Chairman Prachanda, Nepal Communist Party (NCP)
 

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, त्यसमार्फत जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुकूल राज्यका संरचनाहरुलाई प्रशिक्षित गर्ने कार्यमा नेतृत्व चुकेको बताउनुभएकाे छ ।

सरकारको नीति तथा कार्यक्रमवारे मंगलवार स‌ंघीय संसदकाे दुवै सदनलाइ संवाेधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्व आन्दोलन गर्न, परिर्वतनका निम्ति संघर्ष र बलिदान गर्न र त्याग तथा तपस्याका कीर्तिमान बनाउन सक्षम भए पनि राज्यका सबै संरचनालाई राजनीतिक परिर्वतन अनुकुल बनाउने क्षमता राजनीतिक नेतृत्वले प्रदर्शन गर्न नसकेकाे बताउनुभएकाे हाे ।

दलहरुले परम्परागत संसदीय प्रणालीको अभ्यास गर्ने र एक अर्कालाई निषेध गर्दै लड्ने बेला भइनसकेको बताउँदै अध्यक्ष प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धीलाई एक दशकभन्दा बढी रक्षा गर्न नसकेको विगत स्मरण गर्दै  फेरि पनि खतरा आउन सक्ने बताउनुभयाे ।

‘यो पटक यो परिस्थितिलाई दोहोरिँदैन भनेर विश्वास गर्न सक्ने आधार हामीसँग छ त ? कि दिनप्रतिदिन परिर्वतन ‘डाइलुट’ हुँदै र राज्य संरचनाका अन्य अवयवहरुले राजनीतिक नेतृत्वलाई भुत्ते बनाउन सक्ने र कहिँ न कहिँ पुरातन वा परम्परागत सोच र शैली हावी हुने खतरा छ ? यो प्रश्न अब हल भइसक्यो । अब केही हुन सक्दैन भन्ने अवस्था अझै छैन ।’ अध्यक्ष प्रचण्डले भन्नुभयाे।

संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने प्रक्रियामा यो एक वर्षका अनुभवलाई हेर्दा थुपै जटिलता देखिएको उहाँले सुनाउनुभयाे । परिर्वतन सुदृढ हुँदै जान्छ । विकास, समृद्धि हुन्छ भन्ने विश्वास जनतामा बढेको छ वा घटेको घट्दै गएको छ भन्ने अझै टुंगो लागिनसकेको भन्दै उहाँले भन्नुभयाे- ‘जनता धैर्यताका साथ हेरिरहेका छन् । सरकार र पार्टीहरुले प्रयास गर्दैछ भन्ने विश्वास लिएका छन् ।’

जसरी विगतका परिर्वतनहरु रक्षा गर्न सकेनौं, अब त्यो स्थिति हुने छैन भन्ने विश्वास दिलाउन दलहरु एकजुट हुनुपर्ने उहाँले बताउनुभयाे । हिजोको जस्तै त्याग, तपस्या र बलिदान गर्ने संकल्प नगर्ने हो भने खतराको घन्टी बज्न सक्छ । आज नभए भोलि, भोलि नभए पर्सि खतरा आउन सक्छ ।’ दलहरुको एकतामा जोड दिँदै उहाँले अब एकअर्कासँग जति सकिन्छ निषेधात्मक रुपमा लडे हुन्छ भन्ने समय आइनसकेको टिप्पणी गर्नुभयाे।

सरकारको नीति तथा कार्यक्रम ठूलो आकांक्षासहित आएको उहाँकाे धारणा थियाे । त्यसबारे प्रमुख विपक्षीले आश्वासनको पुलिन्दा जस्तो भनेर शंका गर्नु प्रतिपक्षको धर्मभित्र छ रहेकाे उहाँकाे टिप्पणी थियाे । त्यसलाई सकारात्मक चुनौतीका रुपमा लिएर सम्पूर्ण रुपमा कार्यान्वयनका लागि जिम्मेवार हुनुपर्ने अध्यक्षकाे ठहर छ ।