विश्व प्रसिद्ध महान् कम्युनिस्ट दार्शनिक तथा सर्वहारा वर्गका मुक्तिका मार्गदर्शक कार्ल मार्क्सको सुप्रसिद्ध विश्व ग्रन्थ ‘दास क्यापिटल’ १८६७ मा प्रकाशित भएको हो । त्यसले बिस्तारै बिस्तारै फैलिँदै गएको विश्व समाजवादी आन्दोलनलाई निश्चय नै एउटा अत्यन्तै सबल धरातल र आधार प्रदान गर्यो ।
त्यो प्रकाशन हुनु तीन–चार वर्षअघि मात्र ‘प्रथम अन्तर्राष्ट्रिय’ को स्थापना भएको थियो । त्यसका विश्व शाखा–प्रशाखाले यस पुस्तकलाई लोकप्रिय बनाउन ठूलो मद्दत पुर्याए । यो पुस्तक मूलतः जर्मनी भाषामा लेखिएको भए पनि त्यसपछि विभिन्न देशका सक्रिय युवा समाजवादीहरू त्यो महत्त्वपूर्ण पुस्तकलाई आ-आफ्ना मुलुकमा अनुवाद गर्न तम्सिएका थिए । तत्कालीन रुसका समाजवादीहरुले यसको अनुवाद आफ्नो भाषामा गरे ।
कार्ल मार्क्सका निमित्त यो सुखद आश्चर्यको कुरा नै थियो । यद्यपि मार्क्सले क्रान्तिकारी संघर्षको दृष्टिले रुसलाई विशेष महत्त्व दिएका थिएनन् किनभने उनको विचारको निष्कर्ष के थियो भने सर्वप्रथम औद्योगिक देशहरुमा पहिला समाजवादी क्रान्ति हुनेछ । अनि, रुस मुख्यतः एक कृषिप्रधान देश थियो र त्यसलाई उनले क्रान्ति हुने वस्तुगत आधार विकसित भएको देशको रुपमा देखेका थिएनन् । तर कालान्तरमा रुस नै मार्क्सको सिद्धान्तको पहिलो सफल प्रयोगभूमि हुन पुग्यो । मार्क्सको सिद्धान्तका प्रथम प्रयोक्ता रुसी नेता लेनिनले साम्राज्यवादको सबैभन्दा कमजोर कडी भएको ठाउँमा क्रान्ति हुन सक्तछ र त्यो कडी टुट्न सक्तछ भन्ने निष्कर्ष निकालेर समाजवादी क्रान्ति एउटै देशमा पनि हुन सम्भव छ भन्ने तथ्यलाई व्यवहारमा देखाइदिए ।
हुन त कार्ल मार्क्सले ‘दास क्यापिटल’ को प्रकाशनपछि अर्को कुनै त्यस्तो ठूलो महत्त्वको उल्लेखनीय कृति लेख्न सकेनन् । पेरिस कम्युनको सम्बन्धमा लेखिएका लेखहरू प्रथम अन्तर्राष्ट्रियको बैठकलाई सम्बोधन गर्न तयार गरिएको दस्तावेज थियो । त्यसको केही समयपछि ‘क्रिटिक अफ गोथा प्रोग्राम’ अर्थात् ‘गोथा कार्यक्रमको आलोचना’ को रूपमा एउटा सानो टिप्पणी आयो । तर सानो भए पनि त्यो टिप्पणी कार्ल मार्क्सका कृतिहरूमध्ये विशेष महत्त्वको रहेको छ । त्यतिञ्जेलसम्म जर्मनीमा मार्क्स र लासालका अनुयायी बेग्लाबेग्लै पार्टीमा संगठित थिए । गोथा भन्ने ठाउँमा ती दुई पार्टीको एकीकरण भयो र एकीकृत पार्टीले आफ्नो नयाँ राजनीतिक कार्यक्रम पनि प्रकाशमा ल्यायो । तर एक त, मार्क्सलाई लासाल पटक्कै मन पर्दैनथे । दोस्रो कुरा, त्यो गोथा कार्यक्रम अत्यन्त हावादारी छ भन्ने मार्क्सलाई लाग्यो । त्यस कार्यक्रमको उनले कडा आलोचना गरे ।
तर, त्यस आलोचनाका बिचमा उनले पहिलोपटक भावी समाजको आफ्नो तस्बिर या रुपरेखा पनि प्रष्टरूपमा अगाडि ल्याए । यद्यपि यसअघिसम्म कार्ल मार्क्स सामान्तयाः भावी समाजबारे कुरा गर्न इच्छुक रहँदैनथिए । तर, योपल्ट भने उनले सरलरूपमा भोलिको समाजवाद र साम्यवादसमेतको तस्बिर पेश गर्ने जमर्को गरे । साम्यवाद एक दिनमा आउँदैन । साम्यवादभन्दा पहिला समाजवाद आउँछ । त्यस समाजवादमा सबैले कामअनुसारको दाम पाउँछन् । योग्यताअनुसारको काम पाउँदछन् । विद्यमान श्रमको शोषण यस्तो चर्को हुँदैन । तर, त्यहाँ पनि योग्यताअनुसारको काम हुने भएपछि विभेद कायम रहने कुरा भयो । यद्यपि सबैलाई आ-आफ्नो प्रतिभाअनुसार योग्य बनाउने क्रमको काम पनि त्यसमा निरन्तर जारी रहन्छ । शोषण नै नहुनेचाहिँ होइन । आखिर त्यहाँ राज्य रहन्छ । राज्यका निकायहरूलाई श्रमको अतिरिक्त मूल्यबाट नै पोस्नुपर्ने हुन्छ ।
त्यसैले समाजवादको उच्चतम विन्दुको संक्रमणबाट गुज्रेपछि मात्र साम्यवादमा पुगिन्छ । साम्यवाद एक सर्वोतोमुखी स्वतन्त्र व्यवस्था हुन्छ । त्यहाँ काम र श्रमको बन्देज हुँदैन । अथवा भनौँ काम र श्रमको तात्पर्यसमेत फेरिन्छ । काम, श्रम र आत्मोपलब्धि एकअर्काका पर्याय हुन्छन् । उत्पादन चरमोत्कर्षमा पुग्छ । खान–लाउन नपाउने कोही हुन्नन् । मानिसले आफूखुसी योग्यताअनुसारको काम गर्छ र आवश्यकताअनुसार पाउँदछ । उदाहरण्का लागि एउटै मानिसले एकसाथ विभिन्न काम गर्न पाउँदछ । तरकारी रोप्ने हुन सक्छ, दिउँसो माछा मार्ने, अपरान्हतिर ट्युसन पढाउने र बेलुका अभिनय गर्ने जस्ता अनेक काम गरेर आफूखुसी मानिसले उच्चस्तरीय वैज्ञानिक जीवन गर्न सक्छ । मार्क्सले साम्यवादी समाजको साँच्चै स्वर्ग जस्तै मनोहारी वर्णन गरेका छन् । भारतका प्रसिद्ध साहित्यकर्मी राहुल साङ्कृत्यायनले पनि ‘बाइसौँ शताव्दी’ त्यही मार्क्सको मान्यतामा आधारित भएर लेखेका हुन् ।
गोथा कार्यक्रमको आलोचना लेखिसक्दासम्म मार्क्स अपेक्षाकृत चर्चित र प्रसिद्ध भइसकेका थिए । उनको आर्थिक अवस्था पनि केही सुध्रिएको थियो । मार्क्सकी सहधर्मीणी जेनीकी एक जना धनाढ्य नातेदारले गतिलो सम्पत्ति बकस दिएकी थिइन् । उता, एङ्गेल्स पनि अब बाबुको बन्देज हटेर आफै कारखानाका मालिक भएका थिए । अब मार्क्स र जेनी स्वभावैले पहिलाकोभन्दा केही राम्रो डेरामा समेत सरे । तर, उनीहरू दुवै समयमा खानाको अभाव, औषधि उपचारको अभाव आदिले गर्दा उमेर नपुग्दै बृद्ध भइसकेका थिए । रोगले गर्दा उनीहरूको बाँकी जीवन पनि सुख–शाान्तिका साथ बित्न पाएन ।
अझ जेनीलाई त पछि गएर क्यान्सरले गाँज्यो । मार्क्सको पनि खटिराको रोग चर्किंदै गयो । यसप्रकार दुवै क्रान्तिकारी दम्पतिको दुःखको कुनै अन्त्य थिएन । यसै जीवन क्रममा सन् १८८१ मा जेनीको मृत्यु भयो । मार्क्सलाई थप चिन्ता थपियो । त्यसपछि उनी पनि धेरै बाँचेनन् । दुई वर्षपछि नै उनको पनि मार्च १८८३ मा निधन भयो । त्यतिबेला उनको मलामीमा मुस्किलले १०–१२ जना मानिस मात्र थिए भनिन्छ । उनको समाधिस्थलमा एङ्गेल्सले एउटा अत्यन्तै मार्मिक श्रद्धाञ्जली दिए । त्यसमा एङ्गेल्सले उनको तुलना विश्व प्रसिद्ध जीव वैज्ञानिक चार्ल्स डार्बिनसँग गरेका छन् तर, मार्क्स सबैभन्दा उच्च क्रान्तिकारी हुन् भन्ने यथार्थ पनि त्यतिबेला फ्रेडरिक एङ्गेल्सले उल्लेख गर्न चुकेनन् ।
दुर्भाग्यवशः कार्ल मार्क्सको मृत्युपछि उनको सिद्धान्त र उत्तराधिकारीलाई लिएर समाजवादी आन्दोलनमा ठूलो विभाजन भयो । उनको लेखनको शब्द शब्द केलाइए । यस्तो केलाइ उस्तो महत्त्वपूर्ण थिएन । महत्त्वपूर्ण उनको भावना थियो । भावनाको हकमा एङ्गेल्सले भनेकै थिए – उनी सर्वप्रथम र सर्वोपरि एक क्रान्तिकारी थिए । तदरूप क्रान्तिकारी परिस्थितिको विकासका साथ उनका आग्रह पनि तल–माथि हुन्थे । क्रान्तिकारीले कुनै रुढ सिद्धान्तलाई अजर–अमर मान्दैन । त्यसो त धर्म र अन्धविश्वासले मात्र गर्छ । कालान्तरमा कतिपय कम्युनिस्टहरूको आग्रहले गर्दा मार्क्सवादलाई झन्डै धर्मको रूपमा खडा गर्न पनि खोजियो । यद्यपि कार्ल मार्क्स इतिहासको विकासको साथ विचार र विश्लेषणमा परिष्कार ल्याउनुपर्छ भन्ने कुरामा विश्वस्त थिए । तर, उनका कतिपय कम्युनिस्ट अनुयायीहरूले त्यस्तो गरेनन् । सोसल डेमोक्र्याट्स पनि केही निश्चित सूत्रबाट बाँधिए । एउटा मतान्तर राख्नै नहुने किसिमको विचारधाराको साँघुरो भोटो बनाएर ती दुवै धारालाई हिँडाइयो ।
अनि मार्क्सवादलाई केवल एउटा भौतिक विज्ञानको नियमसरह सूत्रबद्ध गर्ने एउटा प्रयत्न पनि भयो । जबकि यो गतिमान दर्शन, विचार, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यनीतिको समुच्च दृष्टिकोण र भौतिक स्थिति अनुरुप शतत् परिवर्तको गतिमान समाज विज्ञानको अत्याधुनिक वैज्ञानिक विचार थियो । एकातिर यसलाई धार्मिक ग्रन्थ जस्तो बनाउन खोजियो भने अर्कोतिर मार्क्सवादको क्रान्तिकारी सार तत्त्वलाई तिलाञ्जली नै दिइयो ।
यी तमाम प्रयत्नहरु हुँदाहुदै पनि सौभाग्यवश यस्ता प्रयासका निमित्त कार्ल मार्क्सलाई कुनै दोष दिने ठाउँ भने किञ्चित पनि छैन । उनलाई एकपटक अनुयायीमार्फत आफ्ना विचारलाई ‘मार्क्सवाद’ भन्ने गरेको थाहा भयो । तर उनले बेलैमा यसको जबर्जस्त प्रतिवाद गरेका थिए । उनले कुगल यान भन्ने एक मित्रलाई लेखेको एउटा पत्रमा स्पष्ट लेखेकै छन् कि ‘अरु जेसुकै होला म भने मार्क्सवादी होइन’ । यो मार्क्सको विनम्रता र आफू साधारण व्यक्तिजस्तै रहने उत्कट इच्छाको अभिव्यक्ति थियो र हो ।
निश्चय पनि मार्क्स स्वयं ‘मार्क्सवादी’ थिएनन् र उनले त्यस्तो आग्रह राख्ने कुरा पनि थिएन । कुनै पनि व्यक्तिको नामका आधारमा वाद बनाउने कुरा सोच्दैन पनि थिए होला । तर विश्वलाई नयाँ दृष्टिबोध गराउने र संसारलाई हेर्ने, ब्याख्या गर्ने र फेर्ने त्यो महान विचार आज मार्क्सवादकै नाममा छ । त्यसमा मार्क्सका अनन्य मित्र एङ्गेल्सको पनि ठूलो र अतुलनीय योगदान छ । मार्क्सका धेरै अधुरा रहेका र अपूरा कृतिहरुलाई एङ्गेल्सले नै पूर्णता प्रदान गरेका हुन् तर उनले कुनै तोडमोड गर्ने र एङ्गेल्सवाद चलाउने कुनै संकेतसम्म पनि गरेनन् । यो उनले मार्क्सबाटै सिकेको चिन्तन र चरित्र हो ।
मार्क्सको व्यक्तित्वको एउटा गतिलो सुत्र उनकी छोरीले एकपटक उनलाई दिएको एउटा प्रश्नावली र त्यसमा मार्क्सले दिएको उत्तरबाट पनि मार्क्सको चिनारी हुन्छ । उनले त्यस प्रश्नावलीमा मार्क्सको व्यक्तित्वको चिनारीलाई प्रस्ट गर्ने कुराहरू सोधेकी थिइन् । त्यो प्रश्नावलीले मार्क्सको बानी–व्यहोरा, रूचि–अरूचिसमेतको दिग्दर्शन गराएको छ । तपाईंको जीवनको आदर्श वा प्रमुख मान्यता के हो ? मार्क्सको उत्तर थियो – ‘सबै थोकलाई प्रश्न गर !’ ग्रीक भाषाको लोकोक्तिमा उनले यो कुरा भनेका थिए । गौतम बुद्ध ‘अप्प दीपो भव’ भन्थे । यी दुवै कथनमा कुनै फरक देखिँदैन ।
अफसोच, मार्क्सीय दृष्टिकोण र विचारलाई छोडेका तर उनको अनुयायी हुन दावी गरिरहेका कथित अनुयायीले मार्क्सको यस्तो प्रवोधनलाई पूरै ओझेलमा पारिदिएका छन् । मार्क्स र मार्क्सवादको विचार यात्रालाई सही किसिमले नबुझ्नु या बुझ पचाउनु यो नै आज मार्क्सका कथित उत्तराधिकारको सबभन्दा ठूलो विडम्बना बनेको छ । यी कुराहरुलाई आत्मसात गर्दै महान् कार्ल मार्क्सप्रति शतत् नमन !
(लेखक नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष हुनुहुन्छ ।)