यही महिना जुलाई २३ (साउन ७) पुष्पलालको एउटा स्मृतिसभा कार्यक्रममा नेत्र विक्रम चन्द (विप्लव) को बोली अहिले कम्युनिस्ट वृत्तमा बहसको विषय बनेको छ । विप्लवको यो बोली मार्क्सवाद, लेनिनवाद र माओवादको विरोधमा देखिएको छ । विप्लवले द्वन्द्वात्मक भौतिकवादलाई नै नकारेको भनाइ राखेका छन् । उनले विपरीत तत्त्वहरूको एकता र निषेधको निषेध नियमको विरोध गरेका छन् । आखिर विप्लवमा यो विचलन कसरी आयो यसको समीक्षा भविष्यमा हुनेछ ।
अहिले विप्लवले त्यो दिन बोलेका द्वन्द्वात्मक भौतिकवादबारे मार्क्सदेखि माओसम्म एक छोटो चर्चा गर्नु आवश्यक देखियो । द्वन्द्ववाद र भौतिकवाद प्राचीन दर्शन हुन् । आधुनिक युगमा द्वन्द्ववादलाई विकसित गर्न हेगेल र भौतिकवादलाई विकास गर्न फायरबाखको ठुलो योगदान रहेको छ । मार्क्स र एङ्गेल्सले हेगेलको द्वन्द्ववादबाट आदर्शवादी आवरण हटाए, जुन फरक मात्र होइन, विपरीत पनि छ । फायरबाखको भौतिकवादको आदर्शवादी, धार्मिक र नैतिक आवरणलाई पन्छाएर वैज्ञानिक भौतिकवाद विकसित गरे, जसलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । लेनिनको फिलोसफिकल नोट्समा द्वन्द्वात्मक भौतिकवादबारे विस्तृत चर्चा गरिएको छ । स्तालिनले द्वन्द्वात्मक भौतिकवाद प्राकृतिक घटनाहरूलाई जांँच्ने, परीक्षण गर्ने, पहिचान गर्ने धारणा भनेका छन् ।
सन् १९६४ अगस्त १८ मा माओले दार्शनिकहरूको एउटा भेला गरेर द्वन्द्वात्मक भौतिकवादबारे छलफल गरेका थिए, यद्यपि माओले द्वन्द्ववादका नियमबारे १९३७ मा नै धेरै लेखिसकेका थिए । त्यो भेलाले लि दा (१८९०-१९६६) र आय सिगि (१९१०-१९६६) जो चिनियाँ चिनिएका दार्शनिक थिए, उनीहरूलाई मार्क्सवादी दर्शनबारे लेख्न आग्रह गरिएको थियो । विपरीत तत्त्वहरूको एकताको नियम, निषेधको निषेध नियम, मात्राबाट गुणभेदको नियम आदिबारे पनि त्यो भेलामा छलफल भएको थियो ।
विप्लवले अंगालेको एकीकृत क्रान्तिको दर्शन मार्क्सले १८४६ मा नै प्रतिपादन गरेका थिए । एकीकृत क्रान्तिको दर्शन भनेको वस्तुहरूलाई सम्पूर्णतामा एकीकृत गर्ने प्रक्रिया हो । एकीकृत चेतना (understanding) र कारण (reason) ले दर्शनको नियम बनेको हो । एकीकृत प्रक्रिया विप्लवको जस्तो अनुमानको रोमान्स होइन । विप्लवको मालेमाप्रतिको यो नकारात्मक बुझाइ उनको समझदारीमा भ्रामक चेतनाको उपज हो । विप्लवमा मालेमा दर्शनको खोटो बुझाइ देखिन्छ किनभने उनले मार्क्सवादको आधारभूत ज्ञानमा नै चुकेको बोली बोलेका छन् । विप्लव नेपालको कम्युनिस्ट आन्दोलनमा यस्ता अवसरवादी व्यक्ति बन्दैछन्, जो संसदीय भासमा छोपल्याङ गर्न हतारिएका देखिन्छन् । तीस वर्षभन्दा बढी माओवादी पार्टीमा काम गरेका विप्लव निपुण (expert) त कहिले भएनन्, लाल (red) पहिचान पनि खुइल्याउन थाले । विप्लव सी लाई विप्लव छी किन बन्नु पर्यो ?
(पुष्पलाल स्मृति दिवसमा नेकपाका महासचिव क. विप्लवद्वारा प्रस्तुत विचारमाथि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भरत पोखरेलले आफ्नो सामाजिक संजालमार्फत प्रस्तुत गरेको टिप्पणीलाई छलफलका लागि साभार गरी प्रस्तुत गरिएको छ – सं.।)