प्रधानमन्त्री प्रचण्डको साथमा एमाले मन्त्रीहरू, pm prachanda with uml ministers
 

नेकपा (एमाले)का मन्त्रीहरूको राजीनामा बुझ्दै गर्दा सम्माननीय प्रधानमन्त्री प्रचण्डले ‘यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले“, यो मार्मिक गीतको भाव गुनगुनाउनु भयो ।

केपी ओलीको योजना जसरी पनि काँग्रेस-माओवादी गठबन्धन तोड्ने घोषित लाइन नै थियो । उहाँको त्यो लाइन वाम-काँग्रेससँग गठबन्धन टुटाएर वामआन्दोलन मजबुत पार्न गठबन्धन गर्नेसँग सम्बन्धित थिएन । त्यो त माओवादीलाई राष्ट्रिय राजनीतिबाट अलग्याउने षडयन्त्रकारी परियोजनामा लक्षित थियो ।

कमरेड केपी ओली ‘छट्टु स्याल साकाहारी बनेको‘ कथाजस्तो भेषमा “प्रचण्डजी, एमालेको ६ लाख पार्टी सदस्य घट्यो, पश्चिम बङ्गालको पथमा नेपालक वामपन्थी आन्दोलन ओरालो लाग्ने भयो, हामी वामपन्थी मिल्नपर्ने भयो, यही तालले त ०८४ मा एमाले ४०-४२ सिटमा सीमित हुन्छ, माओवादी ८-१० सिटमा सीमित हुन्छ, हामीले सोचेकोभन्दा परिस्थिति अर्कैतिर जाने भयो” भन्दै बनावटी चिन्ताका साथ तीन-चार पटक कमरेड प्रचण्डकहाँ धाएको धाई गरेपछि प्रधानमन्त्री प्रचण्डलाई “हो क्यारे” भन्ने लाग्यो ।

श्रीकृष्ण अधिकारी, विवेक, shreekrishna adhikari, bibek
लेखक

यता काँग्रेसबाट मन्त्रीहरू केहीलाई अख्तियारले बयान लिने परिस्थितिमा काँग्रेस मन्त्री फेर्न पनि नमान्ने स्थिति बनिरहेको थियो । सुशासन कायम गर्न प्रधानमन्त्रीले आफ्नो र अर्को नभनीकन धित खोलेर काम गर्न पाइराख्नु भएको थिएन । केपी ओली कमरेडका कुरालाई विश्वास गर्दै वाम गठबन्धन बनाउन सहमत हुनुभयो ।

कतिसम्म भने यता बिहान बालुवाटारमा गएर “यही सरकारलाई निरन्तरता दिने हो, स्वर्ग गए पनि, नर्क गए पनि, हामी सँगै जाने” भनेर हिँडेका केपी ओली कोतपर्वमा जस्तो मध्यरातमा १२ बजे सबै सुतेको मौका छोपी वामगठबन्धन तोड्ने, सरकार ढाल्ने, संविधान संशोधन गर्ने, समानुपातिक-समावेशी अधिकार खोस्ने नाँउमा काँग्रेस-एमाले गठबन्धन बनाउन पुग्नुभयो । षडयन्त्रको भेउ नपाउनु भुल भयो ।

बेचन झाको गिरफ्तारीपछि आएको बेचैन, मध्यरातमा रचिएको नक्कली राष्ट्रिय सहमतिको शब्दजालभित्र केपी ओली प्रधानमन्त्री भएर भ्रष्टहरूलाई चोख्याउने, संविधानबाट समावेशी-समानुपातिक निर्वाचन पद्धति हटाउने, अग्रगामी उपलब्धिहरूलाई कमजोर पार्ने प्रपन्चदेखि बाहेक कमरेड केपी ओलीको मनमा अर्को केही छ भनेर सोच्नु राष्ट्र र जनताका लागि अर्को धोका र भुल हुन्छ ।

हिजो उहाँले दुई-दुई पटक संसद विघटन गरेर संविधान कमजोर पार्न खोज्नुभयो । केपी ओलीले नेतृत्व गर्दा एउटा पनि भ्रष्टहरू समातिएनन्‌ । उहाँकै पालामा यती, ओम्नी, नक्कली भुटानी शरणार्थी लगायत दर्जनौँ भ्रष्टाचारका प्रश्न उठेकै हुन् । राष्ट्रिय सहमति मुलुकको आवश्यकता होला तर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कमरेड केपी ओली जस्ताबाट कल्पना पनि हुन नसक्ने विषय हो ।

(लेखक नेकपा (माओवादी केन्द्र)का नेता तथा राष्ट्रिय सभा सदस्य हुनुहुन्छ ।)