प्रचण्ड विचारधारा
 

महाधिवेशन: आवश्यकता र औचित्य

यही २०७८ मंसिर ११–१३ गतेसम्मका लागि भनेर आयोजना गरिएको नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलन आठौँ राष्ट्रिय महाधिवेशनमा परिणत भएको छ । पार्टीको नियमित राष्ट्रिय महाधिवेशनमा गर्नुपर्ने सेल, टोल, वडा, पालिका, जिल्ला र प्रदेशसम्मका सम्पूर्ण कमिटीहरू निर्वाचित गर्ने, पार्टी सेलदेखि केन्द्रीय प्रतिनिधिहरू चयन गर्ने, विचारको संश्लेषण गर्दै नयाँ राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र विधान संशोधन गरी नयाँ केन्द्रीय समिति निर्वाचन गर्नेसम्मका राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारीहरू पूरा भइसकेको सन्दर्भमा राष्ट्रिय सम्मेलनलाई राष्ट्रिय महाधिवेशनमा रूपान्तरण गर्ने पार्टी निर्णय सर्वथा सही, वैज्ञानिक र मार्क्सवादसम्मत छ ।

यो ऐतिहासिक निर्णयले अर्को राष्ट्रिय महाधिवेशनको आयोजना, तयारी, खर्च र समय जोगाएको छ । ३ दिनको सम्मेलन ५ दिनका लागि रूपान्तरण हुनुले विचारसम्बन्धी बहसलाई व्यापक र विस्तारित बनाएको छ । अर्कोतर्फ नेपालको संविधान, राजनीतिक दल तथा निर्वाचनसम्बन्धी ऐन तथा नियमहरूलाई पालना गर्दै संविधान सभाद्वारा जारी गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई लागु गर्ने सन्दर्भमा माओवादी पहललाई जोड दिएको छ ।

मार्क्सवाद र विचार निर्माण

नहेन्द्र खड्का, nahendra khadka, nk, anpfa rc
लेखक

रुसी समाजवादी क्रान्तिका महानायक तथा विश्व समाजवादी क्रान्तिका शिक्षक क. लेनिनले सन् १८९९ को अक्टोबरतिर लेखेको तर सन् १९२५ मा प्रकाशित आफ्नो सुप्रसिद्ध रचना “हाम्रो कार्यक्रम” मा लेख्नुभएको छ – “हाल अन्तर्राष्ट्रिय सामाजिक जनवाद वैचारिक डाँवाडोलको अवस्थामा छ । अहिलेसम्म मार्क्स र एङ्गेल्सको शिक्षा क्रान्तिकारी सिद्धान्तको बलियो जग मानिन्थ्यो । तर अचेलचाहिँ चारैतिरबाट यो अपूर्ण छ र पुरानो भइसकेको छ भन्ने गुनासो सुनिन थालिएको छ । जसले आफूलाई सामाजिक जनवादी ठान्छ र सामाजिक जनवादी मुखपत्र निकाल्न चाहन्छ, उसले त्यस प्रश्नप्रति ठिक तरिकाले आफ्नो दृष्टिकोण निर्धारित गर्नुपर्दछ, जसबाट आज जर्मन सामाजिक जनवादीहरू मात्र चिन्तित छैनन् ।”

कार्ल मार्क्स र फ्रेडेरिख एङ्गेल्सको निधनपश्चात विश्व कम्युनिस्ट आन्दोलनमा वैचारिक खडेरीको स्थिति सिर्जना हुनपुग्यो । मार्क्सवादलाई पुरानो भन्दै त्यसका आधारभूत मान्यताहरूमाथि प्रहार गर्ने प्रवृत्तिले तीव्रता पायो । यही सन्दर्भमा महान् लेनिनले सो कुरा उल्लेख गर्नुभएको थियो र त्यसको विरुद्ध मार्क्सवादको रक्षा र विकास गर्ने दृढताका साथ सोही रचनामा उल्लेख गर्नुभएको छ – “हाम्रो दृष्टिकोण पूर्णत: मार्क्सको सिद्धान्तमा आधारित छ – मार्क्सवादले नै सर्वप्रथम समाजवादलाई कोरा कल्पनाबाट विज्ञानमा परिणत गरेको हो । मार्क्सवादले नै यस विज्ञानका लागि मजबुत जग तयार पारेको थियो र यसको भावी मार्ग निर्धारित गरेको थियो, यस विज्ञानका समस्त विशेषताहरू ठम्याउँदै विकसित तुल्याएको थियो । मार्क्सवादले वर्तमान पुँजीवादी व्यवस्थाको सार उद्घाटन गर्‍यो, कुन किसिमले मजदुरहरूको भर्ती गरिन्छ, श्रम शक्तिको खरिद गरिन्छ, कसरी मुठ्ठिभर पुँजीपतिहरूले जमिन, कारखाना, खानी आदिका मालिकहरूले करोडौँ गरिब जनतालाई नोकर बनाएर राखेको कुरा ढाकछोप गरिन्छ भन्ने देखायो । मार्क्सवादले देखायो कसरी आधुनिक पुँजीवादको सम्पूर्ण विकासद्वारा बृहत् उत्पादनले लघु उत्पादनमाथि आधिपत्य जमाउँदै जान्छ, समाजको समाजवादी पूनर्निर्माण सम्भव र आवश्यक तुल्याउने वातावरण सिर्जना गर्छ ।”

क. लेनिनले केवल आफूहरूले अघिसारेको विचार मार्क्सवादसम्मत भएको दाबी मात्रै गर्नुभएको छैन, कसरी मार्क्सवादले तत्कालीन समाज र समाज व्यवस्थाको चिरफार गरेको छ भन्ने कुरा समेत स्पष्ट गर्नुभएको छ । मार्क्सवादका आधारभूत मान्यताका आधारमा आफ्नो युगलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको रूपमा परिभाषित गर्ने क. लेनिनले ‘साम्राज्यवाद: पुँजीवादको उच्चतम् अवस्था’ मा तत्कालीन समाज र समाज व्यवस्थाको त्यसरी नै मिहिन तरिकाले अध्ययन, विश्लेषण र प्रस्तुति गर्नुभएको थियो ।

उहाँले ‘हाम्रो कार्यक्रम’ मा नै भन्नुभएको छ – “मार्क्सवादले युगौँदेखिको रीति–रिवाज, राजनीतिक दाउपेच, जटिल कानुनहरू, धूर्त विद्याहरूको पर्दापछाडि लुकेर रहेको वर्गसंघर्ष, विभिन्न सम्पन्न वर्गहरू र गरिब जनसमूह बिचको संघर्ष, त्यस सर्वहारासँग, जसले समस्त गरिब जनताको नेतृत्व गर्दै आएको छ, परिचित हुन मद्दत गर्‍यो ।”

उहाँ थप्नुुहुन्छ, “मार्क्सवादले क्रान्तिकारी समाजवादी पार्टीको वास्तविक उद्देश्य स्पष्ट पार्‍यो – यो उद्देश्य समाजको पूनर्निर्माणसम्बन्धी योजनाहरूको रचना होइन, पुँजीपति र तिनका भरौटेहरूलाई कसरी मजदुरहरूको अवस्थामा सुधार ल्याउनुपर्छ भन्ने बारेको उपदेश होइन, षड्यन्त्रहरूको रचना होइन, अपितु सर्वहारावर्गद्वारा वर्गसंघर्षको आयोजना र त्यस संघर्षको नेतृत्व, जुन संघर्षको अन्तिम लक्ष्य हुनेछ – सर्वहाराद्वारा राजनीतिक सत्तामाथि कब्जा र समाजवादी समाजको निर्माण ।”

यहाँ क. लेनिनले क्रान्तिकारी समाजवादी पार्टीको रूपमा एउटा कम्युनिस्ट पार्टीको वास्तविक उद्देश्यलाई उद्घाटन गर्नुभएको छ । यससँगै उहाँले रुसी सामाजिक जनवादी पार्टीको कार्यक्रम र यसको महत्त्वको बारेमा ब्याख्या गर्दै भन्नुभएको छ – “यस कार्यक्रमको सार सर्वहारावर्गको संघर्षको आयोजना र यस संघर्षको नेतृत्व हो, जुन संघर्षको अन्तिम उद्देश्य हो – सर्वहारावर्गद्वारा राजनीतिक सत्ताप्राप्ति र समाजवादी समाजको निर्माण ।”

वर्गसंघर्षका दुई भिन्न रूपहरूबारे चर्चा गर्दै भन्नुभएको छ – “सर्वहारावर्गको वर्गसंघर्ष आर्थिक संघर्ष (मजदुरवर्गको अवस्थामा सुधार ल्याउनका लागि अलग अलग पुँजीपतिहरू अथवा पुँजीपतिहरूको अलग अलग गुटहरूको विरुद्ध संघर्ष) र राजनीतिक संघर्ष (जनताको अधिकारलाई व्यापक बनाउनका लागि अर्थात् प्रजातन्त्रका लागि, सर्वहारावर्गको राजनीतिक शत्ति, व्यापक बनाउनका लागि सरकारको विरुद्ध चलाइने संघर्ष) मा विभाजित हुन्छ ।”

उहाँले “हामी मार्क्सको सिद्धान्तलाई एकदम सम्पूर्ण र पवित्र ठान्दैनौँ । उल्टो, हामी विश्वस्त छौँ कि मार्क्सवादले त्यस विज्ञानको मात्र जग हालेको छ, जसलाई समाजवादीहरूले, यदि उनीहरू जीवनमा पछि पर्न चाहँदैनन् भने, सर्वतोमुखी विकास गर्नुपर्छ ।”

यसरी नै चिनियाँ क्रान्तिका महानायक तथा विश्वक्रान्तिका शिक्षक क. माओत्सेतुङले वर्गसंघर्ष, उत्पादनका लागि संघर्ष र वैज्ञानिक प्रयोगलाई जोड दिनुभएको छ ।

विचारको विकासको प्रश्न

कार्ल मार्क्स र फ्रेडेरिख एङ्गेल्सद्वारा प्रतिपादित सिद्धान्तको रुसी भूमिमा प्रयोग र विकास गर्दै क. लेनिनले रुसमा समाजवादी क्रान्ति गर्नुभयो । क. लेनिन र क. स्टालिनको महत्त्वपूर्ण योगदानबाट विकसित लेनिवादलाई नयाँ उचाइमा पुर्‍याउँदै क. माओले चीनमा जनवादी क्रान्ति मात्रै सम्पन्न गर्नुभएन माओवादको प्रवर्तन गर्नुभयो । मार्क्सवादी सिद्धान्त र विभिन्न देशको संघर्षलाई अनुकरण तथा विकास गर्दै भियतनाम, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र क्युवामा क्रान्ति सम्पन्न भए । क्युवापश्चात सशस्त्र क्रान्तिको मोडल अवरुद्ध हुनपुग्यो, सफल हुन सकेन । संघर्षको रूपमा पेरु, फिलिपिन्स, टर्की, भारत र नेपालमा सशस्त्र संघर्ष र महान जनयुद्ध भए पनि बन्दूककै नालबाट सत्ता कब्जा गर्न नसकिएको तितो यथार्थ विश्व सामु छ । क्युवाको क्रान्ति र माओको मृत्यूपश्चात जनवादी क्रान्तिलाई क. प्रचण्डको नेतृत्पमा आफ्नै मौलिकतामा सम्पन्न गर्न सफल नेपालको जनयुद्ध मात्रै हो, तर यहाँ पनि सम्पूर्ण सत्ता कब्जा गरी जनताको जनवादी अधिनायकत्व स्थापित भएन ।

त्यसरी नै विश्वभर निर्वाचनको पक्रियाबाट कम्युनिस्टहरू विभिन्न देशहरूमा सरकारमा पुगे पनि पूर्णरूपमा सत्ता कब्जा गर्न सकेको वा जनताको जनवादी अधिनायकत्व वा सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्न सकेको एउटा पनि उदाहरण छैन ।

यसर्थ विगतका विचारहरूको आधारमा मात्रै अब विश्वमा जनवादी वा समाजवादी क्रान्ति सम्पन्न हुनसक्ने देखिँदैन । अब कुनै पनि देशमा समाजवादी क्रान्तिलाई विजयसम्म पुराउन नयाँ ढंगले अघि बढ्नु जरुरी देखिन्छ । नेपालको सन्दर्भमा पनि जनवादी क्रान्तिका बाँकी कार्यभारहरूलाई सम्पन्न गर्दै समाजवादी क्रान्तिको दिशामा अग्रसर बन्न नयाँ ढंगले सोच्नु पर्ने यानेकि नयाँ ढंगले विचारको विकास गर्नु र नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्नु आवश्यक देखिन्छ ।

मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओद्वारा प्रतिपादित सिद्धान्तहरू आज पनि मार्गदर्शक तथा उत्तिकै सत्य, क्रान्तिकारी र अनुकरणीय छन् । तर विज्ञान र प्रविधिको विकाससँगै भएको मानव समाज, मानव चेतना र भौतिक परिस्थितिको विकासले सामाजिक क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्तको पनि विकासको माग गरेको छ । यो यथार्थलाई हृदयंगम गर्नु जरुरी छ ।

यहाँ विचार अर्थात सिद्धान्तको विकास भन्नुको तात्पर्य मार्क्सवाद, लेनिनवाद र माओवादको परित्याग होइन । न त यसको अर्थ आजको युग नै परिवर्तन भइसक्यो भन्ने हो ।

विचारको विकासको कुरा गर्दा कतिपयले विभिन्न काइते तर्कहरू प्रस्तुत गरिरहेका छन् – ‘मार्क्सवाद, लेनिनवाद र माओवाद पुरानो भयो । यी विदेशी नेताहरूले विकास गरेको हुनाले यिनको अर्थ छैन । यी नेताहरु विज्ञान र प्रविधिको युग भन्दा पहिल्यै जन्मेको हुनाले तिनको विचारको अर्थ छैन । मार्क्सवादले भनेको बलप्रयोगको सिद्धान्त, माओले भनेको निरन्तर क्रान्तिको सिद्धान्त र सर्वहारा सांस्कृतिक क्रान्ति गलत छन् । लेनिन, किम इल सुङ, फिडेल क्यास्ट्रो, चे ग्वेभारा, चारु मजुमदार र तिनको अनुसरण गर्ने प्रचण्ड हत्यारा हुन् । स्टालिन र माओ तानाशाह र नरसंहारकारी हुन् । राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति गर्ने हो । यी नेताहरूले भन्दा हामीले धेरै पढेका छौँ, तिनीभन्दा हामी ज्यादा ज्ञानी मात्र होइन, ब्रम्हज्ञानी छौँ ।’

यस्ता कुतर्कहरू पुँजीवादीहरू र प्रतिक्रियावादीहरूले गरे त केही थिएन, तर आफूलाई मार्क्सवादी पण्डित सम्झनेहरूले समेत गर्दै आएका छन् । हाम्रा अगाडि मार्क्स, लेनिन र माओहरू फुच्चे हुन् भन्ने जस्ता कुर्तकहरू समेत पेस हुँदै आएकाए छ । आफ्नो पार्टीको लोगो र दस्तावेजहरूमा मार्क्सदेखि माओसम्मको चित्रलाई समेत राख्न नसक्ने, मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको फोटो देख्नै नरुचाउनेहरूले पनि आजसम्म कम्युनिस्ट भन्न छोडिसकेका छैनन् । यस्तो परिस्थितिमा विचारको विकासको प्रश्नलाई अझ गम्भीरतापूर्वक सोच्नु र लागु गर्नु जरुरी छ ।

आजको युग क. लेनिनले भनेजस्तै साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युग हो । परन्तु आफ्नो उच्चतम् एवम् मरणासन्न अवस्थामा पुगेको साम्राज्यवादले आफ्नो आयु लम्बाउनका लागि विभिन्न रूपहरू फेरि्हेरको छ, नयाँ नयाँ चालहरू चलिरहेको छ । ती नयाँ नयाँ रूपहरू, चालहरूलाई पुरानै तरिकाले नष्ट गर्न कठिन र असंभवप्रायः छ । त्यसैले क्रान्तिकारीहरूले नयाँ सोच र विचारहरूलाई संगठित गर्दै साम्राज्यवादलाई पराजित गर्नु जरुरी छ ।

विज्ञान र प्रविधिको विकासले उत्पादक शक्तिको विकास भएको छ । त्यसैले शोषणका स्वरूपमा परिवर्तन आएको छ । मानवअधिकार र श्रमिक अधिकार लगायतका विषयहरूले दमन र उत्पीडनका रूपहरू आवरणमा फेरिएका छन् । तर सारमा ती उस्तै छन् र विद्यमान छन् ।

यही सन्दर्भमा नेकपा (माओवादी केन्द्र)ले विचारको विकासलाई उच्च महत्त्व दिँदै आठौँ राष्ट्रिय महाधिवेशन आयोजना गरिरहेको छ । नेकपा (माओवादी केन्द्र) ले गर्न खोजेको विचारको विकासको कुरा मार्क्सवाद, लेनिनवाद, माओवाद र एनेकपा (माओवादी)को हेटौडा महाधिवेशनबाट पारित ‘नेपाली क्रान्तिको नयाँ संश्लेषण’को विस्थापन नभएर विकास र स्तरोन्नति हो । मार्क्सवादका आधारभूत सिद्धान्तहरू – वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व, निरन्तर क्रान्तिको सिद्धान्त र सर्वहारा सांस्कृतिक क्रान्तिको विचार र दर्शनलाई परित्याग गर्ने नभई नयाँ उचाइमा विकास गर्ने कुरा हो । वर्गसंघर्ष, उत्पादनका लागि संघर्ष र वैज्ञानिक प्रयोगको मान्यतालाई नयाँ उचाइमा उठाउने कुरा हो ।

क. मार्क्सले आफ्नो समयको विश्व परिस्थितिको ब्याख्या गर्नुभयो । क. लेनिन, क. स्टालिन र क. माओले आफ्नो समयको विश्व परिस्थितिको ब्याख्या, विश्लेषण र प्रयोग गर्दै आ–आफ्ना देशमा क्रान्ति सम्पन्न गर्नुभयो । यो हाम्रो समयको विश्व परिस्थितिलाई नयाँ ढंगले विश्लेषण र संश्लेषण गर्दै मालेमावादका आधारभूत मान्यताहरूलाई विकास र विस्तार गर्ने प्रयत्न हो । नेकपा (माओवादी केन्द्र) ले यतिबेला गर्न खोजेको विचारको विकासलाई यसरी नै बुझ्नु जरुरी छ ।

यतिबेला नेपाली कम्युनिस्ट आन्दोलनमा विचारको विकासको प्रश्न भनेको नेपालको इतिहासको ऐतिहासिक तथा भौतिकवादी विश्लेषण गर्दै वर्तमान अवस्थाको सामाजिक, आर्थिक र भौतिक विकासको अवस्थाको अध्ययन, विश्लेषण, संश्लेषण र मूलप्रवाहीकरणको प्रयत्न हो । हाम्रो देशका वर्गहरू र वर्गसंघर्षको स्थिति, राजनीतिक शक्ति सन्तुलनको स्थिति र पार्टीको आत्मगत परिस्थितिको मूल्याङ्कन, समीक्षा र पूनर्विचार हो । यी सबै विषयहरूलाई नेपालको सामाजिक क्रान्तिको सफलताका लागि कार्यान्वयन गर्ने दृढता हो । यो नेपालको जनवादी क्रान्तिका बाँकी रहेका कार्यभारहरू पूरा गर्दै समाजवादी क्रान्तिको आधार तयार गर्ने र निर्णायक विजयको तयारी गर्ने कुरा हो । यो राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै आर्थिक पराधीनताबाट मुक्ति पाउने विषय हो । वैदेशिक हस्तक्षेपहरूलाई निष्फल पारेर राष्ट्रिय सार्वभौमसत्ताको रक्षा र सुदृढीकरण गर्ने विषय हो । नेपालका किसान, मजदुर, सुकुम्बासी र श्रमजीवी जनताको भाग्य र भविष्य आफैले निर्धारण गर्ने सवाल हो । नेपालको इतिहास कुनै राजा–रजौटाहरूले नभएर नेपाली जनताले निर्माण गरेका हुन् भन्ने कुरा स्थापित गर्ने प्रयत्न हो ।

उपसंहार

समग्रमा, यतिबेला नेकपा (माओवादी केन्द्र) गरिरहेको विचारको विकासको प्रश्न विश्व सर्वहारा क्रान्तिका सकारात्मक अनुभव र नकारात्मक शिक्षाहरूलाई ग्रहण गर्दै सिद्धान्त र विचारको विकास गर्ने र नेपाली क्रान्ति सम्पन्न गर्दै विश्व क्रान्तिको नयाँ ढोका खोल्ने प्रयत्न हो । यो महाधिवेशन नेकपा (माओवादी केन्द्र) को मात्र नभएर सिंगो देशको महाधिवेशन भएको कुरा उद्घाटन सत्रका अधिकांश नेता तथा वक्ताहरूले राखिसक्नु भएको छ । यदि आफ्ना अपेक्षित उद्देश्यहरूमा सफल हुन सकेमा यो महाधिवेशन नेपालीहरूको मात्र नभई विश्व क्रान्तिको ढोका खोल्ने महाधिवेशन बन्न सक्नेछ । यससँगै विश्व समाजवादी क्रान्ति मालेमावाद हुँदै प्रचण्ड विचारधाराको युगमा प्रवेश गर्नेछ । कतिपय जडसुत्रवादीहरू, संशोधनवादीहरू र क्रान्तिविरोधी प्रतिक्रियावादीहरूलाई यो कुरा अपाच्य होला, तर विचारको विकास र क्रान्तिको प्रवाह इतिहासको आवश्यकता हो, यसलाई कसैले रोक्न सक्दैन ।

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन यो दिशामा क्रियाशील रहोस् र आफ्ना घोषित उद्देश्यमा सफल होस् । हार्दिक शुभकामना ।

(लेखक नेकपा (माओवादी केन्द्र) निकट किसान नेता हुनुहुन्छ ।)