shyam prasad sharma, श्यामप्रसाद शर्मा
 

संसारमा अन्तरविरोध नभएको कुरा केही छैन । हरेक कुरामा अन्तरविरोध हुन्छ । यो प्रकृतिमा पनि हुन्छ, समाजमा पनि हुन्छ । वस्तुगत कुरामा पनि हुन्छ, विचारगत कुरामा पनि हुन्छ । पुरानो अन्तरविरोधको समाधान फर्छ्यौट भएपछि नयाँ अन्तरविरोध देखा पर्न थाल्छ । यसरी अन्तरविरोध कहिल्यै खाली हुँदैन ।

अन्तरविरोध अनेकौँ भए पनि सबै बरोबर महत्त्वका हुँदैनन् । जुनसुकै बेला जहाँ पनि एउटा अन्तरविरोध मुख्य हुन्छ र अरू अन्तरविरोध अमुख्य हुन्छन् । हामीले मुख्य अन्तरविरोध वा मुख्य समस्या चिन्न सक्ने हुनुपर्छ। मुख्य अन्तरविरोध त्यो हो जसले बाँकी अरू अन्तरविरोधको अस्तित्व र विकासलाई प्रभावित पार्छ ।

मुख्य अन्तरविरोधलाई चिनेपछि अन्तरविरोधको मुख्य पक्षलाई चिन्नुपर्छ । हरेक अन्तरविरोधका दुई विपरीत पक्ष हुन्छन् । यी विपरीत पक्षहरू समान नभएर असमान हुन्छन् । अन्तरविरोधमा प्रमुख काम जुनचाहिँ पक्षले गर्छ त्यही नै अन्तर विरोधको मुख्य पक्ष हो ।

अन्तरविरोधका दुवै विपरीत पक्ष एक अर्कासित सङ्घर्ष गर्ने र एक अर्कोमाथि भर पनि पर्ने हुन्छन् । एक अर्कोमाथि भर पर्ने भनेको दुवै पक्षको अस्तित्वको निम्ति अर्को पक्षको अस्तित्व अनिवार्य हुन्छ र दुवै पक्षको सहअस्तित्व एउटै एकाइमा रहन्छ भनेको हो । जस्तै, सामन्ती समाज एउटा एकाइ हो भने यसका दुई विपरीत पक्षहरू जमिन्दार वर्ग र किसानहरू हुन् । पुँजीवादी समाज एउटा एकाइ हो भने दुई विपरीत पक्षहरू पुँजीपति वर्ग र मजदुर वर्ग हुन् ।

खास अवस्थामा अन्तरविरोधको एउटा पक्ष अर्को पक्षमा फेरिने पनि गर्छ । मुख्य पक्ष अमुख्य हुन पुग्छ र अमुख्य पक्ष मुख्य भइदिन्छ । प्रत्येक पक्षको शक्तिमा कति थपघट भएको छ भन्ने कुराबाट यस फेराइको निधो लाग्छ । मुख्य पक्षमा हेरफेर भएपछि वस्तुको स्वभावमा पनि हेरफेर हुन्छ । जस्तै, समाजमा भएका नयाँ र पुराना पक्षमध्ये पहिलो पुरानो पक्ष नै मुख्य हुन्छ । तर, दुई पक्षमा सङ्घर्ष चलिरहेको हुन्छ । त्यस सङ्घर्षले क्रमशः नयाँ पक्षलाई बलियो पार्दै लग्छ र पुरानो पक्षको बल घट्‌दै जान्छ । आखिरमा नयाँ पक्ष नै मुख्य पक्ष हुन पुग्छ, अनि पुरानो व्यवस्थाका ठाउँमा नयाँ व्यवस्था देखापर्छ ।

अर्धऔपनिवेशिक अवस्थामा रहेको मुलुकको निम्ति सामन्ती अर्थव्यवस्था र विशाल जनसमूहका बिचको अन्तरविरोध नै मुख्य अन्तरविरोध हो । जुनसुकै किसिमको साम्रज्यवाद अथवा विस्तारवादजस्ता विदेशी प्रतिक्रियावादी शक्तिहरूले सोझै हमला नगरी राजनैतिक, आर्थिक र सांस्कृतिक जुक्तिहरूबाट आफ्नो स्वार्थ जोगाउन खोजेको बेलामा अर्धउपनिवेशिक शासकहरूले घुँडा टेकिदिन्छन् । यस्तो अवस्थामा स्वदेशी-विदेशी दुवैथरी प्रतिक्रियावादीहरू मिली जनतालाई चुस्न, सास्ती दिनपट्टि लाग्छन् । अनि जनताले प्रायः गृहयुद्धको बाटो समात्छन् । प्रतिक्रियावादी शासक वर्गका अनेकौँ डफ्फाहरूका बिच हुने मारकाट पनि यसै अन्तरविरोधभित्र पर्छ। तर ठाडै किसिमबाट बाहिरी हमला हुँदा भने त्यसको विरोधमा केही देशद्रोहीबाहेक सबै वर्गहरू अस्थायी रूपबाट भए पनि एकगठ हुन्छन् । यस्तो अवस्थामा हमलाको सिकार हुने र हमला गर्ने मुलुकका माझको अन्तरविरोध नै मुख्य बन्न पुग्छ । यसरी, देशबाहिरका प्रतिक्रियावादी शक्तिसित फाटो नभएका बेलामा देशभित्रका प्रतिक्रियावादी शक्तिले जनतामाथि खुलै रूपबाट हमला गर्छन् । तर देश बाहिरका प्रतिक्रियावादी शक्तिसित फाटो बढेका बेलामा चाहिँ जनतासित अस्थायी रूपबाट भए पनि एकता गर्न खोज्छन् ।

वर्गहरूको अन्तरविरोध हुर्केर विशेष अवस्थामा नपुगुन्जेल त्यसले प्रस्ट रूप लिँदैन र क्रान्तिको रूपमा विकसित हुँदैन । पहिलो अवस्थामा पनि सङ्घर्ष त भई नै रहेको हुन्छ, तर त्यस संघर्षबाट मात्रात्मक परिवर्तन मात्र भइरहेको हुन्छ, त्यसैले बाहिरबाट हेर्दा स्थिरताको अवस्थाझैँ देखिन्छ । मात्रा बढ्‌दै गएपछि भने गुणात्मक परिवर्तनको अवस्था आउँछ र प्रत्यक्ष परिवर्तन प्रकट हुन्छ । अन्तरविरोध समाधान फर्स्योटचाहिँ दोस्रो अवस्थामार्फत् नै हुन्छ ।

अन्तरविरोध सबै कुराभित्र हुन्छ, तापनि हरेक कुरामा त्यसको किसिम फरक-फरक हुन्छ । अरूभन्दा फरक भएर रहेको त्यो भित्री कारण नै हरेक कुरालाई गतिशील र विकसित पार्ने मुख्य आधार हो। हुन त बाहिरी कारण मुख्य नभएर सहायक मात्र हुन्छ । जस्तै कुनै मुलुकमा क्रान्ति हुनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै परिस्थिति अनुकूल हुनुपर्छ । तर यी दुईमध्ये राष्ट्रिय परिस्थितिले नै मुख्य भूमिका पूरा गर्छ र अन्तर्राष्ट्रिय परिस्थितिले चाहिँ सहायक भूमिका निर्वाह गर्छ ।

पार्टीहरूका विशेषताहरूलाई बुझ्न तिनको वर्गआधारलाई बुझ्नुपर्छ किनभने यो भित्री कुरा हो। त्यसैले यो मुख्य कुरा हो । सङ्गठनको भित्री अवस्था मुख्य र बाहिरी अवस्था सहायक हो । त्यसैले आफ्नो अवस्था राजनीतिक लाइनको सहीपना र सङ्गठनको ठोसपनामा नै मुख्यरूपले भर पर्ने गर्नुपर्छ । गलत लाइनले गर्दा नै आपतमा पर्नुपर्ने र सही लाइनले गर्दा नै आपतलाई पार लाउन सकिने हुन्छ । हाम्रो निम्ति अप्ठ्यारो परिस्थिति मुख्य पक्ष हुन आएको बेलामा पनि हामी आफ्नो प्रयत्नबाट अप्ठ्यारो परिस्थितिलाई क्रमशः सजिलोमा फेर्न सक्छौँ । तर हामीले भुल गरेमा भने सजिलो स्थिति पनि असजिलोमा फेरिन सक्छ ।

बेग्लाबेग्लै खालका अन्तरविरोधलाई बेग्लाबेग्लै जुक्तिबाट फर्स्यौट गर्नुपर्छ । नब्बे प्रतिशतभन्दा बढी भएर रहेका जनता र सामन्ती व्यवस्थाबिचको अन्तरविरोधलाई नौलौ जनवादी क्रान्तिबाट समाधान गर्नुपर्छ। विदेशी प्रतिक्रियावादी शक्तिको हमलाबाट उत्पन्न हुने अन्तरविरोधलाई राष्ट्रिय क्रान्तिकारी युद्ध चलाएर समाधान गर्नुपर्छ । पार्टीभित्रको अन्तरविरोधलाई आलोचना र स्वआलोचनाको उपायबाट समाधान गर्नुपर्छ । पार्टीभित्र हुने अन्तरविरोध समाजमा हुने गरेका वर्गसङ्घर्ष र नयाँ तथा पुरानो बिचको सङ्घर्षकै छाप हुन् । सक्रिय रूपले विचारधारात्मक सङ्घर्ष चलाई रहनाले मात्र सही लाइन मुख्य पक्ष भएर रहन पाउँछ । नत्र गलत लाइन नै मुख्य पक्ष हुन पुग्छ र सही पार्टी गलत पार्टीमा फेरिने अवस्था आउँछ ।

सामाजिक अन्तरविरोधहरू दुईथरी छन् । १. हामी र शत्रुबिच २. जनताकै बिच । आज हाम्रो काममा धेरै वा थोरै सघाउ पुऱ्याउने र बाधा अड्काउ नदिने जति जम्मै वर्ग, तह र व्यक्तिहरू जनताभित्र पर्छन् । हाम्रो काममा बाधा अड्काउ पारिदिने र त्यसपट्टि लाग्नेजति जम्मै वर्ग, तह र व्यक्तिहरू शत्रुहरूका बिचको अन्तरविरोध शत्रुतापूर्ण हुन्छ । यस अन्तरविरोधको सही ढङ्गले सञ्चालन गर्न हामीले जनताको जनवादी अधिनायकत्व लागु गर्न खोज्नुपर्छ । जनताबिचमा पाइने अन्तरविरोध भने अशत्रुतापूर्ण हुन्छ । यसको सही ढङ्गले सञ्चालन गर्न अधिनायकत्व होइन, जनवादी केन्द्रीयता लागु गर्नुपर्छ । राम्ररी सञ्चालन गर्न जानिएन भने जनताबिचको अन्तरविरोध पनि शत्रुतापूर्ण स्थितिमा समेत पुग्छ सक्छ ।

शत्रुता र अन्तरविरोध एउटै कुरा होइनन् । अन्तरविरोध सधैँ रहन्छ । साम्यवादमा र त्यसपछि पनि रहन्छ । साम्यवादमा शत्रुता भन्ने कुरा रहँदैन । जमिन्दार वर्ग र दलाल पुँजीपति वर्गको अहिलेको समाज व्यवस्थामा सहरले गाउँलाई हुनुसम्म बेसरी चुसिरहेको छ । अहिले सहर र गाउँका बिचको अन्तरविरोध शत्रुतापूर्ण रूपमा छ । क्रान्ति हुँदै गएपछि नौलो जनवादी व्यवस्था जन्मन थाल्छ र सहर र गाउँका बिचको अन्तरविरोध पनि क्रमशः अशत्रुतापूर्ण रूपमा फेरिँदै जान्छ । पार्टीभित्रको सही र गलत विचार बिचको अन्तरविरोध पहिले शत्रुतापूर्ण हुँदैन । गल्ती गर्नेहरूले गल्ती सच्याउँदै गए भने यो अन्तरविरोध शत्रुतापूर्ण रूपमा विकसित हुन पाउँदैन । तर गल्ती गर्नेहरूले आफ्नै अड्डी लिइरहे र गल्ती झन्झन् थप्दै गए भने अन्तरविरोध क्रमशः शत्रुतापूर्ण रूपमा विकसित हुन्छ ।

परिश्रम साथ अनुसन्धान गरी थुप्रै तथ्यहरू बटुलेर अन्तरविरोधसम्बन्धी माथिका सिद्धान्तहरूका आधारमा हाम्रा समस्याहरूबारे राम्ररी अध्ययन र छलफल चलाउँदै जाऔँ । समाधानका उपायहरू पनि अवश्य बेलैमा फेला पर्दै जानेछन् ।

२०३१ साल (१९७४-७५)