Janardan Sharma Prabhakar, Standing Committee Member of Communist Party of Nepal (CPN), Member of the parliament from Rukum
 

काठमाडौं, नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले राजनीतिक र प्रशासनिक भाइरसहरुको उपचार नगरी अगाडि बढ्न नसकिने बताउनुभएकाे छ । सबै क्षेत्रमा फोहोरको थुप्रो बनेर रहेको भाइरसहरुलाई उपचार गर्ने कार्यक्रम ल्याउनु आवश्यक रहेको  नेता शर्माले बताउनुभयाे ।

सोमबार प्रि-बजेटमाथिको छलफलमा भाग लिंदै नेकपा सांसद शर्माले भन्नुभयाे – ‘पार्टी, दल र जताततै फोहोरको थुप्रो बनेर बसेको राजनीतिक, प्रशासनिक भाइरसहरुलाई उपचार गर्नु आजको मुख्य कुरा हो । त्यसबाट मात्रै हामीले शुसासन स्थापना गर्न सक्छौं । अगाडि बढ्न सक्छौं ।’

पुरानो सोंच र संरचनाले गर्दा पनि राज्य कमजोर भएको शर्माको भनाई छ । उहाँले भन्नुभयाे ‘राजनीतिक प्रणाली नयाँ छ, संरचना र सोंच पुरानो हुनाले राज्य कमजोर भएको छ । संरचना पुराना छन्, सोंच पुरानो छ । त्यसकारणले आज समस्या आइपरेको हो ।’

विगतका अपारदर्शी प्रवृत्ति, जनताप्रतिको अनुत्तरदायी कार्यशैली, राज्यसत्तालाई आमजनताको स्वार्थमा नभई व्यक्तिगत स्वार्थमा दुरुपयोग गर्ने मनोवृत्ति राज्यसंरचनामा व्याप्त रहेको शर्माले बताउनुभयाे । शर्माले राणाशासनको अन्त्यपछि बनेको सरकार र ०४६ पछि बनेको सरकार किन असफल भयो भनि समिक्षा गर्नपर्ने टिप्पणी गर्नुभयाे ।

सुशासन वेगर समृद्धि सम्भव नरहेकाे भन्दै शर्माले भन्नुभयाे – ‘सुशासन र पारदर्शितामा सम्पूर्ण तागत लगाउनुपर्छ । अन्यथा अदालतमा पहिलो हप्ता कर तिर्ने निर्णय, अर्को हप्ता कर नतिर्ने निर्णय गर्दै समय बित्छ । तिन कक्षाका विद्यार्थीलाई अलजेब्राको पुस्तक पढ्न दिंदा नबुझेर टोलाए झैं आफ्ना मिसिल हेरेर अख्तियार टोलाईरहन्छ ।’

नेता जनार्दनले अगाडि भन्नुभयाे – शान्ति र स्थिरताको क्षेत्रमा नेत्रहिनहरुले हात्ती छामेजस्तै प्रहरीले निष्कर्ष निकाल्छ । परियाेजना प्रमुखले म्याद थप्दै भेरियसनको फाइल उठाउँदै आफ्नो कर्तव्य पुरा गरेको ठान्छ । आम कर्मचारीलाई समायोजनमा हाल्दा काठमाडौं हुमसिक भनेजस्तै भ्याली सिक भएर रन्थनाइ रहेका छन् । कोही इमान्दार हाँसको बथानमा बकुल्ला जस्तै अल्मलिइरहेका छन् । यी सबैको पक्षमा जनतालाई आह्वान गरेर जनतालाई परिचालन गरेर, जनताको साथले मात्र प्रधानमन्त्रीले लिएको प्रतिबद्धता पुरा हुन्छ ।’

कृषिलाई प्रतिस्पर्धी नगराई देशले प्रगति गर्न नसक्ने शर्माको ठहर छ । कृषकलाई विचौलियाबाट बचाउने कुरामा सरकारले ठोस कार्यक्रम ल्याउन जरुरी रहेको उहाँले बताउनु भयाे । कृषिलाई उद्योगसँग एकाकार गरेर मात्रै समृद्धितर्फ जान सक्ने उहाँकाे भनाई थियाे ।