सन् १९९० को दसकमा चितवनको विरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापान गर्दा गर्मीको समय हामी क्याम्पसको मूलढोकाको नजिकै पश्चिम-उत्तरमा अवस्थित शमीको रूखमुनि बहस गर्थ्यौं । त्यो शमीको रूख हाम्रो छलफलको चौतारी थियो ।
सन् १९७० को दशकमा पेरूको आयाकुचोस्थित सान कृस्टोबल डि हुआमाङ्गा नेशनल युनिभर्सिटीको मूलढोका अगाडि अवस्थित देवदारको रूखमुनि प्राध्यापकहरू बहस गर्थे । प्राध्यापक डा. अबिमेल गुज्म्यान बहसमा अग्रणी थिए । विश्वविद्यालय कक्षामा गुज्म्यान स्टार शिक्षकको रूपमा स्थापित थिए ।
गुज्म्यान प्राय काखीमुनि किताब च्याप्ने भएकाले मानिसहरू उनलाई डा. आर्मपिट भन्थे । गुज्म्यानले विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूको रूढिवादी सोचाइको सफाइ गर्दै मार्क्सवादप्रति आकर्षण बढाएकाले उनलाई विश्वविद्यालयमा डा. स्याम्पू भनिन्थ्यो ।
चीनको पुँजीवादमा प्रवेश, बर्लिनको पर्खाल ढलेको समय र सोभियत संघको टुक्राटुक्राका विभाजनको बेला क. गोन्जालोले पेरूमा जनयुद्धको आँधी नै चलाए । पेरु जनयुद्धमा ७०,००० मानिसहरू हताहत भए, ६ लाख मानिसहरू घरबारबिहीन भए, २ बिलियन अमेरिकी डलर बराबरको धनमालको क्षति भयो । पेरु रणनीतिक सन्तुलनको अवस्थामा पुग्यो ।
मार्क्स, लेनिन, माओपछि गोञ्जालोको व्यक्तित्व बन्यो । सेप्टेम्बर १२, १९९२ मा गोञ्जालो गिरफ्तार भए । गिरफ्तारीको ठिक २९ वर्षपछि हिजो सेप्टेम्बर ११, २०२१ मा उनको मृत्यु (बन्दीहत्या) भयो । सेप्टेम्बर १, २०२१ का दिन मैले “गोञ्जालो गिरफ्तारीका २९ वर्ष” शीर्षकमा उनको रिहाइका लागि ऐक्यबद्धता जनाउँदै एउटा पोस्ट गरेको थिएँ । मार्क्सवादका सतीसाल क. गोञ्जालो अब हामी बिच रहेनन् । अलविदा क. गोञ्जालो । हार्दिक श्रद्धाञ्जली ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ।)