Baglung Left Victory
 

काठमाडौँ । वामपन्थीहरूको उर्वरभूमिको रुपमा चिनिएको बागलुङ जिल्ला इतिहासमा पहिलो पटक साँच्चिकै लाल किल्ला बनेको छ । पटक पटक वामपन्थीहरूको बिचमा फुट तथा विभाजनले पराजयको पीडा भोग्दै आएका बागलुङका वामपन्थीहरूमा यसपटक हर्षोल्लास छाएको छ ।

बागलुङ क्षेत्र नं. २ संघीय प्रतिनिधि सभा सदस्यमा वामगठबन्धनका उमेद्वार तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य देवेन्द्र पौडेलले २८ हजार ८२७ मत प्राप्त गर्दै ८ हजार ९२२ मतको फराकिलो अन्तरका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका निरज पुन १९ हजार ९०५ मतमा सिमित भएका छन् । पौडेल डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार थिए भने उनी महान् जनयुद्धमा बागलुङ जिल्लामा सुरुवाती कमाण्ड गर्ने व्यक्ति थिए ।

त्यसरी नै बागलुङ क्षेत्र नं. १ बाट संघीय प्रतिनिधि सभामा बामगठबन्धनका तर्फबाट नेकपा (एमाले) का उमेद्वार डा. सुर्य पाठक ३३ हजार ६५७ मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उमेद्वार तथा बहालवाला सहकारी राज्यमन्त्री चम्पादेवी खड्का २० हजार ६१६ मतमा सिमित भएकी छन् । उनीहरुको बिचमा १३ हजार ४१ को मतान्तर रहेको छ ।

विजय र्याली
बागलुङ विजय र्‍याली

प्रादेशिक सभा तर्फ पनि बाम गठबन्धनले ४ वटै सिट कब्जा गरेको छ । प्रदेश सभा १ (क) मा बाम गठबन्धनका उमेद्वार तथा नेकपा (एमाले) का जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा १७ हजार ९१५ मतका साथ विजयी भएका छन् भने नेपाली काँग्रेसका दिपेन्द्र थापाले ११ हजार ९८९ मतमा चित्त बुझाउनु परेको छ ।

प्रदेश सभा १ को (ख) मा बाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले १५ हजार ६३६ मत प्राप्त गरी जीत हासिल गरेका छन् भने उनका निकटतम् प्रस्पिर्धी तथा पूर्वसांसद प्रकाश पौडेलले ९ हजार ९४ मतमा रोकिए ।

त्यसरी नै प्रदेश सभा २ (क) मा बाम गठबन्धनका उम्द्वार तथा नेकपा (माओवादी केन्द्र)का पोलिट ब्युरो सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ले १७ हजार ४१५ मतका साथ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका मन्जेश बम मल्लले ११ हजार ५४६ मतमा सिमित भएका छन् । सागर २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा (माओवादी)को तर्फबाट उमेद्वार बनेर नेकपा (एमाले)का रामजीप्रसाद शर्मासँग झिनो मतले पराजित भएका थिए ।

त्यसरी नै प्रदेश २ (ख)मा बाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उमेद्वार टेकबहादुर घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजय भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी जित शेरचनले ८ हजार ६२४ मा चित्त बुझाउन बाध्य भएका छन् ।

नेपालको नक्शासँग मिल्दोजुल्दो नक्शा भएको बागलुङ जिल्ला चित्रबहादुर केसी, मोहनलाल शर्मा र दिनानाथ शर्मा जस्ता पुराना बामपन्थी नेताहरुको गृह जिल्ला हो । यहाँ झलनाथ खनाल र वामदेव गौतमजस्ता नेताहरु गएर शिक्षकको रुपमा आफ्नो बामपन्थी राजनीतिक जीवनको सुरुवात गरेका थिए ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र यतिबेला नेकपा (एमाले)को तर्फबाट समानुपातिक उमेद्वार रहेका मोहनलाल शर्मा बागलुङका सबैभन्दा पुराना कम्युनिस्ट नेताहरु हुन् भने बसन्त गौचन नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्ने बागलुङका पहिलो व्यक्ति हुन् ।

चित्रबहादुर केसी सुरुदेखि नै चौमधारमा रहेकोले उनी नै बागलुङमा चौमधारका संस्थापक नेता हुन । यता नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार रहेका टोपबहादुर खड्का र नेकपा (एमाले)का पूर्वसांसदहरु गोविन्द अधिकारी, रामजी शर्मा र नरबहादुर थापा गरी ४ जना मिलेर २०३६ सालमा बागलुङमा नेपाल कम्युनिस्ट पार्टी (माले) स्थापना गरेका थिए । नेकपा (माले) हुँदै नेकपा (एमाले) सम्मको विकासमा शेखर, प्रेमनारायण पौडेल, चक्र पराजुली, खेम नारायण ढुङ्गाना, गोपाल शाक्य, महमुद आलम आजाद, शिव पौडेल र गणेश तिमिल्सिना लगायतका बागलुङ बाहिरका नेताहरुले समेत योगदान गरेका छन् ।

महान जनयुद्धमा अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बागलुङका ताराखोला, हिल, अर्गल लगायतका विभिन्न ठाउँहरु आधार इलाकाको रुपमा रहेका थिए भने डिल्ली सापकोटा, टंक खड्का, चाँदनी थापा लगायतको बलिदान र सूर्य सापकोटा, सुरेश विक लगायतका बेपत्ता योद्धाहरुको रगत र पसिनाले सिँचित छ ।

यसरी धौलागिरी अञ्चलको केन्द्रको रुपमा रहेको बागलुङको बामपन्थी आन्दोलनको उत्थान र विकास भएको थियो । त्यसैको प्रतिफल स्वरुप यसपटक बागलुङका ६ वटै सिटमा बामपन्थीहरुले ऐतिहासिक विजय हासिल गरेर जिल्लालाई काँग्रेसमुक्त लालकिल्ला बनाउन सफल भएका छन् ।