिङ्ग उभिई बलिदानीपूर्ण आन्दोलनमा समर्पित भई नै रहे । यही व्यक्तिमध्येका एक हुनुहुन्छ कमरेड पाण्डवराज घिमिरे ।
नेपालको वामपन्थी आन्दोलन खासगरी किसान आन्दोलनको चर्चा, परिचर्चा, सिंहावलोकन, मूल्याङ्कन गर्दा कमरेड पाण्डवराज घिमिरेलाई कसैले पनि नजरअन्दाज गर्न सक्तैन । मेरो कम्युनिष्ट आन्दोलनप्रति आकर्षण र झुकाव हुन थालेपछि २०३२ सालको विद्यार्थी आन्दोलनपछि तात्कालिक नेपाल कम्युनिष्ट पार्टी एकीकृत चौथो महाधिवेशनमा सङ्गठित भई काम गर्न थालेपछि कमरेड जयगोविन्द शाहले किसान आन्दोलनको कक्षा लिँदा जनकपुर-सगरमाथा अञ्चलको किसान आन्दोलनको सन्दर्भ जोडिँदा कमरेड पाण्डवराजको नाम लिनुहुन्थ्यो ।
२०३६ सालको विद्यार्थी आन्दोलनले विकास गरी जनआन्दोलनको रूप लियो । जनआन्दोलन दबाउन सरकारले जनमत सङ्ग्रहको जालो फ्याँक्यो । जनमत सङ्ग्रहलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन लगायत कमरेड मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको कम्युनिष्ट पार्टी, कमरेड सहानाले नेतृत्व गर्नुभएको कम्युनिष्ट पार्टी, रोहितले नेतृत्व गर्नुभएको नेमकिपा, लगायत आठ वाम पार्टीहरूले पञ्चायती व्यवस्थाको विघटन, अन्तरिम सरकारको गठन, १८ वर्ष उमेर पुगेकाले मत दिन पाउने अधिकार लगायतका पाँच पूर्वाधार अगाडि सार्दै देशव्यापी रूपमा यसको प्रचारमा जाने निर्णय गर्यो ।
‘जनमत सङ्ग्रह धोका हो र यसलाई बहिष्कार गर्नुपर्छ’ भन्ने माहौल सिर्जना भैरहेको र अझ विद्यार्थीमार्फत सो बढी प्रचार भइरहेको अवस्थामा नेकपा चौथो महाधिवेशनका तात्कालिक महासचिव कमरेड निर्मल लामाले पार्टी निर्णयको सो सन्दर्भलाई बुझाउन मलाई गोरखपुर बोलाउनुभयो ।
गोरखपुरमा कमरेड लामासँगको छलफलपछि पार्टीले सो कार्यक्रम देशव्यापी सञ्चालन गर्ने, जनकपुर अञ्चलमा सङ्गठन राम्रो भएकोले त्यस ठाउँमा विशेष ध्यान केन्द्रित गर्ने, चौथो महाधिवेशनले राजतन्त्रको भण्डाफोरलाई जोड दिएको हुँदा जनकपुरमा हुने आमसभामा वक्ताले त्यसैमा केन्द्रित गर्नुपर्ने कुरामा जोड दिनुभयो । कमरेड मनमोहन समूहबाट कमरेड मनमोहन नै वक्ता बन्ने कुरा आएपछि तत्काल जनकपुर गई कमरेड पाण्डवराजलाई भेटी सो कुरो भन्न कमरेड निर्मल लामाले मलाई अह्राउनु भयो ।
त्यसपछि जनकपुर गई कमरेड पाण्डवराजलाई भेटी कमरेड लामाको सन्देश सुनाउने सन्दर्भमा कमरेड पाण्डवराजसँग मेरो पहिलो भेट भयो । त्यसबखत सम्पन्न विशाल जनसभाको सभापतित्व कमरेड पाण्डवराजले गर्नुभएको थियो । त्यसबखत पार्टीको गोपनीयताका कारण उहाँ पार्टीको कुन कमिटीमा हुनुहुन्थ्यो, मैले जान्ने प्रयास पनि गरिन ।
पछि जनकपुर अञ्चलको बाह्न बिगाहमा सम्पन्न सो जनसभाको अध्यक्षता कमरेड पाण्डवराजले गर्नुभएको थियो । त्यतिबेला मैले कतिसम्म थाह पाएँ भने उहाँ लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा क्रियाशील व्यक्ति र २०१५ सालको आम निर्वाचनमा कम्युनिष्ट पार्टीको तर्फबाट सांसदको उम्मेद्वार हुनुहुँदो रहेछ ।
०३७ सालमा जनकपुर अञ्चलमा कमरेड मोहनविक्रम सिंह र निर्मल लामाले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत चौथो महाधिवेशनको नेतृत्वमा ठुलो किसान आन्दोलन सञ्चालन भयो । पूरा जनकपुर अञ्चलभरी तत्कालीन पञ्चायती सरकारले श्वेततआतङ्क मच्चायो । सैयौँ किसान कार्यकर्ताहरूलाई गिरफ्तार गरियो । कमरेड पाण्डवराज डटेर सरकारी श्वेतआतङ्कको विपक्षमा खडा हुनुभयो । सरकारले उहाँमाथि वारेण्ट जारी गर्यो । उहाँले तात्कालिक चौमले सुसलिङ्गमाथि गरेको कारबाहीलाई व्यक्ति हत्याको नाम दिँदै त्यसप्रकारको गतिविधिसँग असहमति जाहेर गर्दै चौथो महाधिवेशनबाट अलग हुनुभयो । फुट, विभाजन र बैमनस्यताबाट हैन, एकीकृत कम्युनिष्ट आन्दोलनले मात्र देशलाई मुक्तिको मार्गमा अगाडि बढाउन सकिन्छ भन्ने मान्यता राख्ने कमरेड पाण्डवराज घिमिरे सम्भवतः ०३८ सालतिरदेखि नेकपा (माले)मा क्रियाशील हुनुभयो ।
नेकपा (एमाले)को ०५४ सालको पार्टी विभाजनको बेला पनि पार्टी एकीकृत भएमात्र सरकार बनाई जनसेवा गर्न सकिन्छ भन्ने मान्यता राख्ने पाण्डवराज घिमिरे म विभाजनको बेला मालेमा रहेको हुँदा मसँगको भेटघाटमा पार्टी एकता गर्नुपर्ने कुरामा नै वकालत गर्नुहुन्थ्यो । यही क्रममा एकदिन पार्टी कार्यालयमा कमरेड बसन्ती, जो नेकपा (माले)मा क्रियाशील हुनुहुन्थ्यो (उहाँ कमरेड पाण्डवराजकी बुहारी हुनुहुन्छ) ले कमरेड पाण्डवराज बिरामी भएको कुरा सुनाउनुभयो । कमरेड वामदेव गौतम, क.अशोक राई क. सुशिला श्रेष्ठ, कमल चौलागाई लगायतका हामी कमरेड पाण्डवराजलाई भेट्न गयौँ । उहाँको किड्नी फेल भैसकेको कुरा जानकारी भयो । कमरेड वामदेव गौतमले कमरेड पाण्डवराज सिङ्गो कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको समेत सम्पत्ति भएको हुँदा उहाँको उपचार सरकारले गराउनु पर्ने र यसका लागि आफू लागी पर्ने प्रतिबद्धतासमेत गर्नुभयो । हामी सबै खुसी भयौँ।
पार्टी विभाजनले कमरेड पाण्डवराजलाई गम्भीर असर गर्यो । विभाजन हुनमा एक पक्ष मात्र दोषी नभई समीक्षा गरी एकताबद्ध भएर जानुपर्दछ भन्ने आफ्नो सोचलाई मूर्तरूप दिन उहाँले एमाले परित्याग गर्नुभयो । तर तत्कालिक मालेमा क्रियाशील हुनुभएन ।
कमरेड पाण्डवराजको अवस्था दिन प्रतिदिन बिग्रँदै गयो । उहाँ अस्पताल भर्ना हुनुभयो । अस्पताल भर्ना भएको कुरा कमरेड वामदेव गौतमबाट आजजस्तो थाहा भयो भने भोलिपल्टै उहाँको देहावसान भएको खबर पनि उहाँबाटै थाहा भयो। यो खबर सुन्नासाथ हामी मेडिकेयर हस्पिटल पुग्यौँ । कमरेड वामदेव गौतमले पार्टीको झण्डा ओडाई उहाँको सम्मान गर्नुभयो ।
एमाले विभाजनको तिक्तता कायमै रहेको अवस्था रहेको मौजुद अवस्थामा उच्च राजनैतिक संस्कार कायम गर्नसक्ने अवस्था थिएन । क. पाण्डवराज कुनै एक पार्टीको भन्दा पनि कम्युनिष्ट आन्दोलनको, प्रजातान्त्रिक आन्दोलनको, मानवअधिकार आन्दोलनको एक निधि भएकोले हाम्रोतर्फबाट उहाँले त्यही मान्यता र आचरण गर्नुपर्ने निष्कर्ष निकालेर कमरेड सिपी मैनालीलाई दाहसंस्कारको लागि पार्टीको तर्फबाट प्रतिनिधित्व गर्न कमरेड वामदेव गौतमले अनुरोध गर्दै कमरेड पाण्डवराजलाई सँधैका लागि विदाइ गरेको संस्मरण मेरो मानसपलटमा अझै ताजै छ ।
हामीले कमरेड पाण्डवराज घिमिरेबाट लगनशीलता, दृढता, अनुशासन, धैर्यता र आत्मविश्वासको पाठ सिक्नुपर्दछ ।
[लेखक नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष हुनुहुन्छ ।]