आज फागुन १ गते हामीले जनयुद्ध र जनआन्दोलनका अमर शहीदहरुको स्मृतिमा २५औँ जनयुद्ध दिवस मनाइरहेका छौँ । जनयुद्ध आफैमा शान्तिपूर्ण राजनीतिमा रुपान्तरित भएर पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानसहित देश राजनीतिक स्थायित्वतिर गइसकेकोछ । सोभियत रुसको पतन र रक्षात्मक रहन पुगेको अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई लक्षित गरेर “द एन्ड अफ हिस्ट्री एण्ड द लास्ट म्यान” (The End of History and the Last Man) भन्दै अट्टहास गर्ने साम्राज्यवादी एजेण्ट फुकियामाको निष्कर्षलाई च्यातचुत पार्दै हामीसँग दुई तिहाई बहुमतसहितको कम्युनिस्ट पार्टीको सरकार छ ।
फेरि पनि यसरी रक्तपातपूर्ण आन्दोलनको सम्झना गर्दै दिवसको रुपमा स्मरण गरिरहनुको के औचित्य छ भन्ने सहज प्रश्न/जिज्ञासाहरु उठ्नु स्वभाविक छ । सँगसँगै राजनीतिक चासोपूर्वक गहिरो ध्यान नदिने हो भने खासै यसको औचित्य र अर्थ बुझिँदैन पनि ।
♦ पछिल्लो पटक अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखा परेका सशस्त्र आन्दोलहरु सेटब्याक खाएर रक्षात्मक स्थितिमा पुगेको स्थितिका बिच जनयुद्धले स्वस्फुर्त नेपालको पुँजीवादी जनवादी आन्दोलन पूरा हुने परिस्थिति कसरी निर्माण गर्यो ?
♦ राज-आज्ञा अमान्य गर्ने स्तरसम्मको संयुक्त जनआन्दोलन -२ को पृष्ठभूमि कसरी निर्माण भयो ?
♦ राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्थाका सत्तारुढ पार्टी र सशस्त्र विद्रोह गरेको तत्कालीन माओवादी पार्टी बिच अभूतपूर्व कार्यगत एकता हुने स्थिति कसरी पैदा भयो ?
♦ सम्बत १९३३ का प्रथम शहीद लखन थापा नेतृत्वको आन्दोलनदेखि सम्बत २०६२ सम्म झण्डै १२० बर्ष कुनै न कुनै रुपमा अनवरत लडिएका र गरिएका सशस्त्र/निशस्त्र संघर्ष/आन्दोलनहरु किन निर्णायक तहसम्म पुग्न सकेका थिएनन् ?
♦ जनयुद्धले आफ्ना एजेण्डाहरुलाई शान्तिपूर्ण तरिकाबाट स्थापित गर्दै कार्यान्वयनको तहसम्म पुर्याउन कसरी सफल रह्यो ?
यी र यस्तै यावत पक्षहरुबारे गहिरो विचार विमर्श र संश्लेषण आजको आवश्यकता हो।
♦ जनयुद्धको नेतृत्वले सर्वप्रथम नेपालको राजनीतिक संघर्ष निष्कर्षमा पुग्न नसक्नुको मूल कारण ‘पुच्छरवाद’को समस्या हो भन्ने निष्कर्षमा पुग्नु ।
♦ साठीको दसकदेखि कम्युनिस्ट पार्टीहरु बिच पैदा भएको सैद्धान्तिक मतभिन्नताको शत्रुतापूर्ण बहस र फुटलाई केन्द्रमा राखेर एकताको हात बढाउनु ।
♦ मूलतः युद्ध सुरु गर्नुपूर्व नेपालको राजनीतिक सत्ताको चरित्र, वर्ग विश्लेषण र मुक्तिको बाटोबारे पार्टीमा ठोस वैचारिक राजनीतिक प्रष्टता र एकता हासिल गर्नु ।
♦ ‘विचारले बन्दुकको नेतृत्व गर्छ’ भन्ने सैद्धान्तिक प्रष्टता कायम गर्दै एकपटक बन्दुक उठाई सकेपछि निष्कर्षमा नपुर्याउञ्जेल पछि नफर्कने प्रणको पालना गर्ने वैचारिक नेतृत्वको दृढ अडान र कसिलो कासनले योद्धाहरुमा एउटा ढल्दा अर्को उठ्ने बलिदानी भाव पैदा गर्न सफल हुनु ।
♦ समाजवादी अग्रजहरुका अनुसार “सशस्त्र युद्ध रक्तपातपूर्ण राजनीति हो र शान्तिपूर्ण संघर्ष रक्तविहीन युद्ध हो” भन्ने संश्लेषणलाई पुच्छरवादबाट मुक्त पार्दै स्वतन्त्रतापूर्वक प्य्राक्टिसमा उतार्नु ।
♦ ‘प्रजातन्त्र र राष्ट्रियता एउटै सिक्काका दुई पाटा हुन्’ भन्ने सैद्धान्तिक निष्कर्ष निकाल्दै विगतका आन्दोलनहरु “राष्ट्रियताको मसिहा राजतन्त्र र प्रजातन्त्रको रक्षक साम्राज्यवाद”को मान्यतामा आधारित रहेकोले उत्कर्षमा पुगेर पनि परिणाम निकाल्न असमर्थ भए भन्ने संश्लेण गरिनु ।
♦ “योजनावद्ध आक्रमण र देशव्यापी राजनीतिक परिचालनद्वारा आक्रमणको आवश्यकता र औचित्य पुष्टि गर्ने जनदिशा लागु गरिनु ।
♦ शान्ति वार्ता, संवाद द र युद्ध सँगसँगै लैजाने रणनीतिक दृढता र कार्यनीतिक लचकता अपनाउनु ।
♦ संसदवादी दलहरुसँग निरन्तर वार्ता र निकटबाट संवाद जारी राखिनु ।
♦ राजा विरेन्द्रको वंशनासपछि राजा बनेका ज्ञानेन्द्रको निरंकुशतालाई एकतर्फी युद्ध विरामद्वारा असफल पारिनु ।
♦ नेपाली कांग्रेसले सैद्धान्तिक रुपमा जन्मजात मान्दै आएको ‘संबैधानिक राजतन्त्र’ पदावली आफ्नो विधानबाटै हटाउने परिस्थिति निर्माण गर्न सफल हुनु ।
♦ सरकारको वागडोर सम्हालेका संसदवादी राजनीतिक पार्टीहरुसँग कार्यगत एकता कायम हुनु ।
♦ गाऊँ गाऊँबाट अर्धसामन्ती र अर्धउपनिवेशिक सत्ताका (राजनीतिक र आर्थिक) जरा साफ गरिनु ।
♦ सशस्त्र युद्ध र सशक्त जनआन्दोलनको सफल फ्युजन हुनु आदि महान् जनयुद्धका मुख्य विशेषता हुन् ।
यसरी अपवाद बाहेक जनयुद्ध र जनआन्दोलनका एकपछि अर्को मोर्चा सफल हुँदै जानुका पछाडि क्रान्तिकारी योद्धाहरुले प्रदर्शन गरेको सर्वोच्च त्याग र समर्पणको अद्वितीय प्रदर्शन नै थियो ।
युद्ध विराम, शान्तिवार्ता र बृहत शान्ति सम्झौता, १२ बुँदे समझदारी तथा सशक्त दोश्रो संयुक्त जनआन्दोलन सफल पार्न कुशल नेतृत्व र त्याग समर्पणले सुसज्जित र अनुशासित योद्धाहरुको कारण आजको परिस्थिति निर्माण भएको छ ।
यही थियो रक्तपातपूर्ण राजनीति अर्थात जनयुद्ध जसले आजको परिस्थिति पैदा गर्न सफल रह्यो ।आमूल परिवर्तनकारी युद्धमोर्चामा शहादत प्राप्त गर्नु भएका अमर शहीदहरुप्रति हार्दिक श्रद्धासुमन । हजारौँको संख्यामा बेपत्ता पारिएका योद्धाहरु तथा सयौँको संख्यामा घाइते जीवन बिताइरहनु भएका घाइते योद्धाहरुमा ऐक्यबद्धता तथा उच्च आदर प्रकट गर्दछु ।
यतिबेला देश रक्तविहिन युद्धमा छ । आजको कार्यभार संघीय लोकतान्त्रिक गणतन्त्रको समुचित कार्यान्वयन तथा संविधानले उन्मुखता जनाएको समाजवादी आन्दोलनको आधार तयार गर्नु हुन पुगेको छ ।
‘हामी कम्युनिस्टहरु वैज्ञानिक समाजवादबाट मात्र जनताको आवश्यकता पूरा हुन्छन्’ भन्ने विश्वास राख्दछौँ । ‘संघर्षको रुप फेरिएको हो, संघर्ष सिद्धिएको छैन’ भन्ने हाम्रो मान्यता छ । यहाँ बिराइएको बाटो ‘सामूहिक समर्पण, व्यक्तिगत ब्रह्मलुट’बाट मुक्त गरेर ‘सामूहिक निर्णय र व्यक्तिगत जवाफदेहिता” कायम गर्न जरुरी छ।
अतः २५औँ जनयुद्ध दिवसले नेतृत्व स्थापित हुनुको महत्त्व र ठोस स्थितिको ठोस विश्लेषणसहित जीवनको बाजी लागाउँदै लामबद्ध हुने तागत पैदा गर्नसक्ने नयाँ विचारको आवाश्यकता पूर्ति गर्न मार्गदर्शन गरोस् । यही नै नेपालको राजनीतिक संघर्षहरुको सर्वोच्च संश्लेषणको रुपमा स्थापित युगान्तकारी जनयुद्ध र जनआन्दोलनका अमर शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जली तथा सम्मान हुनेछ । २५औँ जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ।
यो पनि पढ्नुहोस्ः
संसदवादी गलगाँण कि अग्रगमनकारी प्रतिवेदन – क. ओमप्रकाश केसी ‘प्रयत्न’
(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग आबद्ध हुनुहुन्छ ।)