आधारभूत सिद्धान्तका दृष्टिले सबै देशका कलाकार्यमा समानता पाइन्छ । तर, रूप र शैलीमा भने भिन्नता हुने गर्दछ । विभिन्न समाजवादी देशहरूका कलामा निहित अन्तर्वस्तु समाजवादी नै हुने गर्दछ । तर हरेक देशको आफ्नै राष्ट्रिय चरित्र हुन्छ । तिनीहरूबिच समानता र भिन्नता, समान पक्ष र निजत्वका आफ्नै विशिष्ट पक्षहरू हुने गर्दछन् । यो प्राकृतिक नियम नै हो । यो कुरा प्रवृत्ति होस् या समाज या बौद्धिक क्षेत्र सबै क्षेत्रमा समान किसिमले लागु हुन्छ । एउटा रुखको पातकै कुरा गरौँ, झलक्क हेर्दा ती सबै एकैजस्ता लाग्दछन्, तिनको नजिकैबाट अध्ययन गर्दा भने तिनीहरू एकअर्काभन्दा भिन्न अनुभूत गर्दछौँ । एकै किसिमका कत्ति पनि फरक नहुने दुइटा पात पाउन असम्भव नै हुन्छ ।
हरेक देशको वर्गसङ्घर्षमा सामाजिक क्रान्ति र पुँजीवादबाट समाजवादमा संक्रमणका सिद्धान्तहरू आधारभूत रूपमा समान हुन्छन् । तर, मूलभूत सैद्धान्तिक आधारसित सम्बद्ध अन्य सिद्धान्त र तिनको प्रयोगको कुरा आउँछ, त्यो त्यसै देशको मौलिकताअनुरूप हुने गर्दछ । अक्टोबर क्रान्ति र चिनियाँ क्रान्ति यस्तै क्रान्ति हुन् । आधारभूत सिद्धान्तका सन्दर्भमा यी दुई समान छन् तर सिद्धान्तहरूको प्रयोगको सन्दर्भमा भने यी दुईबिच भिन्नता छ। उदाहरणका रूपमा रुसमा क्रान्ति सहरबाट गाउँतिर विस्तारित भएको छ, हाम्रो देशमा भने यो गाउँबाट सहरतिर विस्तारित भयो । यी क्रान्तिबिच पाइने विभिन्न भिन्नतामध्ये यी दुइटा महत्त्वपूर्ण भिन्नता हुन् ।
विश्वका थुप्रै राष्ट्रका कलाको आफ्नै विशिष्ट राष्ट्रिय रूप र चरित्र हुने गर्दछ । कतिपय मान्छेहरू यो कुरा बुझ्दैनन्, बु्झ्न सक्तैनन् । तिनीहरू, पश्चिमका हरेक चिज राम्रा हुन्छन् भन्दै आफ्नो राष्ट्रिय विशिष्टतालाई बेवास्ता गरी पश्चिमको अन्धभक्त भएर पूजा गर्ने गर्दछन् । तिनीहरू पूर्णरूपमा पश्चिमीकरणको वकालत समेत गर्ने गर्दछन् । यो एकदमै त्रुटिपूर्ण छ। पूर्णतः पश्चिमीकरण अव्यावहारिक छ र यसलाई चिनियाँ जनताले पटक्कै स्वीकार गर्दैनन् । कला र प्राकृतिक विज्ञान यसै अर्थमा एकअर्काभन्दा फरक छन् । उदाहरणका रूपमा एपेन्डिसाइडको अप्रेसन गर्नु वा स्पिरिन खानुको कुनै राष्ट्रिय चरित्र हुन्न, कलामा भने यस्तो हुन्छ । योसित राष्ट्रिय रूपका प्रश्नहरू गाँसिएर उठ्ने गर्दछन् किनभने कला जीवनको अभिव्यक्ति हो, विचार, भावना, आवेग सँगसँगै यसले राष्ट्रिय परम्परा र भाषासित पनि नजिकको साइनो राख्दछ । राष्ट्रिय ढाँचाभित्र एउटा ऐतिहासिक कलात्मक समृद्धिको पनि विकास भइरहेको हुन्छ ।
चिनियाँ कला, सङ्गीत, चित्रकला, नाटक, गीत र नृत्य अनि साहित्य हरेकको आफ्नै ऐतिहासिक विकास प्रक्रिया रहेको छ । चिनियाँ उपलब्धिहरूको बेवास्ता गर्दै पूर्ण पश्चिमीकरणको पुर्पक्ष गर्नेहरू भन्ने गर्दछन्- चिनियाँ वस्तुहरूको आफ्नो छुट्टै विधिविधा नै छैन । त्यसैले उनीहरू यसको अध्ययन र विकास गर्न इच्छुक छैनन् । यो भनेको चिनियाँ कलाप्रति राष्ट्रिय शून्यवादी प्रवृत्ति अँगाल्नु हो ।
विश्वका हरेक देशको आफ्नै इतिहास हुन्छ । यसका आफ्नै सबल र दुर्बल पक्षहरू हुन्छन् । आदिकालदेखि नै राम्रा र सडेगलेका चिजहरू एक-आपसमा गाँसिएर अभ्यस्त भएर रहँदै आएका छन् । तिनको छानबिन गरी तीबाट राम्रा कुराको सार ग्रहण गर्नु निकै जटिल कार्य हो । परन्तु, यसो भन्दैमा हामी इतिहासलाई पन्छाउन सक्तैनौँ । आफ्नो इतिहासबाट टाढिनु र विरासत परित्याग गर्नु राम्रो कुरा होइन ।
यसको अर्थ हामी विदेशबाट सिक्न आवश्यक ठान्दैनौं भन्नेचाहिँ होइन । हामी विदेशबाट धेरै कुरा सिक्न चाहन्छौँ र त्यसमा परम्परागत हुन चाहन्छौँ । पहिलो कुरा त हामी आधारभूत सिद्धान्तमा पारङ्गत हुन चाहन्छौँ। कतिपयहरू चिनियाँ शिक्षालाई सारतत्त्वको रूपमा लिने र पश्चिमी शिक्षालाई व्यावहारिक प्रयोगको रूपमा लिनुपर्ने वकालत गर्दछन् । यो विचार ठीक हो कि गलत त? यो गलत छ । वास्तवमा शिक्षा शब्द आधारभूत सिद्धान्तसित सम्बद्ध छ । आधारभूत सिद्धान्त चीन र अरु मुलुकबिच एउटै हुने गर्दछ । आधारभूत सिद्धान्तमा चीन र अरु मुलुकबिच कुनै भिन्नता हुनुहुन्न ।
मार्क्सवाद आधारभूत सिद्धान्त हो, जुन पश्चिममा जन्मेको थियो । यस मामिलामा हामी कसरी चिनियाँ र पश्चिमी भनेर सीमारेखा कोर्न सक्छौ ? हामी मार्क्सवादलाई अस्वीकृत त गरिरहेका छैनौँ । मार्क्सवादलाई अस्वीकार गर्नु हाम्रा लागि हानिकारक छ भन्ने कुरा चिनियाँ क्रान्तिले देखाएको छ । यसलाई अस्वीकार गर्नु अर्थहीन छ । विगतमा दोस्रो अन्तर्राष्ट्रियले मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई पालना गर्न अस्वीकार गर्यो र यसका लागि केही बहाना बनायो । तर, त्यसलाई लेनिनले पूर्णरूपमा अस्वीकार गर्नुभयो । मार्क्सवाद सार्वभौम सत्य हो, जुन विश्वव्यापी रूपमा लागु हुन्छ । हामीले यस तथ्यलाई अवश्य स्वीकार गर्नुपर्छ । तर, यो सत्यलाई हरेक देशले आफ्नो देशको ठोस परिस्थितिसित मिलाएर व्यवहारमा लैजानुपर्दछ । मार्क्सवादलाई चिनियाँ जनताले आफ्नो मुलुकको ठोस परिस्थितिसित मिलाएर लागु गर्न सकेकाले नै उनीहरूले क्रान्तिमा विजय प्राप्त गर्न सकेका हुन् ।
हामी विदेशी चिजको अध्ययन गर्न चाहन्छौँ, किनभने हामी चिनियाँ वस्तुहरूको अध्ययन तथा विकास गर्न चाहन्छौँ । यस सन्दर्भमा प्रकृति विज्ञान तथा समाजविज्ञानबिच समानता छ । हामी विदेशी मुलुकहरूका राम्रा चिजहरूमा परम्परागत हुनु आवश्यक छ, तिनको प्रयोग गर्ने क्रममा विकास पनि गर्नुपर्दछ । प्राकृतिक विज्ञानको क्षेत्रमा हामीले अवश्य पनि आफ्नै सिर्जनात्मक काममा जोड दिनुपर्दछ । चिनियाँ वैज्ञानिक प्राप्तिलाई विकसित पार्न बाहिरी आधुनिक वैज्ञानिक ज्ञानको प्रयोग गर्नुपर्दछ, हामीले हाम्रा आफ्नै वैज्ञानिक संस्थाहरूको निर्माण गर्न सक्तैनौँ । यस्तो हुनु स्वाभाविक हुन्छ । उदाहरणका रूपमा पश्चिमी स्वास्थ्य विज्ञान र आधुनिक विज्ञानसित सम्बद्ध पक्षहरूको कुरा गर्दा जस्तो शरीरविज्ञान, स्वास्थ्यविज्ञान, रसायनविज्ञान, जीवविज्ञान आदिको अध्ययन गर्नुपर्दैन भनेर कसले भन्नसक्छ र ? हामी सबैले यस्ता आधुनिक विज्ञानको अध्ययन गर्नुपर्दछ । पश्चिमी औषधीविज्ञानको अध्ययन गर्नेहरूले चिनियाँ औषधी विज्ञानको पनि अध्ययन गर्नु जरुरी छ । तिनले अध्ययन गरेको पश्चिमी ज्ञान, प्रविधि, हाम्रो चिनियाँ परम्परागत औषधी विधि र सामग्रीको अध्ययनमा पनि प्रयोग गर्नु आवश्यक छ । हामीले औषधी सम्बन्धमा चिनियाँ र पश्चिमी औषधीलाई एउटा नवीन र संयुक्त चिनियाँ औषधीविज्ञान तथा उत्पादनको काममा मिलान गर्नु आवश्यक छ ।
यदि यसको प्रयोग प्रकृतिविज्ञान र समाजविज्ञानमा गरिन्छ भने कलामा यसको कतिसम्म प्रयोग गर्न सकिन्छ त? हामीले विदेशी मुलुकबाट अवश्य सिक्नुपर्दछ, विदेशी मुलुकका राम्रा कुराहरू ग्रहण पनि गर्नुपर्दछ । तर त्यहाँ हामीले सिकेका कुराहरूलाई चिनियाँ जनताका कलाको अध्ययन तथा विकासमा यसको प्रयोग गर्नुपर्दछ अन्यथा यसको केही अर्थ छैन । विदेशी कलाको अध्ययन गर्नु, तिनीहरूका आधारभूत सिद्धान्त तथा प्रविधिको अध्ययन गर्नुको उद्देश्य हो – बहुसंख्यक चिनियाँ जनताको नयाँ समाजवादी कलाको सिर्जना गर्नु, जसबाट आफ्नै विशिष्ट राष्ट्रिय रूप र शैलीले पूर्णता पाओस् । आधुनिक सांस्कृतिक क्षेत्रमा पश्चिमेलीहरू हामीभन्दा स्तरीय छन् भन्ने कुरा हामीले स्वीकार गर्नुपर्छ । हामी पछि परेका छौँ । कलाका सन्दर्भमा पनि यही कुरा हो त ? कलाका क्षेत्रमा हाम्रा सबल र दुर्बल पक्षहरू छन् । हाम्रा कमजोरी सपार्न हामीले विदेशी राम्रा चिजहरूको ग्रहण गर्न सक्षम हुनुपर्दछ । हामी विगततिरै अलमलिन्छौँ र विदेशी साहित्यको अध्ययन गर्दैनौँ भने चीनमा यसलाई भित्र्याउँदैनौँ भने, विदेशी गीत-सङ्गीत सुन्ने र बजाउने कुरा हामी जान्दैनौँ भने यो राम्रो कुरा होइन । हामी सबै विदेशी वस्तु आँखा चिम्लेर बहिष्कार गर्नु हुन्न । आँखा चिम्लेर तिनको बहिष्कार गर्नुको अर्थ आँखा चिम्लेर तिनको पूजा गर्नुजस्तै हो। दुवै बेठिक र हानिकारक कार्य हुन् ।
विदेशी मुलुकहरूबाट सिक्ने कुरामा हामीले सङ्कीर्णतावाद र यान्त्रिकवाद दुवैको विरोध गर्नुपर्छ । हामी पहिले नै जडसूत्रवादबाट राजनीतिकरूपबाट पीडित भइसकेका छौँ । बाहिरबाट हामीले जे लियौँ, त्यसलाई जस्ताको तस्तै प्रयोग गर्यो, यसले ठुलो पराजय निम्त्यायो । यसले श्वेतः इलाकाको पार्टी संगठनको शक्तिमा सतप्रतिशत ह्रास निम्त्यायो र क्रान्तिकारी आधारक्षेत्र तथा लाल सेनाको शक्तिमा नब्बे प्रतिशत ह्रास आयो । यसले क्रान्तिलाई धेरै वर्षपछि धकेल्यो । केही कमरेडहरूले यथार्थलाई आरम्भ विन्दु नमानी यान्त्रिकतालाई अँगाल्नुको कारण यस्तो भएको थियो । तिनीहरूले मार्क्सवाद-लेनिनवादका आधारभूत सिद्धान्तलाई चिनियाँ क्रान्तिको ठोस परिस्थितिमा मिलाउन सकेनन् । हामीले यस किसिमको यान्त्रिकतालाई बहिष्कृत नगरेको भए चिनियाँ क्रान्तिले विजय प्राप्त गर्न सक्तैनथ्यो ।
कलाको क्षेत्रमा पनि यसबाट हामीले पाठ सिक्नुपर्दछ र राम्रो गर्न जडसूत्रवादबाट बच्नुपर्दछ । विदेशी कुराहरूको अध्ययन गर्नु भनेको सबै कुरा विदेशबाटै आयात गर्नुपर्दछ भन्ने होइन । वस्तुहरूलाई हामीले आलोचनात्मक किसिमले स्वीकार गर्नुपर्दछ । वर्तमानको सेवाका लागि विगतबाट सिक्नुपर्दछ । चिनियाँ जनताको हितका लागि विदेशीबाट पनि सिक्नुपर्दछ ।
राम्रा कुराहरू विदेशबाट तथा चीनबाट पनि सिक्नुपर्दछ । आधा गाग्रो पानी छचल्किन्छ, दुइटा आधालाई एउटा पूर्ण गाग्रोमा फेर्नुपर्दछ । हामी विदेशी तथा स्वदेशी वस्तुहरूमा पोख्त हुनुपर्दछ र दुवैलाई समग्रतामा मिलान गर्नुपर्दछ । लु शुनले यसै गर्नुभयो । उहाँ विदेशी र चिनियाँ दुवै कार्यमा पोख्त हुनुहुन्थ्यो । तर, उहाँको प्रतिभा प्रमुखरूपमा अनुवादमा नभएर सिर्जनकार्यमा प्रदर्शित छ । उहाँको सिर्जनकार्य न त विदेशी किसिमका छन्, न त शास्त्रीयतावादी-परम्परावादी, बरु वर्तमान चीनको अनुरूप छन् । हामीले लु शुनको जोश-जाँगरबाट सिक्नुपर्दछ । चिनियाँ र विदेशी दुवैलाई ग्रहण गर्नुपर्दछ । चिनियाँ र विदेशी दुवै कलाकार्यका राम्रा कार्यको ग्रहण गर्नुपर्दछ र दुवैको फ्यूजन गरी नयाँको निर्माण गर्नुपर्दछ, जुन राष्ट्रिय रूप र शैली अनुरूप बनोस् ।
चिनियाँ र विदेशी चिजहरूलाई सफलतापूर्वक संयोजन गर्ने कुरा सजिलो छैन । यसले समय लिन्छ। यस्ता केही चिनियाँ कुराहरू छन्, जसमा विदेशी मिसावट सम्भव छ । उदाहरणका लागि उपन्यास लेखनमा भाषा, चरित्र र पृष्ठभूमि अवश्य पनि चिनियाँ हुनु आवश्यक छ । तर, चिनियाँ लेखनजस्तै खण्डखण्डमा प्रस्तुत गर्नुपर्छ भन्ने छैन । न त चिनियाँ, न त विदेशी । यो भन्दा फरक किसिमले पनि लेख्न सकिन्छ। यसबाट गधा, घोडा वा खच्चर जे पैदा होस् यो खराब हुने छैन । जब दुइटा वस्तुहरू जोडिन्छन्, त्यसको रूप बदलिन्छ। एकदमै अपरिवर्तित हुनु असम्भव हुन्छ । चिनियाँ चिजहरू परिवर्तित हुनेछन् । राजनीतिक, आर्थिक र सांस्कृक्तिक चीनको अनुहारमा ठुलो परिवर्तन भइरहेको छ तर त्यसमा जतिसुकै परिवर्तन किन नहोस्, चिनियाँ चिजहरूको आफ्नो विशेषता भने यथावत नै रहन्छ । विदेशी चिजहरू पनि परिवर्तित हुन्छन् । अक्टोबर क्रान्तिपछि विश्वको अनुहारमा एउटा आधारभूत परिवर्तन आयो । दोस्रो विश्वयुद्धपछि यो परिवर्तन नयाँ दिशमा विकसित भयो । हामीले विदेशी चिजहरूलाई आलोचनात्मक दृष्टिले स्वीकार गर्न र बाह्य समाजवादी मुलुकका चिजहरू तथा पुँजीवादी मुलुकका प्रगतिशील जनताका चिजहरूप्रति ध्यान दिनुपर्दछ ।
सङ्क्षिप्तमा कलाका आफ्नै सिर्जनात्मक नियमसङ्गतिहरू हुन्छन्, यसलाई समयको विशेषता तथा मुलुकको चरित्रअनुरूप सुस्पष्टरूपमा रङ्गयाउनुपर्दछ । चिनियाँ कला बढीभन्दा बढी अतीतमुखी हुनुहुन्न र पश्चिमीकरण केन्द्रित हुनुहुन्न । यसले समय र मुलुकको विशेषतालाई विस्तारमा प्रतिबिम्बित गर्नुपर्दछ । यसो गर्दा हामीले प्रयोगशीलताको प्रदर्शन गर्नु आवश्यक छ । खास गरेर चीनजस्तो देश जहाँको लामो इतिहास छ र जहाँ जनसंख्याको ठुलो हिस्सा छ, त्यहाँ त विभिन्न जाति-जनजातिको आवश्यकता पूरा गर्न पनि यस्तो प्रयोगको आवश्यकता छ । हामी एकदमै समरूप चाहन्नौँ, यसले फर्मुलाबद्ध लेखनलाई प्रवृत्त गराउँदछ । विदेशी हुन् वा स्वदेशी, फर्मुला-लेखन दुवै निर्जीव हुन्छन् र जनताबाट स्वीकार गरिन्नन् ।
पश्चिमी शिक्षाआर्जन गरेका बौद्धिक समुदायको भूमिकाको प्रश्न हाम्रा सामु छ । यदि हामीले यसलाई ठिक किसिमले बुझ्न सकेनौँ भने यसले कलाको क्षेत्रलाई मात्र होइन, सिङ्गो क्रान्तिलाई पछि धकेल्न सक्छ । चिनियाँ राष्ट्रिय पुँजीपतिवर्ग र बुद्धिजीवीहरूको संख्या केही लाख मात्र भए पनि यसको प्रभाव आधुनिक कलामा व्यापकरूपमा रहेको छ । हामीले उनीहरूलाई गोलबद्ध गर्नुपर्दछ । उनीहरूलाई प्रशिक्षित र रूपान्तरण गर्नुपर्दछ । दलाल वर्गको आफ्नै संस्कृति छ, जुन दास संस्कृति हो । जमिन्दार वर्गसित पनि आफ्नै संस्कृति छ – सामन्ती संस्कृति । लामो समयसम्म दमितरूपमा रहेका मजदुर-किसानसित अहिलेसम्म सांस्कृतिक ज्ञानको विशाल अनुभव छैन । सांस्कृतिक तथा प्राविधिक क्रान्ति सम्पन्न नगरुन्जेलसम्म पुँजीपति वर्गका बुद्धिजीवीहरूसित तुलनात्मकरूपमा बढी ज्ञान र सिप हुनु स्वाभाविक छ । हामीले अबलम्बन गरेको नीति ठिक छ, हामी उनीहरूलाई प्रशिक्षित गर्छौँ, रूपान्तरण गर्छौँ र समाजवादको सेवामा लगाउँछौँ । हामी उनीहरूलाई प्रशिक्षित गर्छौँ, रूपान्तरित गर्न सक्छौँ । यहाँ अहिले उपस्थितमध्ये कतिपय पहिले पुँजीपति बुद्धिजीवीका रूपमा परिचित थिए, अहिले सर्वहारावर्गका बुद्धिजीवीका रूपमा परिचित छन् । त्यसैले अरुहरू पनि रूपान्तरित नहुने कुरै भएन । वास्तवमा पहिले नै हामीसित रूपान्तरित भएकाहरू धेरै छन् । उनीहरूलाई गोलबन्द गर्न, प्रशिक्षित र रूपान्तरित गर्न हामी पछि पर्नुहुन्न । यसो गरेर नै उनीहरू क्रान्ति, श्रमजीवी वर्ग र समाजवादी रुपान्तरण र क्रान्तिका लागि कामलाग्दा हुन्छन् ।
तपाईँहरू यहाँ उपस्थित सबै सङ्गीतकार हुनुहुन्छ । पश्चिमी सङ्गीत अध्ययन गर्ने कार्यसामु थुप्रै दायित्त्वहरू छन् । चिनियाँ औषधी उपचार कार्य पश्चिमी शैलीका डाक्टरहरूमा निर्भर रहेझैँ चिनियाँ सङ्गीतको गति र विकास तपाईँहरूमा भर पर्दछ, जसले पश्चिमी शैलीको सङ्गीत सिकिरहेको छ । तपाईँहरूले सिक्तै गरेको कुरा फलदायी छ, तर तपाईँहरू चिनियाँ र पश्चिमी सङ्गीत दुवैमा पोख्त हुनुपर्दछ । तपाईँहरूले आफ्नो ध्यान चिनियाँ वस्तुमै केन्द्रित पार्नुपर्दछ । आफ्नो अध्ययन चिनियाँ वस्तुको सिर्जना तथा विकासमा लगाउनुपर्दछ । जुन चिनियाँ विशेषताअनुरूपको रूप र शैलीमा निर्मित होस् । तपाईँले यो आधारभूत नीतिलाई पछ्याउनुभयो भने तपाईँहरूको कामको भविष्य उज्ज्वल छ ।
२४ अगस्ट १९५६