Cat with Indian flag
 

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु नाम चलेका लेखक पनि थिए । उनले धेरै पुस्तक लेखेका छन्, जसमा एउटा भारत एक खोज (द डिस्कभरी अफ इण्डिया) पनि चर्चित पुस्तक मानिन्छ । यसै पुस्तकसँग अनुप्रास मिलाउन मैले यहाँ ‘भारत एक शोध’ शीर्षक राखेको हुँ ।

भारतमा अहिले १८औँ लोकसभाका लागि चरणबद्ध चुनाव चलिरहेको छ । यसपाली पनि नरेन्द्र मोदी प्रधानमन्त्री भएर कार्यकाल पूरा गरे भने उनी भारतका १४ प्रधानमन्त्रीमा लामो कार्यकाल पूरा गर्ने जबाहरलाल नेहरु र इन्दिरा गान्धीपछि मोदी तेस्रो प्रधानमन्त्री हुनेछन् । भारतमा सात चरणमा चुनाव चलिरहेको छ, परिणामका लागि ४ जुन सम्म पर्खनु पर्ने छ । ५४३ लोकसभा सदस्यका लागि हुने चुनावमा भाजपाले ‘अब की बार ४०० पार’ नारा दिएको छ भने विपक्षले ‘अब की बार गंगा पार’ नारा बनाएका छन् । भारतीय चुनावमा मुस्लिमदेखि मंगलसूत्रसम्मका बहस चलेका छन् । अर्थशास्त्रको विद्यार्थीका नाताले मैले भारतका केही सबल र दुर्बल पक्षहरू पस्कने प्रयास गरेको छु ।

भरत पोखरेल, bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

अठारौँ सताब्दीको सुरुमा भारत र चीन विश्वका समृद्ध देश थिए । १९८० मा चीन र भारतको आर्थिक अवस्था समान थियो तर अहिले चीन भारतभन्दा पाँचगुणा बढी धनी मुलुक भएको छ । भारतमा १० करोड भारतीयहरूले विदेशबाट रेमिटेन्स पठाउँछन् । एक्काइसौँ सताब्दीमा भारतमा ४ करोड घर निर्माण भए, यो सबै अस्ट्रेलियनलाई पुग्ने घर हो । ११ करोड शौचालय बनेका छन्, यो प्रत्येक जर्मनलाई पुग्ने संख्या हो । २५ करोडलाई धाराको पानीको सुविधा दिइयो, यो सबै ब्राजिलवासीलाई पुग्ने पानी हो ।

सबल पक्षः

विश्वको पाँचौँ अर्थतन्त्र भारतको आर्थिक वृद्धिदर ६–७ प्रतिशत रहेको छ । भारतका अमेरिकी फर्महरूमा १५ लाख कामदार कार्यरत छन् । भारतमा दसवर्षमा एअरपोर्टको संख्या दोब्बर बढेर १४९ पुगेको छ । एक वर्षमा भारतले १० हजार किलोमिटर सडक बनाइरहेको छ । दस वर्षमा सडक सञ्जाल ६० प्रतिशतले बढेको छ । भारतले १५ गिगावाट सौर्य उर्जा उत्पादन गरिरहेको छ । म्यानुफ्याक्चरमा भारत दोस्रो चीन भएको छ । सेवा निर्यात कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत पुगेको छ । भारतको सेयर बजार विश्वको चौथोमा पर्छ । एभिएसन बजार तेस्रोमा छ । भारतले रुससँग तेल किनेका कारण यो तेल मूल्य निर्धारक मापदण्ड बनेको छ । भारतमा गरिबी ४० प्रतिशतबाट १३ प्रतिशतमा झरेको छ । एक भारतीयको आय प्रतिदिन २.१५ अमेरिकी डलर रहेको छ ।

आजभन्दा चालीस वर्ष पहिला म अयोध्या जाँदा एउटा राम्रो होटल अयोध्यामा थिएन । बिहान सरयु नदीमा नुहाउन श्रद्धालुहरूको लस्कर लागेको देखिन्थ्यो । मासुभात खानु पर्‍यो भने अयोध्याका कुनै पनि होटलमा उपलब्ध थिएन, फैजाबाद पुग्नु पर्थ्यो । अहिले अयोध्यामा ११५ होटल बनिरहेका छन् ।

दुर्बल पक्षः

भारतका एक अर्ब कामगर्ने मानिसहरूमा १० करोडले मात्र औपचारिक रोजगारी पाएका छन् । २०२३ मा भारतको श्रमबजारमा ३३ प्रतिशत महिलाहरू मात्र रोजगारीमा छन्, विश्वमा ५० प्रतिशत महिला रोजगारीमा छन् भने भारतको छिमेकी बंगलादेशमा यो संख्या ३७ प्रतिशत रहेको छ । भारतको उत्तरप्रदेशको जनवरीमा प्राण प्रतिष्ठान भएको राम मन्दिर एउटा देखाउने मुद्दा बनेको छ । उत्तरप्रदेश भारतको सबैभन्दा बढी जनसंख्या भएको प्रदेश हो । यहाँको जनसंख्या २४ करोड रहेको छ । उत्तरप्रदेश विश्वको छुट्टै देश बन्ने हो भने यो विश्वको जनसंख्यामा छैठौँ ठुलो देश बन्छ । उत्तरप्रदेशका मानिसहरूको वार्षिक आय १ हजार अमेरिकी डलरभन्दा पनि कम छ, जुन भारतको प्रतिव्यक्ति वार्षिक आयको आधी जति हुन्छ । यो विश्वको १७४ स्थानमा ताजिकिस्तान र टोगोको समकक्षी बन्छ । भारतमा सन २००० देखि २०२२ सम्म १ प्रतिशत मानिसहरूले आफ्नो आयमा ३३ देखि ४१ प्रतिशतसम्मको वृद्धि गरे, जुन विश्वमा ब्राजिलपछि दोस्रो आय असमान भएको देश भएको छ ।

भारतको भविष्यः

भारतमा अहिले मुख्य तीन समस्या टड्कारो देखिएका छन् । गरिबीले मागमा कमी, रोजगारीमा कमी, भौगोलिकरूपमा आर्थिक असमानता । बेङ्गलोर भारतको प्रविधि केन्द्र हो, मुम्बई वित्तीय केन्द्र, मोदीको लक्ष्य २०४७ मा विकसित भारत जसको प्रतिव्यक्ति आय २४ हजार अमेरिकी डलर पुर्‍याउने अनुमान गरिएको छ । मोदीले यो चुनाव जिते आर्थिक वृद्धि ८.४ पुर्‍याउने भनेका छन्, अहिले ६.५ प्रतिशत रहेको छ । २०२१ पछि भारतको आर्थिक वृद्धि ६.५ रहेको छ, जुन विश्वको आर्थिक वृद्धिको दोब्बर हो तर पूर्वी एसियामा यही अवधिमा १० प्रतिशत आर्थिक वृद्धि भएको थियो । भारतको गार्हस्थ्य उत्पादन ३.७ ट्रिलियन छ तर ६० करोड मानिसले मात्र वर्षको १० हजार अमेरिकी डलरभन्दा बढी कमाउँछन् । एक दसकमा भारतीयहरूको उपभोग २.५ प्रतिशतले मात्र बढेको छ ।

भारतको कृषिमा रोजगारी २०१९ देखि अहिलेसम्म ४१ प्रतिशतबाट ४३ प्रतिशत मात्र पुगेको छ । भारतको दक्षिण बेङ्गलोर दक्षिण युरोप जस्तो छ, उत्तर चाहिँ सहारा अफ्रिका जस्तो । भारतले अनुसन्धानमा कुल गार्हस्थ्य उत्पादनको ०.७ प्रतिशत खर्च गर्छ, चीनले २.४ प्रतिशत, विकसित देशहरूले २.७ प्रतिशत । दक्षिण कोरियाको सामसुङ कम्पनीले एक्लै भारतको भन्दा बढी अनुसन्धानमा खर्च गर्छ । भारतको चुनावमा जसले जिते पनि नेपाललाई शुभ छैन र विशेषगरी मोदीको पार्टी भाजपाले जिते भारतको छिमेकीप्रतिको व्यवहार अझ निरङ्कुश हुने सम्भावना देखिन्छ । आगे के हुन्छ, समय साक्षी रहने छ ।