बिसौँ शताव्दीकी एक सशक्त दार्शनिक, चिन्तक, लेखिका तथा नारीवादी नेतृ सिमोन द बोवुआरका सन् १९७२ देखि १९८२ को बिचमा जर्मन पत्रकार एलिस स्वेर्जरले विभिन्न सन्दर्भमा लिएका विचारोत्तेजक अन्तर्वार्ताहरू समेटिएको पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’ को दोस्रो संस्करण बजारमा आएको छ । ‘एम्मा’ म्यागेजिनकी संस्थापक तथा प्रधान सम्पादक, चर्चित स्तम्भकार एवम् ५० भन्दा धेरै पुस्तकहरूकी लेखिका एलिस स्वेर्जरले नारीवादी आन्दोलनलाई केन्द्रमा राख्दै सिमोन द बोवुआर स्वयम् र जाँ पाल सार्त्रको निजी जीवनलाई समेत विषयवस्तु बनाएर गरेका कठोर प्रश्नहरूको सरल र मिजासिलो जवाफले भरिएको यो पुस्तक मातृत्व, विवाह संस्था, महिलाको यौनिकता, घरेलु श्रम, नारी-पुरुष सम्बन्ध, नवोदित स्त्रीत्व, नारीवाद, वर्गसंघर्ष र नारीवादी आन्दोलनको अन्तरसम्बन्ध लगायतका विषयमा फराकिलो ज्ञान र जानकारी राख्न चाहनेहरूका लागि एक महत्त्वपूर्ण सन्दर्भ सामग्रीको हो ।
नारीवादी आन्दोलनमा सिमोन द बोवुआर आफैमा एक सुपरिचित नाम हो, एक सशक्त हस्तााक्षर हो । उनको कीर्ति ‘द सेकेन्ड सेक्स’ विश्वचर्चित छ, जुन रमेश सुनुवारको अनुवादमा ‘महिला’ नामबाट प्रकाशित छ । यसले प्रकाशनको समयमा मात्र नभएर अहिले पनि नारीवादी आन्दोलनको वैचारिक खुराकको काम गरिरहेको छ । समाजवादी तथा नारीवादी आन्दोलनबारे सामान्य ज्ञान भएका र राजनीति, समाजशास्त्र र शैक्षिक क्षेत्रमा चासो राख्ने सचेत मानिसहरूमध्ये यो पुस्तक नपढ्ने मानिस बिरलै होलान् । ‘द ब्लड अफ अदर्स’, ‘हु श्याल डाई’, ‘अल म्यान आर मोर्टल’, ‘द मन्दारिन’, ‘मेमोरयर्स अफ अ ड्युटिफूल डटर’, ‘द प्राइम अफ लाई’, ‘फोर्स आफ सर्कमस्ट्यान्सेस’ र ‘अल सेड एन्ड डन’ जस्ता विश्वचर्चित पुस्तकहरूकी लेखिका सिमोन विश्वभरको नारी मुक्ति संघर्षका लागि एक प्रेरणाकी स्रोत हुन् । सन् १९८६ अप्रिल १४ मा मृत्यू हुनुपूर्वसम्म उनी निरन्तर नारी मुक्ति र संघर्षको काममा लागिरहिन् ।
निरन्तर रूपमा विविध विधाका पुस्तकहरू नेपाली पुस्तक बजारमा ल्याइरहेको इन्डिगो इन्क प्रा.लि., काठमाडौँले एलिस स्वेर्जरको ‘सिमोन द बोवुआरः कन्भरसेसन्स १९७२-१९८२’ नामक पुस्तकलाई सागर चन्दको अनुवादमा तयार गरी बजारमा ल्याएको हो । प्रायः नेपालीमा अनुवाद गरी तयार गरिएका पुस्तकहरूको भाषा अति जटिल, अपूर्ण र अस्पष्ट खालको पाइन्छ । तर सैद्धान्तिक विधाको कीर्ति, त्यसमा पनि अन्तर्वार्ताहरूको संग्रह, हुनुको बाबजुद पनि प्रस्तुत पुस्तकको अनुवाद र भाषा-शैली एकदमै सरल, सरस र सललल बग्ने खालको छ । प्रत्येक प्रश्न, पृष्ठ र अध्याय पढ्न सुरु गरेपछि अन्त्य नगरी बिचमा छोड्न मन लाग्दैन ।
विभिन्न नौ अध्यायमा संचरित १४२ पृष्ठको प्रस्तुत पुस्तक मूलतः एलिस स्वेर्जरकै भूमिका लेखनको रूपमा सन् १९८२ मा लिखित “सिमोनः दासत्वलाई नियति मानेर बस्ने छुट छैन” भन्ने अध्यायबाट सुरु हुन्छ, जसमा एलिसले सिमोन द बोवुवारको संक्षिप्त परिचयसहित उनले नारीवादी आन्दोलनमा खेलेको भूमिका र यस पुस्तक प्रकाशनको सन्दर्भ खुलाएकी छिन् ।
पुस्तकमा एलिसले सिमोनसँग सन् १९७२ मा फ्रान्सको पेरिसमा लिएको ‘सत्ता लिंगमा राखिएको छ’ शीर्षक चर्चित अन्तर्वार्ता, सन् १९७३ मा इटालीको रोममा लिएको ‘हामी आलोचनाभन्दा पर छैनौँ’ शीर्षक अन्तर्वार्ता, सन् १९७६ मा फ्रान्सको पेरिसमा लिएको ‘महिलालाई कमजोर बनाउने स्त्रीयोचित गुणको खेल’ शीर्षक विचारोत्तेजक अन्तर्वार्ता, सन् १९७८ मा फ्रान्सको पेरिसमा लिएको ‘महिलासँग गुमाउनलाई केही छैन’ शीर्षक गहन अन्तर्वार्ता, जसलाई पुस्तकको नाम दिइएको छ, सन् १९८० मा फ्रान्सको पेरिसमा लिएको ‘व्यवस्थाविरुद्ध’ शीर्षक अन्तर्वार्ता, सन् १९८२ मा फ्रान्सको पेरिसमै लिएको ‘महिला हुनु मात्र पर्याप्त होइन’ शीर्षक अन्तर्वार्ता संग्रहित छन् भने अन्तमा ‘सिमोन द बोवुआर’ शीर्षकमा उनको संक्षिप्त जीवनी समेटिएको छ । पुस्तकमा समेटिएका प्रत्येक अन्तर्वार्ता विचरोत्तेजक छन् । एलिसको प्रत्येक धारिलो प्रश्नमा सिमोनको जवाफ चोटिलो र स्पष्ट छ । कहीँ कहीँ सिमोनले ‘यसबारे मलाई पनि द्विविधा छ’ भन्दछिन्, तर आफ्नो धारणा खुलस्त राखेकी छिन् ।
मार्क्सवादी भएर पनि उनले सोभियत संघ, चीन र क्युवा लगायतका समाजवादी देशहरूमा महिलाहरूको समावेशीकरण, सहभागिता र नेतृत्व विकासबारे भएका कमजोरीहरूलाई औँल्याएकी छिन् । सोभियत संघका समस्याहरूको बारेमा त उनले खुलेर नै असन्तुष्टी जाहेर गरेकी छन् । अन्तर्वार्ताहरूमा उनले आफ्नो र जाँ पाल सार्त्रको जीवन, व्यवहार र सम्बन्धको बारेमा समेत खुलेर राखेकी छन् । सार्त्र र सिमोन विवाहबिना नै लामो समय सँगै बिताएका प्रेमी-प्रेमिका हुन् र, दुवैजना आफ्नो समयका सुविख्यात दार्शनिक, लेखक, नारीवादी र संघर्षशील योद्धाहरू हुन् ।
सार्त्रको अस्तित्ववादबाट प्रभावित सिमोन जीवनको उत्तरार्धमा राजनीतिक पार्टीहरूप्रति र कम्युनिस्ट पार्टीहरूप्रति समेत असन्तुष्ट देखिन्छिन् । महिलाको मुक्तिमार्ग कोर्न नसक्ने निर्वाचन बहिष्कार गर्नुपर्ने विचार राख्दै सक्रिय बहिष्कारको तौरतरिका समेतको ब्याख्या गरेकी उनले आफूले कम्युनिस्टहरू र बामपन्थीहरूलाई पटक-पटक मतदान गरेको कुरा खुलस्त राखेकी छन् । महिलाहरू पनि यो व्यवस्थाअन्तर्गत सत्तामा पुगेपछि पुरूषहरूले जस्तै पितृसत्तालाई जोगाउन लागिपर्ने उनको दाबी छ, जुन आजको सन्दर्भमा सही देखिन्छ । यसलाई पुष्टि गर्न उनले इन्दिरा गान्धी, मार्गरेट थ्याचरसहितका महिला नेतृहरूको उदाहरण प्रस्तुत गरेकी छन् ।
यो नेपाली कम्युनिस्टहरू र नारीवादी आन्दोलनमा लागेकाहरूका लागि एउटा महत्त्वपूर्ण खुराक हो । पठन संस्कृतिमा कमी आएको, बजारमा निराशा छाएको र नारीवादी आन्दोलन समावेशीकरण र गुटबन्दीमा पुगेर थन्किएको वर्तमान परिवेशमा यस्तो महत्त्वपूर्व पुस्तक प्रकाशन गर्ने ‘इन्डिगो इन्क प्रा.लि.’ धन्यवादको पात्र छ । पुस्तकको मूल्य ३४९/- राखिएको छ । यो पुस्तक जागरण बुक हाउस, अद्वैत मार्ग, काठमाडौँसहित देशभरका पुस्तक पसलहरूमा उपलब्ध छ ।