काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पछाडि पारिएका क्षेत्रलाई राज्यको मूलप्रवाहमा ल्याउने दायित्व राससको भएको बताउनुभएको छ ।
राससको ५८ औँ वार्षिकोत्सवको अवसर पारेर मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाचार उत्पादन, प्रसारण र वितरणमा अग्रणी संस्थाको रुपमा राससले नेपाली जनताको चाहना र भावनालाई सम्बोधन गर्दै ग्रामीण दूरदराज तथा पछाडि पारिएका क्षेत्रलाई राज्यको मूल प्रवाहमा ल्याउन आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो।
बदलिँदो समयअनुसार राष्ट्रिय दायित्व र आवश्यकतालाई ख्याल गरेर राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो सेवालाई थप परिस्कृत बनाउनुपर्ने भन्दै उहाँले सरकारको मात्र होइन आम चासोका समाचार दिन राससलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो – “सरकारको मात्रै होइन, आम चासोका समाचार दिनुस् । अग्रणी संस्थाको रुपमा सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुन्छ ।”
मन्त्री बाँस्कोटाले वास्तविक रुपमा पत्रकारिता गर्न आग्रह गर्दै समृद्धिका लागि वास्तविक सूचना र सञ्चारको पहुँच स्थापित गर्ने दायित्वलाई आत्मसात् गर्नसमेत राससलाई घचघच्याउनुभयो ।राससलाई सिर्जनात्मक केन्द्र र वास्तविक समाचार उत्पादन गर्ने मिलको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले अगाडि भन्नुभयो – “सरकारी हो भन्ने मान्यता त्याग्नुस्, वास्तविक पत्रकारिता गर्नुस् । सरकारको सधैँ साथ र सहयोग रहन्छ ।”
भारत, चीन, संयुक्त राष्ट्र सङ्घलगायतका स्थानमा राससका समाचारदाता राख्ने विषयलाई आफूले नै अगाडि बढाएको बताउँदै मन्त्री बाँस्कोटाले उचित नीति, योजना र कार्यक्रम बनाएर लागू गर्न राससको व्यवस्थापनलाइ आग्रह गर्नुभयो।
अग्रणी समाचार संस्थाको रुपमा स्थापित गर्न अगाडि सारिने आवश्यक नीति तथा योजनालाई सरकार र मन्त्रालयको तर्फबाट सबै खालको सहयोग उपलब्ध हुने उहाँको भनाइ थियो । उहाँले राससका भौतिक सम्पत्तिलाई बहुप्रयोगमा लगाउन समेत व्यवस्थापनलाई निर्देशन दिनुभयो ।
राससका अध्यक्ष श्यामल अधिकारीले राससलाई उन्नत समाचारको मिलका रुपमा विकास गर्न आफूहरु हरदम प्रयासरत रहेको धारणा राख्नुभयो । संस्थालाई व्यावसायिक बनाउने दायित्व र कर्तव्यलाई आत्मसात् गर्दै अगाडि बढिरहेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले प्राविधिक रुपमा भएका कमी कमजोरीलाई समेत आगामी दिनमा सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा व्यावसायिक पत्रकारको समूह बनाएर काम गर्ने योजना अगाडि सारिएको जानकारी दिँदै उहाँले प्रदेश सरकारको राजधानीबाटै तोकिएका भाषामा समेत बुलेटिन प्रकाशन गर्ने सोच अगाडि सारिएको बताउनुभयो । इतिहास रचना गरेर अगाडि जाने योजना र सोच अगाडि सारिएको भन्दै अध्यक्ष अधिकारीले सामूहिक प्रयासबाट मात्रै सफलता हासिल हुने र सकारात्मक समाचार दिन सकिने विचार व्यक्त गर्नुभयो ।
महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई समयानुकूल रुपमा सुधार गर्दै व्यावसायिक, योग्य र अग्रणी संस्थाको रुपमा क्रमशः अगाडि बढाइरहेको जानकारी दिनुभयो । लिथोबाट शुरु भएको राससको यात्रा अत्याधुनिक अनलाइन प्रणालीमा गइसकेको र आगामी दिनमा थप परिस्कृत र मर्यादित बनाउन दत्तचित्त भएर लागिपरेको उल्लेख गर्दै उहाँले ७५३ वटै स्थानीय तहका समाचार सङ्कलन, सम्पादन र प्रसारण गर्ने योजनासमेत बनाएर क्रमशः कार्यान्वयनको चरणमा अगाडि बढेको बताउनुभयो।
कार्यक्रममा राससका पूर्वअध्यक्ष राधेश्याम विष्टले सत्य र तथ्यपूर्ण समाचार प्रवाहका लागि राससले नै जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । उहाँले सन्तुलित र निष्पक्ष समाचार प्रवाह गर्न अनुसन्धान र प्रशिक्षणको खाँचो रहेको आवश्यकता औँल्याउँदै सत्य सूचना पाउने नागरिकको अधिकारको रक्षा राससबाट मात्रै हुने स्पष्ट पार्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव शीतल महतोले नेपाली पत्रकारितालाई सुधार गर्ने हो भने राससलाई नै सबल, बलियो र अग्रणी संस्थाको रुपमा विकास गर्न सरकारले विशेष ध्यान दिनुपर्ने विचार राख्नुभयो। रासस कर्मचारी यूनियनका अध्यक्ष कालिका खड्काले सामूहिक प्रयासबाट मात्रै संस्थाको उन्नति हुने भएकाले त्यसतर्फ लाग्नुपर्ने कुरामा सचेत बनाउनुभयो ।
नेपाल पत्रकार महासङ्घ रासस शाखाका अध्यक्ष नारायण घिमिरेले बदलिँदो समयानुसार राससको भूमिकालाई थप विस्तार गर्नुपर्ने बताउनुभयो । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले ऐन, नियम तथा कानूनी प्रबन्धलाई समयानुकूल बनाई राससको बृहत्तर हित गर्ने दायित्वलाई आत्मसात् गर्न ध्यानाकर्षण गराउनुभयो ।