विषय प्रवेशः
हाम्रो ग्रह पृथ्वीको सबैभन्दा ठुलो जनसङ्ख्या भएको देश र विश्वकै सबैभन्दा ठुलो राजनीतिक पार्टी सञ्चालनका लागि एउटा उन्नत विचार, व्यवस्थित संगठन र दूरदर्शी नेतृत्वको आवश्यकता पर्दछ। यस्तो विचार सिद्धान्तको निरन्तर रक्षा, प्रयोग र विकास गर्दै त्यसलाई नयाँ उचाइमा पुर्याएर मात्र निर्माण गर्न सकिन्छ। विचारले विभिन्न माध्यमबाट संगठन अर्थात् पार्टी, समाज र देशलाई मार्गदर्शन गर्छ भने नेतृत्वका लागि सिद्धान्तलाई व्यवहारमा लागु गर्न र व्यवहारबाट प्राप्त शिक्षाहरूलाई सिद्धान्तमा समाहित गर्दै विचारको नयाँ उचाइमा विकास गर्न सहजीकरण गर्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङ देश विकास, चिनियाँ जनताको जीवन एवम् जीविकाको स्तरोन्नति, समाजवादी निर्माण र अन्तर्राष्ट्रिय सहयोगमा पूर्णरूपमा समर्पित हुनुहुन्छ भने चीनको ठोस परिस्थितिको आधारमा समाजवादी विचारको रक्षा, प्रयोग र विकासमा निरन्तर लागिपर्नुभएको छ ।
यसै सन्दर्भमा चिनियाँ समाज विकास, समाजवाद निर्माण, नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादको विकासम्बन्धी सिद्धान्त र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिबारे उहाँका महत्त्वपूर्ण विचारहरू, अनुभवहरू र दिशानिर्देशनहरूको दस्तावेजीकरण, शैक्षिक प्रयोजन र प्रचार-प्रसार गर्ने उद्देश्यसहित उहाँका महत्त्वपूर्ण मौखिक तथा लिखित रचनाहरूलाई सङ्कलन र सम्पादन गरी श्रृङ्खलाबद्धरूपमा प्रकाशन गरिँदै आएको छ । यस श्रृङ्खलाको नवीनतम् पुस्तकको रूपमा सी चिनफिङः द गभर्नेन्स अफ चाइना भोल्युम IV (सी चिनफिङ : चीनको शासन व्यवस्था भाग ४ को अंग्रेजी संस्करण) जनसमक्ष आएको छ । पुस्तकमा संग्रहित महासचिव सीद्वारा व्यक्त विचारले जनवादी गणतन्त्र चीनको शासन व्यवस्था र रणनीतिक दृष्टिकोणलाई प्रकाश पारेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पार्टी इतिहास र साहित्य अनुसन्धान प्रतिष्ठान र चीन अन्तर्राष्ट्रिय प्रकाशन समूहको सहयोगमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभाग र जनवादी गणतन्त्र चीनको राज्य परिषद्को सूचना कार्यालयद्वारा संकलित यस चतुर्थ भागमा ३ फेब्रुअरी, २०२० देखि १० मई, २०२२ सम्मको अवधिमा महासचिव सीद्वारा व्यक्त गहन विचारहरू र महत्त्वपूर्ण निर्देशनहरूलाई १०९ वटा रचनाको रूपमा २१ खण्डमा समयक्रमानुसार सुव्यवस्थित रूपले समावेश गरिएको छ । पुस्तकमा २०२० जनवरीपछि खिचिएका ४५ वटा तस्वीरहरू पनि समाविष्ट छन् । पाठकहरूको सहजताका लागि सम्बन्धित लेखहरूको अन्त्यमा नोटहरूसमेत राखिएको छ ।
यस भागमा प्रस्तुत महासचिव सीका विचारहरूले चिनियाँ अधिकारीहरू र आम जनसमुदायलाई नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादसम्बन्धी सी चिनफिङ विचारधारालाई राम्रोसँग बुझ्न र व्यवहारमा लागु गर्न मद्दत गर्दछ भने अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्राध्यक्ष सीको विचारको विकास, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले प्राप्त गरेका उपलब्धिहरू, चीनले अपनाएको विकासको बाटो, चिनियाँ शासन पद्धति र चीन एवम् विश्वको भविष्यका बारेमा चिनियाँ दृष्टिकोण बुझ्न सहयोग पुर्याउँछ ।
नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद
प्रस्तुत पुस्तक चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङ को दूरदर्शी नेतृत्व र नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादलाई अगाडि बढाउने चिनियाँ कम्युनिष्ट पार्टीको अविचलित प्रतिबद्धताको ज्वलन्त नमूना हो । पुस्तकले समकालीन चीनको विशिष्ट परिस्थितिअनुरूप समाजवादी शासन व्यवस्थाको कार्यान्वयनमा अपनाउनुपर्ने विषयहरूको सारलाई समेटेको छ भने राष्ट्रिय पुनर्जागरणका लागि चिनियाँ कम्युनिष्ट पार्टीका रणनीतिहरूमाथि प्रकाश पारेको छ । साथै, यसले महासचिव सीको क्षेत्रीय सहयोग र अन्तर्राष्ट्रवादसम्बन्धी बृहंगम् सोचलाई समेत प्रतिविम्बित गरेको छ ।
नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद भन्नाले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनको ऐतिहासिक, सांस्कृतिक, आर्थिक र सामाजिक विशिष्टतामा समाजवादी सिद्धान्तहरूको कार्यान्वयन र विकासलाई जनाउँछ । यस सन्दर्भमा महासचिव सीले देशको ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा चिनियाँ विशेषतामा आधारित समाजवादी व्यवस्था निर्माण एवम् मार्क्सवादको रक्षा, प्रयोग र विकाससहित समाजवादी विचारको विकासको ऐतिहासिक सन्दर्भ र विकास प्रक्रियामा केन्द्रित रहेर आफ्ना धारणाहरू प्रस्तुत गर्नुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकीको अवसरमा २०२१ जुलाई २१ तारिखमा सम्पूर्ण पार्टी सदस्यहरू र चिनियाँ जनतालाई औपचारिकरूपमा सम्बोधन गर्दै चीनलाई सर्वतोमुखी ढङ्गले मध्यमस्तरको समाजवादी मुलुकमा पुर्याउने प्रथम शताव्दी लक्ष्य हासिल भएको र यसबाट निरपेक्ष गरिबीको समस्यामाथि सम्पूर्ण पार्टी र राष्ट्रको पहलमा विजय हासिल गर्न सफल भएको उद्घोष गर्दै महासचिव सीले दोस्रो शताव्दी लक्ष्यको रूपमा देशलाई सर्वतोमुखी ढङ्गले महान् आधुनिक समाजवादी राष्ट्र निर्माण गर्न अघि बढ्नुपर्ने संकल्प प्रस्तुत गर्नुभएको छ । पुस्तकमा सो मन्तव्यको पूर्णपाठ समेटिएको छ ।
उहाँले चिनियाँ राष्ट्र एक महान् राष्ट्र भएको उल्लेख गर्दै ५ हजार वर्ष पुरानो इतिहास बोकेको चीनले मानव सभ्यताको विकासमा महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै अफिम युद्धदेखि जनवादी क्रान्ति हुँदै आजसम्म चीन र चिनियाँ जनताले गरेका संघर्षहरू र प्राप्त ऐतिहासिक उपलब्धिहरूको समीक्षा गर्नुभएको छ । उहाँले एउटा भीषण संघर्षको माध्यमबाट चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताले आफूलाई पुरानो विश्वलाई ध्वस्त गर्न र नयाँ विश्व निर्माण गर्न सक्षम भएको, समाजवादले मात्रै चीनको रक्षा गर्न सक्ने र समाजवादले मात्रै चीनको विकास गर्नसक्ने कुरा विश्वलाई प्रमाणित गरेर देखाइदिएको बताउँदै चिनियाँ राष्ट्रिय पुनर्जागरण र समाजवाद निर्माणको मार्गचित्र प्रस्तुत गर्नुभएको छ ।
उहाँले मार्क्सवाद नै चिनियाँ कम्युनिष्ट पार्टी र देश निर्माणको आधारभूत विचार भएको उल्लेख गर्दै मार्क्सवादलाई चिनियाँ परिप्रेक्ष्यमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिँदै चिनियाँ कम्युनिष्ट पार्टीको समग्र नेतृत्वको रक्षा र सुदृढीकरणमाथि जोड दिनुभएको छ । उहाँले चीनको विकास र चिनियाँ जनताको जीवनस्तरको सुधारमा पार्टीको केन्द्रीय भूमिकालाई सुदृढ बनाउनु पर्ने उल्लेख गर्दै विश्वको सबैभन्दा ठुलो राजनीतिक पार्टी र सबैभन्दा ठुलो जनसंख्या भएको देशलाई सही ढङ्गले सञ्चालन गर्न बलियो तथा एकताबद्ध नेतृत्वको महत्त्वलाई उजागर गर्नुभएको छ ।
समाजवादी जनवाद
समग्र प्रक्रियामा जनताको जनवादको अभ्यास र समाजवादी परामर्शमा आधारित जनवादको विकासका क्रममा प्राप्त शिक्षाहरूले शासन व्यवस्था सञ्चालनमा आम जनताको सहभागिताको सुनिश्चितताका लागि चिनियाँ कम्युनिष्ट पार्टीको गम्भीर प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। जनवाद (लोकतन्त्र) सम्बन्धी महासचिव सीको दृष्टिकोणले केवल निर्वाचनमूलक प्रक्रियामा मात्र नभएर सहभागितामूलक, परामर्श र सामूहिक निर्णय गर्ने प्रक्रियामा जोड दिन्छ। यो राजनीतिक प्रक्रियामा श्रमजीवी वर्गको सक्रिय सहभागिताद्वारा वास्तविक जनवादको अभ्यास गर्ने र कानुनी प्रणालीलाई बहुसंख्यक जनतालाई दण्डित गर्ने व्यवस्था नभएर जनताको हक, हित र अधिकारहरूको रक्षा गर्ने जीवन्त यथार्थमा रूपान्तरण गर्ने मार्क्सवादी दृष्टिकोण हो ।
‘जनता प्रथम’को समाजवादी नीति
संसारका सबै कम्युनिस्ट पार्टीहरू जनतालाई इतिहासका निर्माता मान्दछन् । यो कुरा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादमा अन्तर्निहित आधारभूत सत्य हो। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवको रूपमा सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको आधार जनता भएको र जनतासँगको घनिष्ठ सम्बन्ध कायम राख्ने कुरालाई पटक-पटक जोड दिनुभएको छ । चिनियाँ जनताको सुन्दर जीवनको आकाङ्क्षाले नै चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारलाई अघि बढ्ने प्रेरणा दिने कुरा स्मरण गराउनु भएको छ । त्यसका लागि उहाँले जनतालाई पहिलो प्राथमिकता दिने ‘पिपुल्स फर्स्ट’ नीति अघि सार्दै त्यसको कार्यान्वयनमा जोड दिनुभएको छ ।
जनतालाई पहिलो प्राथमिकता दिने नीतिले पार्टी, शासन व्यवस्था र विकासमा चिनियाँ जनताको केन्द्रीय भूमिकालाई जोड दिन्छ। महासचिव सीले आर्थिक समृद्धि र आधुनिकीकरणले सबै चिनियाँ नागरिकहरू लाभान्वित हुने कुराको सुनिश्चिततासहित चिनियाँ जनताको सुखी जीवन, हक, हित र अधिकारलाई प्राथमिकता दिने नीतिहरूमाथि जोड दिनुभएको छ, जसले चिनियाँ विशेषतासहितको समाजवाद निर्माणको व्यापक लक्ष्यसँग तादात्मयता कायम गर्दै जनताको जीवनोस्तर सुधार र समतामूलक समाज निर्माण गर्ने सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिबद्धतालाई प्रतिविम्बित गर्छ।
समाजवादी विकास
समाजवादी विकासले देश र देशवासीहरूको समग्र विकासलाई जनाउँछ। चीनमा समाजवादी विकास एक गतिशील प्रक्रिया हो, जसले समाजवादी सिद्धान्तहरूको आधारमा राष्ट्रको विशिष्टताअनुरूप देश र देशवासीको समग्र सामाजिक तथा आर्थिक विकासलाई अगाडि बढाउँछ। महासचिव सी चिनफिङले चिनियाँ विशेषतासहितको समाजवाद निर्माणको लक्ष्य हासिल गर्न नवप्रवर्तन, दिगो विकास र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको दिशामा कार्य गर्न जोड दिनुभएको छ।यो अवधारणामा आर्थिक आधुनिकीकरण र सबै नागरिकहरूको उच्चस्तरको जीवनको प्रवर्द्धन गर्न चिनियाँ कम्युनिष्ट पार्टीको नतृत्वलाई सुदृढ गर्ने कुरा समाविष्ट छ ।
चिनियाँ समाजवादी विकासको लक्ष्यको रूपमा महासचिव सीले आर्थिक प्रभावकारिता र सामाजिक न्याय दुवैलाई प्राथमिकीकरण गर्दै देशको सम्पूर्ण जनसङ्ख्याले नै प्रगतिको प्रतिफल प्राप्त गर्नसक्ने कुराको सुनिश्चिततासहित समृद्ध तथा सामान्जस्यतापूर्ण समाज निर्माण गर्ने कुरामा जोड दिनुभएको छ । उहाँले चीनको आर्थिक रूपान्तरणलाई निरन्तरता दिने स्पष्ट मार्गचित्र प्रदान गर्दै उत्पादन, रोजगारी सिर्जना, गरिबी निवारण, आपूर्तिगत संरचनात्मक सुधार र अर्थव्यवस्था सुधारमा जोड दिनुभएको छ । यसबाट अर्थव्यवस्थाको सन्दर्भमा नयाँ चिनियाँ दृष्टिकोण बुझ्न सकिन्छ ।
महासचिव सी चिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले मार्क्सवादी आर्थिक सिद्धान्तहरूलाई चीनको विशेषतामा आधारित रहँदै एउटा नयाँ आर्थिक नमूना सिर्जना गर्न खोजिरहेको देखिन्छ, जसले आर्थिक वृद्धिलाई मात्र नभई सामाजिक समानता र न्यायलाई पनि सुनिश्चित गरोस् । यो रणनीति विश्वभरका समाजवादी आन्दोलनहरू र कम्युनिष्ट पार्टीहरूका लागि एउटा शिक्षा हुनसक्छ ।
महासचिव सीले प्रकृति र मानवता बिचको अन्तरसम्बन्धलाई जोड दिँदै आर्थिक प्रगतिलाई पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) सँग सन्तुलनमा राख्नुपर्ने आवश्यकतालाई प्राथमिकताका साथ प्रस्तुत गर्नुभएको छ । उहाँले प्रकृतिको सीमालाई सम्मान गर्ने पर्यावरणमैत्री विकासको नमूनाको आवश्यकतामाथि जोड दिँदै वातावरण संरक्षणलाई चीनको आधुनिकीकरणको एउटा मुख्य सिद्धान्तको रूपमा स्वीकार गर्नुभएको छ ।
महासचिव सीले मानवता र प्रकृतिबिचको तादात्मयतालाई जोड दिँदै जलवायु परिवर्तन, प्रदूषण न्यूनीकरण र जैविक विविधताको संरक्षण जस्ता समस्याहरूलाई सम्बोधन गर्ने नीतिहरूको आवश्यकता औँल्याउनुभएको छ । यो दृष्टिकोण चीनको “सुनौलो चीन” निर्माण र भविष्यका पुस्ताहरूका लागि दीर्घकालीन र दिगो समृद्धिको लक्ष्यहरूको अभिन्न हिस्सा हो भने साझा भविष्यसहितको मानव समुदाय निर्माणको दिशामा एक महत्त्वपूर्ण पहलकदमी हो ।
(लेखक राष्ट्रिय भूमि आयोगका निवर्तमान उपाध्यक्ष, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का महासचिव हुनुहुन्छ – सं.।)