प्राध्यापक, एडवर्ड सइद, edward said,
 

एडवर्ड सइदको जन्म लेबनानी आमा हिल्डा र अमेरिकी व्यापारी बाबु वादि सइदबाट नोभेम्बर १, १९३५ प्यालेस्टाइन जेरुसलेममा भएको थियो । सइद परिवार सन १९४७ मा कायरो बसाइँ सर्‍यो ।

एडवार्ड सइदको उच्च शिक्षा अमेरिकी नामुद विश्वविद्यालयहरूमा भएको थियो । उनले स्नातक प्रिन्सटन १९५७, स्नातकोत्तर हारभर्ड १९६० र पिएचडी १९६४ हारभर्डबाट गरेका थिए । सन १९६३ मा कोलम्बिया विश्वविद्यालय प्रशिक्षकमा प्रवेश गरेका सइद १९६५ मा सहायक प्राध्यापक, १९६८ मा सहप्राध्यापक र १९७० मा अंग्रेजी तथा तुलनात्मक साहित्यका प्राध्यापक भएका थिए । स्थायी रूपमा कोलम्बिया विश्वविद्यालयमा रहे पनि सइदले विश्वका १५० जति विश्वविद्यालयहरूमा पढाएका थिए ।

Bharat Pokharel, भरत पोखरेल
लेखक

उनका पुस्तकहरू विश्वका धेरै विश्वविद्यालयहरूमा अध्यापन गराइन्छ । नेपाल पनि अपवाद छैन । सइदका केही चर्चित पुस्तकहरू ओरिएन्टालिज्म १९७८, द क्वेस्चन अफ प्यालेस्टाइन १९७९, कल्चर एन्ड इम्पेरिअलिज्म १९९३, पावर, पोलिटिक्स एन्ड कल्चर २००१ आदि हुन् । विश्वका उम्दा १०० पुस्तकहरूमा ओरिएन्टालिज्म आठौँ स्थानमा छानिएको थियो ।

प्यालेस्टाइनमा जन्मेका सइदको मनमा ज्वाला जलिरहेको हुन्थ्यो । प्यालेस्टाइनमाथि इजरायलीहरूको अत्याचार देखेका सइदले जीवनको उत्तरार्धमा औडाहा भएर प्यालेस्टाइन गएर इजरायली ट्याङ्कमा ढुङ्गा हान्ने प्रतिज्ञा गरे । ६५ वर्षको उमेरमा उनले लेबनान-इजरायल सीमामा पुगेर जुलाई ४, २००० मा इजरायली ट्याङ्कमा प्यालेस्टाइन युवाहरूसँगै ढुङ्गा हाने । सइदको यो कार्यको विश्वभरि प्रशंसा साथै आलोचना पनि भयो । गार्जियन पत्रिकाले ‘प्रोफेसर अफ टेरर’ सम्मको ट्याग लगाइदियो ।

मार्क्सवादी रूझान राख्ने उत्तर-आधुनिकवादका अनुयायी एडवार्ड सइदको ६७ वर्षको उमेरमा सेप्टेम्बर २५, २००३ मा न्युयोर्कमा मृत्यु भयो । एउटा प्राध्यापकले आफ्नो प्रतिज्ञा चाहिँ पूरा गर्‍यो ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)