मार्क्सका विभिन्न धारणाहरूमध्ये सबैभन्दा कम व्याख्या गरिएको धारणाको रुपमा मानवताको धारणालाई लिने गरिन्छ l मानव मनोविज्ञानको विश्लेषण र मानवीय प्रकृतिको व्याख्या गर्न पर्योग गरिने यो धारणालाई मार्क्सले अलगाव (Alienation) भनि व्याख्या गरेका छन्, जसको बारेमा छलफल चलाउने उद्देश्यसहित यो लेख प्रस्तुत गरिएको छ l
मार्क्सको मानवतावादी सोचको सबभन्दा राम्रो वर्णन मार्क्सको प्रारम्भिक कार्य (१८४४) को आर्थिक र दार्शनिक पाण्डुलिपिहरूमा पाइन्छ । कतिपयले तरुण मार्क्स वा युवा मार्क्सको धारणाको रूपमा पनि लिने यी दृष्टिकोणहरू परिपक्क मार्क्सको सोचबाट पृथक रहेका छन् (सेन, २०१५) l जर्ज लुकास, लुइस अल्थुसर र अन्य कतिपयले व्याख्या गरेको यो धारणाले पुँजीवादमा मजदुरहरूको अवस्थालाई उजागर गर्दछ l
मार्क्सको मानवतासम्बन्धी धारणालाई उनले सन् १८४४ मा प्रकाशित पाण्डुलिपिमा यसरी उल्लेख गरेका छन्: जीवित प्राकृतिक जीवको हिसाबले एकातिर मानवसँग सक्रिय प्राकृतिक शक्ति रहेको छ l ऊसँग रहेको यो शक्तिले मानवको प्रवृत्ति र क्षमताको पनि निर्धारण गरेको छ l त्यस्तै अर्कोतिर प्राकृतिक, शारीरिक, संवेदनशील तथा वस्तुगत भएकोले ऊ दुःख, शर्तात्मक र सीमित जीव र वनस्पति जस्तै पनि हो l वस्तुप्रतिको सहज ज्ञान ऊदेखि बाहिर हुन्छ र वस्तु ऊदेखि स्वतन्त्र हुन्छ; तर ती वस्तुहरू उसको शक्तिको प्रकट गर्न र क्षमता निर्धारित गर्नका लागि आवश्यक, अनिवार्य समेत हुन्छन् l
मार्क्सले मानव प्रकृतिलाई व्याख्या गर्दै उल्लेख गर्दछन् कि उसले सामाजिक सम्बन्धलाई जीवन्त राख्नु पनि अनिवार्य छ l हाम्रो न्युरो-फिजियोलोजिकल वा डीएनएको कारणले मात्र हामीलाई स्वार्थी बनाएको होइन, यो त सामाजिक सम्बन्धको निरन्तरता, सामाजिक जीवको रूपमा रहन र समाजलाई अघि बढाउन पनि महत्त्वपूर्ण छ तर यो व्यक्तिगत नभई सामाजिक वा सामूहिक हुनु अनिवार्य छ l
अलगावको धारणा
मानव आफूले आफैलाई वा अर्कोबाट अलग्गिने वा टाढिने प्रक्रिया नै अलगाव हो, जसमा उसले आफ्नो व्यक्तित्व, समाज र कार्यबाट छुट्टिएको वा एकान्तिएको कारणले आफूलाई शक्ति विहीन र मूल्य विहीन ठान्दछ l मार्क्सले अलगावको यो धारणा हेगेलको दर्शनबाट आलोचनात्मक ढंगले ग्रहण गरेका थिए l
हेगेलको दर्शनमा अलगावलाई सिर्जना र नवीन आविष्कारको एक प्रक्रियाको रूपमा उल्लेख गरिएको छ l हेगेलकाअनुसार, सुरुमा हाम्रो चेतनशीलता आफै अलग्गिन्छ, यसले आफ्नो वास्तविक प्रकृति बुझ्दैन l यसको वास्तविक प्रकृति बुझेपछि चेतनशीलताले निरपेक्ष ज्ञानमा विकास गर्दछ l यो धारणालाई मार्क्सले मानव अस्तित्वको अवस्थाको रूपमा व्याख्या गरेका छन् l यसलाई मार्क्सले मानवीय अतिको रूपमा समेत उल्लेख गरेको पाइन्छ l यो धारणालाई मार्क्सले एउटा गल्ति, असंगति मान्दछन् तर यो हरेक व्यक्तिमा हुने उल्लेख गर्दछन्, जसलाई उनले पछि एक्लोपनको वास्तविकता वा एक्लिएको अवस्थाको रुपमा विश्लेषण गरेका छन्, जुन मानवको जीवनकालमा कुनै न कुनै रूपमा हुने मान्दछन् l
मार्क्सको यो दृष्टिकोण मनोवैज्ञानिक हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ र हरेक समूहका मानिसहरूमा पाइन्छ, जसलाई उनले मजदुरको अवस्थाको विश्लेषण गर्न प्रयोग गरेका छन् l उनकाअनुसार, यो एक त्यस्तो प्रक्रिया हो, जुन कामदारले आफूलाई आफ्नो उत्पादन र आफ्नो श्रमबाट बाहिरिएको महसुस गर्दछ (The process whereby the worker is made to feel foreign to the products of his/her own labor.) l
मार्क्सले पुँजीवादी उत्पादन व्यवस्थाले मजदुरलाई यो अवस्थामा पुराउने गर्दछ भन्दछन्, जसमा उसले उत्पादन गरेको वस्तुमा उसको कुनै अधिकार हुँदैन र उत्पादनपछि मजदुरले नै उक्त सामान पैसा तिरेर किन्नु पर्दछ l यसको विपरीत पुँजीपतिले उक्त वस्तुलाई विक्री गरी नाफा कमाउने गर्दछ l
मार्क्सकाअनुसार, पुँजीवादी प्रणालीले मानिसलाई वस्तुकरण गर्दछ, जसमा उसको अन्य मानिससँग कुनै भावनात्मक सम्बन्ध रहँदैन, ऊ प्रकृतिबाट, आफ्नो सृष्टि (उत्पादन) बाट, आफ्नै समाजबाट, र आफैद्वारा पनि अलग्गिएको वा परित्याग गरिएको हुन्छ ।
मार्क्सवादी चिन्तक जर्ज लुकासले पुँजीवादी समाजले सिर्जित गर्ने अलगावको बारेमा विश्लेषण गर्नुपर्ने धारणा राखेका छन् l मार्क्सका पाण्डुलिपिहरू प्रकाशित भएपछि यो अलगावको धारणा निकै छलफलको विषय बन्यो र लुकासका कृतिहरूको पनि निकै महत्त्व बढ्यो र समकालीन मार्क्सवादी साहित्यमा यसलाई एक महत्तवपूर्ण दर्शनको रूपमा ग्रहण गर्न थालियो । मार्क्सले पुँजीवादी समाज अन्तर्गत निम्न चार तहका एक्लोपना वा अलगावको उल्लेख गरेका छन्:
अलगावका प्रकारहरू र कारणहरूः
१. श्रमद्वारा उत्पादित वस्तुको कारणले हुने अलगाव
• कामदारको श्रम ऊदेखि बाहिर हुनु,
• कामदारले आफूले सिर्जना गरेको भन्दा कम तलब पाउनु,
• आफूले सिर्जना गरेको रकम उसको मालिकले लिनु,
• कामदार शोसित हुनु,
• आफूले उत्पादन गरेको वस्तु आफैले प्रयोग गर्न नपाउनु,
२. उत्पादन प्रक्रिया को कारणले हुने अलगाव
• उत्पादन प्रक्रियामा नियन्त्रण नहुनु,
• कामको संगठनमा नियन्त्रण नहुनु,
• उत्पादन प्रक्रियाले मानसिक र शारीरिक असर गर्नु,
• आफ्नो क्षमता, रुचि, योग्यता, र सकारात्मकतामा ह्रास आउनु,
३. आफ्नो कामदार साथीको कारणले हुने अलगाव
• वर्ग संरचनाले पुँजीपतिलाई कामदार, उत्पादक र उपभोक्ताबाट अलग्याउनु,
• मानिसहरुको सम्बन्ध मात्र क्रेता र विक्रेतामा सीमित हुनु,
• समान अधिकार नहुनु,
• प्रत्येकलाई आफ्नो प्रतिस्पर्धी, माथि वा तल देख्नु,
४. मानवको प्रकृतिको कारणले हुने अलगाव
• आफूलाई जाति विशेष ठान्नु,
• जबरजस्त श्रम गर्न बाध्य हुनु,
• श्रममा आफ्नो रुचि वा क्षमता नदेखिनु,
• उत्पादकलाई क्षतावान, तर मूर्ख मान्नु,
• प्रकृतिलाई चेतनशील ढंगले प्रयोग गर्नुको साटो जथाभावी प्रयोग गर्नु, आफ्ना कार्यहरूको असर नहेर्नु ।
पुँजीवादी समाजले मजदुर वर्गमा अलगावको निर्माण गर्दछ र उसलाई सिङ्गो उत्पादन प्रक्रियाबाट विमुख गराउने प्रयत्न गर्दछ l पुँजीवादी समाजमा मजदुरलाई कुन चिज उत्पादन गर्ने, कति उत्पादन गर्ने र कसरी उत्पादन गर्ने भनेर सोधिँदैन । पुँजीपतिको इच्छाअनुसार सम्पूर्ण उत्पादनको प्रक्रिया अघि बढाइन्छ, जसले मजदुरलाई आफ्नो कार्यप्रति सन्तुष्टि प्रदान गर्दैन ।
सामन्तवादी समाजमा कुनै व्यक्तिले एउटा काठको सामान बनायो भने उसलाई एक प्रकारको सन्तुष्टि मिल्दछ किनकि उसले एक उपयोगी वा कलात्मक चिज बनाएको छ र त्यसको प्रयोग कुनै व्यक्तिले गरिरहेको छ । त्यसकारण, उसले आफ्नो उत्पादनसँग एक प्रकारको लगाव महसुस गर्दछ तर पुँजीवादमा यो निकै फरक हुने गर्दछ l
पुँजीवादी प्रणालीका ठुला कारखानाहरूमा काम गर्ने व्यक्तिहरूले आफ्नो निश्चित कार्य मात्र गर्दछन्, जसले गर्दा सम्पूर्ण उत्पादनमा उनीहरूको केही मात्र हिस्सा हुने गर्दछ र उत्पादित वस्तुमा उसले आफ्नोपनको महसुस गर्दैन l यसले उत्पादित वस्तुमा उनीहरुको कुनै लगाव हुँदैन l पुँजीवादी समाजले व्यक्तिहरूलाई पनि निर्जीव वस्तु वा मेशिन सरह मान्दछ । मेसिनहरूमा काम गर्दा मानिसहरीको प्रकृतिसँगको सम्बन्ध टुट्छ र ऊ प्रकृति र वातावरणको मनोरम दृश्यहरूको आनन्द लिन असमर्थ रहन्छ, जसले उसमा विचलन उत्पन्न गराउँछ ।
त्यस्तैगरी पुँजीवादी अर्थव्यवस्थामा प्रतिस्पर्धा यति उच्च हुन्छ कि मजदुरले आफ्ना सहकर्मीहरू, आफ्नो समुदाय र आफैसँगको सम्बन्ध पनि कमजोर भएको महसुस गर्दछ । व्यक्तिलाई नितान्त एक्लो, विचलित र सबैबाट अलग्गिएको बनाउँदै साहित्य, कला र संस्कृतिमा हुने उसको रुचिको पनि अन्त्य गर्दछ ।
मार्क्सकाअनुसार, पुँजीवादी उत्पादन प्रक्रियाले मजदुरलाई आफ्नो शरीर, बाह्य प्रकृति, उसको मानसिक जीवन र समग्र जीवनबाट नै अलग्याउने गर्दछ (It alienates man from his own body, external nature, his mental life and his human life.) l
पछिल्लो अवधिमा अलगावलाई विभिन्न अर्थ र सन्दर्भमा प्रयोग गरिएको पाइन्छ l चुनावमा भोट नहाल्ने – राजनीतिक अलगाव, आफ्ना सर्टिफिकेटहरू च्यात्ने वा जलाउने – शैक्षिक अलगाव, जोगी बनेर हिँड्ने – पारिवारिक वा सामाजिक अलगाव, समूहमा बस्न मन नपराउने – समूहदेखि हुने अलगाव आदि l
अलगावको आधुनिक व्याख्या
मार्क्सले हेगेलको अलगावको धारणालाई आफ्नै तरिकाले व्याख्या गरे, जसलाई मार्क्सपछिका अन्य मार्क्सवादीहरु, दार्शनिकहरु, मनोवेत्ताहरू र सामाजिक विश्लेषकहरूले निकै फरक तरिकाले प्रयोग गरेका छन् l समाजशास्त्री मेल्भिन सिमेन्स (१९५९) ले अलगावका पाँच विभेदहरूको उल्लेख गरेका छन्: शक्तिविहीनता (powerlessness), अर्थाविहीनता (meaninglessness), मूल्य विहीनता (normlessness), सामाजिक एक्लोपन (social isolation), र आत्म-अलगाव (self-estrangement) l
सिमेन्सकाअनुसार, शक्तिहीनतामा मानिसहरूले आफूलाई सामाजिक रूपमा टाढा रहेको विश्वास गर्दछन् र उनीहरू आफ्नो नियन्त्रणभन्दा बाहिर र शक्तिविहीन ठान्दछन् l अर्थहीनतामा मानिसहरूले आफ्नो जीवन र आफूसँग भएका चिजको कुनै अर्थ देख्दैनन् भने सामाजिक अलगावमा उनीहरूले आफूलाई समुदाय र सामाजिक सम्बन्धबाट अलग्गिएको ठान्दछन् l त्यस्तैगरी आत्म-अलगावमा व्यक्तिले आफूलाई सामाजिक रूपले एक्लिएको अनुभव गर्दछ, जसमा उनीहरूले आफ्नै व्यक्तिगत रुचिहरू र चाहनाहरूलाई पनि अस्वीकार गर्न थाल्दछन् l
सन् १९७० को दशकमा एरिक फ्रोम, हर्बर्ट मार्कुज, जुर्गेन् हेबरमास आदिले समकालीन समाजमा मानवको एकाङ्गीपन वा अलगावको चित्रण गरेका छन् । यसका मुख्य व्याख्याकार एरिक फ्रोमकाअनुसार पुँजीवादी व्यवस्थाले मानिसका रचनात्मक गतिविधिमा बाधा उत्पन्न गर्दछ, व्यक्तिलाई सामाजिक सम्बन्ध स्थापना गर्नबाट रोक्छ र समाजदेखि अलग बनाउँछ l यसले व्यक्तिलाई शारीरिक र मानसिक रूपले एक्लो बनाउँछ र समाजमा व्याप्त विचार, मूल्य र सामाजिक सम्बन्धबाट बन्चित गराउदै मानिसहरूको हरेक पक्षलाई नष्ट गराउँछ l
त्यस्तै अर्का विद्वान हर्बर्ट मार्कुजले मानव अलगावको विश्लेषण आफ्नो पुस्तक ‘एक-आयामी मानिस (One – Dimensional Man)’ मा निकै राम्रो ढङ्गले गरेका छन् l उनकाअनुसार, पुँजीवादले पीडित वर्गको असन्तुष्टिलाई आधार बनाएर सञ्चार माध्यम चलाउन सफल भएको छ, जसले मानिसको बहुआयामिक र बहुभाषिक व्यक्तित्व लोप गराई व्यक्तित्वको एक आयाम मात्र बाँकी राखेको छ l यसले उपभोक्तावादी एकल संस्कृति (पश्चिमा संस्कृति) मार्फत उसको सृजनात्मक क्षमता र स्वतन्त्रता नष्ट गराई ‘एक आयामी’ मानिस बनाई दिएको छ ।
उनकाअनुसार, आधुनिक प्रविधिले समाजमा ‘झूठा चेतना’ लाई बढावा दिएर अफवाह फैलाई रहेको छ र कृत्रिम सुखको जालमा फसाउँदै व्यक्तिलाई सामाजिक संसारदेखि विमुख गराई रहेको छ l उनकाअनुसार, “मानिस सुनको पिँजडमा भएको चराजस्तो आफ्नो दुनियाँमा यति डुबेको छ कि उसले स्वतन्त्र आकाशमा उडान गर्ने आनन्दलाई समेत पूर्णत: बिर्सेको छ।”
त्यस्तै अर्का चिन्तक जुर्गेन हेबरमासले वैधानिकताको संकट भन्ने आफ्नो कृतिमा स्वतन्त्रताको समस्यालाई ‘पुँजीवादको वैधानिकताको संकट’ को रूपमा व्यख्या गरेका छन् l उनकाअनुसार, समकालीन पुँजीवादी विश्वमा विज्ञान, प्रविधि र संगठनको अत्यधिक विकासले मानवको मुक्तिको धारणा ओझेलमा परेको छ l उनकाअनुसार, परम्परागत समाजहरूले सृष्टिको पौराणिक, धार्मिक वा दार्शनिक व्याख्यासँग सम्बन्धित संस्थाहरूको वैधतालाई स्वीकार गर्यो, तर पुँजीवादले स्वचालित मेशिनहरू, वैज्ञानिक ज्ञान र प्रामाणिकता स्थापित गरेर वैधानिकताका परम्परागत आधारलाई नष्ट गर्यो र विज्ञान र प्रविधिका नयाँ मोडेलहरूमार्फत मानिसहरूलाई राजनीतिक चेतनाबाट वञ्चित गर्दै सामाजिक लक्ष्यबाट विचलित गरायो l यस्तो अवस्थामा मानव स्वतन्त्रताको पुनरुत्थानका लागि पुँजीवादका विकृतिहरूको भण्डाफोर गर्दै मानवलाई पूर्ण स्वतन्त्र बनाउन जरुरी भएको धारणा अघि सारे जसलाई उनले पूर्ण र सम्पूर्ण स्वतन्त्रता (Emancipation) भनी उल्लेख गरेका छन् ।
यी विभिन्न विद्वानहरूले पुँजीवादी समाज नै व्यक्तिको एकाङ्गीपन र अलगावको मुख्य कारण भएको ठहर गरेका छन् l उनीहरूकाअनुसार, पुँजीवादी समाजको सबैभन्दा ठुलो खुबी भनेको यो हो कि मानिसले आफ्नो स्वतन्त्रता गुमाएको छ तर उसलाई यो गुमेको स्वतन्त्रताबारे केही थाहा छैन । यो हराएको स्वतन्त्रताको खोजी गर्न उसले पहिले आफ्नो विभाजन, एकाङ्गीपन र अलगावबारे सचेत हुनुपर्दछ ताकि उसले केही मूल्यवान चिज गुमाएको छ भनेर महसुस गरी त्यसको खोजी गर्न सुरु गरोस् ।
मार्क्सको शब्दमा, कम्युनिज्मको अर्थ व्यक्तिगत सम्पत्ति र मानव अलगावको उन्मूलन गर्नु हो र मानव प्रकृतिलाई मानवका लागि वास्तविक रुपले खोज्नु र त्यसको प्राप्तिमा सघाउनु हो l त्यसैले यो मानिस आफैको फिर्ता अर्थात् हराएको मान्छेको फिर्ती हो l यो एक सामाजिक व्यक्ति, एक पूर्ण र सचेत मानवको वापसी हो, जुन पूर्ण वयस्क मानवतावादको वापसी पनि हो ।
मार्क्स भन्छन् पुँजीवादले मानिसलाई एक मेसिन बनाएको छ, उसको मानवरूपलाई हराई दिएको छ र प्रकृतिबाट पराजित बनाए दिएको छ l साम्यवादले उक्त हराएको मानिसलाई फेला पार्दछ, मानवतावादलाई पुनः प्राप्त गर्दछ र प्रकृतिसँगको उसको टुक्रिएको सम्बन्धलाई पुन: जोड्न मद्दत गर्दछ ।
उनकाअनुसार, कम्युनिज्मले एक त्यस्तो साधन प्रदान गर्दछ, जसमार्फत कामदारले अलगावबाट मुक्त हुँदै पुँजीवादको विस्थापनमार्फत आफ्नो श्रमको उत्पादनमाथिको स्वामित्व प्राप्त गर्दछ (Communism provides a vehicle for overcoming alienation by allowing the workers to feel a sense of ownership over the product of their labor after the overthrow of capitalism) l
यसर्थ, मार्क्सको अलगावको सिद्धान्तले मानवलाई वास्तविक मानवको रूपमा स्थापित गर्ने कुराको व्याख्या गर्दछ र व्यक्तिगत तथा सामाजिक विचलन वा अलगावको मुख्य कारण पुँजीवादी उत्पादन पद्दतिलाई मान्दछ l वर्तमान समाजका मानिसहरुको एकाङ्गीपनको एक प्रमुख कारण पनि यान्त्रीकरणले सिर्जना गरेको अलगाव नै हो, जसले समाजमा हत्या, अपराध, आत्महत्या, बलात्कारजस्ता जघन्य गतिविधि गर्न प्रोत्साहित गरिरहेको छ र त्यसको निवारणमा खासै ध्यान दिएको छैन l बरु यान्त्रीकरणमार्फत स-साना मस्तिस्कहरूलाई विकृत गराउदै अलगावको भासमा गाडिरहेको छ, जसले भविष्य झन् भयावह गराउने सम्भावना तीव्र देखिँदै छ र यसको चङ्गुलबाट जोगिने उपायहरूको खोजी गर्न जरुरी रहेको छ l यसको समाधान पुँजीवादको अन्त्य र समाजवादको स्थापना नै हो र नेपाली समाजलाई पनि त्यही दिशाबाट अघि बढाउनु वर्तमानको आवश्यकता हो l
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत मानवशास्त्री हुनुहुन्छ ।)