काठमाडौँ । संविधान कार्यान्वयनको आधारभूत प्रस्थानविन्दूका रुपमा हेरिएको संघीय प्रतिनिधि सभा र प्रादेशिक सभाको निर्वाचन संभव भएपछि मुलुकको राजनीतिले नयाँ मोड लिँदैछ ।
बामपन्थी तथा कम्युनिस्ट पार्टीहरुको बिचमा पार्टी एकता, स्थिर सरकार र समृद्धिका नाराहरु लिएर तालमेल गर्दै निर्वाचनमा होमिएको बामगठबन्धनले निर्वाचनमा अत्यधिक सफलता हासिल गरेपछि आगामी कार्ययोजनाका विषयमा छलफल गर्नका लागि नेकपा (माओवादी केन्द्र)ले विघटित केन्द्रीय कार्यालय (पार्टी हेडक्वार्टर) को बैठक बोलाएको छ ।
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालका अनुसार बैठक आज बिहान ११ बजे पार्टी कन्द्रीय कार्यालय, पेरिस डाँडामा बस्दैछ । बैठकमा निर्वाचनको समीक्षा, मुलुकको राजनीतिक अवस्था, संघीय तथा प्रादेशिक सरकार गठन र पार्टी एकता लगायतका विषयमा छलफल हुनेछ । निर्वाचन परिणामपश्चात समेत देउबा सरकारले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त नगरेको सन्दर्भमा ठोस कार्ययोजना तय गर्नुका साथै माओवादी केन्द्रबाट सरकारमा सम्मिलित मन्त्रीहरुबारे समेत निर्णय गर्न सक्ने संभावना छ ।
पार्टी एकता, सरकार गठन र समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीभित्र समान धारणा बनाउन बैठकको आयोजना गरिएको विश्वास गरिएको छ । निर्वाचनको केही समय अगाडि पार्टीभित्र रहेका धेरै संरचनाहरुले संगठनात्मक जटिलता थपेको भन्दै केन्द्रीय कार्यालय विघटन गरिएको थियो ।