भारत आफ्नो मुलुकहरू छिमेकीप्रति असहिष्णु देखिएको छ । उसको आफ्ना छिमेकीहरूप्रति गरिने व्यवहारले गर्दा भारतप्रति छिमेकी सरकार र जनताहरू रुष्ट भएका छन् । यसको अर्थ भारतले दक्षिण एसियाली राष्ट्रहरूप्रतिको विदेश नीति पूर्णरूपमा असफल भएको पुष्टि भएको छ ।
पाकिस्तान र भारत स्थापनाकालदेखि नै एक अर्काको दुश्मनको रूपमा प्रस्तुत हुँदै आइरहेका छन । यसै क्रममा तिनपटक तिनको बिचमा युद्ध भइसकेको छ । तैपनि तिनको बिचमा शान्ति कायम हुन सकेको छैन । आतंकवादजस्तो मुद्दामा पनि यिनीहरू बिच मतैक्य छैन । काश्मिर समस्या संयुक्त राष्ट्रसंघले जनमत संग्रहले टुंग्याउने भन्ने विषयमा भारत र पाकिस्तान दुवै सहमत भएका थिए । तर भारत अर्घेल्याइँ गरी काश्मिरमा जनमत संग्रह गर्न मानिरहेको छैन । बरु संविधानको आर्टिकल ३७० र आर्टिकल ३५ (A) हटाई भारतमा गाभेको सन्देश दिएको छ । ‘पाकिस्तान नियन्त्रित काश्मिरसहित सम्पूर्ण काश्मिर हाम्रो हो’ भन्ने माग उचालेको मात्र होइन, गिल्किट र बाल्टिस्तान पनि भारतकै अंग हो भनी दावी गरिरहेको छ । त्यतिमात्र होइन, तथाकथित बालाकोट हमलामा समातिएका भारतीय विङ कमाण्डर अभिनवलााई पाकिस्तान सरकारले मानवीयताको आधारमा रिहा गरी भारतलाई बुझाएकोमा पनि ‘पाकिस्तान डराएर उनलाई सुम्पेको हो’ भन्दै अनर्गल तथा निम्नस्तरको प्रचार गरिरहेको छ ।

आफ्नो देश विकासका लागि पाकिस्तानले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गत बनाई रहेको र बनाई सकेको पूर्वाधार चाइना-पाकिस्तान इकोनोमिक करिडोर अन्तर्गतका पूर्वाधारका परियोजनाहरू ‘भारतको विरुद्धमा बनाइएको हो’ भनी धुँवाधार रूपमा दुष्प्रचार गरिरहेको छ । हुँदाहुँदा त निर्लज्ज रूपमा ‘पाकिस्तानबाट बालुचिस्तानलाई अलग गर्छु’ भन्ने धम्की स्वयम् प्रधानमन्त्री मोदीले लाल किल्लाबाट उद्घोष गरिसकेका छन् । यस कार्यमा भारतीय मोदी सरकार र सरकार प्रायोजित भारतीय तथा कथित मूलधारका मिडिया लागिपरेका छन् । भारतप्रति पाकिस्तानमा घृणाको चरम अवस्था छ । यसर्थ यी दुई राष्ट्रहरू आणविक युद्धको स्थितिमा छन् । यस कार्यमा भारतीय मोदी सरकार र सरकार प्रायोजित भारतीय तथा कथित मूलधारमाका मिडिया लागिपरेका छन् । यो अवस्था भारतको पाकिस्तानप्रतिको असफल विदेश नीतिले गर्दा आएको हो ।
अर्को महत्त्वपूर्ण दक्षिण एसियाली राष्ट्र अफगानिस्तानलाई आफ्नो मित्र भन्दै आएको भारत अहिले अफगानिस्तानले बेल्ट एण्ड रोड इनिसियटिभको सदस्य बन्दै एउटा अंग बन्ने घोषणा गरेपछि अफगानिस्तानलाई सत्रु राज्यको घोषणा गरी बदनाम गरेको छ, जसले गर्दा अफगान सरकार र अफगानी जनतामा भारतविरोधी भावना उग्र रूपमा बढेको छ । यो असफलता भारतीय अफगानिस्तानप्रतिको विदेश नीतिले गर्दा भएको हो ।
अरबियन सागर अवस्थित सानो टापु मालदिभ्सको आन्तरिक मामिलामा खेली त्यहाँ सरकार बनाउने र गिराउने जस्तो निर्लज्ज काम गर्दै नाकाबन्दी लगाउने क्षुद्र काम भारतले गरेको छ । बिआरआईको सदस्य बनेकोमा बदनाम गराउने काम लामो समयदेखि भारतले गर्दै आएकोले मालदिभ्सका जनताको नजरमा भारतको साख धुलिसात भएको छ । यसको कारण पनि भारतको असफल मालदिभ्सप्रतिको विदेश नीतिले गर्दा नै हो ।
सैन्य हस्तक्षेपदेखि श्रीलंकाका राष्ट्रपति विरुद्ध संयुक्त राष्ट्र संघमा मानवताविरोधी कार्य गरेको भनेर प्रस्ताव लैजाने कार्य भारतले गरेको छ । श्रीलंकाले आफ्नो देश विकासका लागि बिआरआईको सदस्य बनेर चीन सरकारबाट सहुलियतपूर्ण ऋण लिएर हम्बनटोटा बन्दरगाह बनायो । यही बन्दरगाहलाई ९९ वर्षका लागि चीनलाई लिजमा श्रीलंका सरकारले दिएको कार्यलाई बन्दरगाह चीनलाई बेच्यो भन्दै श्रीलंकालाई बदनाम गरिरहेको छ । साथै चीनले ऋणको पासो बिआरआईको नामबाट श्रीलांकालाई फसायो भन्दै चीनलाई पनि बद्नाम गरिरहेको छ । यस्तो भारतको बद्नियतपूर्ण कार्यले श्रीलंका सरकार र जनता भारतलाई आफ्नो सत्रु राष्ट्रको रूपमा हेर्दछन् । यो सबै भारतीय श्रीलंकाप्रतिको विदेश नीतिको असफलताको कारणले भएको हो ।
सन् १९७२ मा पाकिस्तानबाट छुट्टिई बनेको बंगलादेशलाई भारत पद्मा र ब्रह्मपुत्रजस्ता नदीको पानीको वैधानिक बाँडफाँड, फरक्का व्यारेजको व्यवस्थापनजस्ता मुद्दामा सँधै आलटाल गर्दै झुक्याउँदै त्यहाँको आन्तरिक राजनीतिमा खेल्दै आएको छ । ‘यी नदीहरूको पानी वैज्ञानिक र न्यायपूर्ण रूपमा बाँडफाँड पछि गरौँला, अहिले सिमानाको समस्या सुल्झाऊँ’ भनेर भारतले धूर्ततापूर्ण रूपमा बंगलादेशसँग सीमा विवाद सुल्झायो । तर पानीको बाँडफाँडबारे केही पनि नगरेर बंगलादेशलाई झुक्याएको छ । बंगलादेश बिआरआईको सदस्य राष्ट्र भएकोमा पनि विरोध गरेको छ । नोलको जलविद्युतमा लगानी गरी बंगलादेशमा जलविद्युत लैजाने परियोजनाको विरोधमा मात्र होइन, भारत नेपालको जलविद्युतमा लगानी गरी बंगलादेश बिचको सिधा व्याापर गर्ने विषयमा पनि गोडा अड्काएर तेर्सिएको छ । यी विविध कारणहरूले गर्दा भारत बंगलादेश सरकार र जनताको आँखामा सत्रुको रूपमा देखिएको छ । यो सब असफल भारतीय बंगलादेशप्रतिको विदेश नीतिको कारणले भएको हो ।
ऐतिहासिककालदेखिनै भारत नेपाललाई दु:ख दिँदै आइरहेको छ । कोसी, गण्डकी सन्धि, महाकाली सन्धि, सुगौली सन्धि, नेपालको आन्तरिक राजनीतिमा चलखेल, संविधान निर्माणका विरोध , एक मधेश एक प्रदेशको समर्थन, विभिन्न कालखण्डको नाकाबन्दी, नेपालको आयात निर्यातमा अवरोधजस्ता कुकृत्यहरूले नपुगेर हाल भारत नेपालको सार्वभौमिकतालाई नाङ्गो रूपले लत्याउँदै निर्लज्ज भएर हाम्रो भौगोलिक सिमानाभित्रको ‘कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशको भाग हो’ भन्दै चीनसँग जोडेर बाटो खनेको मात्र होइन, अविवेकी र पापिष्ट भएर त्यसको उद्घाटन भारतीय रक्षामन्त्री आफैले गरेर विश्वसामु आफ्नो विस्तारवादी र असहिष्णु चरित्रको प्रदर्शन गरिरहेको छ । अफ्नै देशभित्रको सडक भएको भन्दै लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतको भूमि भनी घोषणा गरेको छ । नेपाल सरकारले वार्ताको आह्वानगर्दा बेवास्ता गरी नेपालको सार्वभौमिकता, नेपाल सरकारको अस्तित्व, नेपाली जनताको देशप्रेम र नेपालीको बहादुरीलाई वेवास्ता गरी विश्वसामु आफ्नो साम्राज्यवादी सोच, विस्तारवादी शैली र चारित्रिक पाखण्डतालाई नाङ्गो रूपमा प्रदर्शित गरिरहेको छ । यी विभिन्न भारतीय कुकत्यहरूले गर्दा नेपाली जनमानसमा भारतप्रति व्यापक रोष र घृणा उम्लिएको छ । पर्यो भने नेपाली जनता बलिदानी भावनाले अविभूत भई भारतसँग अन्तिम युद्ध गर्ने मनस्थितिमा पुगेका छन् । नेपाली जनमानस र सरकारमा व्यापक भारतविरोधी भावना उम्लिरहेको छ । यदि भारत नसच्चिएमा ठुलो दु:खद परिणाम उसले भोग्नु पर्नेछ । यो भारतको असफल नेपालप्रतिको विदेश नीतिको परिणाम हो ।
भारत आफ्नै छिमेकी मुलुकहरूप्रति असहिष्णु बनी उनीहरूको सार्वभौकितामाथि निरन्तर प्रहार गर्दै, उनीहरूको विकास र समृद्धिमा वाधक बन्दै तथा आफ्नै देशका अल्पसंख्यकहरूप्रति दमन गर्दै आएको छ । तर सपना भने संयुक्त राष्ट्रसंघको स्थायी समितिको सदस्य बन्ने, एक महाशक्ति हुने दिवास्वप्ना देखिरहेको छ । छिमेकी राष्ट्रहरूसँग बैमनस्य भएसम्म भारतको यो सपना सार्थक हुँदैन । यो असंम्भव छ । भारत बेलैमा सच्चिएन भने दक्षिण एसियाली मुलुकहरू एक भएर उसको सशक्त प्रतिरोध र ठुलो युद्ध गरी भारतको सम्प्रभुता र भौगोलिक अखण्डतालाई नै खण्डित गरिदिन सक्दछन् । यसरी भारतको दक्षिण एसियाली विदेश नीति पूर्णरूपमा असफल भई भारतलाई ठुलो समस्या आइसकेको छ । मोदी सरकार दक्षिण एसियाली राष्ट्रहरूप्रतिको विदेश नीतिमा पूर्णरूपमा असफल भई भारतलाई बद्नाम गरिरहेको छ । यही नै हो भारतको वास्तविकता ।
(लेखक अर्थशास्त्री तथा स्वतन्त्र बुद्धिजीवी मञ्चका महासचिव हुनुहुन्छ ।)