सन् १९४९ अक्टोबर १ मा माओत्सेतुङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई जनगणतन्त्र घोषणा गर्यो, जुन बोल्सेविक क्रान्तिपछिको दोश्रो सफल समाजवादी आन्दोलन थियो । यसले कृषिमा आधारित र उद्योगको विकास नभएको समाजमा कसरी समाजवादी आन्दोलन सफल हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्यो । नौलो जनवादी क्रान्तिको रुपमा लिइने यो क्रान्तिले तेश्रो विश्वका लागि राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको स्थापना गर्ने नवीन मार्गको उद्घोष गर्यो । उक्त अक्टोबर क्रान्तिदेखि हालसम्म चिनियाँ समाजवादले गरेको सैद्धान्तिक, आर्थिक र सामाजिक प्रगतिलाई यो लेखमा चर्चा गरिएको छ ।
चीनमा समाजवादको विकासक्रमः
चीनमा विकसित समाजवादको ऐतिहासिक विकासक्रमलाई विश्लेषण गर्दा माओदेखि सी चिनफिङ (सी जिनपिङ) सम्मका सैद्धान्तिक, आर्थिक तथा सामाजिक विकासका प्रक्रियाहरुलाई उल्लेख गर्नु पर्दछ । मार्क्सवाद–लेनिनवादलाई चिनियाँ वास्तविकतामा ढाली पुँजीवादपूर्वको कृषिमा आधारित समाजलाई समाजवादसम्म लैजाने कार्यको नेतृत्व माओले गर्नुभएको थियो । चीनको आर्थिक समृद्धिको आधार यहीँबाट सुरु हुन्छ, जसलाई माओपछिका विभिन्न नेताहरुले अघि बढाउनु भएको थियो ।
चिनियाँ समाजवादलाई अघि बढाउने दोश्रो पुस्ताका नेतामा देङ सियाओपिङ पर्दछन्, जसले चिनियाँ चरित्रको समाजवाद निर्माणको शुभारम्भ गरेका थिए । उनी विलक्षण प्रतिभायुक्त नेता थिए, जसले चीनको आर्थिक विकासको नवीन खाका निर्माण गरी चीनलाई आधुनिक आर्थिक रुपले सम्पन्न राष्ट्रमा विकसित गराउने उद्देश्यसहित कृषि, उद्योग, सुरक्षा, विज्ञान र प्रविधिका चार क्षेत्र पहिचान गरी अघि बढाए । ‘देङ सिद्धान्त’को रुपमा लिइने यो सिद्धान्तले कम्युनिज्मको आधारभूत स्पिरिट, चीनको राजनीतिक प्रणाली, कम्युनिस्ट पार्टीको नेतृत्व र मार्क्सवाद–लेनिनवाद र माओ विचारधारा जस्ता चार कुराहरुलाई जोड दिएको थियो ।
चिनियाँ समाजवादलाई अघि बढाउन नेतृत्व गर्ने अर्का नेता हुन् च्याङ चमिन (जियाङ जमिन) जसले देङ सियाओपिङको धारणालाई परिस्कृत गरी २१औं शताब्दीको चिनियाँ ढाँचाको समाजवाद निर्माणमा महत्वपूर्ण योगदान पुराए । च्याङ चमिनले तीन प्रतिनिधित्व (Three Represents) को धारणालाई अघि बढाए, जसले चीनको सामाजिक–आर्थिक विकासमा नेतृत्व प्रदान गर्यो । सन् २००२ मा चिनियाँ कम्युनिस्ट पार्टीले अनुमोदन गरी लागु गरेको यो धारणाले कम्युनिस्ट पार्टीको भूमिकालाई सशक्त बनाउनुका साथै निम्न कुराहरुमा जोड दिएको छः
१. आर्थिक उत्पादन गर्न उत्पादक शक्तिहरुलाई परिस्कृत गराउने ।
२. सांस्कृतिक विकासका लागि चिनियाँ संस्कृतिलाई प्रगतिशील ढाँचामा परिस्कृत गराउने ।
३. राजनीतिक सहमतिका लागि बहुसंख्यक जनताको रुचिलाई आधार बनाउने ।
यो धारणालाई मार्क्सवाद–लेनिनवाद, माओत्सेसुङ विचारधारा र देङ सियाओपिङ विचारको निरन्तरता मानिन्छ, जसको आधारमा चीनको विकास अघि बढिरहेको छ र यसैलाई वर्तमान राष्ट्रपति सी चिनफिङले थप परिस्कृत गरी लागु गरेका छन् ।
यिनै स्पष्ट दृष्टिकोण र निश्चित राष्ट्रिय आवश्यकताको कारणले सन् १९७८ मा देङ सियाओपिङ नेतृत्वमा आएपछिका चार दशक यता चीनले आफूलाई विश्व आर्थिक शक्ति (Power House) को रूपमा विकसित गरेको छ । साथै यसले विश्वव्यापी अर्थतन्त्र र भूराजनीतिमा समेत महत्त्वपूर्ण परिवर्तन ल्याएको छ । चीनमा आर्थिक सुधार गर्ने कामको सुरुवात कृषि क्षेत्रबाट गरियो । राज्यको नियन्त्रण केही खुकुलो बनाइयो र दोहोरो ट्य्राक मूल्य संयन्त्रको माध्यमबाट किसानहरूलाई बजार सहुलियत प्रदान गरियो । घरायसी जिम्मेवारी प्रणालीले उनीहरूलाई आफूले काम गर्ने खेतमाथिको नियन्त्रण थप बढायो । किसानहरूले आफ्नो प्रभावकारिता र उत्पादकत्व बढाएर यस सुधारप्रति सकारात्मक प्रतिक्रिया दिए । त्यसपछि अन्य क्षेत्रमा पनि थप सुधारका कार्य विस्तार हुँदै गयो । सहर तथा गाउँ उद्यम (Township and Village Enterprises – TVEs) भनिने एक फरक खालको कार्यक्रम जसलाई चीनले सन १९८४ देखि लागु गरेको थियो, यसैका माध्यमबाट गैरकृषि क्षेत्रमा सहुलियत प्रदान गरियो । यसले चीनको आर्थिक वृद्धिमा कोशेढुगांको काम गर्नुका साथै ठुलो संख्याामा रोजगारी सिर्जना गर्यो ।
सन् १९७८ मा २८ मिलियन रोजगारी भएकोमा सन् १९९२ सम्म आइपुग्दा १३५ मिलियन पुग्यो । सहरतिर सुधार फैलिएसँगै राज्यका उद्योगहरूले थप एकाधिकार प्राप्त गरे र यसले उनीहरूलाई ठुला उद्यमी बन्न थप प्रेरित बनायो । लगानी गर्न र आर्थिक वृद्धि बढाउन प्रान्त तथा स्थानीय निकायहरूका लागि विभिन्न सहुलियतहरुको व्यवस्था गरिएको थियो । सन् १९९० को दशकताका विशेष आर्थिक क्षेत्र (Especial Economic Zone – EPZ) को वृद्धिले चीनलाई विश्व अर्थतन्त्रमा समायोजन हुन निर्णायक भूमिका निर्वाह गयो (रोड्रिक, २०७५) । यसर्थ, चीनको हालको आर्थिक वृद्धिमा विभिन्न सिद्धान्तहरुको गुणात्मक असर रहेको छ, जसमा माओदेखिका विभिन्न नेताहरुको महत्त्वपूर्ण योगदान रहेको मान्न सकिन्छ ।
सी चिनफिङ विचारधारा र चिनियाँ कम्युनिस्ट पार्टीः
चीनलाई शक्तिशाली बनाउने नेताहरूमा माओत्सेतुङ, देङ सियाओपिङ हुँदै वर्तमान राष्ट्रपति सी चिनफिङको नाम आउँछ । देङ सियाओपिङको नेतृत्वमा भएको आर्थिक क्रान्तिको ४२ वर्षपछि चीन एक पटक फेरि एउटा दह्रो नेतृत्व पाएर अघि बढिरहेको छ । सी जिनपिङ देशको अर्थतन्त्रलाई अझ प्रभावशाली बनाउन उत्पादनको क्षेत्रमा चीनलाई ‘महाशक्ति’ बनाउन चाहन्छन् । सी चिनफिङले देङ सिआओपिङ र अन्य नेताहरुले विकसित गरेका आर्थिक नीतिहरूलाई थप परिष्कृत गराई अगाडि बढाइरहेका छन्, जसमा आर्थिक सुधार लगायतका कदम समेटिएका छन् ।
चिनियाँ सफलताको कथा दोस्रो विश्व युद्धपछिको एउटा देशको विकासको कथामा मात्रै सीमित छैन । बरू त्यो एउटा नियन्त्रित अर्थतन्त्रबाट मुक्त, उदार र समाजवादको परिष्करणसँगै आएको परिवर्तनको कथासँग पनि सम्बन्धित छ । विश्वका कैयौँ देशले पनि चीनले अवलम्बन गरेको परिवर्तनलाई अपनाए । तर लोभलाग्दो सफलता भने चीनले मात्रै हासिल गर्यो । चीनले घरेलु अर्थतन्त्रमा क्रमिक सुधारको प्रक्रिया थाल्यो र बजारलाई आफ्नो अर्थतन्त्रको केही भाग सुम्पिदियो । सुधार ल्याउने क्रममा उसले कहाँ विदेशी लगानी गर्ने र कहाँ नगर्ने कुराको निर्क्योल गर्यो, जसका लागि उसले विशेष आर्थिक क्षेत्रहरूको निर्माण गर्यो र त्यसका लागि उसले दक्षिणी तटीय प्रान्तहरूलाई रोज्यो । देङ सियाओपिङले कम्युनिस्ट समाजवादी राजनीतिक माहोलमा ठोस परिवर्तनको जग बसाले, जसले विश्वमा समाजवादी अर्थतन्त्रको साख जोगाउन सघाउ पुयायो । उनले चीनमा अगाडि सारेका केही धारणाहरुलाई यहाँ उल्लेख गरिएको छ ।
भ्रष्टाचार विरोधी मुद्दासहित शक्तिमा आएका सीले आफ्नो कार्यकालको सुरुमै कानुनको शासनको नारालाई तीव्र पार्दै लाखौँको संख्यामा भ्रष्ट्राचारमा संलग्न ‘ठुला बाघ’ र ‘साना झिंगा’हरुलाई बर्खास्त गरे । सीले नयाँ शताब्दीको चिनियाँ विशेषतासहितको समाजवादको कार्यक्रमलाई अक्टोबर २०१७ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ राष्ट्रिय काँग्रेसमा प्रस्तुत गरे, जसलाई चिनियाँ कम्युनिस्ट पार्टीले एक मतले पारित गर्यो, जसलाई माओ, देङ सियाओपिङपछिको चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक धारणाको रुपमा स्विकार गरियो । पार्टी महासचिवको महत्त्वपूर्ण टिप्पणी (Important Remark) को रुपमा लिइएको सीको यो विचारले राजनीतिक, आर्थिक र सामाजिक निर्माण, पार्टी र सैनिक संरचनाका साथै पर्यावरणीय सभ्यतामा नयाँ धारणा, नयाँ विचार र नयाँ रणनीति अगाडि सारेको मानिन्छ । सिन्ह्वाले सीको यो धारणामा एक केन्द्रीय विचार र दुई आधारभूत बुँदा रहेको उल्लेख गरेको छ । पहिलोले सीको चिनियाँ परिकल्पना (Chinese Dream) जसले चीनलाई सुपर पावरमा लैजाने सपना राख्दछ भने दोश्रोले पुर्ननिर्माण (Comprehensively Deepening Reform) र जनतालाई समग्र सेवा उपलब्ध गराउने (Upholding the mass line/serving the people) कुरालाई जोड दिने गर्दछ । यी दुईमध्ये विश्व राजनीतिमा अत्यधिक उथलपुथल मच्चाएको धारणाको रुपमा चिनियाँ सपना वा कल्पना (Chinese Dream) लाई लिइन्छ ।
सीले अगाडि सारेको यो धारणाले दुईवटा शताब्दी लक्ष्य (चीन गणतन्त्र बनेको १०० वर्ष अर्थात १९४८-२०४९) राखेको थियोः सन् २०२१ सम्म चीनलाई सामान्य रुपले सम्पन्न समाजमा विकासित गर्ने र सन् २०४९ सम्ममा पूर्ण विकसित र अत्याधुनिक राष्ट्रमा विकसित गराउने । रोबर्ट लरेन्सका अनुसार, चिनियाँ समाजको वा चीनको कायापलट गर्ने यो धारणामा निम्न चार अवधारणागत तत्त्वहरु छन्ः
१. आर्थिक, राजनीतिक, कुटनीतिक, वैज्ञानिक र सैनिक रुपले बलियो चीनको निर्माण (Strong China – economically, politically, diplomatically, scientifically, militarily)
२. समता र निष्पक्षता, सम्पन्न संस्कृति, उच्च नैतिकतायुक्त सभ्य चीन (Civilized China – equity and fairness, rich culture, high morals)
३. सामाजिक वर्गहरुको बिचमा समानतायुक्त सौहार्दपूर्ण चीन (Harmonious China – amity among social classes)
४. स्वास्थ्य वातावरण र कम प्रदूषणयुक्त सुन्दर चीन (Beautiful China – healthy environment, low pollution) ।
चिनियाँ सपनाको रुपमा लिइएको यो धाराणाले आधुनिक समृद्ध चिनियाँ समाजको परिकल्पना गरेको छ, जसले गाउँ र सहरको जीवनस्तरमा समानताको उल्लेख गर्दछ । आर्थिक रुपले सन् २०२० सम्ममा १०,००० प्रति व्यक्ति आम्दानी पुराउने र सन् २०३० सम्म ७० प्रतिशत जनसंख्यालाई सहरी सुविधा उपलब्ध गराउने वा सहरी जीवन उपलब्ध गराउने लक्ष्य राखेको छ । विकासको चिनियाँ मोडेल मानिएको यो सी विचारधाराले मार्क्सवाद–लेनिनवादलाई फराकिलो बनाउँदै रुसको असफलतावाट सिक्दै जाने लक्ष्य लिएको छ । यसले आर्थिक रुपले समाजवाद, राजनीतिक रुपले सुशासन र सामाजिक रुपले सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्य बोकेको छ, जुन अहिले विश्वमा फैलिएको चीनको प्रभावले पनि पुष्टि गर्दछ ।
सी चिनफिङ विचारधाराका आधारभूत सिद्धान्तहरुः
चीनका वर्तमान राष्ट्रपति सी चिनफिङले अघि सारेका विचारधाराका निम्न १४ आधारभूत सिद्धान्तहरु र अवधारणाहरु रहेका छन्ः
१. कम्युनिस्ट पार्टीको नेतृत्वलाई सबै कार्यको नेतृत्व गर्ने जिम्मेवारी,
२. कम्युनिस्ट पार्टीले सार्वजनिक रुचिका विषयमा जनकेन्द्रित अवधारणा अघि सानुपर्ने,
३. बृहत्तर पुर्ननिर्माणको अभियानको निरन्तरता,
४. विकासमा नवीन विज्ञानकेन्द्रित अवधारणाको अबलम्बन,
५. जनता नै राज्यका सर्वेसर्वा हुन् भन्ने मान्यतासहितको चिनियाँ विशेषताको समाजवादको अबलम्बन,
६. कानुनको शासनको आधारमा चीनको शासन प्रणाली,
७. चिनियाँ विशेषतामा आधारित मार्क्सवाद, कम्युनिज्म र समाजवादको अभ्यासमा समाजवादका केन्द्रीय मूल्यहरुको पालना वा अभ्यासको अनिवार्यता,
८. विकासको मुख्य उद्देश्य जनताको जीवनयापन पद्धतिमा सुधार र कल्याण,
९. प्रकृति अनुरुपको जीवन पद्धति भन्ने मान्यतासहित शक्तिको सञ्चिती र वातावरणको संरक्षण गर्दै विश्वको पर्यावरणीय संरक्षणमा योगदान दिने,
१०. चीनको राष्ट्रिय सुरक्षाको अभिबृद्धि र सबलीकरण,
११. चिानियाँ आर्मी वा जनमुक्ति सेना (PLA) माथि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व,
१२. हङकङ र मकाउका लागि एक राष्ट्र दुई व्यवस्थाको सुदृढीकरण, एक चीन नीतिको पालना र ताइवानका लागि सन् १९९२ को सहमतिको पालना,
१३. चिनियाँ जनता र विश्वका अन्य जनताको बिचमा साझा सहमतिमा आधारित शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरणको विकास गर्ने,
१४. चिनियाँ कम्युनिस्टको अनुशासनमा सुधार,
सी चिनफिङद्वारा अगाडि सारिएको यो विचार हालको चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक धारणा पनि हो, जसलाई चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ काँग्रेसले स्वीकार गरी लागु गरेको छ । यो विचारको फलस्वरुप चीनले द्रुततर आर्थिक विकास हासिल गरिरहेको र विश्वको दोश्रो ठुलो आर्थिक शक्तिको रुपमा अघि बढिरहेको छ ।
आर्थिक समृद्धिको आधार सी चिनफिङ विचारधाराः
चिनियाँ लेखक युकोन ख्वाङ आफ्नो पुस्तक ‘क्य्राकिङ द चाइना कनन्ड्रमः ह्वाइ कन्भेन्सनल इकोनोमिक विज्डम इज रङ’ मा लेखेका छन् – देङ सियाओपिङ एक महान सुधारक मात्रै थिएनन्, धैर्य नभएका व्यक्ति पनि थिए । देङ सियाओपिङले सुरू गरेको सामाजिक आर्थिक सुधारको दृष्टान्त मानव इतिहासमा अन्यत्र भेटिँदैन । देङ सियाओपिङको त्यही आर्थिक सुधारको निरन्तरताको रुपमा हालको चीनको विकासलाई लिन सकिन्छ, जसको नेतृत्व वर्तमान राष्ट्रपति सी चिनफिङले गरिरहेका छन् । देङहुँदै सीसम्म आइपुग्दा चीनको आर्थिक जीवनमा निकै ठुलो परिवर्तन आएको छ, जसका केही उदाहरण निम्न सूचकहरु मार्फत प्रस्तुत गरिएको छः
♦ सन् १९७८ देखि २०१६ को बिचमा चीनको जीडीपीमा ३,२३० प्रतिशतले बृद्धि भएको छ ।
♦ यस बिचमा ७० करोड मानिसहरू गरिबीको रेखाबाट माथि उठे भने ३८.५ करोड मानिसहरू मध्यम वर्गका रूपमा उकासिए ।
♦ चीनको वैदेशिक व्यापार साढे १७ हजार प्रतिशतले बढ्यो भने सन् २०१५ सम्म चीन विदेशी व्यापारमा अगुवाको रूपमा उदायो ।
♦ सन् १९७८ मा चीनले वर्षभरि गर्ने व्यापार अहिले दुई दिनमै गर्छ ।
♦ देङ सियाओपिङले चिनियाँ कम्युनिस्ट पार्टीलाई सामूहिक नेतृत्वमा लगेर चीनमा सामाजिक-आर्थिक परिवर्तनको प्रक्रियामा तीव्रता दिए । (BBC, 2018)
क. माओले सन् १९४७ मा क्रान्ति सम्पन्न गरेको ३१ वर्षपछि देङ सियाओपिङले चीनमा आर्थिक क्रान्ति सुरू गरेका थिए, जुन सन् २०२० मा आइपुग्दा ४२ वर्ष पूरा भएको छ । चीनको दोस्रो क्रान्तिको रुपमा समेत लिइने देङको आर्थिक सुधारको कार्यक्रमपछि चीन विश्व अर्थतन्त्रमा दह्रो रूपमा प्रवेश गर्यो । आजको मितिमा चीन विश्वको त्यस्तो देश भएको छ, जोसँग सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिति अर्थात ३.१२ खर्ब डलर छ । कुल गार्हस्थ्य उत्पादन (११ खर्ब डलर) को मामिलामा चीन विश्वको दोस्रो ठुलो देश हो । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने चीन विश्वको तेस्रो ठूलो देश हो ।
देङ सियाओपिङले सन् १९७८ मा आर्थिक सुधारका कदम चाल्दा विश्व अर्थतन्त्रमा चीनको हिस्सा जम्मा १.८ प्रतिशत थियो जुन सन् २०१७ मा आएर त्यो हिस्सा १८.२ प्रतिशत पुगेको छ । चीन अब केवल एउटा उदीयमान अर्थतन्त्र मात्रै रहेन, बरू १५औँ र १६औँ शताब्दीताका विश्व अर्थतन्त्रमा करिब ३० प्रतिशत आफ्नो हिस्सा भएको विश्वको सर्वशक्तिमान राष्ट्रतर्फ उन्मुख भइरहेको छ ।
अर्थतन्त्रलाई बजार उन्मुख गराउँदै विश्व बजारमा एकल नेतृत्व स्थापित गराउनु र आन्तरिक र बाह्य स्वतन्त्रता बढाउनु नै चीनको आर्थिक विकास पछाडिका प्रमुख कारणहरु हुन् । तर, अन्तर्राष्ट्रिय व्यापार र निजी लगानीमा चीनको हिस्सा बढे पनि यसमा राज्य क्षेत्रको हिस्सा भने तुलनात्मक रुपले खुम्चिएको छ, जसले समाजवादको अपेक्षालाई चुनौती दिने सम्भावना पनि रहेको मानिन्छ । यसका लागि चीनले आर्थिक विविधीकरण र पुनर्गठन तथा शृंखलाबद्ध औद्योगिक नीतिका माध्यमबाट प्रबर्द्धन गर्ने नीति अघि सारिरहेको छ । यसमार्फत विदेशी लगानीकर्तालाई घरेलु कम्पनीसँग संयुक्त उद्यममा आबद्ध हुन लगाइएको छ र स्थानीय सामग्री (Input) को प्रयोग बढाउन लगाइएको छ । यसबाट विनिमय दर र अन्तर्राष्ट्रिय बित्तीय प्रवाह केही हदसम्म नियन्त्रित रहेको देखिन्छ (रोड्रिक, २०१९) ।
यी सबैको माध्यमबाट चिनियाँ नेतृत्वले कुनै पनि बाह्य निर्देशिकाको पालना गरेन र आफ्नै देश अनुकूलको नीति बनाई चलाइरह्यो । पछिल्लो अवधिको चिनियाँ आर्थिक सुधार देशको आवश्यकताबाट निर्देशित थियो र कुनै स्वतन्त्र बजार विश्वासबाट निर्देशित थिएन । यदि नीति निर्माताहरूले कुनै एक महत्त्वपूर्ण सिद्धान्त अपनाउँछन् भने त्यसलाई पक्कै पनि ‘व्यावहारिक प्रयोगात्मकता’ भन्न सकिन्छ । यो देङको लोकप्रिय भनाइ हो । उनले भनेका छन् ‘बिरालोको रङले कुनै पनि फरक पार्दैन, फरक उसले मुसो समात्न सक्यो कि सकेन भन्ने कुराले पार्छ ।’
चिनियाँ अनुभवको विलक्षणतालाई हेर्ने हो भने यसले विकसित र विकासोन्मुख दुवै राष्ट्रहरुलाई आर्थिक विकासका लागि महत्त्वपूर्ण शिक्षा प्रदान गर्दछ । अधिकांश पश्चिमा राष्ट्रमा बजारमाथिको निर्भरता र आर्थिक उदारीकरणका फाइदाहरू प्रस्तुत गर्न चीन सफल बनेको छ । सैद्धान्तिक रुपले चीनले राज्य नेतृत्ववाला आर्थिक मोडलको अन्तर्निहित श्रेष्ठतालाई पुष्टि मात्र होइन, स्थापित समेत गरेको छ र बजारकेन्द्रित पश्चिमा सिद्धान्तको रडाकोलाई चुनौति दिइरहेको छ ।
नेपालजस्तो समाजवाद उन्मुख राष्ट्रका लागि चीनको आर्थिक विकास अनुकरणीय मात्र होइन, चीनको आर्थिक र प्राविधिक विकासको प्रभावबाट पनि नेपालले प्रशस्त फाइदा लिनसक्नु पर्दछ, जुन अहिले नेपालमा चलेको बहस पनि हो ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत मानवशास्त्री हुनुहुन्छ । लेखमा प्रस्तुत विचार लेखकका निजी हुन् ।)