Ismail Haniyeh, इस्माइल हानिया, प्यालेस्टाइन, हमास
 

प्यालेस्टाइनको प्रतिरोधी संगठन, धार्मिक आन्दोलन तथा शासक दलका नेताका रूपमा इस्माइल हानिया हमासमा एक सर्वस्वीकार्य नेता मानिन्थे । अब उनको इजरायलद्वारा गरिएको नियोजित हत्यापछि प्यालेस्टाइन र मध्यपूर्वको स्थिति के होला ? एउटा अनिश्चयको घडी पैदा भएको छ । कतिपयले प्यालेस्टिनीहरूको यस्तो स्वीकार्य राजनीतिक एकताको सम्भावना समाप्त भएको सन्देह गरेका छन् । हानियाले गाजामा मात्र होइन, तुर्की, इरान र कतारमा पनि प्यालेस्टिनीहरूको राजनीतिक प्रतिनिधि गर्दै आएको देखिन्थ्यो । तर यतिबेला हमासमा एउटा ठुलो रिक्तता छाएको छ भने उनीसरहको सर्वमान्य उचाइको अर्को प्रभावशाली नेता अहिले देखा पर्नसक्ने नदेखिएको विश्लेषकहरूको प्रारम्भिक निचोड छ । उसै पनि गाजा प्यालेस्टिनीहरूको राजनीतिक र भौगोलिक दुई भागमा विभाजित छः गाजा र पश्चिमी किनारा । त्यहाँ अनेक प्यालेस्टिनी समूहहरू पनि विभाजित अवस्थामा रहेका छन् ।

आपसका मतभेदहरूलाई मिलाएर या थाँती राखेर भए पनि एक भएर साम्राज्यवादका विरुद्ध लड्न र आफ्नो भविष्य सुरक्षित तुल्याउन हालै चीनको राजधानी बेइजिङमा हमास, फताह र प्यालेस्टिनी इस्लामिक जिहादसमेत एकताबद्ध भएर लड्न तयार भएका १४ प्यालेस्टिनी समूहहरूको एकता अब के हुने हो भन्ने गम्भीरतम्‌ प्रश्न हानियाको हत्यापछि खडा भएको छ । इस्माइल हानियाको लोकप्रियता र विश्वसनीयताका कारणले प्यालेस्टाइनका सबै समूह र गुटहरू हिजो एकजुट हुन सकेका थिए । तर अब यो एकता टिकाउन कसरी सम्भव हुन्छ भन्ने कुरा पनि देखा परेको छ किनकि विभाजित प्यालेस्टिनी समूहहरूका बिच व्यापक राजनीति तथा वैचारिक विरोधाभास पनि रहेकै छ र त्यो कुनै पनि बेला हिंस्रक झडपको रूपमा समेत देखापर्नसक्ने खतरा पनि छ ।

Lok Narayan Subedi, लोकनारायण सुवेदी
लेखक

भनिन्छ पीएलओले धेरैजसो प्यालेस्टिनीहरूको प्रतिनिधित्व गर्दछ । त्यसले प्यालेस्टाइन र इजरायल दुई राज्यको मान्यतालाई पनि स्वीकार गर्दछ । अर्कोतिर हमास इजरायलको अस्तित्वलाई पूरै अस्वीकार गर्दै आएको छ । हमास र प्यालेस्टिनी इस्लामिक जेहादले १९८० को दशकमा संगठन निर्माण गरेपछि इजरायलको अस्तित्वको अधिकारलाई हिंस्रक चुनौती दिँदै आएका हुन् । यद्यपि हमास र इस्लामिक जिहाद वैचारिकरूपले भिन्न छन् ।

अहिलेसम्म पनि इस्लामिक जिहादलाई चरमपन्थी संगठन मानिन्छ । हमासलाई भने राजनीतिक वैकल्पिक शक्तिका रूपमा मान्न थालिएको छ । हमासका नेताहरूले खुमेनीको अखिल इस्लामवादको साटो इस्लामी ढाँचामा प्यालेस्टिनी राष्ट्रवादलाई बढावा दिएको देखिन्छ । हमासले इजरायली सैन्य तथा नागरिक दुवै ठेगानामा हमला गरेको छ । २००५ मा इजरायली सेना फिर्ता गएपछि हमासलाई गाजामा कामकाज चलाउने बढी स्वतन्त्रता पनि प्राप्त भएको छ । इरान र हिजबुल्लाको मद्दतले हमास लडाकु सेनाका रूपमा आफूलाई विकसित र गठन पनि गरेको छ । त्यसले हजारौँ रकेटकले इजरायली सहरहरूमाथि हमला गर्ने तथा गाजाको सीमामा घुसपेठ गर्ने क्षमता पनि बनाएको छ । हमासलाई विभिन्न उग्रवादी इस्लामी समूहरूमध्ये सबैभन्दा ठुलो एउटा समूह पनि मानिन्छ ।

भनिन्छ हमास इस्लामिक प्रतिरोध आन्दोलनका लागि अरबी संक्षिप्त नाम हो, त्यसको आरम्भ १९८८ मा पश्चिमी किनारा र गजापट्टीमा गरिएको इजरायली अतिक्रमण र कब्जाका विरुद्ध पहिलो प्यालेस्टिनी इन्तिफादा अर्थात्‌ विद्रोहको सुरुवात गरेपछि भएको थियो । त्यसको घोषणापत्रका अनुसार यो इजरायली कब्जाका विरुद्ध इजरायलको विनाशका लागि प्रतिबद्ध रहेको छ । अर्कोतिर प्यालेस्टिनी पश्चिम किनाराको सत्तामा रहेको प्यालेस्टिनी विकास प्राधिकरणले भने इजरायलको अस्तित्वलाई मान्यता दिन्छ । प्यालेस्टिनी राजनीतिक नेतृत्व पश्चिमी किनारामा महमूद अब्बासको फताह पार्टी र गाजा पट्टीमा नियन्त्रण राखिरहेको त्यसको इस्लामी उग्रवादी भनिने गरेको हमाससँग गहिरो मतभेद र विभाजन रहेकै छ । यसको प्रष्ट अर्थ यही हुन्छ कि दुई राष्ट्र समाधानको विषयमा प्यालेस्टाइन दुई प्रमुख राजनैतिक शक्तिहरूका बिच विमति र विभाजन छ ।

इजरायलमा पनि पेलेस्टाइनका रूपमा अलग्गै राष्ट्रको मान्यताको विषयलाई लिएर समर्थन त छ तर त्यहाँका दक्षिणपन्थी पार्टीहरू अहिले त्यस समर्थनलाई कमजोर तुल्याउन लागी परेका छन् । १९९३ मा सम्पन्न ओस्लो सम्झौतादेखि इजरायल र प्यालेस्टाइनका बिच सहअस्तित्व तथा शान्तिको अपेक्षा जाग्न थालेको थियो । तर त्यसको दुई वर्षपछि इजरायलका प्रधानमन्त्री इत्ज्याक रबिनको तेल अभिभमा एउटा शान्ति मार्चका बेला हत्या भएको थियो । त्यो एकजना चरमपन्थी इजरायली यहुदीले गरेको थियो । उनी प्यालेस्टाइनसँग शान्ति सम्झौताको विरुद्ध थिए । इजरायलको स्थापनामा प्यालेस्टाइनको भन्दा बढी भाग जमिन इजरायललाई दिइएको थियो जबकि जनसंख्या बढी हुँदाहुँदै पनि प्यालेस्टिनीहरूलाई कम जमिन दिइएको थियो । यस्तो षडयन्त्रकारी र असमान जमिन र राष्ट्र विभाजनका कारण उत्पन्न हिंस्रक संघर्षमा जीत हासिल गरेर त्यसपछि इजरायलले झन बढी जमिन प्राप्त गरेर प्यालेस्टिनी क्षेत्र अतिक्रमण र विस्तार गरेको थियो । त्यसले गर्दा पनि त्यसपछि इजरायलको स्थिति मध्यपूर्वमा झन्‌ बलियो बन्नपुग्यो । अनि मिश्र, सिरिया र जोर्डनको जमिन पनि उसले कब्जा जमायो । युद्धमा जितेको जमिन इजरायलको कुनै पनि सरकारले फिर्ता गर्ने हिम्मत गर्न सक्तैन । यो उसका लागि रणनीतिक तथा आर्थिकरूपले पनि अत्यन्तै लाभकारी र प्रभावकारी स्थिति बनेको छ ।

आजभन्दा अगाडि अर्थात्‌ २००६ मा इस्लामवादी समूह हमासले गाजा क्षेत्रमा निर्वाचनमा विजय हासिल गर्‍यो । त्यसको एक वर्षपछि गाजामाथि पूरै नियन्त्रण गर्नपुग्यो । अनि प्यालेस्टिनी प्राधिकरणलाई त्यस क्षेत्रबाट पूरै लखेटिदियो । त्यसले गर्दा पनि प्यालेस्टिनी समस्या अझ उल्झियो र गहिरो बन्न पुग्यो । अनि त्यहाँको लोकतान्त्रिक मानिने शक्तिहरू पनि कमजोर हुन पुगे । अन्तर्राष्ट्रिय स्तरमा अहिले पनि धेरैजसोले हमासलाई व्यापकरूपमा एउटा आतंकवादी समूह नै भन्ने गर्दछन्‌ । उनीहरूको आरोप के छ भने हमास समस्याको समाधान सम्वादभन्दा बढी संघर्ष (इन्तिफादा)लाई दिने गर्दछ । एकथरीको भनाइ छ कि इन्तिफादा अर्थात प्यालेस्टिनी नागरिकहरूको हिंस्रक प्रतिरोधले गर्दा पनि त्यस क्षेत्रमा अत्यन्तै तनाब बढेको छ । त्यहाँ व्यापक विरोध, प्रदर्शन, आत्मघाती बम विस्फोटन अनि इजरायली सुरक्षा शक्ति तथा प्यालेस्टिनी अतिवादीहरूका बिच सशस्त्र टक्करका रूपमा यो देखा पर्दछ ।

संयुक्त राष्ट्र संघले पनि पश्चिमी किनारा र गाजालाई इजरायलद्वारा अतिक्रमित क्षेत्र मान्दछ । ती दुवै क्षेत्रको सञ्चालन प्रतिद्वन्द्वी प्यालेस्टिनी प्रशासनद्वारा गर्ने गरिएको छ । पश्चिम किनारा जसमा पूर्वी जेरुसेलम पनि समावेश छ, र गाजालाई विभिन्न देशहरू र संस्थाहरूले प्यालेस्टाइनका रूपमा मान्यता दिइसकेका छन् जबकि त्यसलाई इजरायलले भने स्वीकार गरेको छैन ।

अनि कतिपय देशहरूले इजरायलको अस्तित्वलाई नै स्वीकार गर्दैनन् र मान्यता दिँदैनन् । उनीहरू पश्चिमी किनारा, जेरुसेलम, गाजा र इजरायललाई प्यालेस्टाइन नै भन्ने गर्दछन् । आज विश्वमा पश्चिमी किनारा र पूर्वी जेरुसेलमको भविष्य तथा इजरायल र प्यालेस्टाइनको संघर्षको अत्यन्तै कठिन र जटील मुद्दामध्येको एक मुद्दा बनाइएको छ ।

१९६७ देखि यता इजरायलले पश्चिमी किनारा तथा पूर्वी जेरुसेलममा झण्डै सात लाख यहुदीहरूका लिग १४० भन्दा बढी बस्तीहरू बसालिसकेको छ । पश्चिमी किनारा र पूर्वी जेरुसेलममा प्यालेस्टिनीहरू १९६७ देखि नै इजरायलको जबर्जस्ती कब्जामा छन् । कुनै पनि भावी शान्ति सम्झौता अन्तरगत ती सबै अनधिकृत बस्तीहरू हटाइनु पर्दछ भन्ने ठुलो विश्व जनमत छ । तर इजरायल पक्ष के जिद्दी गर्दै आएको छ भने उसलाई पश्चिमी किनारा र गाजामा पूर्ण सुरक्षा नियन्त्रण कायम राखिनु पर्दछ ।

वास्तवमा आफ्नो देशको स्वाधीनता, स्वतन्त्रता अतिक्रमणका विरुद्ध गुमेको देश फिर्ताका लागि विगत ७६ वर्षदेखि प्यालेस्टिनी जनता अनवरत लडिरहेका छ्न् र विश्व जनमत पनि उनीहरूकै पक्षमा रहेको छ । तर पश्चिमा साम्राज्यवादी शक्तिहरूको आडधाप र उक्साहटमा प्यालेस्टिनीहरूलाई जसरी पनि सखाप पार्ने ध्याउन्नमा इजरायल लागेको छ र नश्लवादी क्रुर र घोर अमानवीय नरसंहार मच्चाइरहेको छ । यसको अन्त्य हुनै पर्दछ । त्यहाँ स्वाधीन प्यालेस्टाइनको अधिकार स्थापना हुनै पर्दछ र प्यालेस्टिनीहरू आ-आफ्ना अहम्‌ र अहंकारलाई छोडेर आफ्नो देशको अखण्डता, स्वाधीता, सवतन्त्रता, शान्ति र समुन्नतिको निम्ति एकजुट हुनै पर्दछ । यसको कुनै विकल्प नै छैन । उनीहरूको विजय र सम्मान पनि त्यसरी नै मात्र हुन्छ किनभने विश्वभरीका साम्राज्यवादी दख्खल, हस्तक्षेप र सबै प्रकारका थिचोमिचो, दमन र दबाबका विश्वका आम जनता एकजुट छन् र अझ सशक्त र प्रभावकारीरूपमा एकजुट हुनै पर्दछ ।

(लेखक नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष हुनुहुन्छ ।)