नेपाली कम्युनिष्ट आन्दोलनमा एक चलायमान युवा नेताको रूपमा निरन्तर चर्चामा रहने क. कृष्ण केसीको नयाँ पुस्तक ‘नेपाली क्रान्तिको आँखीझ्याल’ पढ्ने मौका मिल्यो । पुस्तकमा नेपालको कम्युनिष्ट आन्दोलन र त्यसमा पनि मूलतः संसार हल्लाउने गरी नपाली धर्तीमा विकास भएको नपाली जनताको वीरतापूर्ण संघर्षको जाज्वल्यमान नमूनाको रूपमा रहेको दसबर्से जनयुद्धको ऐतिहासिक पहल, जनयुद्धको थालनी, जनयुद्धका ऐतिहासिक निर्णय र घटनाक्रम, शान्ति प्रक्रिया र संविधान निर्माणसँग सम्बन्धित विषयहरू समेटिएका छन् ।
महान् जनयुद्धका ऐतिहासिक घटनाक्रमहरूको विस्तृत राजनीतक वर्णनसहित महत्त्वपूर्न घटनाक्रमहरू सूचीकृत गरिएको प्रस्तुत पुस्तकले वास्तवमै आफ्नो शीर्षकमाथि न्याय गरेको छ । नामले संकेत गरेजस्तै प्रस्तुत पुस्तक नेपाली क्रान्तिको गौरवगाथा हो । यसले महान् जनयुद्धको ऐतिहासिक दस्तावेजीकरण गरेको छ भने नेपाली कम्युनिष्ट आन्दोलनलाई चिहाउने र यसबारे सुसूचित हुने अवसर प्रदान गरेको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनमा चासो राख्ने सबैका लागि यो एक सन्दर्भ सामग्री हो भने महान् जनयुद्धलाई विद्रुपीकरण र जनयुद्धका महान् योद्धाहरूलाई अमानुषीकरण गर्न देशी-विदेशी प्रतिक्रियावादीहरू र तिनका नेपाली दलालहरू शिरदेखि पाउसम्मको बल लगाइरहेको वर्तमान सन्दर्भमा जुनसुकै पार्टी वा समूहमा संगठित भएता पनि नपाली माओवादीहरूका लागि त यो एउटा संग्रहणीय पुस्तक पुस्तक हो ।
वागलुङ जिल्लाको हाल काँठेखोला गाउँपालिकामा पर्ने साबिकको भिमपोखरा गाउँ विकास समितिको डोयरीमा जन्मेर काठमाडौँमा आधारित भई राजनीतिकर्ममा निरन्तर क्रियाशील नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य क. कृष्ण केसी नेपाली कम्युनिष्ट आन्दोलनमा एक सुपरिचित नाम हो ।
कहिल्यै एक ठाउँमा अल्झिएर नबस्ने, सँधै वागलुङका साथै समग्र देशको विकास र नयाँ निर्माणबारे नयाँ-नयाँ योजना बनाइरहने, एकछिन पनि खाली बस्न नसक्ने, मनमा लागेको कुरा निर्धक्क राख्ने र परिआए जोसुकैसँग पनि भिड्न तयार हुने निडर स्वाभावका एक गतिशील नेताको रूपमा बागलुङे जनताको बिचमा लोकप्रिय क. कृष्ण केसीलाई दसबर्से जनयुद्धको क्रममा २७ महिना बेपत्ता स्थितिमा सैन्य हिरासतमा राखेर चरम यातना दिइएको र ९ महिना कठोर यातनासहित जेलमा कोचिएको थियो । त्यति मात्र होइन, सैन्य हिरासतमा रहेकै बेला पटक-पटक हत्या गर्ने असफल प्रयत्न समेत गरिएकोले उहाँलाई देशभर जिउँदो सहिदको रूपमा चिनिन्छ ।
नेपालमा २ हजार वर्षदेखिको सामन्तवाद र त्यसको संरक्षकको रूपमा रहेको २४० बर्से शाही राजतन्त्रलाई जरैदेखि उखेलेर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा पदार्पण गराउने महान् जनयुद्ध नेपाली जनताको वीरतापूर्ण र गौरवशाली संघर्ष हो । यो नेपाल एकीकरणपछि नेपाली जनताले आफ्नै सैन्यशक्ति निर्माण गरेर एउटा संगठित र संस्थागत युद्ध लडेको प्रथम घटना पनि हो । नेपाली जनतालाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म संगठित रूपमा परिचालित गर्न सफल जनताको प्रथम युद्ध हो । जनताले निर्माण गरेको जनमुक्ति सेनाले देशका विभिन्न स्थआनहरूमा शाही सेनाको सैन्य हेडक्वार्टरहरूमाथि धाबा बोलेर विजय हासिल गरेको प्रथम अनुभव पनि हो । त्यसै कारणले कतिपयले महान् जनयुद्धका सर्वोच्च कमाण्डर रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. प्रचण्डलाई पृथ्वीनारायण शाहसँग समेत तुलना गर्ने गरेका छन् । आफ्नै विशिष्टतामा सम्पन्न भएको नेपालको जनवादी क्रान्तिको नेतृत्वकर्ताको रूपमा क. प्रचण्डको नाम नेपाल र विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा सुनौला अक्षरले अंकित भएको छ, जसलाई अरू कसैले जतिसुकै इर्ष्या, डाह वा छलछाम गरे पनि न हटाउन सक्छ, नबदल्न नै ।
विश्वका विभिन्न देशबारे जान्न चाहनेहरूका लागि २०५२ सालअघि नेपालको परिचय केवल गौतम बुद्ध जन्मेको र संसारको सर्वोच्च शिखर सगरमाथाको देशको रूपमा रहेको तियो । अलि नेपालबारे गहिरो अध्ययन भएकाहरूका लागि नेपाल सन् १८१६को सुगौली सन्धिपछि एउटा भाडाका सिपाही जन्माउने देश र राजाको प्रत्यक्ष शासन रहेको पञ्चायतकालमा संसारको दोस्रो सबैभन्दा गरिब देशको रूपमा चिनिएको थियो । त्यो परिचयलाई बदलेर नेपाललाई क्रान्ति र क्रान्तिकारीहरूको देशको रूपमा विश्वभर गौरवान्वित गराउने ऐतिहासिक घटना थियो महान् नेपाली जनयुद्ध ।
यो वीरतापूर्ण जनयुद्धमा १२ हजारभन्दा धेरै जनताका श्रेष्ठतम् छोराछोरीहरूले आफ्नो जीवन अर्पित गरेका थिए । नेपालको राजतन्त्र र संसदवादी पार्टीहरूले सत्तामा रहेर नेपाली जनताका छोराछोरीहरूको यति ठुलो संख्यामा हत्या गरेका थिए, तीमध्ये अधिकांश किसान, मजदुर, गृहिणी महिला, शिक्षक, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारण जनता थिए । त्यसरी नै युद्धको क्रममा सरकार पक्षका करिब २ हजार जति सुरक्षा फौजका सदस्यहरू र अन्य मानिसहरूको मृत्यु हुन पुगेको थियो ।
नेकपा (माओवादी)ले बुझाएको ४० बुँदे माग सम्बोधन नगर्दा र संयुक्त जनमोर्चाको नाममा शान्तिपूर्ण रूपमा आफ्ना क्रियाकलापहरू गरिरहेको नेकपा (माओवादी)का नेता-कार्यकर्ताहरूलाई बिनाकारण दिनदहाडै गिरफ्तार र हत्या गर्ने लगायतका सरकारी र संसदवादी दलहरूका अमानवीय तथा अराजनीतिक हर्कतहरूको कारण जनयुद्धको सुरुवात भएको थियो र यति ठुलो मानवीय क्षति हुनपुगेको थियो । मधेसका चर्चित नेता क. रामवृक्ष यादवलाई जनयुद्ध सुरु हुनुअगावै बरमझियामा हत्या गरिएको थियो भने रुकुमका माओवादी नेता क. लोकेन्द्र विष्टसहित सयौँ माओवादी नेता-कार्यकर्तालाई जनयुद्ध सुरु हुनुपूर्व नै गिरफ्तार गरी झुठा मुद्धा लगाइएको थियो, हजारौँ कार्यकर्ताहरूलाई झुठा मुद्धा लगाएर दुःख दिइएको थियो ।
संसारबाट ‘समाजवादको अन्त्य भयो’, ‘मार्क्सवाद-लेनिनवाद-माओवादको औचित्य समाप्त भयो’, ‘इतिहासको अन्त्य’ भयो, ‘पुँजीवाद मात्रै एक मात्र व्यवस्था हो’ र यो एक धुर्बीय पुँजीवादी विश्वव्यवस्थाको युग हो’ भन्ने कुरामा विश्वास राख्ने देशी-विदेशी प्रतिक्रियावादीहरू र तिनका नेपाली दलालहरूले त्यो जनताको महान् युद्धलाई स्वीकार गर्दैनन् । कतिपय आफूलाई कम्युनिष्ट पार्टी र कम्युनिष्ट पार्टीका नेता भन्न रुचाउनेहरूले समेत महान् जनयुद्धलाई नमान्ने, स्वीकार नगर्ने, कतिपय अवस्थामा लाज पचाउँदै ‘सशस्त्र संघर्ष’सम्म मान्ने तर जनयुद्ध नमान्ने कुरा गर्छन् ।
शव्द चयन जस्तोसुकै होस्, जनताका वैरीहरू, संसदवादी तथा संशोधनवादीहरू र नेपाली क्रान्तिका दुश्मनहरूले जेसुकै भनुन्, विदेशी पैसामा नबिकेका र सत्य-असत्य आफेले सोचेर निर्णय गर्नसक्ने सबै विवेकशील नेपालीहरू र विश्व जनमतले नेपालको सामन्ती व्यवस्था र राजतन्त्रको अन्त्य गर्ने, देशलाई गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको युगमा लैजाने एक मात्र शक्तिको रूपमा महान् जनयुद्ध, त्यसको कुशलतापूर्वक नेतृत्व गर्ने नेकपा (माओवादी) र त्यसका अध्यक्ष क. प्रचण्डलाई स्वीकार गरिसकेका छन्, सम्मान गरिरहेका छन् । आज नेपालको एक मात्र क्रान्तिकारी कम्युनिष्ट पार्टीको रूपमा नेकपा (माओवादी केन्द्र) सर्वस्वीकार्य रहेको छ भने देशको प्रधानमन्त्रीको रूपमा क. प्रचण्डले नेपाल सरकारको नेतृत्व गरिरहनु भएको छ।
आफ्नो स्कुले जीवनबाटै लेखन सुरु गरेर सयौँ फुटकर लेख-रचना पस्केका लेखक क. कृष्ण केसीको सहिदहरूको स्मृन्थि ग्रन्थ ‘सहिद’ को सम्पादनबाट सुरु भएको पुस्तक यात्रामा उहाँको आफ्नै सिर्जनामा ‘मानव वधशालाको यात्रा’ (भाग १ र २), ‘क्रान्तिकारीका आस्थाहरू’ (भाग १ र २), ‘नेपाली कम्युनिष्ट यात्रा र कम्युनिष्ट यात्री’, ‘राजनिति’, ‘लोकप्रिय जीवन’, ‘भलकाः भक्तपुर, ललितपुर र काठमाडौँ’, ‘पृथ्वीको टाउकोबाट विश्व ब्रम्हाण्ड चिहाउँदा’, ‘नरककूण्ड र स्वर्गकूण्ड यात्रा’, ‘कमरेडहरूलाई खुला चिठ्ठी’, ‘जीवन ज्योति’, ‘जनता’ लगायतका चर्चित कीर्तिहरू यसअघि नै पुस्तकाकारमा प्रकाशित भइसकेका छन् । उहाँको मानव वधशालाको यात्रा (भाग १ र २) मा आधारित भएर चलचित्र ‘वधशाला’ निर्माण र प्रदर्शनसमेत भएको छ ।
आमरूपमा दसबर्से जनयुद्ध भनिए पनि प्रस्तुत पुस्तकमा लेखकले २०५२ साललाई जनयुद्धको पहिलो वर्ष र २०६३ लाई बाह्रौँ वर्ष मान्दै महान् जनयुद्धको राजनीतिक, वैचारिक तयारीसहित शान्तिप्रक्रियाको अवतरणसम्मका विषयवस्तुहरूलाई सुन्दर र विस्तृत रूपमा प्रस्तुत गर्नुभएको छ । सोहीअनुसार प्रस्तुत पुस्तकलाई कुशलतापूर्वक १३ अध्यायहरूमा संरचना गरिएको छ ।
पुस्तकको पहिलो अध्यायको रूपमा ‘जनयुद्धको ऐतिहासिक पृष्ठभूमि‘मार्फत् महान् जनयुद्धका सैद्धान्तिक, वैचारिक आधारहरूका साथै नेपाल कम्युनिष्ट पार्टीको स्थापनादेखि २०५२ सालसम्मको विभिन्न कम्युनिष्ट पार्टीहरूको इतिहासको संक्षिप्त वर्णन गर्दै जनयुद्धको आवश्यकता, औचित्य र त्यसको तयारीका चरणहरूको विवेचना गरिएको छ ।
पुस्तकमा दोस्रो अध्यायको रूपमा ‘जनयुद्धको प्रारम्भ वर्ष २०५२: क्रान्तिकारी इतिहासको नयाँ अध्याय‘ रहेको छ । यसरी नै क्रमशः ‘जनयुद्धको दोस्रो वर्ष २०५३: त्याग, वीरता र बलिदानको कीर्तिमान’, ‘जनयुद्धको तेस्रो वर्ष २०५४: सैद्धान्तिक, साङ्गठनिक, फौजी र गैरफौजी क्षेत्रमा श्रेष्ठता’, ‘जनयुद्धको चौथो वर्ष २०५५: दरबार र संसदीय दलहरूबिच द्वन्द्वले जनयुद्धको विकासमा तीव्रता’, ‘जनयुद्धको पाँचौँ वर्ष २०५६: जनयुद्धकै क्रममा निर्देशक विचार र नेतृत्व विकास’, ‘जनयुद्धको छैटौँ वर्ष २०५७: माओवादी आन्दोलन र प्रचण्डपथ नेपाली क्रान्तिको नयाँ मोडेल’, ‘जनयुद्धको सातौँ वर्ष २०५८: दरबार हत्याकाण्डसँगै नेपाल गणतन्त्रात्मक युगमा प्रवेश’, ‘जनयुद्धको आठौँ वर्ष २०५९: नयाँ राजनीतिक ध्रुवीकरण, जनयुद्ध राष्ट्रिय गृहयुद्धमा रूपान्तरण’, ‘जनयुद्धको नवौँ वर्ष २०६०: सङ्घर्षशील जनताको ऐतिहासिक गौरवपूर्ण विजययात्रा’, ‘जनयुद्धको दसौँ वर्ष २०६१: जनयुद्ध, जनआन्दोलन र शान्तिप्रक्रिया नेपाली क्रान्तिको नयाँ बाटो’, ‘जनयुद्धको एघारौँ वर्ष २०६२: युगान्तकारी जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलन’ रहेको छ ।
तेह्रौँ तथा अन्तिम अध्यायको रूपमा रहेको ‘जनयुद्धको बाह्रौँ वर्ष २०६३‘ लाई ‘सरकार र माओवादीबिच बृहत् शान्तिसम्झौता’, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उदय’, ‘जनयुद्ध तथा जनआन्दोलन’, ‘शान्तिवार्ता, विस्तृत शान्तिसम्झौता र शान्तिप्रक्रिया’, ‘जनमुक्ति सेना, जनसरकार, जनअदालत र जनकम्युन’, ‘सहिद, बेपत्ता, घाइते एवम् राजबन्दीको रक्तिम इतिहास’, ‘विस्तृत शान्तिसम्झौतापश्चात्को माओवादी आन्दोलन’, ‘नेपाल कम्युनिस्ट पार्टीको गठन-पुनर्गठन र अबको नेपाली कम्युनिस्ट आन्दोलन ‘उपशीर्षक दिएर पुनः संरचना गरिएको छ ।
प्रस्तुत पुस्तकमा गरिएको अध्यायहरूको संरचना र उपशीर्षकहरूको संयोजनबाट नै प्रस्तुत पुस्तकको बारेमा प्रष्ट बुझ्न सकिन्छ । यसको वर्णनमा धेरै शव्दहरू खर्च गर्नुपर्ने आवश्यकता पर्दैन । हरेक अध्यायमा जनयुद्धको सो वर्षका राजनीतिक, सांगठानिक र फौजी क्रियाकलापहरूको वर्णनपश्चात हेरक वर्ष सो वर्ष घटेका महत्त्वपूर्ण घटनाक्रमहरूको सूची समावेश गरिएको छ ।
यसले जनयुद्धका ती आँधीमय वर्षहरूमा घटेका घटनाहरू, तिनको विश्लेषण र संश्लेषण गर्न चाहने सबै राजनीतिकर्मीहरू, साहित्यकर्मीहरू, संचारकर्मीहरू मात्र नभएर समालोचक र राजनीतिक विश्लेषकहरूलाई समेत एउटा महत्त्वपूर्ण सन्दर्भ सामग्रीको रूपमा सहयोग गर्ने छ ।
अध्ययन संस्कृतिमा कमी आइरहेको वर्तमान समयमा नेपाली कम्युनिष्ट आन्दोलन र त्यसमा पनि महान् जनयुद्धलाई केन्द्रमा राखेर लेखिएको पुस्तक प्रकाशन गर्ने जागरण बुक हाउस र यसका प्रबन्ध सञ्चालक गणेश चितौरे धन्यवादका पात्र हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री क. प्रचण्ड र पूर्वउपराष्ट्रपति क. पासाङको शुभकामनासमेत समेटिएको ३२२ पृष्ठको पुस्तकको मूल्य रु. ६५०/- राखिएको छ । पुस्तक जागरण बुक हाउससहित देशका विभिन्न पुस्तक पसलहरूमा उपलब्ध छ ।
र, यी लेखहरू पनि पढ्नुहोस्ः
कार्ल मार्क्सको “पुँजी” अध्ययन गरेपछि प्राप्त शिक्षा र मेरा अनुभवहरू – क. बैंकटेश आत्रेय
आफ्नै पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’बारे – क. सिमोन द बोवुआर