‘लोसार’ नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने भोट भाषासँग सम्बन्धित तिब्बती मूलका बासिन्दाहरू गुरुङ, तामाङ, शेर्पा, योल्मो र डोल्पाली जातिहरूको प्रमुख चाड हो । यो चाडको उत्पत्ति तिब्बतमा भएको हो र जातिहरूको आप्रवासनसँगै नेपालमा भित्रिएको हो । भोट भाषासँग सम्बन्धित शेर्पा, भुटानी, योल्मो र डोल्पाली भाषाहरूमा ‘लो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ परिवर्तन भन्ने हुन्छ । त्यसकारण ‘लोसार’ भनेको पुरानो वर्षको अन्त्य र नयाँ वर्षको सुरुआत हो । यो पुरानो वर्षलाई विदाइ गर्ने र नयाँको स्वागत गर्ने सङ्क्रमित अवस्थाको पर्व हो । स्थान र जातीय परिवेशअनुसार लोसारलाई फरक किसिमले उच्चारण गरिन्छ – कहीँ ‘लोसर’ भनिन्छ, कहीँ ‘ल्योसार’ भनिन्छ, कहीँ ‘ल्होसार’ भनिन्छ त कहीँ ‘लोछार’ पनि भनिन्छ । बढी प्रचलित शब्द ‘लोसार’ भएकाले यहाँ त्यही शब्द प्रयोग गरिएको छ ।
लोसार नेपालका साथै पाकिस्तान, भुटान र भारतमा पनि मनाइन्छ । भुटानमा त अत्यधिक जनसङ्ख्या भएको जातिको चाड भएकाले यसलाई राष्ट्रिय चाडको दर्जा नै दिइएको छ र चाडका अवसरमा दुई दिनको छुट्टि दिने गरिन्छ । नेपालको सन्दर्भमा २०४६ को जनआन्दोलनपूर्व जतिखेर विभिन्न जाति जनजातिका संस्कृतिमा हिन्दुकरणले बढी प्रभाव जमाएको अवस्था थियो, त्यतिखेर यो चाड ओझेलमा परेको थियो र सामान्य औपचारिकतामा मात्र सीमित थियो । तर २०४६ को जनआन्दोलनपछि जाति जनजातिहरूले आफ्ना सांस्कृतिक पर्वहरूको खोजी गर्ने क्रममा यसले महत्त्व प्राप्त गरेको छ । बसाइसराइले गर्दा लोसार जातीय सघन बसोबासका थलामा मात्र सीमित नभई काठमाडौँ, पोखरा, भरतपुर, धरानजस्ता शहरहरूमा र बेलायत, हङकङ, अमेरिका आदि देशहरूमा पनि मनाउन थालिएको छ । यद्यपि त्यसको विशेषता जातीय एकाइहरू बसोबास गरेका सघन ग्रामीण क्षेत्रहरूमा जति देख्न सकिन्छ त्यति अन्य ठाउँमा देख्न सकिन्न ।
गुरुङ, तामाङ, शेर्पा, योल्मो र डोल्पाली जातिहरूले मनाउने नयाँ वर्षको चाड लोसारको समय तिब्बती चन्द्र पात्रोअनुसार निर्धारण गरिएको हो । ती जातीहरूले आफ्ना धार्मिक पूजाआजा र कर्मसंस्कार त्यही पात्रोका आधारमा सम्पन्न गर्ने गर्दछन् । तर एउटै संस्कृतिअन्तर्गतको साझा चाड भए पनि नेपालमा भिन्दाभिन्दै समयमा आ–आफ्नो जातीय प्रचलनअनुसारका भिन्दाभिन्दै समयमा लोसार मनाउने गरिएको छ । गुरुङ जातिले पौष महिनाको माझामाझीमा मनाउने लोसार तोला लोसार हो जुन गण्डकी प्रदेशका साथै हुम्ला, मनाङ र भुटानमा पनि मनाइन्छ । ‘तोलो’ को अर्थ उपल्लो क्षेत्रको लोसार भन्ने हुन्छ । तोलो शब्द अपभ्रंश भएर ‘तोला’ भन्न थालिएकोे हो । आजभोलि गुरुङ जातिले यसलाई ‘तमु लोसार’ भनी नामाकरण गरेको छ ।
‘सोनाम लोसार’ नेपालका तामाङ जातिले मनाउने लोसार हो । विश्वमा उक्त खालको लोसार मनाउने जनसङ्ख्या बढी छ । चीनमा पनि त्यसलाई मनाइन्छ । नेपालमा सोनाम लोसार बाली थन्क्याई सकेपछिको समय माघ शुक्लपक्षमा पर्दछ । त्यसकारण त्यसलाई ‘किसानहरूको लोसार’ पनि भनिन्छ । ग्याल्पो लोसार फागुन महिनाको शुक्ल पक्षमा मनाइन्छ र त्यसलाई शेर्पा जातिले मनाउँछन् ।
एउटै संस्कृतिअनुसार चाड मनाउने जातिहरूले यसरी किन एउटै अवसरमा चाड नमनाएर फरकफरक अवसरमा मनाउने गरेका छन् त ? त्यसको कारण हो तिब्बतमा भएको नयाँ वर्ष मनाउने समयको हेरफेर । त्यहाँ बौद्ध धर्मको प्रभाव हुनुभन्दा पहिले तिब्बतीहरूले प्रकृतिप्रति निकै भक्तिभाव प्रकट गर्दथे । प्रकृतिलाई खुसी पार्न सकियो भने गाउँघरमा सहकाल आउँछ भन्ने विश्वास तिनीहरूमा थियो । खेतीपाती कम हुने र पशुपालन बढी हुने तिब्बतमा अन्नबालीको निकै महत्त्व थियो । त्यहाँ पौष शुक्ल पक्षदेखि दिन लम्बिँदै जाने र जाडो छोटिँदै जाने हुँदा जब रुखमा पालुवा चढ्दै जान्थ्यो र चारैतिर हरियाली छाउँथ्यो, तिब्बती किसानहरू हर्षले गद्गद् हुन्थे । त्यसमाथि जब जौका बालाहरू पाक्न सुरु गर्दथे, र खुरपानीका बोटमा फूलहरू फूल्न थाल्दथे, उनीहरू नाच्ने र गाउने गर्दथे । त्यही सामाजिक एवं सांस्कृतिक वातावरणले नै तिब्बतमा लोसार चाडलाई जन्म दिएको होे र त्यतिखेर प्रकृतिलाई महत्त्व दिने बोन परम्पराअनुसार नयाँ वर्षको गणनाको आधार ऋतु परिवर्तनलाई मान्दै चन्द्र पात्रो (Lunar Calender) निर्माण गरी पौष शुक्ल पक्षबाट नयाँ वर्षको गणना गरिएको थियो ।
तर पछि जब तिब्बतमा बौद्ध धर्मको प्रवेश भयोे, बोन परंपराअनुसार मनाइने पर्वलाई मानिसहरूले बौद्ध धर्मका नीतिनियमअनुसार मनाउन थाले । बोन परम्पराअनुसार वर्षको सुरुआत ऋतु परिवर्तनको आधारलाई नबनाएर कालचक्र तन्त्र (Wheel of Time Tantra) को आधारलाई बनाइयो । कालचक्र तन्त्रको पद्धतिमा नयाँ वर्ष माघ शुक्लपक्षदेखि सुरु हुने ठानिन्छ । उक्त पद्धति तिब्बतमा सन् १०२५ बाट लागु भएको होे र त्यसलाई लागु गराउने व्यक्ति भारतीय बौद्ध विद्वान् चन्द्रनाथ र शिलु पण्डित हुन् ।
पछि फेरि मङ्गोलियन राजा ग्याल्पो तेन्जिङ चोग्यालले विभिन्न छिमेकी राज्यमा विजय हासिल गरेको उपलक्ष्यमा फागुन महिनाको शुक्ल पक्षबाट नयाँ सालको गणना गर्ने ‘ग्याल्पो लोसार’ को प्रचलन आरम्भ गराए जसलाई ‘राजाको लोसार’ पनि भनिन्छ । तिब्बतमा अहिले त्यही ग्याल्पो लोसार नै आधिकारिक लोसार बनेको छ । भारतमा निर्वासित दलाइलामाका अनुयायीहरू पनि त्यही लोसार मान्दछन् ।
लोसार मान्ने जातिहरूमा सबैभन्दा पहिला नेपाल पस्ने जाति गुरुङ हुन् । तिनीहरू तिब्बतमा बुद्ध धर्मको प्रभाव हुनुभन्दा पहिले नेपाल पसेका हुन् र नेपालमा आएर नै बौद्धमार्गी बनेका हुन् । त्यसो भएकाले तिनीहरूले तिब्बतको बोन परम्पराअनुसार पौष शुक्लपक्षमा मनाइने तोला लोसार पर्व साथमा लिएर आएका थिए । तामाङहरू तिब्बतबाट नेपाल पस्दाका बखत कालचक्र तन्त्रको पद्धतिमा आधारित नयाँ वर्षको परम्परा भएकाले तिनीहरूले त्यही प्रचलनअनुसारको सोनाम लोसार साथमा लिएर आए । सबैभन्दा पछि नेपाल पस्ने शेर्पाहरूले तिब्बतमा सबैभन्दा पछिल्लो अवधिमा राजा ग्याल्पो तेन्जिङ चोग्यालले चलाएको र आधिकारिक राष्ट्रिय चाड बनेको ग्याल्पो लोसारको प्रचलन साथमा लिएर आए ।
यसरी लोसार मनाउने विभिन्न जातिमा नयाँ वर्षको समय भिन्दाभिन्दै भए पनि लोसार मान्ने जातिहरूले प्रयोग गर्नेे पात्रो भने परम्परागत चन्द्र पात्रो (Lunar Calender) नै हो जसअनुसार वर्षको नामाकरण बाह्र वटा जनावरहरू मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, बोका, बाँदर, कुखुराको भाले, कुकुर र सुँगुरका नामबाट गरिन्छ । अघिल्लो वर्षको जनावर पुरुष मानिए पछिल्लो वर्षकोे जनावर स्त्री मानिन्छ र स्त्री वर्षपछि फेरि पुरुष वर्षको गणना हुन्छ । त्यसरी वर्षैपिच्छे पात्रोमा उल्लेखित जनावरको लिङ्ग विपरीत हुँदै जान्छ । एउटा वर्षलाई पुरुषका रूपमा र अर्को वर्षलाई स्त्रीका रूपमा लिने चन्द्र पात्रोको उक्त अवधारण चिनिया दर्शन ताओवादबाट आएको बुझिन्छ ।
प्राणी जगत्को प्रजनन क्रियाको आधारमा प्राचीनकालदेखि नै ताओवादी दार्शनिकहरूले प्रकृतिमा स्त्री र पुरुष दुई विपरीत पक्ष संलग्न रहने र तिनका क्रिया प्रतिक्रियाबाट परिवर्तन र विकास हुने विश्वास गर्दै आएका छन् । यही अवधारणालाई आत्मसात गर्दै ताओवादले एउटा ठुलो गोलाकार प्वालभित्र रहेका श्याम र श्वेत रङका दुई बराबर आकृतिका तत्त्व यिन र याङ्गलाई चित्रण गरेको छ । श्याम रङ्गको यिनलाई स्त्री शक्तिको र श्वेत रङ्गको याङ्गलाई पुरुष शक्तिको प्रतिकका रूपमा लिइएको छ । ती दुई विपरीत तत्त्वको अन्तर्विरोध र एकत्वबाट समाजमा गति उत्पन्न हुने र प्रगति हुने सोच अघि सारिएको छ ।
पात्रोको अर्को विशेषता के हो भने प्रत्येक जनावरहरू माटो, फलाम, पानी, काठ र आगो यी पाँच तत्त्वमध्ये एउटासँग जोडिएर आउँछन् । बोन मार्गीहरू मानव शरीरको निर्माण माटो, फलाम (धातु), पानी, काठ र आगो जस्ता प्राकृतिक तत्त्वबाट भएको हुन्छ भनी विश्वास गर्दछन् । यो भौतिकवादी अवधारणा हो । यही अवधारणामा आधारित भएर नै मानिस जन्मने प्रत्येक वर्षलाई एक एक तत्त्वसँग जोडिएको छ । के विश्वास गरिन्छ भने मानिस जुन वर्षमा जन्मन्छ, उसको शरीरमा त्यस वर्षसँग जोडिएको तत्त्वको मात्रा अधिक हुन्छ । तिब्बती चन्द्र पात्रोअनुसार शरीरमा काठ तत्त्वको प्रधान्यता हुने मानिस सृजनशील, आगो तत्त्वको प्राधान्यता हुने मानिस शक्तिवान, फलाम तत्त्वको प्राधान्यता हुने मानिस बाध्यात्मक, पानी तत्त्वको प्राधान्यता हुने मानिस चेतनशील र माटो तत्त्वको प्राधान्यता हुने मानिस स्थीर र स्थायी प्रकृतिको मानिन्छ ।
चन्द्र पात्रोअनुसार बाह्र वर्षमा जब वर्षहरूको एउटा चक्र पुरा हुन्छ त्यस अवधिलाई ‘ल्होकोर’ भनिन्छ । ल्होकोरमा एउटा तत्त्वको प्राधान्यता हुन जान्छ र त्यस ल्होकोर (चक्र वर्ष) लाई त्यही तत्त्वको नामबाट नामाकरण गरिन्छ । यदि पाँच ल्होकोर पुग्यो भने त्यसमा ६० वर्ष हुन्छ र त्यस अवधिलाई एक ‘राब्लो’ (संवत्सर) मानिन्छ ।
तिब्बती परम्परामा पात्रो निर्माण गर्दा वर्षको नामाकरण किन जनावरको नामबाट गरियो ? यो प्रचलन प्राचीन समयमा तिब्बतीहरूले अपनाउने गरेको सभ्यता र संस्कृतिमा आधारीत देखिन्छ । आदिम कालका तिब्बतीहरूले कुनै व्यक्ति अथवा गणहरूको सम्बन्ध पशु, पन्छी र रुख बिरुवासँग हुन्छ भनी विश्वास गर्दथे । यस्तो विश्वास अन्य जातीय समुदायका पुर्खामा पनि थियो । प्राचीन आर्य परम्परामा कुनैकुनै गोत्र पुरुषको नाम जनावरको नामबाट राखेको पाइन्छ जस्तो कि कश्यपको नाम कछुवाबाट, गौतमको नाम गाईबाट, कौशिकको नाम लाटो कोशेराबाट, माडूक्यको नाम भ्यागुतोबाट, बत्सको नाम गाईको बाच्छाबाट र शुनक ऋषिको नाम कुकुरबाट राखिएको छ । कपिलवस्तुका शाक्य जनपदको गणचिन्ह साल वृक्ष थियो । साललाई त्यतिखेरको समाजमा दिइने नाम ‘शक’ बाट नै ‘शाक्य’ हुन गएका हुन् भन्ने भनाइ छ । काठमाडौँ उपत्यकाका आदिवासी भनिएका नागजाति नागै नभएर त्यो उनीहरूको प्रतिक चिन्ह थियो ।
मानव समाजमा प्रतिक चिन्हको अवधारणा कसरीे अस्तित्वमा आयो भन्ने सम्बन्धमा विभिन्न विद्वान्का विभिन्न तर्क छन् । एकथरीले मानिस जङ्गली अथवा प्राकृत अवस्थामा छँदाखेरि निश्चित वस्तुसँग निश्चित जातिले कायम गरेको सामिप्यता अथवा सम्बन्धलाई कारणका रूपमा लिन्छन् । अर्काथरीले उक्त अवधारणा वस्तु र मानिसको आचरणमा हुन गएको समानताको परिणाम हुनुपर्छ भनी भन्दछन् जब कि अर्काथरीले मानिस वा गणका आचरण निश्चित पशुकाजस्ता भएकाले तिनलाई उपहास वा व्यङ्ग गर्दा तिनकै नाम दिने गरिएको हुनुपर्दछ भनी तर्क गर्दछन् । जे जति कारणले भए पनि प्राचीन समयमा व्यक्ति समुदाय वा गणहरूले जनावर, पशुपन्छी र रुख विरुवासँग आफ्नो सम्बन्ध स्थापित गर्ने परम्पराकै परिणामस्वरूप पछिल्लो अवधिका मानव गणहरू विभिन्न पारिवारिक समाज अथवा गोत्रहरूमा रूपान्तरित हुँदा तिनले आफ्ना प्रतिक चिन्हसँग पुर्ख्यौली वा वंशगत सम्बन्ध पनि जोड्ने र तीप्रति विशेष आत्मीयता दर्शाउने संस्कृति अवलम्बन गरेका हुन् । कहीँ कहीँ त प्रतिक चिन्हका चित्र आफ्ना शरीरमा धारण समेत गरिन्थ्यो । व्यक्ति वा गणको सम्बन्ध जनावर, पशुपन्छी वा वनस्पतिसँग स्थापित गर्ने त्यस प्रचलनलाई ‘प्रतीक चिन्हवाद’ (Totemism) भनिन्छ । अङ्ग्रेजीको यो Totemism त्यतझ शब्द अमेरिकी आदिवासी Totem को भाषाबाट लिइएको हो जसको अर्थ हुन्छ – आफ्ना भाइ वहिनी वा इष्टमित्र जोसँग विवाहबारी गर्ने र यौन सम्बन्ध राख्ने कुरा बर्जित हुन्छ ।
कालान्तरमा प्रतिक चिन्हवादले पछिल्लो समयमा अन्धविश्वासलाई जन्मायो । मानिसले आफ्ना प्रतीक चिन्हका गतिविधि र जीवन चर्याका आधारमा आफ्ना गतिविधिबारे अनुमान र भविष्यवाणी गर्न थाले । तिब्बती लोसार पात्रो त्यही टोटेमवादी विचार र दृष्टिकोणको परिणाम हो । तिब्बतीहरूमा जुन मानिस जुन जनावरको नाम भएको वर्षमा जन्मिछ, उसले त्यही जनावरका आचरणअनुसारका व्यवहारहरू प्रदर्शन गर्दछ भन्ने विश्वास पाइन्छ । तिनीहरू मूसा वर्षमा जन्मने मानिस मुसा जस्तै चुपचाप बस्ने तर भित्रभित्र चतुर हुने कुरा गर्दछन् । त्यस्तै बाघ वर्षमा जन्मनेहरू सुरा हुने तर अर्काको नोक्सानी गर्ने हुन्छन् भनी भन्दछन् । लोसार पात्रोअनुसार संस्कार गर्ने नेपालका जातिहरूले पनि बिहाबारी गर्दा केटाकेटीको जन्म वर्ष दुई नमिल्ने जनावरको नाममा छ भने त्यसलाई निषेध गर्दछन् । उदाहरणका लागि बाघ र गाई अथवा बाघ र मृग वर्ष परेका केटाकेटीको एक आपसमा विवाह गरिँदैन । त्यस्ते बिरालो र मुसा अथवा गरुड र सर्प वर्ष परे भने पनि विवाहबारी हुँदैन । विवाह गरेमा एकले अर्कालाई हानी नोक्सानी पुर्याउँछन् भन्ने विश्वास छ । पश्चिमी नेपालका भोटबासी जातिहरूले कुनैकुनै मरेका मानिसको मासु गिद्धलाई खुवाउने प्रथा पनि आफ्ना प्रतिक चिन्ह गरुड (गिद्ध) ले तिनका आत्मालाई माथिको संसारमा रहेका पितृआत्मा समक्ष पुर्याइदिन्छन् भन्ने प्राचीन समयको विश्वास हुनुपर्दछ ।
आजभोलि एउटै संस्कृतिको उपज लोसारलाई भिन्न समयमा, भिन्न नाममा र भिन्न पहिचानका साथ मनाउने सवाललाई त्यही संस्कृति अन्तर्गतका केही अगुवाहरूले अस्वाभाविक मानेका छन् । चाडलाई सबैले एउटै समयमा एउटै नामबाट मनाउन सके त्यसले राष्ट्रिय स्तरमा बढी महत्त्व प्राप्त गर्न सक्दथ्यो भन्ने विचार तिनीहरू व्यक्त गर्दछन् । त्यस विचारलाई सकारात्मक मान्नु पर्दछ किनभने यदि एउटै समयमा चाड मनाउन सके एउटै संस्कृतिका भिन्न जातिहरूबिचको एकता र सद्भावनामा बृद्धि हुने थियो र लोसार नामको उही चाडमा तीन पटक विदा दिनुपर्ने आवश्यकता राष्ट्रलाई पनि पर्ने थिएन । तर जातीय समुहहरूबीच बढ्न गएको दूरी र जातीय अहंकारका कारण वर्तमान परिस्थितिमा उक्त एकीकरण संभव देखिन्न ।
अन्तर्जातीय सद्भावना र मेलमिलापबाट बिमुख भए पनि आफ्नै जातीय प्रचलनका लोसारहरूले जातीय एकतालाई भने निकै टेवा पुर्याएका छन् । आजभोलि शहर बजारमा बसोबास गर्नेहरूको संख्यामा बृद्धि भएकाले लोसारका दिन सहर बजारमा जातीय भेषभूषासहितको झाँकीले गर्दा लोसार पर्वलाई अन्य जातीय समुहहरूले चिन्ने र बुझ्ने मौका पाएका छन् । तर वर्तमान अवस्थामा बजारीकरणका कारण चाड महँगो पनि हुन थालेको छ र त्यसमा विदेशी संस्कृतिका चालचलनहरू भित्रिन पुगेका छन् । आधुनिक युवायुवतीहरू आफ्ना परम्परागत महत्त्वपूर्ण पर्वका अवसरमा रङ्गीचङ्गी भेषभूषामा देखिनु र तीबाट परम्परागत नाचगानको ठाउँमा डिस्को र पप सङ्गीत भित्रिनु राम्रो मानिएको छैन । लोसारमा धार्मिक अन्धविश्वास र प्राचीन रुढीवादी प्रचलनहरू पनि थुप्रै छन् । पूजा गरेर पितृ खुसी हुने र भूतप्रेत पन्छिने सवाललाई आधुनिक विज्ञानले मान्यता दिन सक्दैन । यदि सम्पूर्ण विकृतिहरूबाट चाडलाई मुक्त गर्न सकियो भने यो जनसंस्कृति अन्तर्गत जनजातिको नयाँ वर्षको पर्व हुन सक्छ ।
(लेखक वामबुद्धिजीवी तथा मार्क्सवादी चिन्तक हुनुहुन्छ।)