नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय, पेरिसडाँडा, काठमाडौँ
 

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफ्ना राजनीतिक गतिविधि र भेटघाटहरुलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छन् ।

अध्यक्ष प्रचण्डको सचिवालयबाट प्राप्त जानकारी अनुसार प्रचण्डलाई भेट्न दिनहुँ सयौँको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि सबै भेटघाटको कार्यक्रम पेसिडाँडाबाट मात्र हुने भएको हो । अध्यक्ष प्रचण्ड आफैले बोलाएका व्यक्तिहरुले बाहेक कसैले पनि उनको नीजि निवास खुमलटारमा भेट नपाउने निर्णय भएको सचिवालयले जनाएको छ ।

सबैलाई सरल र सहज पहुँच दिने नेता हुनुको बाबजुद पनि अध्यक्ष प्रचण्ड विगतमा भेटघाटको विषयलाई लिएर आलोचित हुने गरेका थिए । आफूलाई प्रचण्ड निकट भएको देखाउन खोज्ने एकथरी नेता तथा कार्यकर्ताहरुले बिहानैदेखि प्रचण्ड निवास धाई उनलाई घेराबन्दी गर्ने, प्रचण्डको अधिकांश समय त्यस्तै नेताहरुका अनावश्यक मागहरु र तिनका जायज-नाजायज कामहरु पुरा गर्न बिताउनु पर्ने र अध्यक्षसँग अत्यावश्यक काम भएका व्यक्तिहरु, कुटनैतिक नियोगका व्यक्तिहरु, सहिद परिवार र वेपत्ता परिवारकासाथै भौगोलिक तथा जनवर्गीय संगठनमा काम गर्ने आम कार्यकर्ताहरुको विशाल पंक्तिले अध्यक्ष प्रचण्डलाई भेट्न नपाउने स्थिति सिर्जना भएको आरोप लाग्ने गरेको थियो । संभवतः यो वस्तुस्थितिलाई बुझेर नै अब आइन्दा अध्यक्ष प्रचण्डका सम्पूर्ण भेटघाटहरु पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट मात्रै हुने निर्णय भएको हो, जसबाट आम कार्यकर्ता पंक्ति खुशी भएको छ । यो निर्णय भर्खरै पुत्रशोकबाट गुज्रेका प्रचण्डको नीजि तथा पारिवारिक जीवन व्यवस्थापन, व्यक्तिगत स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले समेत सही भएको विश्लेषण गरिएको छ ।

पार्टी कार्यालयबाट भेटघाट गर्दा त्यसले समयको व्यवस्थापन गर्न, पार्टीका अन्य नेताहरुलाई पनि जिम्मेवारी दिन सजिलो हुने भएकाले प्रचण्डसँगको परामर्शमा सचिवालयले यस्तो निर्णय लिएको बताइएकाे छ । सचिवालयले अध्यक्ष प्रचण्डसँग भेटघाटका लागि पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव प्रल्हाद बुढाथोकी, कार्यालय सचिवहरु श्रीराम ढकाल, प्रकाश पोखरेल वा केन्द्रीय कार्यालयको फोनमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।