सिमोन द बोवुआर, महिलासँग गुमाउनका लागि केही छैन, Simone de Beauvoir, एलिस स्वेर्जर
 

एलिस स्वेर्जरले किताबको रूप दिएका यी कुराकानी सन् १९७२ को सुरूवात र सन् १९८२ सेप्टेम्बरबिचका हुन् । हाम्रो मित्रता व्यक्तिगत र नारीवादी दुवै हो । यही कारण त एलिसले मलाई मेरो रूचि र वैचारिक अन्तरजगत्‌सँग जोडिएका प्रश्न सोधिन् । र, मैले पनि बिना हिचकिचाहट स्पष्ट जवाफ दिएँ ।

यी कुराकानीमा नारीवादप्रति मेरा विचार र राजनीतिक अन्तर्दृष्टि स्पष्ट व्यक्त गरेकी छु । सन् १९७० पश्चात् म त्यो आन्दोलन (तत्कालीन समयमा नवनारीवाद) मा सक्रिय भएपछि मेरा विचारमा सायदै केही फेरबदल आएको छ । नारीवादी काम र त्यसका व्यावहारिक अनुभवमा भने केही परिवर्तन भएको छ । साथीहरूले मलाई पठाएका पत्र तथा आन्दोलनका अनुभवले मेरा विचार थप परिपक्व बनाएजस्तो लागेको छ ।

जीवनका व्यावहारिक अनुभवबाट विचार ग्रहण गरिनुपर्छ जस्तो लाग्छ मलाई । मैले आफ्ना विचार निर्माणमा पनि यही बाटो अपनाएकी छु । त्यसैले मलाई लाग्छ, किताबमा समावेश भएका कुराकानी समयक्रमअनुसार पढ्दा राम्रो हुन्छ । किनभने समयक्रमसँगै धेरै चिज परिवर्तन भएका छन् ।
एलिस र म बिच भएका यी कुराकानीको केन्द्रीय मुद्दा नारीवादीका रूपमा मेरो विचार, बौद्धिक र राजनीतिक अध्ययन नै हो । तर, एलिसले सार्त्र र मेरो आपसी सम्बन्धका बारेमा पनि प्रश्न गरिन् । मलाई पनि हाम्रो सम्बन्धका बारेमा विस्तारितरूपमा खुलेर बताउनुपर्छ जस्तो लाग्यो । सार्त्र र मेरो सम्बन्धका बारेमा जानकारी गराउने यो सही मौका हो जस्तो पनि लाग्यो ।

हाम्रो सम्बन्धका बारेमा बताउनु जरूरी पनि थियो । किनभने, नारीवादी आन्दोलनका केही महिलाहरू म पुरुषसँग जोडिएकै कारण उनीहरूले जस्तो संघर्ष गर्न सक्छु भन्ने कुरामा विश्वास गरिरहेका थिएनन् । उनीहरूको यस्तो विचारसँग म सहमत छैन ।

मैले एलिससँगको कुराकानीमा महिला र पुरूष (म र सार्त्र) बिच समतामा आधारित सम्बन्ध निर्माण कसरी सम्भव भयो भनेर विस्तारमा बताएकी छु । कमसेकम मेरो निजी अनुभवमा त सार्त्र र मेरो सम्बन्ध समतामा टिकेको गहिरो सामञ्जस्यपूर्ण सम्बन्ध हो ।

एलिस र मैले गरेका कुराकानी किताबको रूपमा प्रकाशित हुँदैछ भनेर खुसी लागेको छ । यो किताबले आफ्ना पाठकहरूमाझ मलाई अझै गहिराइमा परिचित गराउने अपेक्षा गरेकी छु । नारीवाद, बौद्धिकता, राजनीति, सम्बन्धजस्ता धेरै विषयमा यो किताबले मेरा प्रस्ट विचार तपाईँसमक्ष पुर्‍याउने छ ।

(महिलासँग गुमाउनका लागि केही छैन पुस्तक’बाट ।)