१. विषय प्रवेशः
नेपालका सुदूर पश्चिम जिल्लाहरू दार्चुला, बैतडी, डोटी र डडेल्धुराका साथै कर्णाली प्रदेशका जिल्लाहरूमा अक्सर भाद्र महिनाको शुक्ल पक्षको अष्ठमी तिथिको अघिपछि पञ्चमीदेखि नवमीसम्म पाँच दिनसम्म गौरा पर्व धुमधामका साथ मनाइन्छ । तर चन्द्र पात्रोको गणनाअनुसार यो पर्व कुनै बेला कृष्ण पक्षमा पनि पर्दछ । शुक्ल पक्षमा पर्ने गौरालाई ‘उजेली गौरा’ र कृष्ण पक्षमा पर्ने गौरालाई ‘अँधेरी (अन्यारी) गौरा’ भनिन्छ । ग्रामीण परिवेशमा उजेली गौरा पर्वलाई शुभ र बढी लाभदायी ठानिनु स्वभाविक हो ।
गौरा पर्व विशेषगरी खस समुदायका महिलाहरूको महत्त्वपूर्ण चाड हो । कहीकहीँ यसलाई ‘गमरा’ भनिन्छ । सुदूरपश्चिमका जिल्लाहरूमध्येमा डोटीमा यो चाड बढी उल्लासमय वातावरणमा मनाइन्छ । महिलाहरू पर्वका अवसरमा नयाँ परम्परागत पोशाक र आभूषणमा सजिन्छन् । पर्वको समय महिलाहरूले वर्षातको खेतीपातीबाट विश्राम पाउने समय हो । नेपाल सरकारले सम्बन्धित क्षेत्रका बासिन्दाका लागि पर्वका अवसरमा छुट्टी दिने परमपरा बसालेको छ । यो पर्व मनाउनका निम्ति विवाहित चेलीबेटीहरू माइत आउँछन् । तर महिला पुरुष दुवैथरी मिलेर नाचगानका साथ पर्वको खुशीयाली व्यक्त गर्दछन् ।
२. गौरीको पूजा
गौरा पर्वमा देवी गौरीको पूजा आराधना गरिन्छ । पूजाको पहिलो दिन भाद्र महिनाको शुक्ल पञ्चमी हो । त्यस दिन महिलाहरू निराहार बस्दछन् र नुहाइधुवाइ गरी शुद्ध भएर आ–आफ्ना घरमा केराउ, गहुँ, मास, तिल र गुराँस (मस्याङजस्तै दलहन) गरी पाँचथरी अन्नका बीउ सँगै मिलाएर फाग (मङ्गल गान) गाउँदै सिगारिएको तामा वा पितलको भाँडामा भिजाउँछन् । पर्व आउनुभन्दा पहिले नै मानिसहरूले यी अन्नहरू साँचेर राखेका हुन्छन् । यदि केही गरी आफ्नो घरमा नभएमा छिमेकीसँगबाट अरू अन्नसँग साटेर वा किनेर ल्याउँछन् । भिजाएको मिश्रित बिजनलाई ‘बिरुडा’ भनिन्छ । पञ्चमीका दिन बिरुडा भिजाइने हुनाले त्यस दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ ।
भोलिपल्ट षष्ठिका दिन उक्त बिरुडालाई महिलाहरूले जलाशयमा लैजान्छन् र सामूहिकरूपमा पखाल्दछन् । जलाशयमा एक प्रकारको मेला नै लाग्दछ । बिरुडा पखाल्दा पनि फाग गाउने चलन छ । आफ्नो टोल छिमेकका दिदी बहिनीहरूसँग भेटघाट हुने भएकाले त्यस अवसरमा सुखदुःखका कुरा गर्ने र आत्मीयता प्रकट गर्ने गरिन्छ ।
सप्तमीका दिन महिलाहरू सामूहिकरूपमा खेतबारीमा गएर गहुँ, धान, बलु, कुस, साउँ, पाती, मास, तिल र अपामार्ग (दतिवन) का बिरुवा जम्मा गरी सानो मुठा बनाउँछन् र त्यसलाई रातो कपडाले बेर्दछन् । मुठा बनाउने कुरामा कतिपय स्थानमा पाँचवटा अन्नका बिरुवाको बनाइन्छ त कतिपय स्थानमा नौवटा बिरुवाको बनाइन्छ । जहाँ पाँचवटा अन्नका बिरुवा (पञ्च वनस्पति) को मुठा बनाइन्छ, त्यस प्रचलनमा साङ्ख्य दर्शनको पञ्च अवधारणा (पञ्च महाभूत, पञ्च कमेन्द्रिय, पञ्च ज्ञानेन्द्रिय र पञ्च तन्मात्रा) को प्रभाव देखिन्छ । जहाँ नौवटा अन्नका बिरुवाको मुठा बनाइन्छ, त्यसमा मष्टो संस्कृतिको नौ देवीको प्रभाव देखिन्छ ।
जे होस्, अन्नको मुठालाई देवी गौरीको प्रतिमा मानिन्छ । त्यसलाई राम्रो कपडा लगाइदिएर सिँगारी गौराघर अथवा मठ मन्दिरमा लगेर रातो माटाले लिपेको पवित्र स्थानमा राखी पूजा गरिन्छ । महिलाहरूले पूजाका अवसरमा गौरीको प्रतिमामा रातो र पहेँलो धागो मिसाएर बनाएको मोटो दुवोधागो र बिरुडा चढाउँछन् । पछि चढाइएको उक्त धागो घाँटीमा बाँध्दछन् । तागाधारी पुरुषका लागि जनैको जत्तिकोे महत्त्व हुन्छ, त्यत्तिकै महत्त्व त्यस धागोलाई दिइन्छ । घाँटीमा धागो बाँधेपछि महिलाहरू निराहार ब्रतको आरम्भ गर्दै गौरीको पूजाआजामा संलग्न हुन्छन् । पूजाका अवसरमा गौरीको प्रतिमालाई शिरमा राखी नचाउने प्रचलन छ । गौरा पूजाको विशेषता के हो भने यसमा महिलाहरूले कुनै ब्राह्मण पण्डितको प्रयोग गर्दैनन् । यसमा स्थानीय जनजाति प्रचलनको छाप पाइन्छ । रमाइलो कुरा के भने गौरीलाई चढाइएको बिरुडा, फलफूल, सुपारी आदिलाई कपडामा राखी त्यसको चारकुना समातेर आकाशतिर हुरेलिन्छ र ती भुइँमा खस्नु अघि समात्नका लागि मानिसहरू हानालुछी गर्दछन् । समात्न सक्नेको भाग्य चम्कन्छ भन्ने जनविश्वास छ । तर यो अन्धविश्वास हो ।
गौरीलाई चढाएको बिरुडा परिवारका सदस्यले देवीको प्रसादका रूपमा खान्छन् । कहीकहीँ त्यसलाई क्वाँटी बनाएर खाने चलन छ । बैतडी दार्चुलामा ब्रतालु महिलाले आफ्नो श्रीमान् वा जेठो छोरालगायतका पुरुषहरूलाई शीरदेखि पाउसम्म पुज्ने र टीका लगाइदिने गर्दछन् । यो पर्वको मौलिक प्रचलन भने होइन, पितृसत्ताको प्रभावका कारण पछि थपिएको हो । इतिहासकारहरू प्राचीन समयमा खस जातिमा मातृप्रधान पारिवारिक परम्परा भएको बताउँछन् ।
देवी गौरीको पूजा गरेपछि महिला पुरुष दुवै थरी समूहमा मिलेर देउडा गीत गाउँछन् र मनोरन्जन गर्दछन् । नवमीका दिनमा गौरीको प्रतिमालाई डोलीमा राखेर बोकी जलाशयमा लगेर विसर्जन गरिन्छ । विसर्जन गरेपछि फर्कँदा मानिसको शव जलाएर फर्कँदा झैँ फर्केर हेर्न हुन्न भन्ने भनाइ आम मानिसहरूमा छ ।
भारतको उत्तराखण्डअन्तर्गत कुमाउँमा पनि गौरा पूजाको प्रचलन छ । नेपाल र त्यहाँ गरिने पूजामा के भिन्नता छ भने उत्तराखण्डमा गौरीको प्रतिमालाई घरभित्र हुलिन्छ र त्यस अवसरमा उनको प्रतिमासँगै एक जना कन्या केटीलाई समेत हिँडाइ प्रत्येक कोठामा लगिन्छ ।
घरका महिलाहरूले कन्यासँग सोध्दछन्, “गौरी, तिमीले यहाँभित्र के देख्यौ ?”
“मैले यस घरभित्र समृद्धि र धनधान्य वातावरण देखेँ ।” कन्याले जवाफ फर्काउँछिन् ।
घरभित्र गौरीको आगमन भएको देखाउन केही समयअघि मात्र लिपपोत गरेको भुईँमा कन्याका पैतालाका पदछापलाई केही समयसम्म जोगाएर राखिन्छ (चट्टोपाध्याय, २०१३ः१८४) ।
३. गौरा पर्वको वास्तविकता
गौरा पर्वलाई सुदूर पश्चिममा एक धार्मिक उत्सवका रूपमा प्रस्तुत गरिएको छ । गौरीको पूजालाई पार्वतीको पूजाको अर्थमा लिइएको छ । कतिपयले त गौरा पूजालाई शिव र पार्वतीको संयुक्त पूजाका अर्थमा लिएका छन् । पार्वतीको एउटा नाम गौरी पनि हो । हिन्दु पण्डितहरू गौरी भनेको पार्वतीसँग संयुक्त स्वरूप अथवा अर्द्धनारीश्वर हुँदा खेरीको शिवजीको नाम हो पनि भन्दछन् । पूजाका अवसरमा शिवजीको गौरीसँग विवाह मात्र गराइँदैन, दुई विवाहसमेत गराइदिएर एक दिनको पूजालाई जेठी गौरीको पूजा र अर्को दिनको पूजालाई कान्छी गौरीको पूजा भनिन्छ । गौरीको पूजा गरेपछि ईश्वरीय शक्तिको कृपाबाट परिवारमा सुखशान्ति र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास श्रद्धालु भक्तजनहरूमा पाइन्छ । गौरा पूजालाई कुन अर्थमा लिइन्छ भन्ने कुरा कृष्णराज ओझाले अठवाली गीत सम्बन्धी सोधग्रन्थमा उल्लेख गरेको गीतको निम्न अंशबाट जानकारी हुन्छ ।
गठवरीको व्याउ भयो जो सुनी गावै
जो सुनी गावै जगिना फल पावै
आठ अठवाली जो थिया सनै
गाउन्यैको होइजालौ पुत्र कल्याण
सुन्नेको होइजालो गंगा स्नान (बोहरा, २०७४ः १) ।
अर्थः गौरीको विवाह भएको गीत जस्ले सुन्छ र सुनाउँछ, उसले यज्ञ गरेबापतको फल पाउँछ । आठ अठवाली जुन छोरीबेटीले गाउँछे त्यसलाई पुत्र लाभ हुन्छ, जस्ले सुन्दछे त्यसले गङ्गामा स्नान गरे बराबरको फल पाउँछे ।
गौरा पूजा के हो भनी बताउने एउटा मिथक पनि पश्चिमी नेपालमा प्रचलित छ । मिथकअनुसार सहस्त्रार्जुन नामका राजाले आफूले दिएको धन फिर्ता दिएनन् भनी भृगुवंशका एक जना ब्राह्मणको हत्या गर्दछन् । आफ्ना पतिको हत्याको बदला लिन मृत ब्राह्मणकी पत्नीले निराहार बसी गौरीको उपासना गर्दछिन् । उक्त उपासनाको फलस्वरूप उनले यस्तो तेजिलो पुत्र पैदा गर्दछिन् जस्को तेजले सहस्त्रार्जुन अन्धा बन्दछन् । यस घटनाबाट गौरीको महत्त्व के कति रहेछ भन्ने बुझेपछि महिलाहरूले उनको पूजा गर्ने प्रचलनको थालनी गरेका हुन् भनेर भनिन्छ । कतिपय पण्डितहरूले त गौरा पूजा कृष्णाष्टमीका अवसरमा पर्ने भएकाले यसलाई विष्णु नारायणको पूजासँग पनि जोडेका छन् ।
तर गौरा पूजाको वास्तविकता बेग्लै छ । खस समुदायका महिलाहरू जस्ले यो पर्व मनाउँछन्, ती वैदिक पृष्ठभूमिका होइनन् । न त गौरी नै वैदिक मूलकी देवी हुन् । जनजाति मूलका शिव र पार्वतीसँग पनि उनको कुनै साइनो सम्बन्ध छैन । अन्नकी देवी गौरी एकल स्त्री शक्ति हुन् । वैदिक पृष्ठभूमिको नारायणको पूजासँग त उनको त्यसै पनि सम्बन्ध छैन । नारायणमार्गी वैष्णवहरूको कृष्ण जन्माष्टमी र सुदुर पश्चिमको गौरा पर्व एकै समयमा पर्नु काकतालीको सवाल हो । गौरा पर्व वास्तवमा हिमाली उपमहाद्वीपका अवैदिक मूलका खस महिलाहरूको लोक अनुष्ठान (Folk Ritual) हो ।
गौरा पूजाको विधि हेर्दा त्यो वास्तवमा खेतीपातीसँग सम्बन्धित देखिन्छ । विगत लामो समयदेखि हिमाली उपमहाद्वीपका देशहरूका जनताको प्रमुख पेसा खेतीपाती नै हुँदै आएको छ । पिछडिएको अर्थतन्त्र भएका समाजमा जहाँ विगतमा उन्नत नहरको विकास र सिँचाइको प्रबन्धको कल्पना पनि गर्न सकिन्न, त्यहाँ प्राचीन समयमा कृषकहरूका निम्ति आकाशे पानी र सहकालको अपेक्षा हुनु स्वभाविक हो । गौरा पूजा वास्तवमा धानका फाँटमा हरियाली छाएपछि खुशीयाली प्रकट गर्दै यस सालझैँ अर्को साल पनि हामीले बाली लगाउन सकौँ भन्ने कामना गरी अनुनय विनयका लागि अन्नकी देवी गौरीलाई गरिने पूजा हो । जुन समयमा गौरा पर्व मनाइन्छ, त्यतिखेर हिमाली प्रदेशको पहाडी भूखण्डमा प्रमुख वाली धान मकै कोदोको खेती गरिन्छ । विभिन्न अन्नका बिरुवाको मुठालाई गौरीको प्रतिमा मानिएबाट उनी अन्नकी देवी हुन् भन्ने कुरा स्वःत पुष्टि हुन्छ । पूजास्थलको भुईमा प्रतिमालाई सुताएर राखिनुबाट पनि अन्नकी देवी गौरी अन्न उत्पादन हुने भूमिसँग सम्बन्धित हुन् भनी प्रमाणित हुन्छ । कृषि श्रमिकका रूपमा रहेका महिलाहरूले समुहमा अन्नका बोटलाई गौरीको प्रतिमाका रूपमा स्थापित गरी अन्नकै बीजद्वारा पूजा गर्दछन् । पाँचथरी अन्नका बीउ भिजाएर जुन गौरीलाई चढाइन्छ, त्यसले ती बिउको अङ्कुरण गराएर फेरि तिमीले अर्को साल पनि हामीलाई राम्रो बाली उमारी सहकाल ल्याइद्यौ भनी उनीसँग गरिएको अनुरोध हो । बीउलाई भिजाएर चढाउनुको मतलव भविष्यमा खेतबारीमा छरिने बीउलाई समयमा वर्षा गराएर आवश्यक मलजल प्रदान गरी उम्रन र हुर्कन सहयोग गर भनी कामना गरिएको हो । गौरीलाई चढाएको सूती धागो पनि कृषि पैदावरकै उत्पादन हो । यसमा महिलाहरूले १६ वटा गाँठा जुन पार्दछन्, त्यसले अब लगाएको बाली पाकेर खान हामीले १६ हप्ता कुर्नु पर्दछ भन्ने सङ्केत गर्दछ (चट्टोपाध्याय, २०१३ः १८५) ।
गौरा पर्व मनाउने जनसमुदायमाझ उक्त अवसरमा भनिने एउटा कथा छ, जसअनुसार कुनै गाउँमा एक जना अतिनै निर्धन व्यक्ति बसोबास गर्दथे । खान र लगाउन साह्रै मुश्किल भएकाले एक दिन तड्पी तड्पी जिउनुभन्दा त मर्नु निको भन्ने सोची नदीमा हाम फलेर प्राण त्याग्ने मनसायका साथ उनी नदीे किनार पुगे । त्यहाँ एक जना बुढी महिला प्रकट भइन् जस्ले उनको आत्महत्या गर्ने मनसाय बुझेपछि यस्तो महत्त्वपूर्ण जुनी व्यर्थमा खेर नफालौँ, प्रयत्न गरे समृद्धि प्राप्त हुन्छ भन्दै संझाई बुझाई घर फर्कन आग्रहमात्र गरिनन्, उक्त निर्धन व्यक्तिलाई साथमा लिएर उनैको घर आइन् र केही दिन उसकै साथमा बसिन् । उनी बसेको दिनदेखि घरमा समृद्धिको थालनी भयो । बृद्ध महिला फिर्ता जान लाग्दा ती व्यक्ति उनलाई छोड्न भनी नदी किनारमा गए । किनारमा पुगेपछि किनारबाट एक मुठी माटो उठाएर बृद्ध महिलाले भनिन्, “यो लगेर तिम्रा खेतबारीमा छर्यौँ भने तिम्रो समृद्धि कायमै रहन्छ ।”
यस कथाले पनि गौरा पर्व एक विशुद्ध कृषि अनुष्ठान भएको पुष्टि गर्दछ । बृद्ध महिला पुरानो मौसमकी प्रतिक हुन् । नदी किनारको माटो खेतीपातीका लागि उब्जिलो मलको प्रतिक हो । त्यसलाई छरेपछि समृद्धि प्राप्त हुन्छ भनेको खेतीपातीमा राम्रो बाली लिनका लागि मिहेनत गरी राम्रो मलजल गर्नुपर्छ भन्ने सन्देश नै हो (चट्टोपाध्याय, २०१३ः१८४) ।
वर्तमान सन्दर्भमा हाम्रो समाजमा कृषि कार्य पुरुष र महिला दुवैको साझा पेसा बनेको छ । त्यसो हो भने राम्रो अन्नबालीको कामनाका साथ गरिने गौरा पूजामा किन महिलाको मात्र सहभागिता भयो ? किन त्यसमा पुरुषको भूमिका गौण भयो ? यस प्रश्नको उत्तर खोज्नतर्फ हाम्रो बौद्धिक जमातको खासै ध्यान गएको छैन । यस प्रश्नको सही उत्तरको खोजीबाट धेरै जानकारी प्राप्त हुन्छ । महिलाको सहभागिताले के बताउँछ भने हिमाली उपमहाद्वीपमा बसोबास गर्ने मूल रूपका दुई थरी मानव समुह – वैदिक र अवैदिकमा कृषि कार्य वैदिक संस्कृतिसँग सम्बन्धित छैन । पूजाको समाप्तिपछि सामूहिक रूपमा गाइने देउडा गीतमा दलितलगायत सबै जातजातिका महिला, पुरुष र केटाकेटीको उपस्थितिले पनि गौरा पूजा अवैदिक समाजको संस्कृति हो भनी पुष्टि हुन्छ । गीत गाउने प्रचलनमा हिन्दु वर्णाश्रम व्यवस्थाको अस्पृश्यताले ठाउँ पाएको देखिन्न ।
वैदिक आर्यहरू सिन्ध घाँटी उपत्यकामा प्रवेश गर्दाका बखत पशुपालन संस्कृति लिएर आएका थिए । पशुपालन संस्कृतिमा खेतीपाती र श्रमप्रति विरक्ति हुन्छ । एफ. म्याक्समूलरद्वारा संपादन गरिएको ‘पूर्वको दोस्रो कृति’ (The Second book of the East) मा भनिएको छ, “पशुपालक समाजका योद्धाहरू (वैदिक जन) ले जुनबेला उत्तर भारतको उब्जाउ मैदानमा पाउ जमाए, त्यतिखेर तिनीहरूले जमिन जोत्ने काम गरेनन् । यो काम तिनीहरूले स्थानीय बासिन्दाकै जिम्मामा छाडिदिए । अन्य पशुपालक जातिका मानिसहरूमा झैँ तिनीहरूमा पनि कृषिकर्मप्रति घृणाभाव थियो ।” यस भनाइमा सत्यता छ भन्ने कुरा मनुस्मतिमा ब्राह्मण जातिलाई खेतीपाती गर्ने कार्यमा प्रतिबन्ध लगाइएको कुराले पुष्टि गर्दछ (चट्टोपाध्याय, २०१३ः १९२) । त्यसकारण कृषि कर्मसँग जोडिएको गौरा पर्व आर्य संस्कृतिअन्तर्गतको पर्व होइन ।
कृषि महोत्सवसँग सम्बन्धित गौरा पर्वमा महिलाहरूको संलग्नताले अवैदिक खस जातिमा धेरैपछिसम्म पनि मातृअधिकारयुक्त कृषि समाज थियो भन्ने देखाउँछ । अक्सर पिछडिएको खेतीपाती भएका समाजको कृषि कार्यमा धेरै लामो समयसम्म महिलाहरूकै खटनपटन हुन्छ । खोजकर्ताहरू के भन्दछन् भने आदिम समाजमा पुरुषहरू सिकार खेल्न वा अन्य कविलासँगको युद्धमा जाँदा महिलाहरूले फलफूल र कन्दमूल बटुल्ने गर्दथे । जब खेतीपाती आरम्भ भयो, तब कार्य विभाजनअनुसार प्रारम्भिक चरणको खेतीपाती पनि महिलाहरूकै जिम्मामा पर्न आयो । महिलाहरूले त्यतिखेरको परिवेशअनुसार पुरुषलेभन्दा खेतीपातीमा केही निपूर्णता हासिल गरेका पनि थिए । तीखा काठका र कडा ढुङ्गाका कृषि औजारका सहयोगबाट तिनीहरूले वस्तिवरिपरिको जमिन खोस्री बीउ लगाउने, बिरूवा उमार्ने र अन्न तथा सागपात उब्जाउने गर्दथे ।
गौरा पूजामा पुरुषहरू सलग्न नहुने तर त्यसको आखिरी समयमा अभिनयसाथ गाइने देउडा गीतमा तिनीहरू समावेस हुन पर्ने र महिलाको पर्वलाई सुदर पश्चिमको सिङ्गो समाजले नै आफ्नो महŒवपूर्ण पर्व मान्ने परम्पराले खस जातिमा प्रारम्भिक चरणको कृषि कार्यमा पुरुषहरूको संलग्नता हुँदैनथ्यो भन्ने कुरालाई पुष्टि गर्दछ । नेपालका अन्य जनजाति समाजहरू पनि यस्तै खाले मातृप्रधान कृषि समाज भएर गुज्रेको बुझिन्छ । आजभोलि पनि विभिन्न जनजाति समाजमा महिलाहरू नै घरव्यवहार र खेतीपातीका काममा पुरुषहरूभन्दा बढी क्रियाशील देखिन्छन् । गौरा पूजामा केवल महिलाहरूको सहभागिता प्राचीन प्रचलनको निरन्तरता हो । समय बदलिए पनि समाजमा कतिपय पुराना सांस्कृतिक गतिविधिहरू बदलिएका हुँदैनन् ।
नेपालमा प्राचीनकालमा बसोबास गर्ने जातिहरू कोल, किरात र खसहरूमा पुरुषलाईभन्दा महिलालाई महत्त्व दिने र तिनको खटनपटनमा चल्ने प्रचलनहरू थुप्रै थिए भन्ने तथ्यहरू अन्य ऐतिहासिक स्रोतबाट पनि पुष्टि हुन आएको छ । खस साम्राज्यको राजधानी तथा खस भाषाको उद्गमस्थल सिञ्जामा प्राचीन कालमा महिलाहरूले नेतृत्व गरेको कबिला गणको शासन थियो भनी इतिहासकारहरू भन्दछन् । खस भाषामा ‘सिञ्जा’ को अर्थ ‘स्त्री राज्य’ भन्ने हुन्छ । राजा अशोक चल्लले आफ्नो पुस्तावलीमा बाबुको नाम नराखी आमाको नाम सगर्व राख्नुमा मातृप्रधान समाजको प्रभाव देखिन्छ ।
अहिले कृषि कार्यले फड्को मारेको छ । कृषि अर्थतन्त्रमा सामन्तवाद हावी भएपछि अधिकारसम्पन्न भएका महिलाहरू भूदासश्रमिकमा बदलिए र अहिले अर्द्धसामन्ती र नवऔपनिवेशिक अवस्थासम्म आइपुग्दा पनि भूमिमाथिको स्वामित्वबाट बन्चित अवस्थामा छन् । यद्यपि गौरा पर्व पुरानो मातृप्रधान समाजको प्रचलनअनुसार थालनी भएको परम्परा भएकाले यसमा पुरानो इतिहासको अवशेष बाँकी देखिन्छ । यसले खस समाजमा पितृसत्ता हावी हुनुभन्दा पहिले समाजमा महिलाहरूको नेतृत्व र खटनपटन भएको कुरा पनि बताउँछ ।
४. गौरा पर्व र देउडा
गौरा पर्वको पूजाका अवसरमा गाइने गीत देउडा हो । देउडा महिला पुरुष दुवै थरीले पाखुरा जोडेर गोलो बृत्तमा खुट्टाको एकैनासको चालसाथ घुम्दै गाउँछन् । नृत्यका बखत डेढ कदम चालेर नाचको तालमा गाइने भएकाले ‘देउडा’ नामाकरण गरिएको हो । केही बौद्धिक व्यक्तिहरूले संस्कृत भाषाको ‘देउदुराय’ शब्दबाट ‘देउदुरा’ हुँदै देउडा शब्द बनेको भन्ने अर्थ लगाएका छन् । तर खस संस्कृति अवैदिक संस्कृति भएकाले संस्कृत भाषाबाट यसको नामाकरण हुने सवाल आउँदैन ।
देउडा गीत अन्य मेला र पूजाका अवसरमा समेत गाइने भए पनि गौरा पर्वका अवसरमा यो अनिवार्य रूपमा गाइने हुँदा सुदुर पश्चिममा गौरा पर्वलाई ‘देउडा पर्व’ पनि भन्ने गरिन्छ । गौरी पूजाको समयखेखि चाडबाड, जात्रा मेला आदिको सुरुआत हुने भएकाले त्यतिखेर गाइने देउडाको छुट्टै महत्त्व हुन्छ । देउडा गीतको रौनक गौरा पर्वका अवसरमा जति हुन्छ, त्यति अरू समयमा गाउँदा हुँदैन पनि ।
देउडा विभिन्न ताल र स्वरूपमा गाइन्छ र नाचिन्छ । यसका स्वरूपमा ठाडी भाका, हुड्क्यौली, धमारी, झोडा र देउडा खेल पर्दछन् । ठाडी भाका लामो स्वर गरेर गाइन्छ । दुल्लुमा यसको प्रचलन बढी छ । अक्सर भीर पाखामा काम गर्ने र गोठमा बस्नेहरूले प्राय एक्लाएक्लै यो खालको देउडा गीत गाउँछन् । यसमा व्यक्तिले आफ्ना मनका भावनाहरू अभिव्यक्त गर्ने गर्दछन् । हुड्क्यौली हुड्का (डमरु जस्तो तर त्योभन्दा लामो बाजा) को तालसँग गाइने र नाचिने देउडा गीत हो । यसमा पश्चिमी पहाडी क्षेत्रका गाइनेहरूले गाए झैँ प्राय पुराना लडाइँका घटनाहरू समाविष्ट गरिन्छ । यसका लागि गाउने बजाउने र नाच्ने दुई समुह हुन्छ । यो प्राय गरी बैतडी र दार्चुलाका विभिन्न उत्सवमा गाइन्छ । धमारी दुई समुहमा हात खुट्टा बटार्दै गाउने गीत हो । यो प्राय वैतडी, दैलेख, कालिकोट, डोटी र अछाममा गाइन्छ । झोडा धमारी जस्तै हो तर यसमा ताल र भाषा फरक हुन्छ । देउडा खेल युवा युवती (छोरेट्टा र छोरेट्टी) द्वारा दुई समुहमा दुईवटा गोला घेरा बनाई गीतका साथ नाचिने दोहोरी हो । अक्सर युवायुवतीले रात्री कालीन समयमा यसमा भाग लिन्छन् । न्याउलीकोजस्तो सुमधुर स्वरमा दुई लिङ्गीले गाउने भएकाले यसलाई ‘न्याउले खेल’ (नाउल्या) पनि भनिन्छ । देउडाको मौलिक गीत यही हो र यो नै जनमानसमा लोकप्रिय छ । यही गीतका कारण कतिपय जोडीको घरजम भएको पनि छ ।
देउडा गीत नेपाली भाषी जनसमुदायको प्राचीन भाषा संस्कृति बोकेको गीत भएकाले यो ऐतिहासिक महŒवको गीत हो । तर यसमा स्थानीय खस भाषाको प्रयोग हुने हुँदा अन्य भूभागमा बसोबास गर्ने नेपाली भाषीलाई बुझ्नका लागि केही समस्या हुन्छ । नेपाली भाषाको उत्पत्तिसँग गाँसिएको खस भाषाका प्राय प्राचीन शब्द, उखान टूक्कासँग जोडिएको यस गीतको भाषाले विगतको पहिचान दिन्छ । यसले खस संस्कृतिको विविध पाटोलाई उजागर गर्दछ । यसबाट खस जातिको इतिहास, धर्म, चालचलन, रितिरिवाज, सामाजिक मूल्य मान्यता आदि विभिन्न विषयबारे जानकारी पाउन सकिन्छ । एक किसिमले भन्ने हो देउडा गीत खस समाजको ऐना हो जस्मा समाज प्रतिविम्वित हुन्छ ।
आजभोलि नेपालका विभिन्न जिल्लामा बोलिने नेपालीभन्दा देउडा गीतको भाषा फरक भएकाले यसलाई उपहासका रूपमा लिने गरिएको पनि छ । देउडा गाउने खस भाषी समुदायले समेत गाउन सरम मान्ने गरेको पाइन्छ । तर हेयका रूपमा हेर्नु र सरम मान्नु दुवै गलत आचरण हुन् । यदि आफ्नो पहिचान र संस्कृतिको जगेर्ना गर्ने हो भने यस खालको हीनताबोधलाई परित्याग गर्नु पर्दछ । आजभोलि विभिन्न मिडिया र सांस्कृतिक समूहहरूले देउडा गीतलाई बाहिर ल्याएका छन् र यसप्रति आकर्षण बढ्दै पनि छ । यस कार्यलाई प्रोत्साहित गरिनु पर्दछ ।
६. निष्कर्ष
गौरा पर्व खसहरूको पहिचानको संस्कृति हो । तर आज यो पर्व अन्य जातीय सांस्कृतिक पर्वहरूझैँ मौलिक रूपमा छैन । विभिन्न कालखण्डमा देशको सत्ता सन्चालन गर्न पुगेका खस शासकहरूले नै आफूलाई दैवी अधिकार सम्पन्न राजा विष्णु नारायणको स्थानमा राख्नका लागि खस संस्कृतिलाई हिन्दुकरण गरेका कारण खस जातिको पहिचान के हो भन्ने कुरा अन्योलको विषय बनेको छ । जुन जातिले आफूले नपाएको पगरी गुत्दछ, त्यो समस्यामा फस्छ भन्ने कुरा वर्तमान नेपालमा पहिचानको सवालमा बाहुन-क्षेत्रीले प्रकट गरेको असन्तोषले स्पष्ट गर्दछ । सुदूर पश्चिमको खस संस्कृतिमा हिन्दुकरणले त्यसको मौलिकता मेटिदिएको छ । यही कारणले गौरा पर्वको स्वरूप के हो भन्ने कुरा गोलामालको विषय बनेको छ । जातीय पहिचान बोकेको यस पर्व सम्बन्धमा पहिचानवादी जातीय अगुवाहरूले यसको वास्तविकताको खोजी गर्नु पर्दछ र विशुद्ध जातीय स्वरूप प्रदान गर्नु पर्दछ । तिनमा रहेको हिन्दुकरणको पाटोलाई परित्याग गर्नु पर्दछ । समस्या यत्तिकैमा टुङ्गिदैन । संस्कृति परिवर्तनशील हुने हुनाले विगतका कतिपय हानी गर्ने खालका चालचलनहरूको परित्याग गरी तिनलाई जनताको हित गर्ने दिशातर्फ बदल्दै जानु पर्दछ ।
सन्दर्भ स्रोत
१. चट्टोपाध्याय, देवीप्रसाद, २०१३, लोकायत, प्राचीन भौतिकवादका अध्ययन, राजकमल प्रकाशन, नई दिल्ली
२. बोहरा, दीपक, २०७४, गौराः यस्तो छ डोटेली लोक पर्वको महिमा, onlinekhabar.com
यो पनि पढ्नुहोस्ः
१. दशैँको सम्बन्धमा एक ऐतिहासिक तथा भौतिकवादी दृष्टिकोण – क. रामराज रेग्मी
२. देवीपूजा र शाक्त दर्शन – क. रामराज रेग्मी
३. तिहार पर्वको वास्तविकता – क. रामराज रेग्मी
४. देउसी र पारिजात – क. भरत पोखरेल
५. रामायणमा भनिएको युद्धः सत्य युद्ध कि सत्ता संघर्ष – क. सुवाष मल्ल
६. भाइटीका र तिहारको सन्दर्भः संक्षिप्त चर्चा – क. नारायण शर्मा
(लेखक रामराज रेग्मी प्रगतिशील लेखक, वरिष्ठ वामबुद्धिजीवी तथा मार्क्सवादी चिन्तक हुनुहुन्छ -सं.)