लेफ्ट रिभ्यु अनलाइनः तपाईंको संक्षिप्त परिचय आफै दिनुस् न ।
राजेन्द्रराज पन्तः म काठमाडौँको रक्तकालीमा जन्मे–हुर्केको हुँ । पाटन क्याम्पसबाट डिप्लोमा तहको अध्ययन पूरा गरेको हुँ । अहिले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कामधेनु गाईपालन फार्म सञ्चालन गरिरहेको छु ।
२०३२ सालमा जन्मथलो च्याङ्लीमा वागवानी फार्म सुरु गरेँ । आँप, लिची, रुखकटहर, भुईंकटहर र कागती आदिको व्यावसायिक उत्पादन र बजारीकरणबाट काम थालेँ र डुम्रे बजारमा फलफूल पसल समेत सञ्चालन गरेँ । मेरो कामबाट प्रेरणा लिएर थुप्रै मानिसहरुले डुम्रे क्षेत्रमा फलफूल पसल सञ्चालन गर्दै आउनुभएको छ । २०५२ सालबाट म भने गाईपालनतिर लागेँ । मेरो फार्म विकास भएपछि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई, अधिकांश कृषि र पशुपन्छी विकास मन्त्रीहरू सहित धेरै नेताहरु यहाँ आउनुभएको छ । सरकारबाट मलाई २०७५ सालमा देशकै सर्वोत्कृष्ट कृषक पुरस्कार प्रदान गरियो । दैनिकजसो विभिन्न भ्रमण टोलीहरु आउँछन् । वर्षको करिब ४० हजार मानिसहरु यहाँ आएर हेर्नुहुन्छ । यसैबाट अहिले देश–विदेशमा मेरो एक खालको परिचय पनि बनेको छ । म र मेरो परिवार आफ्नो फर्म र कामबाट पूर्णरूपमा सन्तुष्ट छौँ ।
लेफ्ट रिभ्यु अनलाइनः तपाईंको फार्ममा गाई कति छन् ? आम्दानी कति हुन्छ ?
राजेन्द्रराज पन्तः हाल हाम्रो गाई फार्ममा जर्सी, होलिस्टिन र साहिवाल जातका ३ सय जति गाईहरु छन् । भर्खरै मात्रै केही गाई पशु प्रजनन केन्द्र, पोखरा र अन्य व्यावासायिक किसानहरुलाई बेचेँ । हाम्रो फार्मबाट अहिले बाच्छाबाच्छीलाई पुग्नेजति ख्वाएर अहिले दैनिक करिब १ हजार ३ सय लिटरजति दूध बिक्रिमा जान्छ । त्यसबाट मासिक करिब २१ लाख रुपैयाँजति आम्दानी हुन्छ । सिजनमा दूध यो भन्दा धेरै हुन्छ र दूध जति बढ्यो, आम्दानी बढ्ने कुरा स्वभाविकै भइहाल्यो ।
लेफ्ट रिभ्यु अनलाइनः काठमाडौँमा जन्मेको शिक्षित मान्छे तपाईं । कृषिमै लाग्ने सोच चाहिँ कसरी बनाउनु भयो ?
राजेन्द्रराज पन्तः धेरै मानिसहरूले कृषिलाई खान नपुग्ने र पढाइलेखाई नभएकाले गर्ने पेशा सम्झन्छन् । म त काठमाडौँको एउटा खान्दानी परिवारमा जन्मेको हुँ, एउटा बडाहाकिमको परिवारमा । म केही नपुगेर कृषितर्फ लागेको होइन । पाटनबाट वाणिज्यशास्त्रमा डिप्लोमा गरेपछि बुवाले मलाई सैनिक अधिकृत वा सरकारी (निजामती) कर्मचारी बनाउन चाहनु हुन्थ्यो ।
तर म भने केही नयाँ र उदाहरणीय काम गर्न चाहन्थेँ । यसो सोच्दा कृषिबाट मैले एकैसाथ आफ्नो प्रगति, सामाजिक दायित्व र युवाहरुमा उत्प्रेरणा विकास गराउने सबै कुराहरु पूरा गर्न सकिने देखेँ ।
च्याङ्लीमा पहिलेदेखि नै हाम्रो पुर्ख्यौली जग्गा थियो, तर त्यति धेरै विकास हुन सकेको थिएन । पछि पृथ्वी राजमार्ग निर्माण भएपछि भने सो क्षेत्रमा जग्गाले राम्रो मूल्यांकन पाउने अवस्था आयो र अन्य कामहरु गर्नको निम्ति यातायातको पहुँचले निकै सहयोग पुग्यो । त्यसपछि मैले कृषि क्षेत्रमा लाग्ने सोच बनाएँ र लगानी गर्न थालेँ ।
२०३२ सालबाट त्यहाँ फलफूल खेती गरेँ । फलफूलका लागि आवश्यक गोबर मल पुराउने र दूध पनि बेच्ने हिसाबले सुरुमा २०३४ सालमा ७ वटा भैँसी किनेर पाल्न थालेँ र करिब ३ दर्जन पुर्याएँ । तर पछि २०५२ सालबाट भने म पूरै गाईपालनतर्फ मोडिएँ । यसो तुलना गरेर हेर्दा भैँसीबाटभन्दा गाईबाट बढी दूध प्राप्त हुने र आर्थिक लाभ पनि राम्रो हुने बुझेपछि मैले त्यसैलाई आफ्नो मूल व्यवसाय बनाएँ । सन् २००८ मा जापान गएर गाईपालन सम्बन्धी १९ दिने तालिम पनि लिएर आएँ । त्यसपछि त्यसैमा समर्पित भएर लागेको छु ।
लेफ्ट रिभ्यु अनलाइनः तपाईंको फार्ममा कति मानिसले रोजगारी पाएका छन् ?
राजेन्द्रराज पन्तः हामी परिवारका मानिसहरु सबैले काम गर्छौं । त्यसबाहेक २० जना कामदारले काम गरिरहेका छन् । फार्ममा हाल दूध दुहुनका लागि ४ वटा मेसिनहरु छन्, घाँस टुक्राउने काम पनि मेसिनले गर्छ । पानीको फोहोराले गोठ सफा गरिन्छ । ती नहुँदा अझ धेरै मान्छे लाग्थ्यो ।
लेफ्ट रिभ्यु अनलाइनः यति धेरै गाईलाई घाँसको व्यवस्था कसरी गर्नुभएको छ ?

राजेन्द्रराज पन्तः म घाँसमा आधारित पशुपालनमा विश्वास गर्छु । त्यसैले तीन सय रोपनी क्षेत्रफलमा नेपियर, सेटेरिया, सिम्बुसेतिया, डेस्मोडियम, मोलाटो, गायो, गिदरी, दबदबे, किम्बु, बदामे घाँस, स्टाइलो लगायतका १८ थरीका घाँस खेती गरेका छौँ । नेपियरमा पनि थिन नेपियर, मोठ नेपिएर, सिओथ्री र सुपर नेपियर गरेर ४ थरी छ । फार्म वरिपरिको अधिकांश क्षेत्रमा घाँस खेती नै गरिएको छ । हामीले वर्षको ८-९ महिना पूरै आफैले उत्पादन गरेको घाँस खुवाउँछौँ । तर, मेरा पशु धेरै भएको हुनाले सुख्खा याममा ३-४ महिना भने पराल किनेर पनि प्रयोग गर्छौं ।
लेफ्ट रिभ्यु अनलाइनः फार्मको बिस्तार सम्बन्धी तपाईंका आगामी योजना के छन् ?
राजेन्द्रराज पन्तः हाम्रो फार्ममा रहेका प्रत्येक गाईले दैनिक १५ देखि ३० लिटरसम्म दुध दिन्छन् र सुख्खायाम छोडेर दैनिक करिब १ हजार ५ सय लिटर जति दूध आफ्नै फार्ममा उत्पादन हुँदै आएको छ । अहिले हामी हाम्रो फार्मबाट उत्पादन भएको दूध भक्तपुरको खरिपाटी डेरीमार्फत विक्रि–वितरण गर्दै आएका छौँ । आगामी दिनमा आफ्नो फार्म बिस्तार गरेर यसको दूध उत्पादन क्षमता बढाएर करिब ५ हजार लिटर प्रतिदिन पुर्याउने योजनामा छौँ । अहिलेसम्म नेपालमा आफैंले गाईपालन गरेर आफैं डेरी सञ्चालन गर्ने कार्य नभएको हुनाले अब मैले एउटा आफ्नै डेरी सञ्चालन गर्नेबारे पनि सोच्दैछु । यसबाट अरु गाई–भैँसी पाल्ने किसान साथीहरुलाई पनि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु ।
लेफ्ट रिभ्यु अनलाइनः दूधको बजारको स्थिति के छ ? कुनै समस्या त छैन नि ?
राजेन्द्रराज पन्तः साह्रै राम्रो प्रश्न गर्नुभयो । हेर्नोस्, यो दूधको बजारको कुरो पनि गज्जबकै छ । नेपालमा अहिलेसम्म पनि दूधका लागि आन्तरिक बजारको माग कति छ भन्ने बारेमा ठोस अध्ययन हुन सकेको छैन । नेपालमा भारत र अरू मुलुकबाट आउने धूलो दूधको मात्रा कति छ भन्ने सम्बन्धमा पनि अहिलेसम्म कुनै अध्ययन भएको छैन । भारतबाट धूलो दूध ल्याउन आवश्यक हो कि होइन, त्यो पनि प्रष्ट छैन । यो साह्रै दुःखद कुरा हो । अब त झन् विदेशबाट जहाज चढाएर गाई ल्याउने कुरा पनि सुनिँदैछ । अहिले नेपालमा सञ्चालित ठूला डेरी उद्योगहरुले नेपालमा दूधमा आत्मनिर्भर भएको दावी गर्दै आएका भएपनि नेपालमा अहिले पनि ठूलो परिमाणमा पाउडर दूधको आयात भइरहेको छ र सोही कारणले मात्र दूधको आपूर्ति हुने गरेको छ । नेपालमा एकातिर बाहिरबाट कहिले खुलेआम त कहिले लुकाइछिपाई पाउडर दूध ल्याउने गरिएको छ भने अर्कोतिर बेलाबेलामा मिल्क होलिडेको सामना गर्नुपर्ने र किसानहरुले सडकमा दूध पोख्नुपर्ने अवस्था पनि छ । दूध सङ्कलन केन्द्रबाट निश्चित ठाउँमा दूध सङकलन गर्ने क्रममा जति समयमा सङ्कलन भइसक्नुपर्ने हो, त्यो हुन सकेको छैन । यसो हुनुमा अहिलेको सडकको अवस्थाले पनि प्रभावित गर्ने गरेको छ । दूध ढुवानी गर्ने गाडीहरु बाटोको कमजोर अवस्थाको कारण छोटो दुरीकै लागि लामो समय लाग्ने अवस्था छ । करिब डेढ सय किलोमिटर दुरीको निम्ति पनि दूध बोकेको गाडी ७/८ घण्टासम्म जाममा रहनुपर्ने अवस्था छ । यसरी दैनिक जाममा रही अर्को ठाउँमा दूध पुर्याउँदा सङ्कलन भएको दूधको गुणस्तर कायम गर्ने कुरा निकै चुनौतीपूर्ण हुन जान्छ । तरकारी दुवानी कार्य पनि निकै गाह्रो तवरले गर्नुपर्ने अवस्था छ । यसको प्रत्यक्ष प्रभाव उपभोक्ताहरुमा नै पर्ने गर्छ ।
लेफ्ट रिभ्यु अनलाइनः नेपालमा कृषिको व्यावसायीकरण कसरी गर्न सकिन्छ ? सरकारले के गर्नुपर्छ ?
राजेन्द्रराज पन्तः नेपालमा अहिले कृषिको व्यावसायीकरण र आधुनिकीकरणको चर्चा हुने गरेको छ । तर यहाँको भौगोलिक स्थिति, टुक्रे खेती प्रणाली, आधुनिक उपकरणमा सहज पहुँच नहुनु, किसानहरुमा आवश्यक ज्ञान नहुनु जस्ता कारणहरुले अधिकांश नेपाली किसानहरुको आधुनिक कृषिमा पहुँच पुग्न सकेको छैन । आवश्यकता अनुसारका गुणस्तरीय मल, बिउबिजन जस्ता न्यूनतम् सामग्री पनि सहज रुपमा पाइँदैन । प्रत्येक बर्ष खसीबोका लगायतका अन्य कृषि उत्पादनहरु विदेशबाट आयात हुँदै आएका छन् । कृषिमा उत्पादकत्व बृद्धि हुन सकेको छैन । यस क्षेत्रबाट युवा पलायन बढेको छ । नेपाललाई कृषिप्रधान देश भनिँदै आएको छ, तर सबैथोक आयात गर्नुपर्ने अवस्था छ । राज्यबाट कृषिलाई माथि उठाउन पर्याप्त सहयोग उपलब्ध हुन सकेको छैन । व्यावसायिक कृषिको लागि चाहिने हाते ट्याक्टर, टिलर, मिनिटिलर आदि कृषि यन्त्रहरुको बारेमा पनि एकातिर किसानलाई पर्याप्त ज्ञान छैन भने अर्कोतिर ती सजिलै पाउन गाह्रो छ । किसानले किनेर ल्याइहाल्यो भने पनि एक पटक बिग्रेपछि बनाउने ठाउँ छैन, थन्काउनु पर्छ । तिनका पार्टपुर्जा र मर्मतको बारेमा दक्ष ज्ञान भएका मान्छे छैनन् । त्यसकारण नेपालमा आधुनिक कृषि कार्य नेपालमा अघि बढ्न सकेको छैन ।

नेपालका सबै क्षेत्रमा कृषिको निम्ति एकै किसिमको संभावना छैन । कमजोर सडक अवस्था अर्को समस्या बनेको छ । विभिन्न ठाउँहरुमा उत्पादन हुने वस्तुहरु सडक र यातायातको अभावमा बजारसम्म पुर्याउन सकिएको छैन । ग्रामीण क्षेत्रमा कृषि प्रबर्द्धनलाई लक्षित गरी कृषि सडक समेत आवश्यक छ । अहिले पनि नेपालका ग्रामीण क्षेत्रमा उत्पादित स्याउ, सुन्तला लगायत उत्पादनहरु सहरी क्षेत्रमा आउनै नसकी गाउँमा नै कुहेर नष्ट भइरहेका छन् । राज्यको तर्फबाट कृषिको निम्ति आवश्यक न्यूनतम पूर्वाधारहरु समेत उपलब्ध गराउन सकेको छैन । नेपालमा अहिले जुन क्षेत्रमा काम गरेपनि नेपालीहरुमा अहिलेसम्म निर्वाहमुखी तवरले काम गर्ने प्रचलन मात्र छ, जसले गर्दा ठूलो परिमाणमा काम गर्न सकिएको छैन । यसले गर्दा हाम्रो अवस्था माथि उठ्न नसकेको हो । आगामी दिनमा पनि कृषि क्षेत्रलाई अझ राम्रो तवरले व्यवस्थापन गर्न नसक्ने हो भने कृषि क्षेत्रको अवस्था माथि उठ्न सक्दैन । कृषिको विकासबिना देशको विकास हुन सक्दैन, सरकारले भनेको समृद्धि हासिल हुन सक्दैन ।
लेफ्ट रिभ्यु अनलाइनः सरकारले यो क्षेत्रमा गर्नुपर्ने कुरा अझै धेरै छ ?
राजेन्द्रराज पन्तः हो । सरकारले कृषि क्षेत्रको विकासमा गर्नुपर्ने कामहरु धेरै छन् । कुनै पनि देशलाई माथि उठाउन त्यो देशको कृषि क्षेत्रको अवस्थाले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । मानिस जन्मिएपछि बाँच्नलाई उसलाई सबैभन्दा पहिले खाद्यान्न आवश्यक पर्छ । कृषिको उत्पादन र उत्पादन वृद्धिमा हामीले ध्यान दिन सकेनौं भने हाम्रो देशको अवस्था माथि जान सक्दैन । खानै नपाए के को समृद्धिको कुरा ? कृषि क्षेत्रको विकास भए मात्रै देशको अवस्था माथि उठ्न सक्छ, समृद्धि हासिल हुन्छ । यसर्थ कृषि क्षेत्रमा आत्मनिर्भर हुन सकेमात्र अन्य क्षेत्रमा प्रगतिको लागि ढोकाहरु खुल्छन् ।
तर तीनै तहका सरकार किसानका समस्यामा गम्भीर हुन सकेको अवस्था देखिएन । हेर्नोस्, म व्यवहारिक कुरा भन्छु । नेपालको जमिनलाई कृषि उत्पादनको हिसाबले अब्बल, दोयम, सीम, चाहार गरी ४ किसिमले वर्गीकरण गरिएको थियो । तर अहिले मोटरबाटोले छोएको वा नछोएको आधारमा विभाजन गरेर निकै महँगो राजस्व तिर्नुपर्ने भएको छ । नेपाल सरकारले कृषकहरुका पीडामा कुनै ध्यान विचार नै नगरी निकै महँगो रकम राजस्व बुझाउनुपर्ने अवस्था सृजना गर्दा कृषि कार्यबाट नेपालीहरु अझ पलायन हुने र सम्भव रहे सम्म जग्गालाई कृषिको निम्ति नभई घरघडेरीको रुपमा बिक्री गर्ने परिस्थिति सृजना हुने देखिएको छ । जमीनको खण्डीकरण अझ बढेर जाने सम्भावना छ । बरु जग्गाको कर कम नै राखेर खरिद बिक्रि क्रममा भने राजस्व अलि बढी लगाएको भए जग्गा खण्डीकरण हुनबाट बचाउन सहयोग पुग्न सक्थ्यो । तर अहिलेको नीतिगत व्यवस्थाले समस्या सृजना भएको छ ।
अहिले गाईपालन, बाख्रापालन, अन्नबाली तथा तरकारी खेती गर्ने कृषकहरुलाई समेत राज्यले कर लगाएको छ । खासमा के गर्न खोजेको हो ? हामीले बुझ्न सकेका छैनौँ । नेपालमा कृषि क्षेत्रमा कर बापत तिर्नुपर्ने रकम अत्यधिक बढेको यो पहिलो पटक हो । राज्यले पनि विचार गर्नुपर्ने कुरा हो कि कृषि क्षेत्र भनेको धेरै नाफामूलक क्षेत्र होइन । राष्ट्रको आर्थिक अवस्था माथि उठाउन यस क्षेत्रको प्रबर्द्धनमा जोड दिनुपर्छ ।
अहिले नेपालमा सबै किसिमका कृषकहरु निकै नै समस्या छन् । व्यावसायिक तवरले कृषि कार्य अघि बढाउने नारा अघि बढाउँदै गर्दा कृषकलाई नै निचोर्ने गरी ल्याइएको कर नीतिले नेपालको कृषि क्षेत्र माथि उठ्न सक्दैन ।
अहिलेसम्म नेपालका बैंकहरुले कमजोर आर्थिक अवस्थाका नेपालीहरुलाई सहयोग गर्ने किसिमले वित्तीय सहयोग उपलब्ध गराउन सकेका छैनन् । अचल सम्पत्ति धितो स्वरुप राख्नुपर्ने अवस्था छ । व्याजदर महँगो छ । बैंकबाट किसानहरुले पनि सुविधा र फाइदा लिनसक्ने किसिमले नीतिगत व्यवस्था गर्नु जरुरी छ ।

लेफ्ट रिभ्यु अनलाइनः यी समस्याको समाधानका लागि के गर्नुपर्ला त ?
राजेन्द्रराज पन्तः नेपालमा कृषि क्षेत्रको सम्भावना राम्रो हुँदाहुँदै पनि यसतर्फ राज्य पक्षको ध्यान जान नसकेको कारण कृषि क्षेत्र उपेक्षित बनेको हो । साँच्चै सरकारले कृषि क्षेत्रलाई माथि उठाउने हो भने सबैभन्दा पहिले यसले कृषि क्षेत्रप्रतिको आफ्नो दृष्टिकोण बदल्नु पर्छ । किसानका लागि बिजुली, पानी, मल, बिउबिजन, दाना लगायतका वस्तुहरु सहज रुपमा उपलब्ध गराई किसानले उत्पादन गरेका वस्तुहरुको बजार समेत ग्यारेन्टी गर्नुपर्छ । तर अहिलेसम्म यस्तो पहल हुन सकेको छैन । अहिलेसम्म कृषकहरुका लागि न त राज्य पक्षले विद्युत, पानी लगायत अति आधारभूत वस्तुहरु नै उपलब्ध गराएको छ, न कृषिमा काम गर्न चाहने व्यक्तिलाई लक्षित गरी प्रोत्साहनमूलक कार्य गर्न सकेको छैन । जे गरेको छ, ती पनि वास्तविक किसानकोमा पुगेका छैनन् ।
नेपाललाई दूधमा आत्मनिर्भर बनाउन नेपाल सरकारले ठोस योजना र कार्यक्रमहरु ल्याउनु आवश्यक छ । यस्तो अवस्थामा नेपालमा कृषि क्षेत्रलाई माथि उठाउनको निम्ति कृषि र पशुजन्य उत्पादनको नेपाली माग ठम्याई सोही बमोजिम दिगो विकासको अवधारणा अनुसार अघि बढ्नुपर्छ ।
अमेरिकालाई नै हेरौँ न । अहिले विश्वमा अमेरिकालाई सबैभन्दा सम्पन्न देशको रुपमा मान्दै आइएको छ । यो कसरी सम्भव भयो भन्ने कुरा बुझ्नु परेन हामीले । कृषिमा अमेरिकाको विश्वबजारमा राम्रो पहुँच पुराएको छ । राज्यले धेरै ध्यान दिएको छ । अनुदान र अरु सहयोग त्यस्तै छ । कृषिको निम्ति आवश्यक घाँस समेत अमेरिकाले निर्यात गर्दै आइरहेको छ । अहिले पनि निकै राम्रो तवरले मकै उत्पादन गरिँदै आइएको छ, तरकारी र फलफूल अत्यधिक उत्पादन र निर्यात हुने गरेको छ । ३ प्रतिशत जनसंख्याले उत्पादन गरेर देशवासी सबैलाई पुर्याएर निर्यात गर्न कसरी संभव भयो ? खोज्नु र सोच्नु पर्यो, सिक्नु पर्यो ।
कृषि क्षेत्र अहिलेसम्म नेपालमा मुनाफामा जान निकै कठिन क्षेत्रको रुपमा रहेको कुरालाई समेत सम्बोधन गरी आकर्षक क्षेत्रको रुपमा विकास गर्नु जरुरी छ । प्रचारमुखी मात्रै भएर हुँदैन, कामकाजी हुनुपर्यो । परिवर्तन भएको जनताले अनुभूति गर्नुपर्यो । कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार हुँदा पनि केही भएन भने कहिले हुन्छ त ? तीनै तहका सरकारमा बसेका नेताहरुले यो कुरा बुझ्नु पर्यो । मौका आउँछ पर्खिदैन, बगेका खोला फर्किंदैन । केही गर्ने हो भने यो साह्रै राम्रो मौका हो ।
लेफ्ट रिभ्यु अनलाइनः तर अहिले त तीन वटै तहको सरकारले किसानहरुका लागि अनुदान दिएको छ नि ?
राजेन्द्रराज पन्तः अहिले कृषिमा क्षेत्रमा काम गर्न चाहनेलाई अनुदान दिने भनिएको छ । केही समयदेखि ठूला ठूला प्रोजेक्टहरु पनि आएका छन् । अहिले वैदेशिक रोजगारीबाट फर्किएका तथा नेपालमा नै अध्ययन गरेका व्यक्तिहरुको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने निर्णय गरिएको छ । विगतमा २ लाख रुपैयाँको सीमा तोकेर युवा स्वरोजगार कोषमार्फत सहज कर्जा उपलब्ध गराउने भनियो । त्यसबाट कत्तिको सहज रुपमा विकास सम्भव भयो ? यसबारे हामीले कहिल्यै सोचेका छौँ कि छैनौँ ? कृषिमा काम गर्न चाहनेहरुलाई राज्यबाट दिने अनुदान रकम बढाइएको छ । यसरी अनुदान स्वरुप उपलब्ध गराइने रकम कत्तिको आवश्यक हो र साँच्चि यसले कृषि क्षेत्रलाई माथि उठाउन सहयोग गरिरहेको छ त ? यो रकम वास्तविक कृषकको पहुँचमा पुग्न सकेको छ कि छैन ? त्यसबाट वास्तविक किसानहरु लाभान्वित हुन सकेको छन् कि छैनन् ? अनुदान नीतिहरु तय गर्दा हामीले यी विषयहरुको बारेमा अध्ययन गर्यौँ कि गरेनौं ? यी कुराहरु निकै महत्वपूर्ण छन् । हाम्रो अवस्था अबको १०–१५ वर्षमा कस्तो होला भन्ने बारेमा हामीले अहिले नै ध्यान दिनु जरुरी छ ।

लेफ्ट रिभ्यु अनलाइनः नेपाली युवाहरुलाई के सुझाव दिनुहुन्छ ?
राजेन्द्रराज पन्तः हेर्नोस्, भन्न त हामीले युवाहरु विदेश पलायन भए भन्छौँ तर नेपाली युवाहरु यहीँ अवसर चाहन्छन् । यहाँ अवसर नपाएपछि न विदेश जान परेको हो । नत्र कसलाई रहर हुन्छ र ? गाईपालनमा मलाई मेरा छोरा-बुहारीले पनि सघाइरहेका छन् । ५ वटा गाई मात्र राम्ररी पाल्ने हो भने विदेशमा हुने कमाई स्वदेशमा नै गर्न सकिन्छ । ५ वटा गाईको दुध विक्रीबाट दैनिक हजार आम्दानी भएपनि महिनाको ३० हजार सजिलै कमाउन सकिनेछ, आखिर विदेश गएर कमाउने पनि त्यति नै हो ।
नेपाली युवाहरु हरेक कार्यमा सक्षम छन् । मलेसियाको विकास नेपालीले गरेको त हो । मलेसियामा दुःख गर्ने नेपालीले यहाँ गर्न सक्दैन ? नेपालमा युवाहरुले प्रगति गर्न नसकेको त यहाँ उनीहरुले राम्रो वातावरण प्राप्त गर्न नसकेर हो । युवाहरुलाई देशमै बसेर काम गर्ने वातावरण सरकारले बनाउनु पर्छ । वातावरण बनाउन सकियो भने युवाहरु यहीँ बस्छन् र यहीँ बसेर अमेरिका, युरोप र अष्ट्रेलियामाभन्दा धेरै कमाउन सक्छन् ।
लेफ्ट रिभ्यु अनलाइनः अन्त्यमा हाम्रो अनलाइन मार्फत केही सन्देश दिन चाहनुहुन्छ ?
राजेन्द्रराज पन्तः तपाईंको यो लेफ्ट रिभ्यु अनलाइन मैले नियमित हेर्ने गरेको छु । राजनीतिमा विचारको खडेरी परेको बेला तपाईंहरुले जसरी राजनीतिक–वैचारिक काम गर्नुभएको छ, त्यो अत्यन्तै महत्त्वपूर्ण छ । म तपाईंको अनलाइनको सफलताको कामना गर्न चाहन्छु ।
साथै, आम किसानहरुलाई एकताबद्ध भएर कृषि क्षेत्रमा लाग्न अनुरोध गर्दछु । र, आफ्ना छोराछोरीलाई पनि ‘स्वदेशमै बसेर काम गर्न सकिन्छ, अमेरिका, युरोप वा अष्ट्रेलिया नगई नेपाल आमाको सेवामा समर्पित हुँदै पनि पर्याप्त पैसा कमाउन र सुख-सुविधा पाउन सकिन्छ’ भन्ने शिक्षा दिनु जरुरी छ । सबैलाई यही अनुरोध गर्न चाहन्छु । धन्यवाद ।