विश्वमा सामन्तवादलाई समूल नष्ट गर्न फ्रान्सेली पुँजीवादी क्रान्तिको जति ठूलो महत्त्व छ पुँजीवाद–साम्राज्यवादलाई समाप्त पार्न र वैज्ञानिक समाजवादी समाजको निर्माण गर्न महान अक्टोबर समाजवादी क्रान्तिको त्योभन्दा ठुलो महत्त्व विश्वमा रहेको छ किनभने विश्व समाज दास युगदेखि पुँजीवादी युगसम्म शोषण-उत्पीडनमा आधारित समाजको रुपमा रहेको हो र समाजवादी क्रान्तिपछि नै शोषण उत्पीडनमुक्त मजदुर-किसान श्रमजीवी वर्गको पहिलो राज्यसत्ता विश्वमा विकसित भएको हो । त्यसैले यो समाजवादी क्रान्ति पुँजीवादी क्रान्तिभन्दा गुणात्मक किसिमले नै माथिल्लो विकसित सभ्यता र अझ माथिल्लो चरणको विश्वको विशिष्ट गुणले युक्त भएको एउटा युगान्तकारी क्रान्ति थियो, हो ।
मार्क्सको शब्दमा भन्ने हो भने ‘पुराना सबै दुःख कष्टबाट मुक्त’ समाजको स्थापना गर्ने नयाँ युग निर्माणकारी क्रान्ति हो यो अक्टोबर समाजवादी क्रन्ति । यस क्रान्तिले विश्वमा शोषित, उत्पीडित तथा पददलित विभिन्न तह र तप्काका जनतालाई सुख, समृद्धि र सुनिश्चित भविष्य निर्माणको नवीन ऊर्जा दियो । आफ्नो जीवन र समाज परिवर्तनप्रति अत्यन्तै अदम्य उत्साह र भविष्यप्रति अपूर्व आशा जगायो ।
विश्व सर्वहारा वर्गको मुक्ति र क्रान्तिको बाटो देखाउने विश्व क्रान्तिका नेता लेनिनको नेतृत्वमा रहेको सोभियत कम्युनिस्ट पार्टी अगुवाइमा रुसमा सम्पूर्ण श्रमजीवी जनता-मजदुर, किसान, मध्यम वर्ग (राष्ट्रिय पुँजीपति) सिपाही, बुद्धिजीवी तथा रुसको जारशाहीबाट शोषित उत्पीडित सम्पूर्ण तह र तप्काका जनता सम्मिलित त्यो रुसी अक्टोबर क्रान्ति रुसको पुरानो पात्रो अनुसार १९१७ को नोभेम्बर ७ का दिन सम्पन्न भएको थियो ।
१९१७ मा रुसमा सम्पन्न यो महान क्रान्तिले रुसमा रोमानोभ वंशको तीन सय वर्षदेखि चल्दै आएको राजतन्त्रलाई समूल नष्ट पारेको थियो र विश्वकै इतिहासमा पहिलो पटक ‘मजदुर-किसान’को राज्य खडा गरेको थियो । लेनिनको देहावसानपछि सोभियत संघका अर्का क्रान्तिकारी नेता स्टालिनको नेतृत्वमा सोभियत समाजवादको निर्माण गर्दै र सोभियत संघलाई बाह्य र आन्तरिक प्रतिकृयावादी पुनरुत्थानावादी शोषक वर्गीय शक्तिको निरन्तरको आक्रमण र हमलाबाट जोगाउँदै सोभियत संघलाई अभूतपूर्व विकासको बाटोमा अग्रसर तुल्याइयो । वास्तवमा ३०० बर्षमा पुँजीवादले गर्न नसकेको चौतर्फी विकास सोभियत समाजवादले ५० बर्षमा हासिल गरेको वस्तुगत तथ्य स्वयं विश्वका विज्ञ पुँजीपति विशेषज्ञहरुले स्वीकार गरेको थियो ।
समाजवादको विकासले हरेक क्षेत्रमा पुँजीवादको एकाधिकारलाई तोडिदिएको थियो भने शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, अन्तरिक्ष अभियान आदिको क्षेत्रमा सोभियत समाजवादले पुँजीवादलाई उछिनिसकेको पनि थियो । विश्वमै पहिलो पटक अन्तरिक्षमा स्पुतनिक नामको यान छोड्ने काम सोभियत समाजवादले नै गरेको थियो ।
अन्तरिक्ष यात्रामा पुगेर फर्किएका विश्व प्रसिद्ध रुसी वैज्ञानिक युरी गागरिनसँग राज्यले खुशी भएर ‘के माग्नु हुन्छ’ भनेर ती वैज्ञानिकसँग प्रश्न गर्दा उनले मात्र ‘आफू कम्युनिस्ट पार्टी सदस्य हुन चाहेको’ इच्छा जाहेर गरेका थिए । त्यतिबेला कम्युनिस्ट पार्टी एउटा सदस्य हुनुको कति ठुलो गौरव र गरिमा रहेको थियो भन्ने कुरा यसबाट पुष्टि हुन्छ ।
वास्तवमा सन् १९१७ को फेब्रुअरीमा रुसमा पुँजीवादी क्रान्ति नै सम्पन्न भएको थियो । त्यसले रुसी राज्यसत्ता अस्थायी रुपमा पुँजीवादी अधिनायकत्वको त्यो संस्थाको हातमा सुम्पिएको थियो जसले जारशाहीबाट रुसी राज्यको शासनयन्त्र आफ्नो हातमा लिएको थियो । त्यतिबेलाको राजनीतिक संघर्षमा रुसी सर्वहारा वर्गको हितलाई लेनिन नेतृत्वको बोल्शेभिक पार्टीले प्रतिनिधित्व गर्दथ्यो । सामन्ती जारशाही शासनको विरुद्धको संघर्षमा उनकै नेतृत्वमा पेत्रोग्राद (१९२४ मा यसलाई लेनिनग्राद भनिएको थियो भने १९९१ पछि सेण्टपिटर्सबर्ग नै भनियो) का मजदुर सोभियतहरु (रुसी भाषामा परिषद्) को स्थापना गर्न थालियो, जुन सोभियतमा आरम्भदेखि नै ती सिपाहीहरु पनि सहभागी थिए, जो वास्तवमा सैनिक पोशाकमा किसानहरु नै थिए । रुसी मजदुर वर्गले त्यसैबेलादेखि नै ट्रेड युनियनहरु कायम गर्न थाल्यो । कुनै आदेश बिना नै ८ घण्टाको कामको दिन लागु गरियो र क्रान्तिको रक्षाका लागि ‘लाल गार्ड’को पनि गठन गरियो ।
यसरी सर्वहारा मजदुर र किसान जनसमुदायको क्रान्तिकारी जनवादी अधिनायकत्व जुन पेत्रोग्रादमा स्थापना गरिएको थियो त्यसलाई रुसभरि स्थापित सोभियतहरुले साथ दिइरहेका थिए । कुनै राज्यसत्ता त थिएन तर शस्त्रास्त्रले सुसज्जित जनताले त्यसको समर्थन गरिरहेका थिए र वास्तवमा अधिकार पनि तिनकै हातमा थियो । यसरी फेब्रुअरी क्रान्तिले दोहोरो शासन कायम गरेर नयाँ क्रान्तिका लागि स्वयम् नै बिउ रोपेको थियो । यस्तो क्रान्तिको अनिबार्यता यही कुराले निर्धारण गरेको थियो कि जारशाहीका विरुद्ध संघर्ष गरिरहेका वर्गहरुमा कुनै वर्ग पनि फेब्रुअरी क्रान्तिको परिणामबाट सन्तुष्ट थिएनन् । अप्रिल १९१७ मा निर्वासित भएका नेता लेनिन रुस फर्किएपछि जनवादी क्रान्तिलाई समाजवादी क्रान्तिमा परिणत गर्ने स्पष्ट रुपरेखाको योजना वोल्शेभिक पार्टीलाई प्राप्त भयो ।
अक्टोबर महिनासम्म रुसको राजनीतिक संकट अझ गहिरो भएर गएको थियो । अस्थायी सरकारले जुन लडाइँ चलाएको थियो त्यसले गर्दा देशमा अकाल र विनाशको माहोल व्याप्त थियो । मजदुर वर्गले पुँजीपति वर्गका विरुद्ध अझ बढी सशक्त संघर्ष गर्न थालेको थियो । पेत्रोग्राद र मस्कोका सोभियतहरुका वरिपरि देशका अन्य औद्योगिक केन्द्रका सोभियतहरु सबै बोल्सेविक बनिसकेका थिए । सरकारबाट जमिन नपाएका रुसी किसानहरुले बोल्सेविकहरुको आह्वानमा आन्दोलित हुदै सामन्त वर्गको जमिन कब्जा गर्न शुरु गरेका थिए । मुख्य मुख्य मोर्चाभित्र रहेका नगर सेनाका बटालियनहरुमध्ये पनि धेरैजसो जनताको हित विरोधी लडाइँबाट थकित भएका थिए र बोल्सेविकहरुकै बाटोमा लागिसकेका थिए ।
मजदुर वर्गको अगुवाइमा अधिकांश जनताको समर्थनको सहारा लिएर बोल्सेविकहरुले लेनिनको नेतृत्वमा सशस्त्र विद्रोहका लागि जनतालाई खुला आह्वान गरे । यस क्रममा १९१७ को अक्टोबर २४ का दिन लेनिन स्मोल्नी भवन पुगे । लाल गार्डका सैनिक तथा बिभिन्न कारखानाका प्रतिनिधिहरु पनि हरेक क्षेत्रबाट त्यहाँ उपस्थित थिए । सर्वहारा विद्रोहको मुख्य कार्यालय, सैनिक क्रान्ति समितिको बैठक त्यसै भवनको तेश्रो तल्लामा निरन्तर चलिरहेको थियो । त्यो भवनमा पुग्ने बित्तिकै लेनिनले विद्रोहको प्रत्यक्ष सञ्चालन आफ्नै हातमा लिए । तत्कालै विभिन्न गाडी र साइकलहरुमा सन्देशबाहकहरु शहरतिर हिँडे र राजधानीका कारखानाहरु, टोलटोल, सैनिक संगठनहरुमा सैनिक क्रान्ति समितिले आदेश दिन थाल्यो ।
पेत्रोग्रादको सर्वहारा र रेजिमेण्टहरुले काम गर्न थाले । सैनिक चौकीहरु र सरकारी कार्यालयहरुमाथि उनीहरुले कब्जा गर्न थाले । २५ अक्टोबर बिहानसम्ममा नेभा नदीमाथिका सबै पुलहरु, केन्द्रीय दूरसञ्चार केन्द्र, आकाशवाणी कार्यालय, पेत्रोग्राद समाचार समिति, रेडियो स्टेशन, रेलवे स्टेशन, विद्युत गृह, बैंक र अन्य महत्त्वपूर्ण सरकारी कार्यालयहरु नौ सेना, लाल गार्ड र सिपाहीहरुले कब्जामा लिइसकेका थिए । शीत महल, जहाँ अस्थायी सरकार रहेको थियो र फौजी इलाकाका मुख्य कार्यालहरुलाई छाडेर बाँकी सबै शहर हतियारबन्द सर्वहारा र क्रान्तिकारी सैनिकको हातमा आइसकेको थियो । अब सरकारी शीत महल कब्जा गर्न लेनिनको आदेशका निम्ति नौसेना, लाल गार्ड र क्रान्तिकारी सीपाहीहरु तयार थिए । यसरी सर्वहारा वर्गको विद्रोहले विजय पाएको थियो ।
भोलिपल्ट सबेरै सैनिक क्रान्ति समितिले लेनिनले ‘रुसी नागरिकहरुको नाममा’ लेखेको ऐतिहासिकआह्वान प्रकाशन गरे । त्यसमा जनसाधारणलाई यो खबर दिइएको थियो कि केरेन्स्की नेतृत्वको अस्थायी सरकारको सत्ता जनताले पल्टाएका छन् र राज्यसत्ता पेत्रोग्रादका सर्वहारा र नगर सेनाको अगुवाइ गर्ने ‘सैनिक क्रान्तिकारी समिति’को हातमा आइसकेको छ । यो क्रान्तिको विजयको खबर तारद्वारा रुसका कुनाकुना र सबै मोर्चाहरुमा पुर्याइयो ।
त्यसै दिन दिउसो लेनिनले पेत्रोग्राद नगर सोभियतको असाधारण बैठकमा सोभियत शासनको कर्तव्यका बारेमा महत्त्वपूर्ण भाषण दिए । त्यसको सार थियोः ‘मजदुर र किसानको क्रान्ति सफल भएको छ’ । अनि २६ अक्टोबरका दिन बिहान सबेरै ५ बजे सोभियतहरुको दोश्रो अखिल रुसी काँग्रेसको अधिवेशनमा के सूचना सुनाइयो भने ‘अस्थायी सरकारको आखिरी किल्ला शीत महलमाथि पनि जनताले कब्जा गरे । केन्द्रका अरु-अरु स्थानमा पनि राज्य शासन सोभियतहरुको हातमा आइसकेको छ’ ।
यसरी सफल भएको श्रमजीवी जनताको महान् अक्टोबर समाजवादी क्रान्तिले विश्वभरिका मजदुर-किसान लगायत सम्पूर्ण श्रमजीवी जनतालाई आफ्नो राज्यसत्ता कायम गर्ने, शोषणरहित वैज्ञानिक समाजवादको निर्माण गर्ने र एउटा सभ्य, सुसंस्कृत, समुन्नत मानवीय समाजको निर्माण गर्ने जुन सन्देश दियो त्यसको दूरगामी प्रभाव विश्वभरि पर्यो । सोभियत समाजवादको निर्माण र विकासले त्यसको अझ पुष्टि गर्यो ।
गम्भीर सैद्धान्तिक विचलन तथा आन्तरिक र बाह्य षडयन्त्रका कारणले ७० वर्षम्म चलेको सोभियत संघ अन्ततः विघटनको संघारमा पुग्यो । तापनि सोभियत समाजवादले विश्वलाई ठुलो शिक्षा दिएको छ र मानव समाजको गन्तव्यलाई प्रष्टसँग उजागर गर्दै फेरि पनि विश्वको एक मात्र सुनिश्चित भविष्यको आशा र भरोसाको विकल्प वैज्ञानिक समाजवाद नै हो भन्ने प्रेरणा निरन्तर दिइरहेको छ । महान अक्टोबर समाजवादी क्रान्तिको यो धेयलाई सही रुपमा बुझेर अघि बढौँ !
(लेखक नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष हुनुहुन्छ ।)