किसान राज भीमदत्त पन्तको सपना थियो । जय किसान नारा । भूमिको सही वितरण, कृषिको उचित व्यवस्थापन र किसानको हितमा योजना निर्माण उहाँको लक्ष्य थियो । त्यही लक्ष्य प्राप्तिका लागि गर्नुभएको थियो किसान आन्दोलन । ग्रामीण किसानलाई संगठित गर्नु, अन्यायका विरुद्ध संघर्ष गर्नु, शोषकहरूलाई दण्ड दिनु र गरिबका पक्षमा जागरण ल्याउनु उहाँको अभियान थियो । त्यसैले भीमदत्तलाई सर्वसाधारण नागरिकले आफ्नो आदर्श मान्थे र उहाँको अभियानमा लामबद्ध हुन्थे । उनको नाममा जय जयकारको नारा लगाउँथे ।
भीमदत्तमा दीर्घकालीन सोच र परिवर्तनको भोक थियो । त्यसकारण उहाँले समस्या समाधानको उपयुक्त विकल्प भूमि व्यवस्थापन र परिवर्तनका प्रमुख सम्वाहक किसानलाई प्राथमिकतामा राख्नुभयो । त्यसैलाई क्रान्तिको मुख्य मुद्दा बनाउनुभयो । जुन मुद्दा उहाँको जीवनकालमा मात्र सीमित रहेन, परिवर्तनका पक्षधर शक्ति, संगठनहरूले अहिले पनि उठाइरहेका छन् र भीमदत्त पन्तलाई आफ्नो आदर्श मानिरहेका छन् ।
भीमदत्त पन्त न्याय र समानताका लागि आदर्श त हुनुहुन्थ्यो नै, साहसिक निर्णय लिनसक्ने सक्षम नेता तथा सामाजिक रूपान्तरणका अभियन्ता पनि हुनुहुन्थ्यो । उहाँले छोटो समयको अन्तरालमा गरेको आन्दोलन अहिलेको समाजका लागि अनौठो जस्तै छ । सञ्चार, यातायातको सुविधा नभएको समयमा पनि सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाहरूमा आन्दोलन फैलाउनु, पहाड र तराईका गाउँगाउँमा सचेतना अभियान चलाउनु कम चुनौतीपूर्ण थिएन ।
वि.सं. १९८३ मा डडेल्धुराको कारीगाउँमा जन्मेका भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको सुरुवात गर्नुभएको थियो । त्यसबेला उहाँलाई भीमदत्त काँग्रेस भन्ने गरिन्थ्यो । अन्याय गर्नेलाइ दण्ड सजाय दिने हुनाले ठालुहरु डराउँथे । कसैलाइ भीमदत्त पन्तले कारवाही गरेको थाहा पाइएमा फलानोको घरमा काँग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो । कसैसित धेरै रिसाएर गाली गर्यो भने तेरो घरमा काँग्रेस पसोस् भन्ने गर्थे ।
बाल्यकालदेखि नै छट्टु स्वभावका भीमदत्त पन्त गीत गाउने, कविता लेख्ने, डेउडा खेल्ने कुरामा रुची राख्नु हुन्थ्यो । उत्तरप्रदेश भारतको सिंहाईबाट संस्कृत विषयमा मध्यमा (हाइस्कुल) सम्मको अध्ययन गरेका पन्तमा गीताको राम्रो ज्ञान थियो । गीताको अध्ययनले नै उहाँमा राजनीतिक स्वभाव बढायो । राजनीतिमा प्रवेश गरेपछि उहाँले मार्क्सवादको अध्ययन गर्नुभयो ।
त्यसबेला मनमोहन अधिकारीसँग पनि उहाँको सम्पर्क हुन्थ्यो । सुरुवातमा काँग्रेस भनी चिनिएका भीमदत्त पन्त मार्क्सवादका अनुयायी हुनुहुन्थ्यो । गरिब, दलित, जनजाती, किसानहरूको पक्षमा आवाज उठाउनु हुन्थ्यो । भीमदत्तको क्रान्तिका कारण गाउँमा विरोधी बढ्दै गएपछि घरपरिवारबाट त्यस्तो नगर्न दवाव आउँथ्यो तर उहाँले भन्नुहुन्थ्यो, “म अहिले जे गर्दैछु, भोलि यस्तै हुन्छ । त्यसैले आजैदेखि अन्याय, अत्याचारका विरुद्ध लडनुपर्छ ।”
समस्याबाट बिचलित नहुने नेता हुनुहुन्थ्यो भीमदत्त पन्त । क्रान्तिको सिलसिलामा गाउँ बाहिरै हुनुहुन्थ्यो । घरको सबै जिम्मेवारी उहाँको श्रीमती पार्वती पन्तको हुन्थ्यो । दुइ छोरा थिए । बिरामी पर्दा उपचार गर्न नसकेर ५ वर्षको उमेरमा जेठो छोरा र साढे दुई वर्षको उमेरमा कान्छो छोराको मृत्यु भयो । त्यसपश्चात पनि उहाँले घरको कुनै प्रवाह नगरी क्रान्तिमै लाग्ने निश्चिय गरी आन्दोलनको घोषणा गर्नुभयो । अन्यायका विरुद्ध संगठितरूपमा लड्ने उद्घोषका साथ २००९ साल बैशाख २ गते डडेल्धुराकै घटालथान भन्ने ठाउँमा भेला बोलाउनुभयो । गाउँका ठुला ठालुहरूलाई अनिवार्य उपस्थित गराई जय दास (दलित) को हातको पानी खान लगाउनु भयो । त्यसपछि गरीबहरूलाई संगठित गर्दै गाउँ भ्रमण गर्न थाल्नुभयो ।
सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाहरूमा भ्रमण गर्दा गरिबहरूले नून समेत खान नपाएको देखेर नून आन्दोलनको घोषणा गर्नुभयो । कञ्चनपुरको ब्रह्मदेवमा भएको गोदामबाट गरिबहरूलाई नून, कपडा वितरण गर्नुभयो । यस घटनाको दिन गरिबहरूको ठुलो जनमासले भीमदत्त पन्तको स्वागत गरी “भीमदत्त पन्त - जिन्दावाद” भनी नाराबाजी गरे । त्यसक्रममा उहाँ गड्डाचौकी भन्सारमा समातिनु भयो । हातखुट्टा बाँधेर नेपालगञ्ज पुर्याइयो । नेपालगञ्जमा उहाँलाइ मार्ने तयारी थियो, तर भागेर ज्यान बचाई कञ्चनपुर आउनुभयो । कञ्चनपुर आएपछि गरिबहरूलाई शोषण गर्ने धर्मसिंह डिट्ठा, जोगराज सुबेदार र जयदेव सुब्बालाई कारवाही गर्नुभयो ।
त्यहाँबाट डडेल्धुरा फर्केर आफ्नो घरमा भएका तमसुकहरू च्यातिदिनु भयो । विष्टहरूको घरमा भएका तमसुकहरू संकलन गरी बोरामा हालेर जलाइदिनुभयो । मालअड्डामा भएका मोठहरू जलाइदिनु भयो । बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम भई चार महिना शासन गर्नुभयो ।
राणा शासन विरुद्ध भएको आन्दोलनपश्चात् काँग्रेसले गरेको सहमति भीमदत्त पन्तलाई मन परेको थिएन । उनले “क्रान्ति सकिएको छैन, किसानले न्याय पाउने अवस्था नआएसम्म सरकारसँग सहमति गर्न नहुने” अडान राख्नुभएको थियो । त्यसमा काँग्रेस सहमत नभएपछि किसान आन्दोलनको योजना बनाई संघर्षमा जुटेका भीमदत्तले प्रजातन्त्रको विकल्पमा किसान राजको अवधारणा ल्याउनु भयो । “जय किसान” भनी अभिवादन गर्न थाल्नुभयो । दलित, मगर र थारुहरूलाई संगठित गरी सेना तयार गर्नुभयो । नेपालगञ्जका गौरीलाल र रूपसिंह सेनाका कमान्डर थिए । दक्षिण भारत पञ्जावका कृष्ण स्वामी अयंकर योजनाकार थिए ।
भीमदत्त पन्त राष्ट्रवादी नेता हुनुहुन्त्यो । देशलाई स्वतन्त्र बनाउने, गरिबहरूलाई ठालुहरूको कब्जाबाट मुक्त गराउने उहाँको अभियान थियो । बेलौरीमा बैंक कब्जा गरी लिएको पैसा सेनालाई तलब दिएर बाँकी रहेकोमध्ये कमैया र हलियाहरूलाई मुक्त हुन सहयोग गर्नु भएको थियो । सामाजिक समानता, किसान अधिकार, स्वतन्त्र नेपालको पक्षमा लड्न सन्देश दिनुहुन्थ्यो ।
“कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो” भन्ने नारा अहिले पनि उत्तिकै सान्दर्भिक छ । “उठ जाग रे, नेपाली नवजवान जाग रे । नेपालमा तम म, नेपाल देशलाई स्वतन्त्र बनाँऊ रे” भन्ने उहाँको देशभक्ति गीत (प्राथना) थियो । “बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आयो, ठालुको काल आयो” भन्ने उहाँको अर्को चर्चित गीत थियो । यिनै सन्देश साथ गाउँमा जागरण अभियान चलाइन्थ्यो ।
भीमदत्त कृषि र वातावरणका विषयमा पनि छलफल चलाउनु हुन्थ्यो । “जंगल मासिए पहिरो जान्छ । पानीका मूल सुक्छन् । खेतीपाती नगरे भोकमारी हुन्छ । अन्न खेर फाल्नु हुँदैन । बचत गर्नुपर्छ । उत्पादन बढाउनुपर्छ । खेती गर्नेलाई जग्गाको मालिक बनाउनुपर्छ । समाजमा एकले अर्कोलाई सघाउनुपर्छ” भन्ने पनि उहाँको अभियानको विषय हुन्थ्यो, जुन कुरा अहिलेका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ ।
(लेखक भूमिअधिकारकर्मी हुनुहुन्छ । प्रस्तुत लेख २०६६ साउन १५ गते यदुनाथ पन्तसँग गरेको छलफलका आधारमा तयार पारिएको हो ।)
यी लेखहरू पनि पढ्नुहोस्ः
क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोहः क. चित्रबहादुर श्रेष्ठ
सलाम छ नेपाली स्पार्टाकस भीमदत्त पन्तलाई : क. नरेन्द्रजङ पिटर