palestine flag, palestinian flag, प्यालेस्टाइन, प्यालेस्टाइनको झण्डा
 

प्यारो प्यालेस्टाइन,
फेरि एकपटक तिमीले विश्वलाई देखाइदियौ ।

पद, पैसा र प्रतिष्ठाको भोकले
लम्पट भएर सुतेको यो धरतीलाई
मुक्ति या मृत्यूको बिगुल फुकेर
फेरि एकपटक तिमीले झक्‌झकाइदियौ ।

आत्मस्वार्थको जञ्जालमा जेलिएर
स्वयम्‌मा बन्दी बनेको मानव समुदायलाई
मुक्तिबोधको बिराट सन्देश दिएर
फेरि एकपटक तिमीले ब्युँझाइदियौ ।

आडम्बरले आँखा छोपेर अन्धो बनेको
साम्राज्यका आइरन डोमहरूलाई ध्वस्त गर्दै
दासताको बिरुद्ध संघर्षको उद्‌घोष गरेर
फेरि एकपटक तिमीले मुक्तिमार्ग देखाइदियौ ।

रसद-पानीको नाकाबन्दी खेप्दै
घाइते हातगोडामा मृदा-मल्हम लगाउँदै
ढुंगा र गुलेलीले बख्तरबन्द गाडीहरू रोक्दै
मिसाइल र ग्रिनेडका जवाफ फर्काउँदै
गाजाका सडकहरूमा रगतको भेल बगाउँदै
स्वतन्त्रताभन्दा सुन्दर अरू केही छैन भनेर
फेरि एकपटक तिमीले संसारलाई बताइदियौ ।

बाबुआमा, छोराछोरी र नातिनातिना तीनै पुस्ता
एउटै चिहान हुनु परे पनि,
घर, अस्पताल, स्कुल र मस्जिदहरूमाथि
बमगोला र मिसाइलको खात परे पनि,
आँशुका थोपाले पानीको प्यास मेट्नु परे पनि,
दमनले विद्रोहचेत गल्दैन भन्ने सिद्ध गर्दै
साना-साना नानीहरूको आक्रोश बनेर
फेरि एकपटक तिमीले मुक्तिको नारा गुञ्जाइदियौ ।

एक्काइसौँ शताव्दीका नाजीहरूले
जतिसुकै धेरै हतियार जम्मा गरे पनि
जति धेरै मिसाइल र गोली वर्षाए पनि
जति धेरै नानीहरूको कत्लेआम गरे पनि
जति धेरै दमन र उत्पीडन गरे पनि
डटेर साम्राज्यवादको सामना गर्दै
उच्च चेतनाले वर्गयुद्धको मोर्चा कस्दै
जनताको मुक्तियुद्ध रोकिएको छैन भनेर
फेरि एकपटक तिमीले संसारलाई देखाइदियौ ।

महाशक्तिको छातीभित्रै मुक्तिबोधको चेत बनेर
क्याम्पस र विश्वविद्यालयका आगनहरूमा
प्यालेस्टाइनी झन्डाको गलबन्दी बनेर
विश्वभरका किसान, मजदुर, महिला, युवा र विद्यार्थीको लामबन्दीमा
जैतुनको हरियो हाँगा बनेर
लाखौँ लाख स्वतन्त्रताप्रेमीहरूको बिचमा
ऐक्यबद्धताको नारा बनेर
‘फ्रम द रिभर टु द सि, प्यालेस्टाइन विल बि फ्रि’ भन्दै
फेरि एकपटक तिमीले गगनभेदी नाराहरू गुञ्जाइदियौ ।

छोराछोरीको लाश बोकेर विराङ्गाना आमाहरू
स्वतन्त्रताको झण्डा उठाइरहेछन्,
अटल र निडर भएर स-साना नानीबाबुहरू
गुलेली र ढुंगासँगै मुक्तिका नारा घन्काइरहेछन्,
कसैले भनेको छैन अब लड्न सकिँदैन
कसैले सोचेको छैन अब टिक्न सकिँदैन
न कसैलाई मोह छ तिनका डिभि-पिआरको
न कसैलाई लोभ छ तिनका हरिया नोटको
न कसैलाई डर छ तिनका आणविक हतियारको ।

त्यसैले त प्यारो प्यालेस्टाइन,
फेरि एकपटक तिमीले देखाइदियौ –
साम्राज्यहरूको पराजय संभव छ,
साम्राज्यवादको अन्त्य सुनिश्चित छ,
एक दिन प्यालेस्टाइनसँगै सिङ्गो धरती स्वतन्त्र हुनेछ,
वैज्ञानिक समाजवादको नयाँ ढोका खुल्नेछ,
समस्त मानव जाति शोषण र उत्पीडनको साङ्लोबाट मुक्त हुनेछ ।