Kisan-apeal-left-review
 

बामगठबन्धनका उमेद्वारहरुलाई मतदान गरी अध्यधिक बहुमतले बिजयी गराउनका लागि ५ वटा किसान संगठनहरुले संयुक्त अपील गरेका छन् । बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आबद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र अखिल नेपाल प्रगतिशील किसान संगठनद्वारा जारी गरिएको साझा अपीलमा राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता, खाद्यसम्प्रभुता, वैज्ञानिक भूमिसुधार, कृषि क्रान्ति र किसान अधिकारको सुनिश्चितता र संविधानको कार्यन्वयन गर्दै समाजवादको आधार तयार गर्नका लागि सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभामा बामगठबन्धनका उमेद्वारहरुलाई आफ्नो अमूल्य मत दिई अत्यधिक बहुमतले बिजयी गराउन सम्पूर्ण किसानहरु र आम जनसमुदायलाई हार्दिक अपिल गरिएको छ । हेर्नुहोस् अपीलको पूर्ण पाठ ।

खाद्य सम्प्रभुता र किसान अधिकार !
कृषि क्रान्तिका लागि बामपन्थी सरकार !!

बामगठबन्धनका उमेद्वारहरुलाई अत्यधिक मतले विजयी गराउन किसान संगठनहरुको
हार्दिक अपिल !

आदरणीय आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरु,
नेपाल एक किसान बाहुल्य देश हो । यो देशको दुई तिहाई जनसंख्या आफ्नो जीवन र जीविकाका लागि कृषि पेशामा आश्रित छ, जसले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा झण्डै एक तिहाई योगदान गर्दछ । देशको मुख्य उत्पादक शक्ति हुनुको नाताले नेपाली किसानहरु यो देशको परिवर्तन र विकासका समेत मुख्य चालक शक्ति हुन् । नेपाली राजनीतिक आन्दोलनको इतिहास स्वम्मा पनि किसान संघर्ष र बलिदानले भरिएको गौरवशाली इतिहासको रुपमा स्वर्ण अक्षरले अङ्कित छ । तैपनि मुलुकमा विद्यमान राजनीतिक अस्थिरताका साथै राज्यसत्ता किसान पक्षधर शक्तिको हातमा नहुनुको कारणले किसानहरुका हक, हित र अधिकारहरु सुनिश्चित हुन सकेका छैनन् । देशमा गणतन्त्र आइसक्दा पनि किसानका समस्या ज्युँ का त्युँ छन् । वैज्ञानिक भूमिसुधार लागु हुन सकेको छैन, जनताको खाद्यसम्प्रभुताको अधिकार कार्यान्वयन भएको छैन, कृषि क्षेत्रको किसानमुखी व्यावसायीकरण, सहकारीकरण हुन सकेको छैन, कृषि पेशा एक सम्मानित र मर्यादित पेशा बन्न सकेको छैन । अझै पनि नेपाली किसानहरु गरिबी, भोकमरी र पछौटेपनको शिकार भैरहनु परेको छ । यो अत्यन्तै पीडादायी बिडम्बनाको रुपमा रहेको छ ।

आदरणीय जनसमुदाय !
हामी गणतन्त्र नेपाल र नयाँ संविधानको घोषणा मार्फत राजनीतिक आन्दोलनको एक महत्त्वपूर्ण उपलब्धि सहित देशलाई आर्थिक समृद्धि, सामाजिक न्याय र समाजवादी क्रान्तिको दिशामा अगाडि बढेका छौँ । प्रतिक्रियाबादीहरुको फुटाऊ र राज गर भन्ने दाउपेचलाई परास्त गर्र्दै यतिबेला नेपालका किसान, मजदुर र सर्वहारा श्रमजीवी वर्गका पक्षधर बामपन्थी शक्तिहरु एकजुट भई बामगठबन्धन निर्माण गर्न सफल भएका छन् । नेपाली किसान आन्दोलनमा निरन्तर रुपमा नेतृत्वदायी भूमिका निर्बाह गर्ने हामी तपशीलका किसान संगठनहरु यो ऐतिहासिक कदमलाई हार्दिक स्वागत गर्दछौँ । साथै राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता, खाद्यसम्प्रभुता, वैज्ञानिक भूमिसुधार, कृषि क्रान्ति र किसान अधिकारको सुनिश्चितता र संविधानको कार्यन्वयन गर्दै समाजवादको आधार तयार गर्नका लागि सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभामा बामगठबन्धनका उमेद्वारहरुलाई आफ्नो अमूल्य मत दिई अत्यधिक बहुमतले बिजयी गराउन सम्पूर्ण किसानहरु र आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौँ ।

बामगठबन्धनका उम्मेरवारहरुलाई नै भोट किन ?

  • नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान एवम् राष्ट्रिय हितको रक्षा गर्न ।
  • देशको दुई तिहाई जनसंख्या ओगट्ने किसानहरु सहित सम्पूर्ण जनताको जीवनमा समृद्धि ल्याउँदै समाजवादोन्मुख समृद्ध राष्ट्र निर्माण गर्न ।
  • संविधान अनुसार सम्पूर्ण नेपाली जनताको खाद्यसम्प्रभुताको हक कार्यान्वयन गर्न र भोकमुक्त नेपाल निर्माण गर्न ।
  • जल, जमिन, जङ्गल, जडिबुटी, चरिचरण र जैविक विविधताका साथै कृषि उत्पादनका स्रोत र साधनहरुमा किसानहरुको अधिकार सुनिश्चित गर्न ।
  • वैज्ञानिक भूमिसुधार लागु गर्न तथा सुकुम्वासी, गरिव तथा मोही किसानहरुको हित सुरक्षित गर्न ।
  • वैज्ञानिक भूउपयोग नीति लागु गर्दै उत्पादकत्व बढाउन, भुमिको खण्डीकरण र व्यापारीकरण रोक्न तथा सहकारीमा आधारीत कृषि भुमिको चक्लाबन्दी गर्न
  • २ वर्ष भित्रमा राष्ट्रव्यापी नापी लागु गरी भूमिको अभिलेख अद्यावधिक गर्न ।
  • कृषिको व्यावसायीकरण, यान्त्रीकरण, सहकारीकरण र औद्योगीकरण गर्दै कृषि क्रान्ति गर्न ।
  • २ वर्ष भित्रमा देशलाई आधारभूत खाद्यान्न, माछा, मासु, दुध र अण्डामा आत्मनिर्भर बनाउनुका साथै ५ वर्ष भित्रमा देशलाई खाद्यान्न निर्यात गर्नसक्ने देश बनाउन ।
  • कृषि उत्पादनमा आवश्यक विउ र मल देशभित्रै उत्पादन गर्न ।
  • जैविक विविधतामा आधारित दिगो कृषि, पर्यावरणीय कृषि र प्राङ्गारिक खेती अपनाउँदै १० वर्ष भित्रमा नेपाललाई कृषि रसायन र विषादिमुक्त ‘प्राङ्गारिक देश’ बनाउन ।
  • कृषि उत्पादनहरुको बजारको ग्यारेन्टी गर्नुका साथै तिनको न्युनतम् समर्थन मूल्य तोक्न र बजारमा बिचौलियाको बिगबिगी अन्त्य गर्न ।
  • सम्पूर्ण स्थानीय तहमा कृषि सेवा केन्द्र तथा पशु सेवा केन्द्रका साथै कृषि तालिम केन्द्र, कृषि बजार, कृषि प्रसार केन्द्र सहित एकीकृत सेवा केन्द्र स्थापना गर्न ।
  • कृषि अनुसन्धानलाई किसानमा आधारित बनाउन ।
  • पाँच वर्ष भित्रमा सम्पूर्ण सिँचाइयोग्य कृषिभूमिमा व्यवस्थित सिँचाई प्रणाली लागु गर्न ।
  • स्वदेशमै उच्च उत्पादन क्षमतायुक्त बिउबिजन र पशुपन्छीका नश्लको विकास गर्नुका साथै सामुदायिक बिउ वैक र जिन बैंकहरु स्थापना गरी स्थानीय तथा रैथाने बाली र पशुपन्छी नश्ल संरक्षण र सम्बद्र्धन गर्न ।
  • सम्पूर्ण कृषि बाली तथा पशुपन्छी व्यावसायमा सहज र सरल तरिकाले कृषि बिमा लागु गर्न ।
  • कृषि ऋण र अन्य वित्तीय सेवामा किसानहरुको पहुँच स्थापित गर्न ।
  • प्राकृतिक स्रोत तथा साधनहरुको दिगो र किसानमुखी ढङ्गले व्यवस्थापन गर्न ।
  • देशमा बृहत जैविक विविधता, चुरे क्षेत्र, जलाधार क्षेत्र र संरक्षित क्षेत्रहरुको संरक्षण र संवद्र्धन गर्न
  • समुदायमा आधारित वन व्यवस्थापनलाई अझ व्यापक र व्यवस्थित बनाउन ।
  • कबुलियती र नीजि वनका कानुन सरलीकरण गर्न र कृषि बनलाई प्रबद्र्धन गर्न ।
  • जैविक उर्जा र प्राङ्गारिक मल उत्पादनबाट फोहोरमैला व्यवस्थित गर्न ।
  • कृषिको महिलाकरण र महिला किसानहरुको अतिरिक्त बोझको अन्त्य गर्न ।
  • किसान सुरक्षा कार्यक्रम लागु गर्न ।
  • कृषि क्षेत्रको व्यावसायीकरण, यान्त्रीकरण र सहकारीकरण मार्फत कृषिमा पर्याप्त रोजगारी र आम्दानीका आधार सृजना गरी युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्दै विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्न ।
  • जलवायु परिवर्तनबाट हुने क्षतिहरुबाट किसानहरुलाई संरक्षित गर्दै जलवायु न्याय स्थापित गर्न ।
  • खाद्य तथा कृषि सम्बन्धी नीति निर्माण गर्ने राज्यका हरेक तहमा उत्पादक किसान र किसान संगठनहरुको प्रतिनिधित्व सुनिश्चित गर्न ।
  • राष्ट्रिय किसान आयोगलाई संवैधानिक स्वरुप दिई किसानहरुलाई न्यायको प्रत्याभूति गराउन ।
  • स्थिर र किसानमुखी सरकार निर्माण गरी उत्पादक किसानहरुका सम्पूर्ण हक, हित र अधिकारहरुको रक्षा गर्न ।

हार्दिक अभिवादन सहित ।

  • अखिल नेपाल किसान महासंघ, राष्ट्रिय समिति
  • अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), केन्द्रीय समिति
  • अखिल नेपाल किसान संघ, केन्द्रीय समिति
  • नेपाल किसान फेडेरेसन, केन्द्रीय समिति
  • अखिल नेपाल प्रगतिशील किसान संघ, केन्द्रीय समिति

किसान अधिकार जिन्दावाद !

कृषि क्रान्ति जिन्दावाद !!