हे मेरो सरकार, नेपाली नेता-नायक तथा शासक-प्रशासकहरु हो ! के साँच्चै यहाँहरुले नेपाली भूमि/राष्ट्रको र स्वयं आफ्नो स्वत्व र स्वाभिमान अनि अस्तित्व र अस्मिता जोगाउन खोज्नु भएको हो ? यदि हो नै भने यहाँहरुले यसो गर्ने आँट गर्नैपर्छ –
१. सर्वप्रथम नेपाली नेता-शासक यहाँहरु सबैले आफ्ना मन-मस्तिष्कमा रहेका सत्तालिप्सा र संकृर्ण स्वार्थ, असहिष्णुता र अहंकार अनि अनैतिकता र कायरता तथा भारत-अमेरिकाजस्ता साम्राज्यवादी-विस्तारवादी शक्ति राष्ट्रहरुका दलाल, दास, दब्बू र दीन-दयाका पात्र बन्नेजस्ता निकृष्ट विचार र संस्कार पूर्णत: परित्याग गर्नुपर्छ ।
अनि दल र देशका नेता र नायक यहाँहरु सम्पूर्णरुपले सचेत, संगठित, स्वतन्त्र, स्वविवेकी, स्वाभिमानी, स्वाधीन र स्वास्तित्वबोधी पूर्ण देशभक्त हुनुपर्छ । यहाँसम्म कि यहाँहरुले पदबहाल गर्दा खाएको शपथ सम्झँदै आफूले कहिल्यै कसैमाथि कुनै कत्ति कुभलो-कुकर्म, अर्घेलो-अलाग्दो, अन्याय-अत्याचार, घुस-भ्रष्टाचार र हेला-होचो नगर्ने र कसैबाट आफूमाथि त्यस्तो भए-गरिए नसहने र त्यसका विरुद्ध लड्ने र जित्ने वा जित्न नसके मर्ने तर कुनै हालतमा हैरान मान्ने, हार खाने, हरेस खाने, हीनता मान्ने, र हराम बन्ने नगर्ने अथवा भनौँ देशका दुष्ट दुश्मनलाई दह्रो र दमदार दनक दिने तर कुनै पनि अवस्थामा देशका दुष्ट दुश्मनसँग नझुक्ने, नचुक्ने र नबिक्ने कुरामा भित्री दिलदिमागदेखि दृढप्रतिज्ञ हुनुपर्छ ।
२. अहिले गर्न खोजेझैँ संसदभित्र मात्र होइन, संसदबाहिर पनि (देश संसदबाहिरका शक्ति-व्यक्ति आदि सबैको साझा हो । यद्यपि तत्काल कार्यकारी जिम्मेवारीका हिसाबले संसदमा र सरकारमा रहेकाहरुको बढी जिम्मेवारी र भूमिका होला) अनि देशभित्र र बाहिर रहेका नेपाल र नेपालीलाई माया र सहयोग गर्ने सम्पूर्ण देशप्रेमी र न्यायप्रेमी शक्ति-व्यक्ति, संघ-संस्था, विज्ञ-विशेषज्ञ, अभियन्ता-जनता र सामान्यत: सम्पूर्ण मित्रराष्ट्रहरुसँग र विशेषत: हाल हाम्रो त्रिदेशीय सिमानामा समेत समस्या भएको र असल, स्वच्छ र निस्वार्थ सहयोगी घनिष्ट छिमेकी मित्रराष्ट्र भएको नाताले चीनसँग र वर्तमान नेपाल निर्माणको इतिहास ईष्ट-इण्डिया कम्पनीमार्फत बेलायतसँग जोडिएको नाताले ग्रेट ब्रिटेनसँग वर्तमान नेपाल-भारत सीमा समस्या समाधान गर्नका लागि अनुरोध गर्दै आवश्यक साक्षी, सर्जमिन समेतका सम्पूर्ण सुझाव-सहयोग लिई एउटा न्यूनतम् अन्तर्राष्ट्रिय सहमति बनाउनु पर्छ ।
३. भारतीय हस्तक्षेपको विरोध गर्ने सबै देशभक्त नेपालीलाई गरिइरहेको दमन-धरपकड बन्द गरेर गिरफ्तार गरिएकालाई निःशर्त, तत्काल र स-सम्मान रिहा गर्नैपर्छ ।
४. लिम्पियाधुरा, सुस्ता र अन्य जम्मै नेपाली हकभोगका स्थानहरु समेटिएको साँचो, पूर्ण र आधिकारिक नेपाली नक्शा तत्काल प्रकाशन गर्नैपर्छ ।
५. त्यो नक्शालाई सर्वप्रथम संविधान र निशान छापमा समावेश गर्ने अनि तीनै तहका सरकारहरु, सरकारी-अर्धसरकारी अड्डा-अदालत र कार्यालयहरु, शिक्षण संस्थाहरु, कूटनीतिक नियोगहरु र विदेशस्थित नेपाली दूतावासहरु आदि राज्यका अङ्ग-प्रत्यङ्गहरु सबैमा औपचारिक रुपले ती नक्शाहरु अविलम्ब प्रयोगमा ल्याउनैपर्छ ।
६. यति गर्दैगर्दा भारतबाट केही रेस्पोन्स/प्रतिक्रिया भए त्यहीअनुसार गर्ने, नभए तत्काल वार्ताका लागि विषय र समय तोकेर राजनीतिक र कूटनीतिक पहल गर्दै पत्र लेख्ने र प्रधानमन्त्रीले नै फोन गरेर पनि प्रबुद्ध व्यक्तिहरुको समूह (EPG) को रिपोर्ट तत्काल बुझ्न र सोअनुसार गर्न, कालापानीबाट सेना फिर्ता लैजान, देशैभरका अन्य सम्पूर्ण अतिक्रमित भूमिहरु किटानीसहित त्यहाँ कब्जा छोड्न, र अबउप्रान्त नेपाल र नेपालीमाथि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र फौजी आदि कुनै प्रकारको दवाव र हस्तक्षेप नगर्न चेतावनी दिँदै अविलम्ब वार्तामा बस्न अनुरोधमूलक अल्टिमेटम दिनुपर्छ ।
७. सो समयभित्र प्रतिवेदन पनि नबुझ्ने, फेरि पनि कुनै सकारात्मक रेस्पोन्स नगर्ने वा गरेमा पनि आलटाल, बहानाबाजी, ढिलासुस्ती लगायत अन्य केही नकारात्मक प्रतिक्रिया गरेमा अर्थात वार्ता पनि नगर्ने र कालापानीबाट सेना पनि फिर्ता नलग्ने र सम्बन्ध सुधारका कुनै कामकार्वाही नगरेमा सबै घटना विवरण, तथ्य प्रमाण, साक्षी-गवाही, सम्बन्धित क्षेत्रका जनमत आदि आवश्यक सम्पूर्ण सरजाम संकलन, संप्रेषण र सार्वजनिक गर्नुपर्छ ताकि देशविदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय समुदायलाई पनि यथार्थ जानकारी होस् र ती सबैबाट हामीलाई सक्दो सद्भाव-समर्थन र साथ-सहयोग मिलोस् ।
८. त्यसपछि पनि भारतीय हैकमवादी, हेपाहा र मिचाहा शासक वर्ग समस्या सुल्झाउनुको साटो उल्झाउने, बल्झाउने र बङ्गाउनेजस्ता हर्कतहरु गर्न लागेमा यसको नतिजा गम्भीर र भयावह हुने र त्यसको जिम्मेवार भारतीय शासक नै हुने चेतावनी दिँदै निश्चित समय सीमाभित्र कालापानीपारि अर्थात लिम्पियाधुरा नजिकै कालीनदीको वल्लो (पूर्वी) तटमा कुटी गाउँतिर सशस्त्रको bop राख्न बाध्य हुनुपर्ने योजनासहितको जानकारी भारतलाई कूटनीतिक र राजनीतिक माध्यमबाट औपचारिक रुपमै दिई सो कुरा सार्वजनिक समेत गर्नुपर्छ ।
९. तत्पश्चात पनि कुनै सकारात्मक पहल-प्रतिक्रिया नआए कुटीलगायतका आवश्यक सबै अतिक्रमित स्थानहरुमा bop राखेर आफ्नो भूमिको सुरक्षा गर्नुपर्छ ।
१०. यति गर्दापनि कुनै सुनुवाई नहुने वा भएपनि उल्टो दमन-हस्तक्षेपमा उत्रेमा त्यसको राजनीतिक, कूटनीतिक, सामरिक आदि आवश्यक र सम्भव सबै प्रकारको असहमति, अवज्ञा, विरोध, अवरोध र प्रतिरोध गर्नुपर्छ । यस दौरानमा सामान्यतया न्यायप्रेमी भारतीय जनसमुदायहरुको र विशेषगरी भारतस्थित सम्पूर्ण नेपाली (भारतीय नागरिकताप्राप्त र नेपाली नागरिकताप्राप्त) हरुको अत्यधिक र अद्वितीय परिचालनमा विशेष जोड दिनुपर्छ ।
११. यस सन्दर्भमा क. माओको यो महावाणी “Reactionaries are paper tigers” लाई स्मरण गर्दै समयको अन्तरालसँगै सत्य र न्यायले नहार्ने तर असत्य र अन्याय-अत्याचार नफाप्ने अनि सानो र कमजोर ठूलो र बलियो हुने तर ठूलो र बलियो भने सानो र कमजोर हुने कुरामाथि पूर्ण विश्वस्त हुनैपर्छ।अस्तु ।
(लेखक नेकपाका नेता तथा संविधान सभाका सदस्य हुनुहुन्छ ।)