जेल पर्ने र जेलबाट छुट्ने क्रम निकै चल्यो । कतिचोटि छुटेँ, त्यो भन्न पनि गाह्रो छ । मलाई जेल परेको र छुटेको मिति पनि त्यति सम्झना हुन्न । तर एउटा घटना मलाई सम्झना छ। जेलभित्र मनमोहनजी, शम्भुरामजी र म गरी हामी तीनजना सँगै बसिरहेका थियौँ। हामी तीनजना बिच सल्लाह हुँदा बनारसमा कमरेड पुष्पलाललाई भेटेर पार्टी एकता गर्ने, केही सुझावहरू दिने र त्यस सम्बन्धमा शम्भुराम र मनमोहनको चिठ्ठी लगिदिने काममा म जानुपर्छ भन्ने कुरो भयो । तर जाने कसरी ? जानका लागि त जेलबाट छुट्नु पर्ने भयो ।
जेलबाट छुट्नको निम्त ‘म शान्तिपूर्वक साधारण नागरिक भएर बस्छु, उपत्यका बाहिर जान्नँ’ भनेर कागज गर्नुपर्ने हुन्थ्यो । तर म भने त्यस्तो प्रकारको कागज नगर्ने मान्छे परेँ । त्यस्तो कागज गरेर छुट्नको निम्ति प्रशासनले मलाई दुई-दुई चोटि भनिसकेको थियो । तर मैले सँधै अस्वीकार गर्दै आएको थिएँ ।
यसपालि भने मनमोहनजी र शम्भुरामजीले नै त्यस्तो प्रकारको कागज गरेर छुट्न मलाई अह्राए। मलाई बडो अप्ठ्यारो भयो ।
म धर्म संकटमा परेँ । यता पार्टी एकता गराउने राम्रो सुझाव थियो, क्रान्तिलाई फाइदा गर्ने कुरा थियो। उता शान्तिपूर्वक साधारण नागरिक भएर बस्छु, उपत्यका बाहिर जान्न भनेर कागज गर्ने कुरा थियो । मनमोहनजी र शम्भुरामजीले मलाई कागज गरेर छुट्न कर नै गरे । र, म कागज गरेर छुटेँ ।
कागज गरेअनुसार उपत्यका बाहिर जान्नँ भन्ने कुरा थियो। तर बाहिर त जानै पर्थ्यो । त्यसैले सुरुमा त मलाई टेष्ट नै गरेर हेर्नुपर्यो भन्ने लाग्यो । त्यहीबेला स्नातकको दोस्रो चुनाव सुरु भयो । सायद यो २०२१ सालको कुरो थियो । शम्भुराम र मनमोहनले ‘तिमी त्यस चुनाव लड। यो पार्टी निर्देशन हो’ भनेर मलाई अह्राए । म आफै उनीहरूलाई जेलमा भेट्न गएँ । मैले उनीहरूलाई ‘म चुनाव लड्दिन’ भनेर आफ्नो निर्णय सुनाएँ । उनीहरू मेरो कुरा मान्न तयार भएनन् । उनीहरूले मलाई ‘तिमी लड्नै पर्छ’ भने ।
शम्भुराम र मनमोहनलाई आफूले चित्त बुझाउन नसकेकोले पछि मैले विद्यार्थीहरू पठाएँ । मोहनचन्द्र अधिकारी, जनार्दन आचार्य, हिरण्यलाल श्रेष्ठ आदिजस्ता त्यतिखेरका विद्यार्थीहरू मेरो कुरा लिएर जेलमा शम्भुराम र मनमोहनलाई भेट्न गए । भेटघाटमा शम्भुराम र मनमोहनले उनीहरूलाई ‘पार्टी आदेश हो मान्नै पर्छ’ भनेर झपारे । उनीहरू निदाउरो मुख लिएर फर्के र मलाई भने “दाइ, चुनाव लडी नै दिऔँ न ।” र, त्यसपछि मैलै स्नातक चुनाव लड्ने तयारी गरेँ।
सुरुमा त मैले त्यस चुनावलाई बेकारको रूपमा लिए । त्यसलाई मैले जसरी भएपनि आफू उम्कने एउटा उपायको रूपमा सोचेँ । तर चुनाव अभियानलाई अगाडि बढाउँदै लैजाँदा त त्यसले पछि एक राजनीतिक लहर नै ल्याइदियो । विकल्परहित पञ्चायती व्यवस्था भनिएको ठाउँमा त्यसले बहुदलको लहर ल्याइदियो ।
चुनावी अभियानमा ‘म राष्ट्रिय पञ्चायतमा निर्वाचित भएँ भने बहुदल ल्याउन त्यहाँ प्रस्ताव राख्छु’ भनेर बोल्नुपर्ने भयो। सबभन्दा पहिले त्यसबारेमा मैले पशुपति छेउ माथि चोकनेरको गौशालाको मुरली दरबारमा बोलेँ । त्यहाँ एउटा सभामा त्यतिखेर स्नातकबाट राष्ट्रिय पञ्चायतमा चुनाव लड्ने १३ जना उम्मेदवारहरूलाई बोलाइएको थियो । सबै १२ जना उम्मेदवारहरू मञ्चमा लहरै बसालिएका थिए। मचाहिँ पछाडि गएर साथीहरूको घेराभित्र बस्न गएँ ।
त्यतिखेर साथीहरूले मलाई कसैबाट आक्रमण नहोस् भनेर घेराभित्र राख्ने गर्थे। म मञ्चमा देखा नपरेपछि मेरो त्यहाँ व्यापक खोजी हुन थाल्यो । मञ्चबाट ‘लामाजी आउनु पर्यो’ भनेर उद्घोषण हुन थाल्यो । म मञ्च त्यति मन नपराउने मान्छे हुँ । त्यसैले म मञ्चमा नगएको हुँ। मैले उठेर अङ्ग्रेजीमा भन्न थालेँ- ‘आई एम अल राइट हेयर’ र फेरि म चुप लागेर बसेँ । मैले बोल्दाखेरि मेरो बोली नै कस्तो कस्तो भएको थियो । उद्घोषकले दोस्रोचोटि बोलाउने आँट गरेनन् । त्यसपछि वर्णक्रमानुसार नाम बोलाएर बोल्न दिन थालियो । केहीबेरपछि मेरो पाला आयो। मैले सोनाम बाङ्गदी लामाको नामबाट बोलेँ । बहुदल चाहिन्छ भनेर बोलेँ । मेरो भाषणलाई जनमानसले तालीका ताली दिएर स्वागत गर्यो । मैले जम्मा दस मिनेट बोलेँ ।
म पछि रामराजाप्रसाद सिंहको पालो आयो। उनले त उठेर के भने भने – ‘यो देशमा मैले कोही पनि मर्द छैन भन्ठान्याँथेँ । तर एउटा रहेछ निर्मल लामा । तपाईँहरूले पहिलो भोट निर्मल लामालाई दिनुहोला र दोस्रो भोट मलाई दिनुहोला ।’ त्यति बोलेर उनी बसे ।
म जिल्ल परेँ । त्यसपछि मैले उनीसँग भेटेँ । र, हामीले सँगै मिलेर चुनाव लडने तयारी गर्यौँ । रामराजाप्राद सिंह म र काँग्रेसको शंकर घिमिरे मिलेर चुनाव लड्यौँ ।
युनिभर्सिटीका सारा विद्यार्थी र प्रोफेसरहरूको मिटिङ राखियो । त्यसमा सबैजना उम्मेदवारहरूले बोल्ने कार्यक्रम राखियो । त्यो कार्यक्रम त्रिपुरेश्वरमा राखिएको थियो । उनीहरूले १०/१२ वटा प्रश्नहरू लेखी साइकलो (लिथो) गरेर कार्यक्रमको एक दिन अगाडि प्रत्येक उम्मेदवारलाई बाँडिदिए। र, ती सबै प्रश्नहरूको जवाफ दस मिनेट समयभित्र दिनुपर्ने भनियो ।
मैले प्रश्नहरू पढेँ । प्रश्न पढ्दा पढ्दै दस मिनेट समय गयो । दस मिनेटमा कसरी जवाफ दिने ? म बडो सोचमा डुबेँ ।
प्रश्न पढ्दा पढ्दै मलाई स्वाट्ट एउटा सोच आयो । जसले प्रश्न राम्ररी बुझ्छ, त्यसले आधा उत्तर त पहिले नै दिइसक्छ । मेरो सोचमा यो कुरा आयो । र, मनले मलाई ‘सबभन्दा पहिले प्रश्न राम्ररी बुझ, नबुझेसम्म दोहोऱ्याई-तेहेऱ्याई पढ्’ भन्यो । मैले ती प्रश्नहरू लगातार पढ्दै गएँ । सायद मैले पचासौँ पटक पढे हुँला ।’
धेरै पटकसम्म दोहोऱ्याई-तेहेऱ्याई प्रश्नहरू पढेपछि मैले एउटा खास किसिमको ‘फ्रेमवर्क’ बनाएँ। प्रश्नहरू मैले बुझेजस्तो मलाई लाग्यो । तर अब दस मिनेटमा उत्तर कसरी दिने ? मैले सोच्न थालेँ ।
मलाई के लाग्यो भने यदि प्रश्नहरू पढ्न थालिन्छ भने पक्कै पनि मैले दस मिनेटमा उत्तर दिन सक्दिन । त्यसैले बोल्दाखेरी प्रश्नहरू नपढीकन ‘यी प्रश्नहरूको उत्तर जम्माजम्मी यी हुन्’ भनेर एकैचोटि उत्तर भनी नै दिने मैले सोचेँ ।
त्यसपछि मैले घडी हेरेर मनमनै भाषणको अभ्यास गरेँ । उत्तरमात्र भन्दा पनि बिस मिनेट समय लाग्यो । ओ हो । के गर्ने अब?
मैले फेरि घडी हेरेर मनमनै अभ्यास गरेँ । दोस्रोपल्ट पन्ध्र मिनेट समय लाग्यो । अझै दिइएको समयभन्दा पाँच मिनेट बढी भयो ।
फेरि तेस्रोपल्ट अभ्यास गरेँ । आँखा चिम्लेर मनमनै भाषण गरेँ । भाषण सिद्धिएपछि आँखा खोलेर घडी हेरेँ । यसपल्ट दस मिनेट समय मात्र लाग्यो । त्यसपछि भोलिपल्ट भाषण दिन त्रिपुरेश्वर गएँ । निर्मल अर्याल त्यतिखेर विश्वविद्यालयका विद्यार्थी नेता थिए। उनी आएर मसँग ‘दाइ, हाम्रो बेइज्जती नहोस् । ऋषिकेश शाह, बासुदेव ढुंगाना आदिहरूजस्ता पनि मैदानमा छन् ।’ भने । ‘तिमीहरूको बेइज्जती हुँदैन । ढुक्क भएर बस ।’ भनेर मैल उनलाई ढाडस दिई पठाएँ ।
कार्यक्रम सुरु भयो । वर्णक्रमानुसार बोलाएर भाषण दिन लगाइयो । एउटा प्रश्न पढिन्छ र त्यसको उत्तर दिइन्छ । त्यसरी गरेर तीनवटा प्रश्नको भन्दा बढीमा उत्तर कसैले पनि निर्धारित समय दस मिनेटभित्रमा दिन सकेनन् ।
मेरो पालो आयो। म मञ्चमा गएँ । प्रश्न-प्रश्न मैले केही पढिन् ।
‘तपाईँहरूले गर्नुभएको प्रश्नको उत्तर म एकैचोटि दिन्छु ।’ भनेर मैले सबै प्रश्नको उत्तर खरररर भनेँ । भाषण त मलाई कण्ठ नै थियो । मैले अलिकति पनि समय खेर नफाली आफ्नो कुरा भनेँ । घडी हेरेँ – नौ मिनेट मात्र समय गएको रहेछ ।
सबै जिल्ल परे । तालीका ताली आयो । लामो निरन्तर ताली आयो । ऋषिकेश शाह आएर मसँग हात मिलाए। उनले भने-‘मैले त यी भुराभुरीहरूले के गर्लान् भनेर सोचेको थिएँ । तर मलाई त अब आपत् पर्यो ।
त्यसपछि अर्को सिधै मैदानमै प्रश्न सोध्ने कार्यक्रम राखियो । त्यसमा पनि उत्तर पाँच मिनेटमा दिनुपर्ने भनियो । मलाई त एउटा काँग्रेसीले के सोध्यो भने- ‘तिमी राजा मान्छौ कि मान्दैनौ ?’
‘म अत्यन्त धर्म संकटमा परेँ। मान्छु भनेँ भने भोट आउँदैन र मान्दिन भनेँ भने तुरुन्त गिरफ्तार होइन्छ । अब के गर्ने ?’
तर कहाँबाट कहाँबाट मनमा चट्ट एउटा विचार आयो। राजा फारुखलाई राज्यबाट खोसुवा गरी भागेर इङ्गल्याण्ड जाँदाखेरि प्रेसवालाहरूले एअरपोर्टमा सोधेको बारे लेखिएको एउटा किताब छ। त्यो किताब मैले जेलमा छँदा नै पढेको थिएँ । सायद त्यो किताब मलाई शैलजा आचार्यले दिएकी थिइन् । त्यसमा के प्रश्न सोधिएको रहेछ भने -‘राजाको भविष्य के छ ? त्यो प्रश्नको उत्तर कसरी दिइयो भने – एउटा राजा इङ्गल्याण्डमा र अर्को राजा तासमा छन् ।
त्यो कुरा सम्झना हुनासाथ मैले तुरुन्त उत्तर दिएँ ‘मलई के सोध्नुहुन्छ तपाईँहरू ? राजालाई नै सोध्नुहोस् त । राजाले नै जवाफ दिन्छन् । राजा फारुखले भनेका छन्- ‘राजा दुई ठाउँमा मात्र रहन्छ, एक इङ्गल्याण्डमा र अर्को तासमा । राजाको भविष्य त्यही हो ।’
त्यति भन्न मलाई पाँच मिनेट पनि लागेन । ओहो । यति ताली आयो कि एकछिनसम्म ताली बजेको बज्यै नै रह्यो । पछि मैले त्यो किताब फेरि हेरेँ । मैले केही, गलत बोलेको रहेछु । फारुखले त एउटा मात्र राजाको कुरा गऱ्या रहेछ । तासको कुरा त गर्या रहेनछ। मेरो दिमागमा त्यो कहाँबाट आयो ? म आफै छक्क परेँ।
त्यो कार्यक्रमको भोलिपल्ट म नयाँ सडकको भूगोलपार्कबाट गिरफ्तार भई नै हालेँ । गिरफ्तार हुँदा मसँग एउटा ब्याग थियो । त्यसमा मेरो नागरिकताको प्रमाणपत्रदेखि थुप्रै कागजपत्रहरू थिए । मैले त्यो ब्याग मेरो अगाडि रहेको एकजना साथीलाई दिएँ । त्यो साथी को हो ? भनेर मैले बिर्सेँ । अहिलेसम्म पनि मैले सम्झन सकेको छैन । ब्यागमा महत्त्वपूर्ण कागजातहरू थिए ।
वास्तवमा त्यतिखेरको त्यो स्नातकको चुनावमा मैले, राम राजा प्रसाद र शंकर घिमिरेले जित्ने निश्चित थियो । स्नातकको चुनाव भनेपछि स्नातक गरेकाहरूले मात्र भोट हालेर राष्ट्रिय पञ्चायतमा प्रतिनिधि पठाउनु पर्ने थियो । त्यतिखेर पञ्चायतमा स्नातक चुनावबाट चारजना प्रतिनिधि राष्ट्रिय पञ्चायतमा पठाउने व्यवस्था थियो । तर हामी तीनैजनालाई जेल हालियो। र पुनः नयाँ उम्मेदवारहरूको दरखास्त आह्वान गरियो ।
हामीले जेलबाटै अदालतमा रीट हाल्यौँ । मेरो, शंकर घिमिरे र राम राजा प्रसाद सिंहका गरी तीनजना हाम्रा भाइहरूलाई खोजेर एकै ठाउँमा भेला गरी उनीहरूको नाममा वकिलहरूले नै पैसा उठाई धरौटी राखेर मुद्दा दिए । मुद्दा चल्दाचल्दै स्नातक चुनाव सकियो । ऋषिकेश शाह, बासुदेव ढुंगाना र अन्य दुईजना गरी चारजना स्नातकको चुनाव जितेर राष्ट्रिय पञ्चायतमा गए । हामीलाई मुद्दाबाट हराइदिइयो ।
त्यतिखेर स्नातकको चुनावमा ‘यदि म निर्वाचित भएँ भने राष्ट्रिय पञ्चायतमा बहुदलको प्रस्ताव राख्छु’ भन्ने मेरो भनाइबाट शासकहरू तर्सेका रहेछन् । मेरो त्यस भनाइप्रति रामराजाप्रसाद र शंकर घिमिरेले पूर्ण समर्थन जनाएका थिए । त्यसैले हामी तीनैजनालाई निर्वाचित हुनबाट बञ्चित गराउन गिरफ्तार गरिएको थियो ।
त्यस स्नातकको चुनावमा मेरो घोषणपत्र पनि निक्लेको थियो । तर मैले त्यस घोपणपत्रमा के लेखिएको थियो भन्ने कुरा बिर्सेँ । किनभने त्यो घोषणपत्र मैले लेखेको थिइनँ । त्यो घोषणपत्र मनमोहन र शम्भुरामले जेलभित्रबाट लेखी त्यहाँबाट पारित गरेर बाहिर पठाएका थिए । त्यो घोषणपत्रको प्रतिलिपि अहिले पनि ठाउँ ठाउँमा पाइन्छ । म कहाँ पनि घरमा छ ।
(साभारः ऋतुवर्ण पराजुलीद्वारा सम्पादित ‘मुक्तियोद्धा निर्मल लामा’बाट)