बा ! जब हरेक वर्ष भदौ २५ गतेको दिन आउँछ, त्यो दिनले सधैँ झस्काउँछ, पिरोल्छ र भक्कानो फुटाउँछ । बिहानै रात परेजस्तो लाग्छ । त्यो दिन मेरो जीवनको मात्र होइन, संसारकै सबैभन्दा अँध्यारो र कालो दिन जस्तो लाग्छ । तपाईँको बेस्सरी याद आउँछ । याद त अरुपछि पनि आउँछ, तर त्यो दिन बेस्सरी भक्कानो फुटेर आउँछ ।
बा ! मैले त्यो दिन कहिल्यै र कसैगरी पनि भुल्न सकिन । बिर्सन पनि त कसरी सकूँ र ? मेरो जीवनको खुशी भनेकै बा-आमा र उहाँहरूको साथ थियो । बाबा गुमाएसँगै मैले मेरो खुसी र मेरो मार्गदर्शक गुमाएँ । मेरो परिवारले भरोसा गुमायो । मेरी आमाले आफ्नो साथ अनि सिन्दुर गुमाइन् । हाम्रो परिवारको खम्बा ढल्यो । ढल्यो आड भरोसा । छुट्यो बाबाको न्यायो काख । सदाका लागि टुहुरो बनाएर निष्ठुरी सुनकोशीले खोस्यो हामीबाट एउटा चट्टान फोड्नसमेत हिम्मत दिने प्रेरणाको ज्योतिर्पूञ्ज ।
बा शिक्षक हुनुहुन्थ्यो । एक दुईवटा स-साना खोलाहरू तरेर बा’ले पढाउने नौबिसे स्कुलमा म र मेरो दाइ बा’को हात समाउँदै पढ्न जान्थ्यौँ । हाम्रा बा’का तीन सन्तानमध्ये हामीले भाइलाई सानैमा गुमाएर निकै पीडामा थियौँ । पछि दाइले पनि चौध वर्षको कलिलै उमेरमा हाम्रो साथ छोडेर सदाका लागि हामीबाट विदा भएपछि हाम्रो परिवारले आफ्नो खुसी गुमाएको थियो। अब बा-आमाको, अझ भनौँ सिङ्गो परिवारको, एक्लो सन्तानको रूपमा जीवित थिएँ म। दुईवटा सन्तानको वियोगमा रहेका मेरा बा-आमा यत्तिकै विक्षिप्त हुनुहुन्थ्यो ।
समय बित्दै जाँदा समाज परिवर्तनका लागि विद्रोहको आवाज बुलन्द गर्दै जनयुद्धाको बाटोमा हिँडेका हाम्रा बाहरू, दाइ-दिदीहरू, मामा-माइजूहरू, काका-काकीहरू र आफन्तहरू, मैले चिनेजानेका सबै जेल पर्नुभयो । जेल जान बाँकी भएकाहरू भूमिगत हुनुभयो । हाम्रो सिङ्गो बस्ती नै फरक खालको परिवेशमा गुज्रियो ।
राजनीतिक बन्दीको रूपमा लामो समय जेल जीवन बिताएर बा २०५८ सालमा जेलमुक्त हुनुभयो । जेलमुक्त पनि के भन्नू र ? धेरैचोटि एउटा ढोकाबाट निकालेर अर्को ढोकाबाट समात्ने र बेपत्ता बनाउने गर्दा-गर्दा अन्तिममा हामीले धरौटी रकम बुझाएर तारेख समेत नलिई जेलबाट निस्केपछि हतार-हतार एकपछि अर्को गाडी फेर्दै ल्याएको कुरा आमाले बताउनु भएको थियो । अहिले पनि मेरो मस्तिष्कमा त्यो कुरा ताजै छ ।
म घरदेखि टाढा दाइहरूसँग एउटा कार्यक्रममा थिएँ । मैले बा जेलबाट छुट्नुभएको भनेर पत्रिका पढेर थाहा पाएँ । बा जेलबाट छुटेर आउनुभएको खुसीले हो कि आफू घर जान नपाएको दुःखले हो, म यत्ति धेरै रोएछु कि मलाई दाइ-दिदीहरूले घर पुराइदिने वचन दिएपछि मात्र मैले आँशु पुछेँ । रातको दुई बजेतिर हरि बा’ले डोराएर घर पुराउनुभएको अहिले जस्तो लाग्छ । ७-८ वर्षपछि मैले बा’लाई त्यो दिन घरमा देख्दा मध्यरातमै घाम लागेर घर उज्ज्यालो भएको अनुभूति गरेँ । परिवार साथै रहन-बस्न पाउने समय नै थिएन । हामी बा’सँग केही दिनमात्र साथ रह्यौँ । फेरि बा’को अर्को समरको यात्रा तय भयो र बा भूमिगत हुनुभयो । निकै नै चुनौतिको सामाना गर्दै बा’ले बन्दुकका गोलीहरू छल्दै, खुकुरीका धारहरूसँगै खेल्दै, एक थान नाफाको जिन्दगीसहित बाँचेर फर्केका मेरा बा कहिल्यै भेट्ने नसक्ने गरी टाढा पुगे ।
भूमिगत जीवनबाट मृत्युलाई जितेर फर्केका मेरा बा’ले अरनिको राजमार्गमा उही परिवर्तनको झोला बोक्दा-बोक्दै झोलालाई बचाएर आफू भने सदाका लागि हामीबाट बिदा भएको पनि अहिले १५ वर्ष भएछ । ‘बा’ले क्रान्तिलाई आफू मरेर भएपनि बचाउनुपर्छ’ भन्नुहुन्थ्यो । अन्ततः त्यही नै प्रमाणित गर्नुभयो । हामीले बा’ले बोकेको झोलाबाहेक बा’लाई आजसम्म न सास भेट्यौँ, न लाश ।
जीवनका धेरै उकाली-ओरालीका यात्राहरूमा मैले बा’को साथदेखि धेरै टाढा रहेर बिताएको छु । यादहरू केही धुमिल, केही विस्मृतिमा तर धैरे आँखै वरिपरि घुमिरहेछन् । अघिल्लो दिन बेलुका बा’ले फोन गर्दै “सानू ! म काठमाडौँ आउँदैछु, के ल्याइदिऊँ?” भनेर सोध्नुभएको थियो । त्यही नै बाबुछोरीको अन्तिम वार्तालाप बन्यो । म अध्ययनकै सिलसिलामा बिहानै कलेज गएर १० बजेतिर घर फर्केर टिभी खोल्दा-खोल्दै दुर्घटनाको समाचार हाइलाइटका साथ देखाइरहेको रहेछ । यसो हेर्छुः ‘सिन्धुपाल्चोक जिल्लाको सुकुटे नजिकै गाडी दुर्घटना, अधिकांश बेपत्ता, ४ जना सकुशल उद्धार’ भन्छ । एक्कासी बा आउँदै हुनुहुन्थ्यो भनेर सम्झेँ । फोन गर्छु, लाग्दैन । लागे पनि उठ्दैन । सयौँ कल गरेँ । सम्पर्क हुन सकेन बा’सँग । आमालाई फोन गरेँ । आमाको फोन पनि उठेन । म निकै अत्तालिएँ, बेचैन भएँ । राम्रोसँग सास फेर्न पनि सकिरहेको थिइन । बिहान ७ बजे बा घरबाट हिँड्नुभएको भन्ने खबर आयो । बा घरबाट पैदल हिँड्नुभएको रहेछ । कुन गाडी चढ्नुभयो ? कति बजे गाडी चढ्नुभयो ? कुनै अत्तोपत्तो भएन । बिहान ९:३० बजे बस दुर्घटनाको अधिकांश बेपत्ता भन्ने समाचार व्यापक आउन थाल्यो । विस्तारै विस्तारै विवरण आउन थाल्यो । गाउँकै गाडी दुर्घटना भएको रहेछ, जहाँ हाम्रा बा र भाउजू लगायत गाउँका धेरै नै हुनुहुँदो रहेछ ।
समय बर्खायामको थियो । किसान परिवारका हामी । खेतीपातीको कामले सधैँ घरमा आमालाई चटारो नै हुन्थ्यो । बा केही दिनअघि मात्र बिरामी हजुरबाका लागि औषधि लिएर घर जानुभएको थियो । बिरामी हजुरबालाई बचाएर फर्केका मेरा बा’लाई न बँचाउने मौका पाएँ, न त भेट्ने नै । बरु, एकाएक दुर्घटनाको खबर आयो ।
भदौको उर्लँदो भेल, धमिलो पानी । नदीको किनार कहाँ छ भन्ने कुनै नामोनिशान थिएन । भोटेकोशी यसरी उर्लिएको थियो, खसेको बसलाई बगाउने तागत राख्थ्यो । त्यस्तो बेला हामीले बा, भाउजू र आफन्तलाई कसरी पो जीवित भेट्न सक्थ्यौँ र ? पौडीबाजका रूपमा परिचित मेरा बा’ले जति नै ठुलो नदी पनि पार गर्नुहुन्थ्यो । त्यो दिन पनि बा’ले धेरैलाई पौडेर बचाउनु भएछ । अफसोच, आफू भने सदाका लागि विदा हुनुभयो । बा’ले बग्दैगर्दा तलसम्म हात उठाउँदै, गुहार माग्दै हुनुहुन्थ्यो रे । त्यो कुरा सम्झँदा अहिले पनि मन भक्कानिन्छ, पीडा हुन्छ । त्यसलाई व्यक्त गर्ने कुनै शब्द नै भेटिँदैन ।
बा’ले बोक्ने झोला भेटिएको खबर सुनाउँदै मामाले – “भान्जी अब घर आऊ, बा यही गाडीमा पर्नुभएको कन्फर्म भयो, अब रात निकै पर्यो, भोलि बिहानैदेखि फेरि हामी बा’को खोजीमा लाग्छौँ” भन्ने वाक्यले झनै असह्य पीडा भयो । बिहानदेखि इन्तु न चिन्तु भएर केही गर्न सकिएको थिएन । न बोली आउँछ, न उठेर हिँड्ने तागत नै । अति नै कष्ठ र पीडाका साथ रातको १ बजे उही बाटो भएर घर पुग्यौँ । निकै नै अत्यास र कहालीलाग्दो थियो घरको अवस्था । स-साना भाइबहिनीले आफ्नी आमा गुमाएका थिए । घरभरि आफन्तहरू । शोकमा डुबेको छ गाउँबस्ती नै । कस्तो विपत्ति, कति खराब समय । हप्तौँ दिन इन्तु न चिन्तु भई सारा परिवार उठ्नै नसक्ने गरी ढल्यो । संसारमा गुगलमा पनि केही कुरा त्यति खोजी गरिएको छैन होला, जति हामीले बा’लाई खोज्यौँ, खोजिरह्यौँ । अझै पनि खोजिरहेका छौँ ।
हरेक ठाउँमा सतिसालझैँ उभिने मेरा बा, कसरी ढले होलान् ? अन्तिम समयमा के सोच्दै थिए होलान् ? सयौँ पटक तरेको त्यही नदीले अन्तमा कसरी बगायो, कसरी कहिल्यै नभेट्ने बनायो? बग्दै गर्दा बा’लाई कुनै चोट पो लाग्यो कि? कति दुखे होला बा’लाई? कति गाह्रो भए होला? बा’ले बग्दैगर्दा गुहार माग्दा किन कसैले बचाएनन् होला ? आफू मात्र बँच्न चाहेको भए उनी बाँच्न सक्थे तर धेरैलाई बचाएर आफू सदाका लागि बगेर गए ।
हिरासतमा पुलिसको यातनाले शरीरका अङ्गअङ्ग धुलोपिठो हुँदा, खुट्टा कहिल्यै नजोडिने गरी भाँचिदा समेत कहिल्यै कसैसँग नझुकेका मेरा बा । तर, भदौको भेलको अगाडि उनको केही चलेन । हरेक दिन पेनकिलर ब्रुफिन खाएर तन्दुरुस्त देखिने बा’का हातगोडा त्यो दिन किन गले होलान् ? कसरी ढले होलान् सधैँ सतिसालझैँ उभिने मेरा बा ? बेलुकासम्म बा आउनुहुन्छ भन्दै बाटो हेर्दै बसेको म । बा नभेटुन्जेल बा’को बाटो हेर्न छाडेकी छैन । अझै लाग्छः ‘सानू’ भन्दै बा आइपुगी पो हाल्नुहुन्छ कि ? हराउनु भनेको नभेटिनु पनि त हैन ।
बा’सँग कति धेरै कुरा थियो भन्नुपर्ने । कति धेरै कुरा थियो सुन्नुपर्ने । न हामीले भन्न पयौँ, न बा’को कुरा सुन्न पायौँ । एकैचोटि सबै सकियो । हाम्रो परिवारको मियो ढल्यो । पार्टीले एउटा योद्धा र आस्थाको सतिसाल गुमायो । नेपाली किसान आन्दोलनले एक निष्ठावान नेता र वर्गयोद्धा गुमायो । किसान संगठनले आफ्नो केन्द्रीय कोषाध्यक्ष गुमायो । धेरै किसानहरूले आफ्नो भरोसाको एउटा आधार गुमाए, आफ्नो प्यारो नेता क. अन्नपूर्ण गुमाए । धेरैले बा’को ठुलो भरोसा गर्थे । नेतृत्व भएको हिसाबले कसैलाई केही गर्ने वचन पो दिनुभएको थियो कि? केही आश्वासन पो दिनुभएको थियो कि ? आखिर जे-जे भए पनि बा’का सारा कुरा हामीले एक झट्कामा गुमायौँ ।
सुरुका दिनहरूमा हाम्रो पीडामा मलम लगाउन धेरै बा’हरू आउनुहुन्थ्यो, सान्त्वना मिल्थ्यो । सबै हाम्रो साथमा हुनुहुन्छ जस्तो लाग्थो । समयक्रमले धेरैलाई चिन्ने मौका पाइयो । को आफ्नो, को पराई ? बिस्तारै छुट्टिँदै जाँदोरहेछ । समयले हाम्रो परीक्षा लियो, राम्रो पाठ सिकायो, आफन्तहरू चिनायो । परिवारमा एकपछि अर्को बज्रपात बेहोर्दै आएकी मैले बा’ले पनि साथ छोडेपछि कहिलेकाहीँ सोच्थेँ – अब मेरो जीवनमा गुमाउनका लागि यही एउटा शरीरबाहेक केही पनि बाँकी छैन । बाँच्नै पनि गाह्रो लाग्थ्यो । फेरि सम्झन्थेँ – मेरी एक मात्र साहारा आमा र आमाकी एक्ली साहारा म । टुट्न खोजेको मनलाई बलियो बनाउँथे । आफैलाई सम्हाल्थेँ । अनि मैले थाहा पाएँ – जबसम्म हामी आफूले आफैलाई सम्हाल्दैनौँ, कोही हुने छैन हामीलाई सम्हाल्ने । आखिर यो बज्रपात सहनुको हामीसँग कुनै विकल्प पनि त थिएन ।
मलाई सक्षम बनाउन प्रेरणा दिने मुख्य गुरु मेरा बा-आमा नै हुन् । मेरो अध्ययनमा मलाई सधैँ हौसला दिने विश्वनिकेतन स्कुलका नवराज लोहनी सरप्रति म जीवनभर ऋणी रहनेछु । उहाँले मेरो छुटिसकेको पढाइ र टुटेको हिम्मतलाई जोड्न निकै प्रेरणा दिनुभएको थियो ।
अभिभावक गुमाएको पीडा, भूमिगत जीवनबाट खुला राजनीतिक परिवेशमा फर्केपछिका ती संघर्षमय दिनहरू, आमालाई एउटा गुन्यु पनि फेर्न नसक्दाका ती दिन जति कठिन त मलाई कहिल्यै भएन । जब पीडा हदभन्दा धेरै हुन्छ, सहनशक्तिले पनि साथ छोड्दो रहेछ । वर्षौँसम्म मेरा मुस्कानहरू खोसिए । लामो समय बोल्नै नसक्ने गरी थला परेँ । फेरि पनि जिम्मेवारीले थिचिएकी थिएँ । आमाको एक मात्र साहराको रूपमा बाँचेकी मलाई गल्ने, हरेस खाने र थाक्ने छुट छँदै थिएन । म हिम्मत गरेर अगाडि बढेँ, बढिरहेको छु, बढिरहने छु ।
बा ! हजुरले छोरीलाई पढाउने र ठुलो मान्छे बनाउने सपना जो देख्नुभएको थियो, मैले कहिल्यै बिर्सिएकी छैन । मैले आफ्नो अध्ययनलाई अगाडि बढाउन निकै धेरै दुःख र हैरानी व्यहोरेकी छु, तर थाकेकी छैन । छोरीले कालो टोपी लगाएको हेर्ने रहर थियो नि हजुरलाई ? मैले त्यो हासिल गरेँ, तर त्यो खुसी हजुरसँग साट्न पाइनँ । तपाईँको अभावमा ती अधुरा रहरहरू नै मेरा मार्गदर्शन हुनेछन्, बा । तपाईँले भनेजस्तै पढाइ भनेको त सिकाइ रहेछ । यो अनन्त छ, कहिल्यै नसकिने । अझै पनि जारी छ ।
बा ! आजभोलि मैले मुद्दाहरू पढ्न-लेख्न थालेकी छु । अहिले आफै अधिवक्ता भएर मुद्दाहरू लेख्दै गर्दा घरिघरि सोच्छुः साँच्चै ! हाम्रो बा’लाई लागेको आरोप के थियो होला ? किन त्यति धेरै यातना दिएर खुट्टा नै भाँचिदिएको होला ? कुन अदालतबाट फैसला भयो होला ? कहिले फैसला भयो होला ? के आयो होला फैसला ? तारेख, पेशी, बहसको कुरा के-कस्तो भयो होला ? हाम्रा बा’को वकिल को थिए होलान् ?
बा ! मेरो मानसपटलमा अझै ती दिनहरूको झ-झल्को घुमिरहन्छ । तपाईँ एउटा जेलमा हुनुहुन्छ भनेर भेट्न गयो, त्यहाँ पुगेपछि ‘हुनुहुन्न’ भन्थे । हामीलाई धेरै पटक बा’लाई जेलमा भेट्न जाँदा समेत भेट्न दिँदैनथे । हामीले ल्याएको दुध र खानेकुरा मिल्काइदिन्थे । हामी रुँदैरुँदै कति चोटि बा’लाई भेट्न नपाई घर फर्केका थियौँ । मानव अधिकार भन्ने कुरा त्यतिबेला के हुन्थ्यो होला ? किन यति धेरै अन्याय भोग्नु गरेको होला भन्ने त्यो बालमष्तिष्कले सोच्थ्यो तर निकाससहितको उत्तर पाउँदैनथियो ।
बा पटक पटक गिरफ्तार हुनुभयो र धेरैवटा जेलमा बन्दी बनाइयो । झुठो आरोपमा आफन्तहरूकै प्रपञ्चमा जेल परेका हाम्रा बा पटक पटक जेल सारिने, पटक-पटक बेपत्ता पारिने, कहिले भेटिने, फेरि बेपत्ता हुने, फेरि भेटिने – यस्तो खेल पनि निकै लामो समय चलिरह्यो । तर अन्तिममा भेटिएका, जेलमुक्त भएका र हामीसँग आइपुगेका हाम्रा बा बग्दै गरेको नदीसँगै सदासदाका लागि नभेटिने गरी बेपत्ता भए । बा कतै आइहल्नु हुन्छ कि भनी यी आँखा अझै पनि बा’कै खोजी गरिरहेका छन् ।
बा ! यो शव्दमा कति धेरै ओज छ । कति धेरै प्रेम, आत्मीयता र अभिभावकत्व छ । कति धेरै आश्वासन र संरक्षण छ । कति मिठो सम्बन्ध र सम्बोधन छ । त्यो २०६६ सालको भदौ २५ गतेले हामीबाट यो सबै खोसेर लग्यो, जुन दिन भोटेकोशीको मझधारमा कहिल्यै नफर्किने गरी बेपत्ता भए हाम्रा बा । तर पनि अझै घरिघरि लाग्छ कि कुनै दिन फेरि बा’को फोन आउनेछ र बा’ले फेरि त्यसरी नै सोध्नुहुनेछ – ‘सानू ! म काठमाडौँ आउँदैछु, तिमीलाई के ल्याइदिऊँ?’
(लेखक दीपा सापकोटा ‘एकता’ अखिल नेपाल किसान संघ (क्रान्तिकारी) का तत्कालीन केन्द्रीय कोषाध्यक्ष क. लीलाप्रसाद सापकोटा ‘अन्नपूर्ण’की सुपुत्री तथा अधिवक्ता हुनुहुन्छ – सम्पादक।)
र, यी लेखहरू पनि पढ्नुहोस्ः
कस्तो हुन्छ, मुटु टुक्रिएको बेला संवेदनाको त्यो घडी – क. चुनु गुरुङ
हामी पूरा गर्नेछौँ सहिदका सपनाहरू – क. कविता ढुंगाना
क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह – क. चित्रबहादुर श्रेष्ठ
महान् शहीद क.रामवृक्ष यादव : जसलाई षडयन्त्रपूर्वक हत्या गरियो – क. शक्ति लम्साल
जनयुद्धका महान् सहिद क. सुरेश वाग्ले ‘वासु’, जसलाई आत्मसमर्पण गर्न नमान्दा गोली हानेर हत्या गरियो
मेरा बा किसान हुन् – हेम प्रभास